बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बढ्दो आधुनिकिकरणसंगै सामाजिक परिवर्तन

बढ्दो आधुनिकिकरणसंगै सामाजिक परिवर्तन


  • कृषिता अधिकारी (निशा)
  • माघ २८ २०७६, मंगलबार

वास्तवमा समाज एक साधारण अवस्थाबाट जटिल अवस्थामा रुपान्तरण हुने प्रकृया हो । किनकी यो प्रत्रिया समाज विकासको क्रममा युगौयुग चलिरहेको हुन्छ, जसलाई सामाजिक परिवर्तन तथा विगतदेखि वर्तमान र भविष्यमा पनि निरन्तर चलिरहन्छ, जुन प्रकृयालाई हामीले आधुनिकिकरण भन्ने गरिन्छ । हाम्रो समाजमा रहेका परम्परागत सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र प्राविधिक तत्वहरुमा नयाँ र वैज्ञानिक परिवर्तन हुन आवश्यक थियोे र समयसंगै परिवर्तनहरु पनि भएका छन । २० औं शताब्दीकै कुरा गर्नुपर्दा विश्वका अनेक देशहरुमा विशेष रुपले पश्चिमी युरोप र उत्तर अमेरिकाका देशहरूमा औद्योगिकरण, सामाजिक परिवर्तन, आर्थिक विकास, राजनैतिक सुधार र नविनिकरण जस्ता हरेक क्षेत्रमा महत्वपूर्ण भुमिका निभाइरहेका थिए, जसमा एकपछि अर्को चरण पार गर्दे समाज परिवर्तन दिशातर्फ मोडिन पुगेको छ । जसरी हिजोको जंगलीयुगदेखि विकासका प्रकृयाहरु अगाडि बढेका थिए । सामान्य ढुङ्गाका हातहतियारदेखि विभिन्न क्षेप्यास्त्रहरु निर्माण हुन थाले । त्यसैअनुरुप आधुनिकिकरणलाई पनि सामाजिक, सांस्कृतिक मूल्य मान्यता तथा सिपको पुननिर्माण, नविकरण र रुपान्तरित दृष्टिका रुपमा लिन सकिन्छ ।
जस्तो कि केवल आर्थिक पक्षलाई मात्र जोड नदिएर समाजका हरेक संरचनाको परिवर्तन र विकासलाई जोड दिनुपर्छ तर अहिलेको परिस्थितीलाई हेर्दा राज्यले केवल आर्थिक पक्ष र राजनीतिक पक्षलाई मात्र केन्द्रित गरेको अवस्था छ, कारण अल्पविकसित देशहरूमा आधुनिकिकरणले परम्परागत र सांस्कृतिक संस्था ढल्न पुगेर परम्परागत मूल्य मान्यताको हस हुनाले समाजमा विभिन्न समस्याहरु श्रृजना भएका छन् । एक अर्कोमा सकारात्मक भावना हटिसकेको अवस्था छभने अर्कोतर्फ कृषिमा आधारित अर्थतन्त्र रहेका विकासोन्मुख देशमा जुनसुकै निर्णय गर्दा कर्मचारीहरुको मानसिकता जनमुखी प्रशासन दिनेभन्दा स–साना काममा ढिलाई सुस्त र अनियमितता गर्ने प्रवृत्ति परम्परागत रुपमा विकसित हुँदै आएको पाइन्छ । जसले गर्दा गरिब जनताहरु पहुँच योग्य हुन नसक्दा आइपर्ने समस्या झेल्न बाध्य छन् ।
