विभिन्न देशको भौगोलिक अवस्था र तत्कालिन आवश्यकता अनुसार कुनै ठाउँमा अभाव गरिबी र पिडाबाट, कुनै ठाउँमा युद्धबाट, कुनै ठाउँमा अहिंसा शान्ति र सदभावबाट समेत नेताको जन्म भएको पाइन्छ । आधुनिक युगमा पछि परेको हाम्रो देशलाई विकसित देशको दाँजोमा पु¥याउन सक्ने सरल जिवनशैली भएको, थोरै बोल्ने धेरै सुन्ने । सबै नागरिकसंग मित्रभावले कुरा गर्ने र विकासको सुझाव लिने । सामान्य नागरिकले भन्दा पहिल्यै समयको मूल्याङकन गर्ने । आवश्यकता अनुसार धैर्यता राख्ने र जोखिम उठाउने । आधुनिक ज्ञान र विज्ञानको संयोजन गरेर देश हितमा प्रयोग गर्ने समाजसेवक राजनेताको आवश्यकता छ । परिवार, समाज, संगठन र जनताको समर्थन पाएको असल नेताले मात्र देश विकास गर्दछन् । हाम्रो समाजको बनौट र परम्परा अनुसार असल नेताले जनताको समर्थन पाए पनि मत पाएको देखिंदैन ।
भोट दिने बेलामा धेरै नागरिकहरुले आफ्नो छरछिमेकी, दाजुभाई, आफ्नो जातिको, ऋण दिने, साहुले भनेको ठाउँमा, सरसामान उधारो दिने, जागिरको आश्वासन दिने, चुनावमा धेरै खर्च गर्ने, अर्को दललाई बेसरी गाली गर्ने र पहिल्यै जहाँ भोट दिएको हो त्यहीँ दिने गर्दछन् । अर्कोलाई दिएमा बेइमानी होइन्छ भनेर छोरा नातीले समेत एउटै ठाउँमा दिन्छन् । त्यसलाई बदल्नको लागि सबै नागरिकहरुमा राजनैतिक चेतनाको साक्षारता चलाउनु पर्दछ । त्यसबाट मात्र आफुले पाँच वर्षमा एक पटक दिने मतको महत्व र त्यसले पार्ने प्रभावको जानकारी होस् । कुनै बेला तपाईको एक मत कसैको देश बेच्ने लाईसेन्स नबनोस् भनेर भोट मागे । कुनैबेला कोशी, गण्डकी र महाकाली बेच्यो भनेर भोट मागे । एकजना व्यक्तिले दरबार हत्याकाण्डको योजनाकार आफु भएको जानकारी दिन पत्रकार सम्मेलन गरे । कसैले त्यसमा ग्राइण्ड डिजाइन भएको कुरा सुनाए । मदन भण्डारीको हत्यारा पत्ता लगाउने गफ केही नेताले अझै पनि सुनाउँदै गर्दछन् । यस्ता कुराको जवाफ सामान्य नागरिक, इमान्दार कार्यकर्ता, पत्रकार वा बुद्धिजिवीहरुले माग्न सकेका छैनन् । जवाफ मागिहालेमा नेताले हप्काउने र व्यक्तिगत विकासमा बाधा पुग्ने डरले तिनै नेताको आस र त्रासमा युवा पुस्ता बाँचेको छ । यसको परिवर्तनको लागि आधुनिक ज्ञान र प्रविधिमा दक्ष युवा पुस्ताले हिम्मत गरेर पुरानो पुस्तालाई निर्णायक धक्का दिनु पर्दछ । अगाडि आउन आँट गर्ने व्यक्तिलाई समेत झुटा मुद्दामा फसाइ दिने । आर्थिक रुपमा टाट पल्टाउन अनेक प्रपन्च र जालझेल गर्ने । नगरेको कुरालाई पनि त्यसले नै हो भनेर हल्ला फैलाउने गर्दछन् । यस्ता जोखिमहरु मोलेर भए पनि अगाडि बढ्दा समेत पुराना राजनैतिक दल र व्यक्तिबाट समेत व्यापक रुपमा निराशा र अविश्वास रहेको पाइन्छ । कसैले ठट्यौली रुपमा नेपालमा विकास हुन कठिन छ किनकी यहाँ भएको तिन वर्गमध्ये माथिल्लो वर्गलाई विकाशको आवश्यकता छैन । मध्यम वर्गलाई फुर्सद छैन । निम्न वर्गलाई सोचाई नै छैन भन्दछन् ।
देश र जनतताप्रति उत्तरदायी नेता र नेताप्रतिको विश्वास र देशभक्त जनताहरुको उचित संयोजनबाट मात्र देशमा समृद्धि संभव छ । देश विकासको लागि देशभित्र रहेका जलस्रोत, जमिन, जंगल, जडिबुटी, हिम श्रृङखला र साँस्कृतिक विविधता जस्ता प्राकृतिक श्रोत र प्रमुख रुपमा मानव श्रोतको अधिकतम उपयोग गरिनु पर्दछ । त्यसका साथै एक व्यक्ति एक सीप समयको सदुप्रयोग र अरुको कुरा काट्ने बानीको अन्त्य हुनु पर्दछ । प्राथमिक तहको पाठ्यक्रममा नै देशभक्ति र विकास भन्ने विषय समावेश गरिनु पर्दछ । आधारभुत कामको ज्ञान, संयुक्त परिवारको संस्कार काम र कामदारको सम्मान फरक जातिमा समान सद्भावसहित मानवताको नाता हुनुपर्दछ ।
हाम्रो देशको भौगोलिक अवस्थिती अनुसार तुलनात्मक लाभका क्षेत्रहरु प्हिचान गरेर त्यसैबाट विदेशी मुद्रा आर्जन गर्ने र यहाँका नागरिकको आर्थिक उन्नती गरिनु पर्दछ । त्यसको लागि उत्पादकलाई सिधै अमुदान दिने, उत्पादित वस्तुको उचित मूल्यसहित बजारको ग्यारेन्टी गर्ने, क्षतिपुर्तीको व्यवस्था गर्ने, व्यक्तिगत सीप योजना र क्षमतालाई देखाएर बिना धितो चाहेजति ऋण दिने गर्नु पर्दछ । राज्यका अंगहरुलाई आधुनिक प्रविधिमा दक्ष र स्वायत बनाउनु पर्दछ । सम्बन्धीत क्षेत्रका विज्ञहरुसंग परामर्स गर्नु पर्दछ । जुनसुकै वाद वा राजनैतिक व्यवस्था आए पनि नेता र जनतामा एकअर्का प्रतिको सद्भाव र व्यक्तिगत रुपमा इमान्दारिता भएमा मात्र देश र जनताको अवस्था बदलिन्छ ।




