बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

छोरी रुयासालाई चिठी – ३

छोरी रुयासालाई चिठी – ३


  • याम बहादुर थापा मगर
  • माघ २५ २०७६, शनिबार

मेरो छोरी रुयासालाई एसईई पास गरिसकेपछि विज्ञान विषय किन अध्ययन नगराएको भनि प्रश्न गर्ने थुप्रै शुभचिन्तकहरुलाई मैले पढ्ने मानिसको लगाव नभएका कारणले भनिदिएँ । छोरीले स्टाफ नर्स पढ है भन्दा स्वास्थ्य क्षेत्र रुचीको विषय हैन बाबा भनिन् । विज्ञान विषय अध्ययन गर है भन्दा मेरो क्षमता, दक्षता र खुबीले भ्याउदैन भन्छिन् । इन्जिनियर, कृषि विज्ञान लगायत पढ्ने विषय झन् गाह्रो हुने नै भयो । व्यवस्थापन पढ्ने साथीहरुको जमात बढी भएकोले हुनसक्छ ‘बाबा म व्यवस्थापन पढ्ने’ भन्ने छोरीको निर्णयलाई नकार्न सकिन । छोरीलाई भोलिका दिनमा मैले व्यवस्थापन विषय पढेर भविष्यमा विज्ञान विषय लिएर पढेका विद्यार्थीहरुले जस्तै बुद्धि र व्यक्तित्वको विकास गरी जिवनयापन गर्दछु भन्ने सोच विचार र विमर्श भने दिनहुँ गराउनु पर्दछ ।
कामको शिलशिलामा साँझ बस चढी म बागलुङबाट काठमाण्डौ गएँ । दिउँसो काम भ्याई साँझको बस चढी बागलुड नै फर्किने योजनाका साथ म काठमाण्डौ गएको थिएँ । त्यहीँ बेला भृकुटी मण्डपको प्रर्दशनी स्थलमा जुत्ता शो मेला, पुस्तक प्रदर्शनी मेला, सूचना प्रविधि मेला, पुस्तक प्रर्दशनी मेला अवलोकन गर्ने मौका मिल्यो । नाम चलेका थुप्रै लेखक, प्रकाशक, टिभी, अनलाइन, फेसबुकमा देखेका तर मलाई नचिनेका थुप्रै लेखक, पत्रकार, प्रकाशकहरुलाई भेट्ने मौका मिल्यो । मैले हामी बालबालिका– जोन हल्ट, जीवन के हो ? – ओशो, आमा बाबुका प्रश्न – गिजु भाई, हेलेन केलर मेरो आत्मकथा, सिकाउने शैली – खगराज बराल, बिल गेट्स (डिजिटल क्रान्तिदेखि सिर्जनशील पूँजीवादसम्म) – अच्युत कोइराला, आमाबाबुको भूमिका (बालबालिकालाई बुझ्न सिकाँै) – गिजु भाई, बाल संसार (बालबालिका के चाहन्छन् ? उनीहरुसँग कस्तो व्यवहार गर्ने ?) – गिजु भाई, पहिलो महिला सी.डी.ओ. आत्मकथा – उषा नेपाल नामक पुस्तकहरु झोला भरी किनेँ । ती किताब कोठामा ल्याई ल पढ नानी भन्दा छोरीले काठमाडौबाट गुदपाक नल्यादिएर किताब मात्र ल्याउनु भएको छ भनी प्रतिक्रिया दिइन् । मैले साँच्चै गुदपाक ल्याएको थिइन । कुल किताबको मूल्य तीन किलो गुदपाकको मूल्यभन्दा बढी थिएन । गुदपाक कोशेली ल्याइदिएको भए खाइपिइ सकिन्थ्यो तर मैले बाबाआमा, काकाकाकी र छोराछोरीहरुको उज्वल भविष्य निर्माण र पठन संस्कृतिको संस्थागत तथा पारिवारिक विकास गर्नका लागि टेवा पुग्ने हिसाबले दिर्घकालीन र फराकिलो सोचका हिसाबले पुस्तक खरिद गरेको थिएँ । छोराछोरीलाई पुस्तकको महत्व बुझाउन नसकेकोमा दुःखी सिवाय अरु हुन सकिन । किनकी छोरीले मैले खरिद गरेका पुस्तकहरु नपढेसम्म र नपढेपछि पाइने दुःख, दर्द, पीडा नभोगेसम्म मैले आर्दशमूलक शब्दबाट दिएको अर्ति, उपदेश, सुझाव बालुवामाथि पानी खन्याए जस्तो हुने हो कि भन्ने भावना मनमा खेलिरह्यो । छोरीले ढिला नगरी निकट भविष्यको समयमा नै गहिरो र आत्मसम्मानमूलक अनुभुति गर्नू है !
