शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

फूल मुस्काउँदैन आजकल

फूल मुस्काउँदैन आजकल


  • राधिका `कल्पित´
  • माघ २ २०७६, बिहिबार
खाँदिन आजकल ऊ
काकाले दिएको ललिपप
गर्दिन आजकल ऊ
बाबाको काखमा लुटपुट
चढ्दिन आजकल ऊ
मामाको बुईको घोडा
दिदिँन आजकल गालामा पप्पी
चक्लेट ल्याइदिने प्यारो अंकलको
जाँदिन आजकल ऊ
छिमेकी दाइको ठूलो घरमा लुकामारी खेल्न
मान्दिन आजकल सँगै खाटमा सुत्न
काँधमा बोक्ने हजुरबासंग ।
डराउछे दार्हीसँग
हेर्छे ऐनामा राताम्य भएका आफ्ना गालाहरु
तर्सिन्छे धोत्रो स्वरसँग
जसले बनाएका थिए उसका गला आवाजहीन
बुझ्दिन कसरी फरक थियो त्यो छाया
उसको बाबा, दादा या मामा भन्दा?
जसको सप्पै स्वरूप
त्यही छायासँग मिल्छ
बुझ्न सकिन त्यो नाबालक दिमागले
के-के थियो त्यो छायासँग जसले चिर्यो चरचरी
कपासजस्तो मखमली शरीर ।
आजकल ऊ,
त्रसित नजरले हेर्छे दार्हिवालहरुका जाङतिर
अनि मुर्छित भएर पल्टिन्छ मिर्गीको रोगी जस्तै
मुर्छाबाट ब्युँझे पछि
सोध्न मन लाग्छ आमालाइ
`आमा तपाईंलाइ बाबासँग सँगै सुत्न डर लाग्दैन?´
फेरि के सोच्छे चाबी लगाउछे आफ्नो जिब्रोमा
इस्र्यालु नजरले हेर्छे
नाङ्गै नुहाउँदै गरेको भाइलाई
उसलाइ छोप्नु पर्ने केही छैन
सायद छैनन् ऊ सँग
-निमोठिने
-मठारिने
– या च्यातिने जोखिमयुक्त
त्यस्ता वस्तुहरु
जुन उस्लाइ लुकाउन हम्मे-हम्मे परेको छ
लुकाउँदा पनि जोगाउन हम्मे-हम्मे परेको छ ।
आजकल ऊ,
परै बाट कापि दिन्छे गुरुलाइ
मान्दिन हातेमालो गर्न केटा-साथीसंग
निभाउँदिन बत्ति सुत्ने बेला
छिनछिनमा मुठ्ठी कस्छे..
के के बर्बराइरहन्छे
खै केले ऐठन गरेजस्तै
झस्कन्छे निद्राबाट
र चिच्चाउँछे अत्तालिँदै
`आमा´ -`आमा´
नाइ! नाइ !
ऐया! ऐया ….
सम्झने प्रयास गर्छे,
अँध्यारोका ती अस्पष्ट अवयवहरु
-आस्कोट
-दारी
-पाइन्ट
-पेटि
-नङ्राहरु
-दार्हाहरु
र एउटा मुङ्ग्रो ।
धेरै दिनदेखि
खै कसको हो चित्र कोरिरहन्थी
र खाट मुनि लुकाइरहन्थी
र आज त्यो तस्वीर च्यातचुत पार्दै
भित्र-भित्र दार्हा किट्छे
जब मिल्न जान्छ त्यो तस्विर
आफ्नै प्यारो काकासंग ।
काठमाडौं , कलंकी  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->