बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरेली रंगकर्मी प्रकाश र अनुपको ठहर ‘नक्कल गर्ने मान्छे महान कलाकार बन्दैन’

पोखरेली रंगकर्मी प्रकाश र अनुपको ठहर ‘नक्कल गर्ने मान्छे महान कलाकार बन्दैन’


  • ढोरपाटन संबाददाता
  • माघ १३ २०७६, सोमबार

पोखरा,१३ माघ – अनुप बराल र प्रकाश घिमिरेको घर नजिकै कल्पना सिनेमा हल थियो । रंगकर्मी अनुपमा सिनेमाको लत कस्तो भने, नयाँ फिल्म आएपछि हेरिहाल्नुपर्ने । त्यो पनि ३ सो सम्म । घरबाट स्कूल जान झोला बोकेर निस्केका अनुप सोझै हल पुग्थे । आज पुरानी राहो से.. कोही मुझे आवाज दे…..भन्ने गीत बजेपछि फिल्म परिवर्तन हुन लागेको बुझिन्थ्यो रे ।
त्यो बेला शुक्रबार रिलिज हुने फिल्म सेन्सरका मान्छेले हेर्थे रे । उनी साँझ ६ बजेको सोमा हल छिरेका अनुप त्यो बेला हलमा रहेको कुर्चीमुनि लुक्थे रे । ‘पछि सेन्सरका मान्छेहरुसँग फिल्म हेरेर निस्कन्थेँ’ आइतबार पोखरामा आयोजना भएको नाटकको चस्का, त्यो बालापन नामक अन्तरक्रियामा उनले भने,‘ भोलिपल्ट हलमा चलेको फिल्मको कथा यस्तो छ भनेर साथीहरुलाई सुनाउँदा उनीहरु पनि दंग पर्थे ।’ फिल्म त प्रकाश पनि हेर्थे तर उतिसारो हैन । उनी समूहमा फिल्म हेर्न जान रुचाउने । ‘मेरो रहर त समाजसेवा थियो’, प्रकाशले भने,‘ सबै कलाकार भएर जन्मेका हुन्छन् । सबै मान्छेले गर्ने काम नै कला हो । म सामान्य रुपले जन्मेको र हुर्केको मान्छे हुँ । मैले कलाकारिता गरेँ कि गरिन थाहा छैन तर अनुपमा मैले कलाकारिता देखेको थिएँ । अनुप निष्कलंक, निष्कपट थियो ।’ प्रकाशका अनुसार घाँस काट्न जाँदा पनि उनीहरु अभिनय गरेर देखाउँथे रे । रातको १२ बजेसम्म पनि अभिनय गरेको÷गराएको उनले सम्झे । उनी अनुपभन्दा उमेरले ठूला, त्यसले चकचकभन्दा पनि सामाजिक काममा लाग्थे रे । दुबैले घरपरिवारको सहयोगले नै कलायात्रा सम्भव भएको स्वीकारे ।
पोखरा थिएटरको आयोजनामा पोखरामा संचालित महानगरस्तरीय विद्यालय नाटक महोत्सवअन्तर्गत ‘नाटकको चस्का ,त्यो बालापन’ सेसनमा १४ वर्षीय संगम लामिछानेसँग गफिने क्रममा अनुपले आफू सानैदेखि अस्थिर स्वभावको र जिज्ञासु भएको स्वीकारे ।
‘घरबाट स्कूल जान्छु भनेर हिँडिन्थ्यो, कतै जात्रा देखेँ भने म झोला डहरको असुराको बोटमुनि लुकाउँथे र जात्रा हेर्न जान्थेँ’, उनले भने,‘घरमा बुबाले जापानबाट एउटा घडी थियो, घडी कसरी चल्छ भनेर मैले फुटाएँ । पछि बनाउन जानिन अनि घरपछाडिको बारीमा लगेर पुरेँ ।’ पिता दुर्गा बरालले धेरैदिनसम्म ‘घडी यहीँ राखेजस्तो लाग्छ’ भन्दा उनी चाहिँ डरले थुरथृुर हुन्थे रे ! एक वर्षपछि पछि आफैले घडी पछाडि गाडेको बताए । ‘हेर्दा त सबै पार्टपुर्जा खिया लागेको’, उनले सुनाए ।