विश्व परिवेशको अध्ययनबाट प्राप्त ज्ञानबाट परिवार, समाज र सिंगो राष्ट्रका बारेमा सुसूचित भई रहनका लागि निरन्तर स्वअध्ययन बाहेक अर्को विकल्प छैन । शिक्षित परिवारको शुभसंकेत बैठक कक्षसँगै सानै भएपनि पुस्तकालय नै हुन्छ । पुस्तकालयबाट प्राप्त हुने असीमित ज्ञान र आनन्द, साना नानी र बाबुहरुमा पर्ने बाल मनोविज्ञानको प्रभाव उच्च रहने भएकोले सोको विस्तार र विकासमा लाग्नु नै श्रेयस्कर हुनेछ । हामीले किताबलाई अध्ययन गरी माया गर्नुपर्दछ अनि मात्र हामीलाई किताबले माया गर्दछ भन्ने भावनाको विकास विद्यालय जिवनबाट नै असल संस्कार र शैलीको सुरुवात गरेमा छोरीको भविष्य उज्वल हुने कुरामा विश्वस्त हुन सकिन्छ । कहरले भन्दा रहरले किताब अध्ययन गर्ने बानीको विकास गरेमा पक्कै जीवनका तनाव र पीडा स्वतः अन्त्य हुने शिक्षा युवा अवस्थामा नै लिनुपर्दछ । समाजको दर्पण साहित्य भएकोले समाज भित्रका सफलता र असफलता, खुशी र हाँसो, पीडा र सान्त्वना अनि संर्घषका अनुभवबाट शिक्षा लिनु नै उपलब्धि मान्नु पर्दछ । खराब पुस्तक पढ्नु विषपान गर्नु बराबर हो भन्ने लियो टाल्सटायको भनाई अनुकरण गर्दै राम्रा पुस्तकका बारेमा जानकार भइसकेपछि पुस्तक खरिद गर्नु बुद्धिमानी बानीको विकास र संस्कार बसाल्नु छोरीहरुले गर्नुपर्दछ । उत्कृष्ट किताबबाट जीवनका सबै आयामहरुको अध्ययन गर्न सकिने भएकोले अध्ययनशील हुनु समय र पैसा दुबैको सही सदुपयोग भएकोले प्रतिफल स्वरुप हत्केलारुपी भविष्यमा समुन्नत र समृद्धिको प्राप्ति हुनेछ । भविष्यको स्थायी साथीको रुपमा पुस्तक अध्ययन गर्ने बानीले वृद्धावस्थामा समेत के गरुँ भन्ने पिरलो हँुदैन । जहाँ पुस्तक छैन, त्यहाँ अज्ञानता, अपरिष्कार र अस्पष्टता छ । ज्ञानको स्रोत नै किताबरुपी जीवन हो भन्दै फुर्सद हुनासाथ मोबाइलमा गीत, फेसबुक, ट्विटर, युट्युबमा आँखा नलगाई किताब पढि हाल्ने बानीको विकास गर्नुपर्छ ।
