बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

छाउगोठ भत्काउदैमा छाउपढी सकिएला ?

छाउगोठ भत्काउदैमा छाउपढी सकिएला ?


  • कृष्णप्रसाद शर्मा
  • माघ ७ २०७६, मंगलबार

राज्यले बालालिकालाई खोप लगाउन र पोलियो खुवाउन सहयोग गर्न कै लागी भत्ता दिने गरी महिला स्वंयसेविका राख्ने व्यवस्था गरेको छ । यिनस्हरूलाई यस्तै कुप्रथाका लागी गाउ“ गाउ“ पुगेर जनचेतना दिन भने पनि अलकति कम हुने थियो ।बिदेशी अखबारमा नेपालबारे आउने नराम्रा समाचारमा छाउपढी पनि एक हो । छाउपढी बस्ने चलन अछाम लगायतका कर्णालीमा बढी छ । छाउ बस्ने चलनलाई धर्म सगँ जोड्दिएका कारण छाउ बस्न हटाउन सकिएको छैन । छाउ बस्नका लागी बनाईएका असुरक्षित साना घर भनौं कि छाप्रामा बसका कारण सर्पले टोकेर मरेका घटना आईरहन्छन् । पहाडतिर नछुने हुने भन्ने यो रजश्वला भएका बेला प्रत्येक महिना बस्नु पर्ने यो गलत प्रथाका कारण सयौंको ज्यान गएको छ । सुदुरपश्चिम एक त संधै पछाडी पारिएको छ । त्यहाँको जीवनशैली कष्टकर नै छ । छाउपढीमा बस्दा निसारिएर मारेका समेत घटना यहि सुदुरपश्चिममा छन् । यो प्रथाबारे बिदेशका अँग्रेजी पत्रिकाहरूमा बेला बेलामा प्रथम पृष्टमै समेत आए । यसले गर्दा एकातिर हाम्रो दुरावस्था देखाउँछ भने अर्कोतिर यसैका नाममा बर्षौंसम्म बिदेशबाट फण्ड ल्याएर थुप्रै गैरसरकारी संस्थाहरू चलिरहेका छन् ।
करीब तीन बर्ष पहिला एक नेपालीले यहि छाउपढीको बृत्तचित्र देखाएर केही हजार अमेरिकी डलरको पुरस्कार पनि पाएका थिए । समाज कल्याणको तथ्याङक हेर्दा पनि छाउपढीमा काम गर्न करीब एक सयभन्दा बढी गैरसरकारी संस्थाहरू रहेको देखिन्छ । यिनीहरू दैनिक काम त गरिराखेकै छन् । तर पनि अवस्था किन अझै यति बिकराल छ त ? यो गम्भिर प्रश्न हो । सरकारले अहिले छाउगोठ भत्काउन भनेपछि गृह मन्त्रालयले काम शुरु गरेर करीब १३०० छाउगोठ भत्काएको छभने अझै भत्काउने क्रम जारी छ । कतिपयले छाउगोठ भत्काउँदैमा यो रोकिँदैन भनेका सुनिन्छ । यो कुरा सही हो तर छाउगोठ जुन भौतिक छ यसलाई भत्काउन सकिन्छ तर छाउगोठले जुन दिमाखमा ठाउँ लिएको छ त्यो भत्काउन त्यति सजिलो छैन । छाउगोठ भत्काउँदा कतिपय छाउगोठभित्र सर्प समेत फेला परेको समाचार पढ्न पाईन्छ । यो हेर्दा छाउगोठ भत्तकाउनु ठीक पनि हो । छाउगोठ बस्ने यो प्रथा नै बनिसके पछि हटाउन सामान्य छैन । यसलाई धर्मसँग जोडेको हुँदा मान्छेमा डर छ । छाउ बार्न छाउगोठमा राख्ने अभिभावकलाई कार्वाही गर्ने भनेको छ सरकारले । यसका कारण कतिपय अभिभावकले छाउ राखे सरकारको डर र नराखे देउताको डर भन्ने गरेका छन् ।
छाउपढी प्रथा हटाउन जनचेतना महत्वपुर्ण कुरा हो । स्कुलमा छाउपढी नबारी स्कुल जाँदा छिमेकीले के भन्छन् । शिक्षकले के भन्लान् भन्ने सोच कायम छ । छाउपढी नबसे घरमा कोही बिरामी परे त्यसैको कारण बनाउने गर्छन् । भैसीले दुध दिएन भने छाउ नबारेकोमा दोष जान्छ । यसलाई हटाउन जनचेतना मुख्य कुरा हो । जसरी छुवाछुत प्रथा कानुनले बर्जित गरे पनि अझै कायम छ । त्यसैगरी यो छाउपढी प्रथा पनि कानुनले मात्र समाधान गर्न सक्दैन । बारीका छाउगोठ त भत्कन्छन् तर दिमाखका