बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जीवन एक नाटक

जीवन एक नाटक


  • राधिका कल्पित
  • माघ २५ २०७६, शनिबार

समयले लखेटिएको यात्री
भाग्य(रेखाहरुको ऐना हेर्दै
ज्योतिषीले भनेका स्वप्निल कुरा सम्झँदै
कहिल्यै आज नहुने भोलिको आसामा
ठूला सपनाहरु बाट त्रसित मानसिकता बोकेर
जुनी काट्दोरहेछ मान्छे ।

समयसँगै बढ्दै गएका बुढ्यौलीका धर्साहरु
अनि समयसँगै घट्दै गएका स्मृतिहरुलाई
बन्दी जस्तै अटेसमटस थुनेर
आफ्नै अन्तर्मनको कारागारमा
रहर हरुलाई आफैले घाँटी निचोरेर
आफ्नै निसाफले सर्जमिन सम्म गर्न नदिई
गाडिदिन्छ आफैभित्र चिहान खनेर ।

स्मृतिका कानहरुलाइ बहिरा बनाएर
आफैसँग रिसाएर ठुस्के जस्तै
कहिल्यै आफैलाई सुन्ने र फकाउने कष्ट नगरि
हिँडिदिँदो रहेछ उकालि ओरालिहरु
सजिलो र नयाँ बाटो खन्न डराउँदै
पुरानै अप्ठेरो बाटो हिड्न रुचाऊँदो रहेछ मान्छे ।

ऐनामा सेता केशहरु ऊखेलेर
फुलेका दार्हीसँग गुनासो गर्दै
उमेर छल्ने प्रयासमा आफैबाट पराजित भएर
ऐना अगाडि जानै छोडिदिन्छ बरु ।
आफ्ना गल्तिहरु सम्झँदै
आफ्ना सन्तानलाइ झपार्छ
सायद अझै लखेटिदै छ ऊ बिगतबाट
र त श्यामश्वेत तस्विर जस्तै धुमिल भएका सम्झनाहरु
कहिलेकाँहि मनका सन्दुकहरु खोलेर
टक्टकाउन मन लाग्छ उस्लाई।

सबैलाई जितेर आफुसंग हारेको मान्छे
सबैलाइ चिनेर आफैलाई नचिनेको मान्छे
फेल भएका प्रमाणपत्रहरु लुकाएर
सफलताका पाठ सिकाउँदै आफना नानिहरुलाइ
आफ्ना सपना सरक्क सार्छ सन्तानहरुमा
यधपि उनीहरुलाइ
सुनौला सपना देख्न बञ्चित गर्छ
अनि टाढा पुग्नुपर्ने ढोकाहरु देखाएर
ढोका खोल्ने चाबी दिन ईन्कार गर्छ ।

जिबनको उत्तरार्धमा
अस्ताउँदै गर्दाको पहेंलो र मलिन सुर्य
खुल्ला आँखाले हेर्दै
आफुलाइ त्यहि डुब्न लागेको घाम सम्झँदै
लामो सुस्केरा फेर्छ
बबुरो मनुवा
भर्खर मात्र नाच्न सिकेको थियो
भर्खर मात्रै बाँच्न सिकेको थियो
बल्ल साँचो अर्थमा हाँस्न सिकेको थियो
जन्मदा रुँदै आएको हाँस्दै जान सक्दो रहेनछ
भगवानका अगाडि साँचो बकेर
राम नामले प्राण साट्दो रैछ मान्छे ।

यस्तै नाटक मञ्चन अभ्यासमा
मृत्युको पर्दा खस्छ
एउटा नाटक सकिन्छ
एउटा जिन्दगी सकिन्छ
तर जीवनको रँगमञ्चमा
अभिनय जारि छ
कथा उस्तै हो
ब्यथा उनै हुन्
फगत पात्र फेरिन्छन्
नाटक चलिरहन्छ
पुस्तौं पुस्ता सम्म
अनन्त अनन्त सम्म।।

राधिका कल्पित
काठमाण्डौ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->