मुश्किलले गृहकार्य गर्ने परिपाटीको अन्त गरिनुपर्छ । टेलिभिजन, कम्प्युटर र मोबाइलमा आउने रमाइला खेल, सिरियलले बालबालिकाको निद्रा बिर्साइदिएको छ । विद्यालय त सिक्न जाने हो, विद्यालयमा सिकेको विषयलाई अध्ययन र चिन्तन गर्ने काम घरमा बसेर हो । अधिकांश समय विद्युतीय सञ्चार माध्यममा रमाउने र मोबाइल, टेलिभिजनको किरो बन्ने बानीलाई हटाउन अहिले अभिभावकलाई हम्मेहम्मे परेका छन् । मोबाइलमा अधिक समय खर्च गर्दाको परिणाम पढाइको गुणस्तरमा ह्रास भएको उदाहरण छरपस्ट पाइएको छ । मोबाइललाई शिक्षामूलक सामाग्रीको साथी बनाउनका लागि शिक्षक, साथी, पत्रकार, शिक्षाविद, बाबाआमाको सल्लाह सुझाव लिन सक्नुपर्दछ । पठन विधिलाई बालमैत्री बनाउनमा आफै सृजनात्मक हुन जरुरी छ ।
विद्यालय छुटने समयमा कतिबेला घर जान पाइएला भनेर निस्सासिने वातावरणलाई अध्ययनशील र फुर्सदमा किताबको संसारमा रमाउन सक्ने युवा जमातको विकास गर्नमा पहरेदार र परिश्रम सहितको लगनशीलता हासिल गर्नु पर्दछ । छोरीले जानेबुझेको ज्ञान विवेकका कुरालाई भाइबैनीलाई शेयर गर्नुपर्दछ । छोरीले आफै खोज र अनुसन्धान गरि व्यक्तित्व विकासमा उत्प्रेरित भै लाग्नका लागि सामान्य उदाहरणका रुपमा युट्युब च्यानलहरुको नाम उल्लेख गर्न चाहन्छु । जसलाई नियमित रुपमा हेर्दा विद्यार्थी जिवनका लागि राम्रो मानिन्छ । थुप्रै अरु पनि हुन सक्छ जसलाई संक्षेपीकरणका रुपमा लिँदा राम्रो हुन्छ । जस्तैः New Creative Knowledge, Teach for Nepali, Ottish, Loksewa Gyan, Tchnology Channel, e.kuraute, Sayapatri online Tv, Nepal Smart loksewa, All History,Pardeshi Online tv, Bishwo Ghatana, NEWS FATAFAT NEPAL, Awesome UR, Tutorials Point (india) pvt.ltd, loksewa gk, Dr.Tara jii, Jeevan Vigyan, manav Dharma, Seto parda Tv, Suman Sanga, Kendrabindu News, Aayog Tayari, NSS CREATION, Nepali Economic Awareness, PERFECT TV आर्दि । युट्युब च्यानलहरुले शैक्षिक र बौद्धिक ज्ञान हासिल गर्नमा सघाउँछ । त्यस्तै फेसबुक पेजहरु लाइक र फलोअप गरेर समेत विद्यार्थी जिवनलाई बढी जागरुक बनाउन सकिन्छ । आफूसँग सम्बन्धित जानकारीको लागि संगतको गुनाको फल भनेजस्तै सकारात्मक सोच र आत्मबल अभिवृद्धि गर्ने स्रोत तथा सामाग्रीको संकलन गर्नमा संगठित भै लाग्नु नै फलदायी हुनेछ । सुझाव र सल्लाहका श्रृंङखलाहरु अविराम लखिरहने नै छु । आगामी दिनमा लेख्नका लागि बाँकी विषयवस्तुलाई थाँती राख्दै चिठीको स्वरुपलाई अन्त्य गर्दछु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->