उनीहरुले नाटक सुरु गर्दा कुनै सुविधा नै थिएन रे । अनुप ३० को दशकमा फर्किए । महिला कलाकार एकदमै कम थिए । नाटक गर्दा चाहिने सोफा लगायतका सामान घरबाटै ल्याउनुपथ्र्यो । सरुभक्त त्यही बेला भन्थे,‘नाटकमा दिनुमात्रै छ, लिनु केही छैन ।’ हो , अनुपको पुस्ताले नाटकलाई धेरै दियो । उनीहरुले रहरले नाटक सुरु गरे । प्रतिबिम्ब नाटक समूह नै खडा गरे । हिन्दी फिल्ममा त्यो बेला ‘एन्टी हिरो’ चल्थ्यो । उपद्रो गर्ने, धनीको सम्पति खोसेर गरिबलाई बाँड्ने र भावनासँग खेल्ने हिरोहरु हुन्थे । अनुपलाई त्यही जीवन बाँच्न मन लाग्ने रे ! त्यसैले उनले पनि फकर बाटो रोजे ।
पछि उनीहरु नाटक वेरोजगारले र नपढेको मान्छेले खेल्ने हो भन्ने मान्यताबाट माथि उठे । उनीहरुका अनुसार हरेक मान्छेको अभिव्यक्त गर्ने माध्यम फरक हुन्छ भन्ने कुरा बुझेपछि बल्ल अभियनको बाटो समातियो । प्रकाशलाई चाहिँ नाटकमै जीवन बिताउँछु भन्ने थिएन रे । उनले रुचीले मात्रै नभएर मेहनतले कलाकार बन्न सकिने धारणा राखे । प्रकाशले भने,‘मानिससँग इच्छा छ भने खानेमुखलाई जुँगाले छेक्दैन, मानिसले इच्छा राख्नुपर्छ र मेहनत पनि गर्नुपर्छ ।’ उनले विजय मल्लको जिउँदो लास भन्ने नाटककै लागि २ वर्ष रिहर्सल गरेको पनि सुनाए ।

अनुप र प्रकाशका अनुसार समाज रुपान्तरणको लागि सशक्त माध्यम श्रव्यदृष्य हुने बुझेपछि उनीहरु नाटकमा डुबे । अनुपले नाटक खेल्दा पात्रसँग एकाकार हुनुपर्ने धारणा पनि राखे । उनका अनुसार अभिनय भनेको एकपटक साइकल सिकेपछि जीवनभर त्यसरी नै चलाएजस्तो हुँदै होइन । ‘यहाँ धेरै एक्टर छन्, साइकल सिकेजस्तो गरेका छन् र छाडेका छन्’,एउटै खालको अभियनले सिनेमामा टिक्न गाह्रो हुने बताउँदै उनले भने,‘हरेक चरित्र गर्दा फरक हुनुपर्छ, शरीर नै फरक बनाउन सक्नुपर्छ ।’
उनले हिन्दी फिल्मको नक्कल गरेर सिनेमामा पात्रभन्दा पनि हिरोलाई महान बनाउने परम्पराबाट नेपाली फिल्महरु बाहिर निस्केको स्वीकारे । ‘अहिले शैलीमा परिवर्तन आएको छ ,मधेशको कुरा गर्दा त्यहाँकै चरित्रलाई त्यो भूमिका दिनुपर्छ भन्ने भएको छ । त्यस्तो भूमिका दिँदा फिल्म बढी प्रामाणिक हुन्छ, अहिले दयाहाङजस्ता जनजातिहरु हिरो बनेर आएका छन्, यसले पात्रमाथि न्याय भएको छ ’, अनुपले भने ।
अनुप का अनुसार मानिस प्रतिभासहित नै जन्मछ । पछि रुचि अनुसार ऊ परिष्कृत हुन्छ । उसको वरपरको परिवेश, संगत र रुचिले नै मान्छे के बन्छ भन्ने निर्धारण गर्छ । कोही पनि मानिस जन्मदै कलाकार भएको जन्मेको हुँुदैन । प्रतिभाशाली व्यक्तिले नयाँ कुरा सृजना गर्छ । नक्कल गर्ने मान्छे महान कलाकार बन्न सक्दैन ।
अहिले अभिनय सिक्ने वातावरण बनेको, रंगमञ्चको विकास र बिस्तार भए पनि नाटकको विकासको लागि राज्यले नै केही लगानी गर्नुपर्नेमा अनुपले जोड दिए । ‘राज्यस्तरबाट ड्रामा स्कूलहरु खोल्ने हो भने पैसा नहुनेहरुले पनि अभिनय सिक्ने मौका पाउँछन्’, उनले भने । प्रकाशले आफूहरुले आफ्नै बलबुताले कलाकारिताको यात्रा तय गरेको बताउँदै अब आफू हिँडेको कच्ची बाटो पक्की बने हुन्थ्यो भन्ने चाहना रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->