उचित शिक्षादिक्षा, रोजगार, स्वास्थ्य सेवामा पहुँच जस्ता कुराहरु मै पनि वर्ग विभाजित भएको अवस्था छ । हुनेखाने वर्गहरुले सहज तरिकाले जीवन निर्वाह गर्ने भए नहुने वर्गहरु नै बढि मात्रामा शोषित बन्न पुगे, कारण योजनाविहिन रुपमा पश्चिमी सभ्यताको प्रवेशले गर्दा यस्ता संस्कृतिलाई सजिलै स्वीकार गर्ने प्रविधिले पनि हो र वर्तमान परिस्थितिमा मानिसहरु आर्थिक पक्षलाई नै ध्यान केन्द्रित गरेको अवस्थाले पनि समाजमा नकारात्मक क्रियाकलापले जरा गाडेको छ । छाडा संस्कृति तथा खुला र अनियन्त्रित यौन सम्पर्कले गर्दा विभिन्न रोग उत्पन्न हुने र लागूपदार्थको सेवनले युवायुवती कुलतमा फसेका छन् । त्यसैगरी पश्चिमी सभ्यतालाई व्यवस्थित गर्न लागूपदार्थको ओसार पोसार, महिला बेचबिखन, चोरी, हत्या र लुटपाट जस्ता प्रवृत्तिबाट आयआर्जन गर्ने बानीको विकासले गर्दा अहिलेका युवा वर्गहरु तथा बालबालिकामा समेत नकारात्मक असर परिरहेको छ । जब समाज परम्परागत व्यवस्थाबाट आधुनिक व्यवस्थातिर बढ्दछ तब कहिलेकाहीँ विभिन्न किसिमका समस्याहरु भोग्नुपर्ने हुन्छ । उदाहरणका लागि हाम्रो समाजमा नयाँनयाँ शिक्षा प्रणालीहरु आउनाले सबैले समान रुपमा पढ्ने अवसर त पाए तर धेरै शिक्षित जनशक्ति भएकोले बेरोजगार, सामाजिक, आर्थिक, अपराध, आत्महत्या आदि समस्याहरु पनि देखापर्न थाले । त्यस्तै परम्परागत मूल्य र मान्यतामा आस्था राख्ने कुनै दुई समाजलाई लिएर अध्ययन गर्दा एउटा समाजमा आधुनिकिकरण प्रक्रियाले जाति व्यवस्था समाप्त पारि वर्ग व्यवस्थालाई मान्यता दिने र अर्को समाजमा त्यहिँ समयमा जात व्यवस्थाले जरो गाडि नै रहेको हुन्छ, जसलाई हामी आधुनिकिकरणको नकारात्मक पक्ष मानिएको छ ।
नेपालको सन्दर्भमा आधुनिकिकरण हुने प्रत्रियालाई उल्लेख गर्दा जुन बेलादेखि हामीले पश्चिमी जिवनशैली अपनाउन थाल्यौं विस्तारै विस्तारै बढ्दो आधुनिकरण, बसाइँसराइ, सहरीकरण तथा वातावरण प्रभाव र सामाजिक विकृतिहरु उत्पन्न हुन थाल्यो । मानिसहरु भौतिक सुख सुविधाभोगि हुन थाले, उर्वर र उपभोग्य जमिन बाँझै रहन थाले, बाहिरी प्रभावका कारणले विभिन्न रोग फैलिन थाल्यो जसले गर्दा मानिसहरु अकालमै मृत्यु हुन थाल्यो । त्यसैगरी इतिहासको पक्षलाई जोड्नु पर्दा वि.सं २००७ सालको राजनीतिक परिवर्तन पश्चात् नेपाली जनतामा प्राप्त भएको नयाँ जागरण प्रजातन्त्रिक हक अधिकारप्रतिको चासो शिक्षा, स्वास्थ्य र सञ्चार जस्ता क्षेत्रको विकास, बाह्य राष्ट्रहरुको सम्बन्धबाट आधुनिकिकरण प्रक्रिया अगाडि बढेको पाइन्छ । जसबाट देशको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा आमूल परिवर्तनका सङ्केतहरु देखा पर्न थालेका छन् । तसर्थ यी र यस्ता समस्याहरु निराकरण गर्न आम नागरिकदेखि राज्य पक्ष पनि सकारात्मक भुमिका निर्वाह गरे मात्र वर्तमान परिस्थितिमा उत्पन्न भएका यस्ता समाधान हुन्थे कि !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->