बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मासुको मूल्य र व्यवसाय

मासुको मूल्य र व्यवसाय


  • Dhorpatan News
  • माघ २१ २०७६, मंगलबार

बजारमा एकाएक कुखुराको मासुको मूल्य बढेको छ । मासुको मूल्य बढेको मात्रै हैन, अभाव जस्तो देखिएको छ । नेपाल ह्याचरी संघले पुसको पहिलो साता कुखुराका चल्ला जिउँदै गाढेको समाचार सार्वजनिक भएको थियो । संघले यसैगरि अण्डा पनि नष्ट गरेको थियो । कुखुरा उत्पादकहरुका अनुसार लेयर्स जातका भालेहरु सधैँ नष्ट नै गरिन्छ । बोइलर कुखुराको हकमा भने त्यो लागु हुँदैन । गाँठी कुरा के हो भने एक किलोग्राम कुखुराको मासु उत्पादन गर्न करिब १ सय ८० रुपैयाँ खर्च हुन्छ । तर, बजारमा त्यसको मूल्य १४० रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था सृजना भयो । मागभन्दा बढी उत्पादन भएपछि किसानहरु मर्कामा परे । उनीहरुले १० दिन उत्पादन नै बन्द गरिदिए । अहिले बजारमा असर पु¥याएको कारण यही हो ।
पछिल्लो समय नेपाल कुखुराको मासुमा आन्मनिर्भर भएको थियो । कुखुरापालन व्यवसाय फस्टाउँदा धेरैले रोजगारी पाएका थिए । विदेश गएर फर्केकादेखि देशमै केही गरौँ भन्नेहरुले पनि कुखुरापालनमा हात हालेका थिए । कुखरापालन व्यवसाय स्वरोजगार बन्नेहरुको पहिलो आकर्षण थियो । उत्पादनसँगै कुुखुराको मासु खाने संस्कृतिको विकास पनि भएकै थियो । कुखुरापालक किसानको कुरा गर्दा, पछिल्लो समय ठूला–ठूला व्यवसायीहरुले ठूलै लगानीसहित यो क्षेत्रमा हात हालेपछि साना किसानहरुलाई मर्का परेको छ । प्रतिष्पर्धा गर्न नसक्नेहरु स्वतः बजारबाट हट्नुपर्ने अवस्था आएको छ । कसैलाई व्यवसाय गर्नबाट रोक्ने भन्ने त हुँदैन तर यो प्रवृत्तिले बजारमा अस्वस्थ प्रतिष्पर्धा बढाएको तथ्यलाई पनि भुल्नु हुँदैन ।
घाटा खाएर कसैले पनि व्यवसाय गर्न सक्दैन । घाटा व्यहोर्नु व्यावसायिक मान्यता पनि होइन । यसमानेमा किसानहरुको कदमलाई अन्यथा भन्न मिल्दैन । तर, उपभोक्ताको सस्तोमा उपभोग गर्न पाउने अधिकारलाई पनि नजरअन्दाज भने गर्न मिल्दैन । मुख्यकुरा त, हाम्रो सोच र स्वभावसँग पनि सम्बन्धित छ । नेपालका कसैले केही व्यवसाय ग¥यो भने त्यसैको सिको गर्ने चलन छ । व्यवसाय सुरुगर्दा नाफा–घाटा के हुन्छ ? बजारको अवस्था कस्तो छ भन्ने आँकलन हैन कि फलानोले यस्तो गरेको छ , म किन नगर्ने भनेर गरिएको व्यवसायले अपेक्षित सफलता दिँदैन । कुखुरा उत्पादक किसानहरुको अहिलेको समस्या पनि यही हो । कुखरापालक किसानहरुमाजस्तै अन्य क्षेत्र पनि यो रोगबाट मुक्त हुन सकेको छैन । तुलनात्मक लाभको क्षेत्र के हो भन्ने नबुझ्दा घाटा मात्रै हुँदैन, मान्छेको मन पनि भाँचिनसक्छ । यो विषयमा सबै उद्यमशील व्यक्तिहरु सचेत बन्नुपर्छ । उद्यमशीलता चाहनेहरुले सकेसम्म अरुले भन्दा नयाँ र बढी लाभ लिनसक्ने व्यवसाय छान्नुपर्छ । यसोगर्दा जोखिम कम हुन्छ, व्यवसायमा उन्नति हुन्छ । यस्तो अवस्थामा सरकारले म केही गर्छु भन्नेहरुलाई सहजिकरण गरिदिनुपर्छ । बजारको आवश्यकता के छ र कुन व्यवसाय गर्दा उन्नति हुन्छ भन्ने बुझाइदिनुपर्छ । कुनै व्यवसाय असफल हुनु भनेको सरकारको पनि असफलता हो भन्ने बुझ्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->