सगरमाथाको चुचुरो चुमेको विश्वास गरिने जर्ज मेलोरीलाई न्यूयोर्क टाइम्सले ‘तपाईँ किन सगरमाथा चढ्न चाहनुहुन्छ’ भन्ने प्रश्न सोधेको थियो । उत्तरमा उनले भनेका थिए,‘किनकि त्यो त्यहाँ छ !’ अन्तर्वार्ता सन् १९२३ को १८ मार्चमा प्रकाशित भएको थियो । पछि उनले सगरमाथा चढ्ने क्रममा नै ज्यान गुमाए । तेस्रोपटक सगरमाथा आरोहण गर्नुअघि उनले आफ्नी श्रीमतीलाई सगरमाथाको चुचुरोमा उनको फोटो छाडेर आउने वचन दिएका थिए । मेलोरीको शव भेट्दा उनको शरीरमा श्रीमतीको फोटो थिएन । त्यसैले मेलोरीले सगरमाथा चढ्को विश्वास गरिन्छ । १९२४ जुनको पहिलो र दोस्रो साताको घटनाक्रमको धेरैपछि अर्थात् मे २९, १९५३ मा मात्रै तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीबाट सगरमाथाको सफल आरोहरण र अवतरण सम्भव भयो । यो उपक्रम सगरमाथामा मात्रै हैन, सबैभन्दा पहिला ८ हजारभन्दा अग्लो हिमाल आरोहण गरिएको अन्नपूर्णमा पनि कायमै छ । मानिसको हिमालप्रतिको मोह अहिलेको हुँदै होइन । हिजो ऋषिमुनीहरु मोक्षको लागि हिमाल धाउँथे, अहिले साहश प्रदर्शन, दृष्यावलोकनको लागि हिमाल उक्लिइन्छ । त्यो त्यहाँ हुनु नै यसको विशेषता हो ।
हिमाल आफैमा दुरुहताको प्रतिक पनि हो । हिमालले सन्तुष्टी मात्र हैन, कहिलेकाहिँ ज्यानै लिन्छ, दुःख दिन्छ । भयो पनि त्यस्तै,अघिल्लो हप्ता एकाएक नेपालको मौसम परिवर्तन भयो । माघेझरीले धर्ती भिजायो , जाडो बढायो अनि हिमालमा हिउँ थुपा¥यो । यहाँसम्म त ठीकै थियो तर गएको शुक्रबार अन्नपूर्ण क्षेत्रमा हिउँपहिरो नै गयो । पदयात्रामार्गमा रहेका केहीले बल्लतल्ल ज्यान जोगाए । केही हिउँपहिरोमा हराइरहेका छन् । हराएकाहरुको खोजी र उद्धारमा पनि हिउँ नै बाधक बनेको छ । उद्धारमा खटिएको टोली नै प्रतिकूल मौसमलाई ध्यानमा राख्दै सुरक्षित ठाउँमा फर्किएको छ । सो क्षेत्रमा लि मिन सुन,किम सुक जा, जियोङ पिल र बोङ चोइ ह्यो नामक कोरियनहरु तथा नेपाली गाइडहरु छिरिङ भोटे,मिङबहादुर तामाङ र सरोज परियार हराइहेका छन् । उता मनाङमा पनि ४ जना चिनियाँ नागरिक हराएको खबर छ । यो घटनाले नेपालको हिमाली क्षेत्रको पर्यटनलाई ठूलो धक्का लागेको छ । नेपाल भ्रमण वर्ष २०२० को सुरुमा भएको यो घटना आफैमा दुःखद छ । यतिबेला हिमाली क्षेत्रका पदयात्रा गतिविधिहरु ठप्प भएको समाचार आएका छन् । यसअघि अन्नपूर्ण क्षेत्रमा आएको आँधीले आधारशिविरमा रहेका होटलहरु तहसनहस बनाएको थियो । अहिलेको क्षति विवरण आउँदै गर्ला तर पर्यटनमा यसको असर देखिइसक्यो । बसन्त ऋतुको पूर्वसन्ध्याको घटनाले कतिले आफ्नो यात्रा टुंग्याउने हुन् भन्ने त्रास पनि बढ्न थालिसक्यो ।
तर, आशा गरौँ, त्यो अवस्था नआओस् । हिमाल आरोहणका सफल र असफल कथाहरु सुनेर पनि हामीले चित्त बुझाउनुपर्छ । मौसमको पूर्वानुमान गर्न सकिन्छ तर त्यसलाई टार्न सकिँदैन । बरु, हिमाली क्षेत्रमा सरकारले मौसमको पूर्वानुमान गर्न विशेष प्रविधिको प्रयोग गर्नुपर्छ । पदयात्रा मार्गहरुमा उद्धारकेन्द्रहरुको निर्माण गरिनुपर्छ । आवश्यक परेको बेला विकट क्षेत्रमा जानसक्ने प्रविधि उपयोग गर्न सकियो र हिमाली मौसमको पूर्वानुमानाम विशेष ध्यान दिइयो भने नेपालको एकमात्र भरोसायोग्य पर्यटन उद्योग माथि उकास्न सहयोग पुग्छ । घटना घटिसकेको छ । अब सरकारले नेपाल अझै पनि सुरक्षित छ है भन्ने सन्देश प्रवाह गर्नुपरेको छ । सो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्दै व्यवसायीहरुलाई राहत प्रदान तथा हिमाली पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनु परेको छ ।

