काठमाडौ मैले कल्पना गरेको भन्दा धेरै फरक रहेछ । वास्तविकता भन्दा पनि अलि पर काल्पनिक संसारमा चुर्लुम्म डुबेर सोचें वरिपरि डाँडैडाँडाले गजधुम्म परेर जिस्काईरहेको छ । स्वयम्भू, चोभार अनि नागार्जुनको टुप्पोबाट देखिने दर्जनौ मन्दिरका थुम्काहरुले लालायित बनेर तिनै डाँडाहरुसंग प्रेम प्रस्तावको बेला लजाए झै एकतमासले हेरिरहेका छन् । चन्द्रागिरीको केबुलकारमा शयर गर्दा लाग्छ आकाशको माथी–माथी बादलभित्र हराए जस्तै आभाष हुँदो रहेछ । नैरस्यताको भावाबेशमा खिन्नताका ठुटाहरु तेर्सिएर जिवनको बाटोमा तगारो बनिरहे पनि एकैछिन् बिर्साईदिने वातावरण वाह ! हाम्रो काठमाडौ । विभिन्न रंग भरिएका घरहरुमा फूलका बुटाहरु अनि उत्तिकै लाम लागेर जन्ती र मलामी जस्तै गाडीका लाईनहरु, मान्छेको घना बस्तीले ढाकीएको शहर ।
म मेरो कुनै काम बिशेषले काठमान्डू आएको पहिलो रात बाग्लुङबाट काठमाडौ आईपुग्दा झमक्कै साँझ परिसकेको थियो । बसपार्कमा होटेलमा काम गर्नेहरु भन्दै थिए दाईलाई होटेल चाहिएको हो ? प्रतिप्रश्न गर्दै मैले भने भाई म सादा खाना खान्छु मलाई कमन बेडरुम भएपनि हुन्छ त्यो कहाँ छ भनेर भनेपछि एउटा अन्दाजी चौध पन्ध्र बर्षको जस्तै देखिने भाईले हाम्रो होटेलमा जाऔ भन्यो, म त्यतैतिर लागे । दिनभरीको बसको यात्रा निकै थकानको महशुस भएको मलाई चार–पाँच जना सुत्ने हलमा ओछ्यान मिल्यो । राजमार्गकै छेउमा होटेल, म आफ्नो झोला थन्क्याएर तल झरें एकैछिन, समाचार हेर्न टेलिभिजनको अगाडि गएर रिमोट अन गरें, बेलुका नौ बजेको समाचार हेर्दै गर्दा देशभित्र राजनैतिक उथलपुथल, प्रतिनिधि सभाको सभामुखको बिषयलाई लिएर एक अर्कामा आरोपप्रत्यारोप, अमेरिकाले नेपाललाई गुलामी बनाउन लागेको प्रसंग, नदी उत्खनन् रोक्न बिरोध गर्ने युवालाई क्रसर ब्यवसायीहरुकै ट्रीपरले किचेर निर्मम हत्या, विभिन्न जिल्लाहरुमा बालिकाहरु अपहरण र बलात्कार त्यसपछि हत्या, काठमाडौमा फोहोर ब्यवस्थापनमा चुनौती, घाम लाग्दा धुलै धुलोको शहर अनि पानी पर्दा हिलै हिलोको शहर काठमाडौ जस्ता समाचारहरुले मन खिन्न बनायो । हाम्रो देशमा राम्रो काम गर्छु भन्ने मान्छे कि मर्छ कि मारिन्छ । सत्य र निष्ठाको राजनीति र काम गर्ने कोही हुँदो हो त आज देशको यो अवश्था पक्कै हुदैनथ्यो होला । उच्च तहमा रहेकाहरु कोही बलात्कार प्रयासमा गिरफ्तार पछि थुनामा छन्, कोही इट्टाभट्टामा मान्छेलाई जिउँदै जलाएर पनि उन्मुक्ती पाईरहेका छन्, कोही हत्या अभियोगमा फसेका छन्, कोही तस्करसंग मिलेर चोरी निकासीमा संलग्न छन्भने कोही भ्रष्टाचारको मझेरीबाट खुलेलाम घुस खाईरहेका छन् यस्तै यस्तै मनभित्र अनेकन तरंगका छालहरुसंगै म खाना खान लागें । खाना खाईसकेपछि रातको झण्डै दश बजिसकेको थियो, म सुत्नको लागि कोठातिर लागें । अफसोच त्यो दिन कोठामा म मात्रै थिए । सडक कै छेउमा होटेल त्यो पनि सडककै छेउतिरको म सुत्ने कोठा सवारी साधनका चर्को आवाजमा बज्ने हर्न अनि काठमान्डौका घर–घरमा पालिने उन्नत जातका कुकुर र सडक पेटीमा एकतमासले भुकीरहने कुकुरहरुको भुकाइले गर्दा पटक्कै निद्रा लाग्ने कुरै भएन । बागलुङको एकान्त अनि सुनसान र स्वच्छ हावा खांदै सधै लुपुक्क निदाउने म रातभर कुकुर हरुकै कारण अनिदो भए र दिनभरीको यात्रा, धुलो र अनिद्राले सुन्निएका आँखा मिच्दै आफ्नै मनले त्यही मनसंग गुनासो गरें– ‘कुकुरहरुको शहर रहेछ काठमाण्डु !’
(लेखक पौडेल राङखानी निवासी हुन् ।)