छाउगोठ कायमै रहन्छन् । यसका लागी हामीले भन्दै आएको राजश्वला जुन पहाडमा नछुनी बार्ने भनिन्छ त्यसैलाई सुदुरपश्चिममा छाउ भने । यता पहाडमा भने घरमा बसेर बार्ने चलन छ । शुरु शुरुमा दाईभाईलाई देख्न हुन्न भनेर छिमेकीका घरमा गएर बस्ने चलन पनि थियो । आजकाल घरमै बसेर बार्छन् । शहरतिर भने यो बार्ने चलन हट्दै गएको छ । रजश्वलालाई सम्मानित तबरले हेर्ने वातावरण हुन जरुरी छ । यो भएका बेला छुवाछुत गर्न हुन्न भनेर पहाडमा पनि निकै गाह्रोसँग बसि राखेका हुन्छन् तर जहाँ छाउ भनिएको छ त्यहाँ यो समयमा निकै कष्टकर हुन्छ ।
छाउपढी समाजको संरचनासँग जोडिएको छ । समाजमा हर्ताकर्ता को हुन्छ त्यो सँग जोडिन्छ । यो केवल एक दिन एक रातमा स्थापित कुप्रथा होईन यसले सयौंको ज्यान लियो भने लाखौंको दिमाख भुटेको पनि छ । व्यक्ति स्वतन्त्र हुन केवल व्यवस्थाले मात्रै पुग्दैन । व्यक्तिको जीवनस्तर, उसले भोगेका कुराले पनि अर्थ राख्छ । सुदुरपश्चिमका छाउपढीका कथा जब अरुका लागी पेट पाल्ने आयश्रोत बन्छन् तबसम्म यो प्रथा रोकिँदैन । खास गरी गैरसरकारी संस्थाहरूले यो छाउपढीमा केही सुधार होस् तर नसिध्धियोस् भन्ने खालले काम गरेका छन् जसमा शंका देखिन्छ भन्दै थिए संसदीय छलफलमा केही साँसदहरूले । यसो गहिरिएर बुझ्दा हो जस्तो पनि लाग्छ । छाउपढी राख्ने चलन जनचेतनाको अभावमा भएको त भनिन्छ तर यो पुर्ण सत्य होईन छाउपढी राख्ने शिक्षित परिवार पनि छन् । अझ शिक्षककै घरहरू पनि धेरै छन् । यो अनुसन्धानले पुष्टि गर्छ । उनीहरू कतिपय भगवानका डरका कारण भने कतिपयले नराखे सामाजिक बहिष्कारमा परिन्छन् कि भनेर समेत राखेको बताउँछन् । रजश्वला हुँदा घेरै रगत बग्ने हुँदा आरम होस् भनेर बार्न थालीएको भन्ने तर्क राख्ने छन् कतिपय । जे जति कारणले बारे पनि यो बेला अझ बढी खाना र बसोबास राम्रो हुनुपर्नेमा झन् असुरक्षित ठाउँमा राखेर जोखिम जीवन बिताईरहेका छन् ।
सरकारले जो जसले छाउपढी राख्छन् उनीहरूलाई सरकारी सुविधा जस्तो नगरपालिका र गाउँपालिकाबाट पाउने कुनै पनि सिफारिश नदिने भनेर पनि भनेको छ । यसले गर्दा कतिपयले आँफै पनि छाउगोठ भत्काउन थालेका थिए तर पछि फेरी धमाधम छाउगोठ बनाउन थाले । छाउपढी रोक्न राज्यले जुन हिसाबले लागेकोछ त्यो एक हदसम्म ठीक छ तर यो मात्रै उपाय होईन । हामीले पाठ्यपुस्तकमा रजश्वला हुँदाको समयमा के कसरी बस्ने त्यो राख्न सके पनि जागरण आउने थियो । टोल–टोलमा आमा समुह छन् जसको काम बिदेशबाट आउने लाहुरेका घरमा गएर चन्दा माग्ने काममा सिमित छभने कतै कतै अलिअलिक केही काम भए पनि खासै ठोस काम भएका छैनन अत यि आमा समुहहरूलाई रजश्बला हुँदा आँफु र आफ्ना छोरी बुहारीलाई कसरी राख्ने तालिम दिन सके राम्रो । राज्यले बालालिकालाई खोप लगाउन र पोलियो खुवाउन सहयोग गर्न कै लागी भत्ता दिने गरी महिला स्वंयसेविका राख्ने व्यवस्था गरेको छ । यिनस्हरूलाई यस्तै कुप्रथाका लागी गाउँ गाउँ पुगेर जनचेतना दिन भने पनि अलकति कम हुने थियो । हामीले प्रथालाई भत्काउन दिमाखमा लागेको पर्खाल नभत्काई संभव छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->