जब केपी ओली पहिलोपटक प्रम बनेका थिए । उनले पहिलो मन्त्रीपरिषद्को बैठकमा आफ्नो कार्यकालमा तुईन बिस्थापित गर्ने घोषणा गरेका थिए । विचारका हिसाबले केपी ओलीको पहिलो प्राथमिकता तुईन बनाएकोमा निकै गर्व महसुस भएको थियो । तात्कालिन परिस्थिजन्य राजनितिक कारण उनले लामो समय काम गर्न पाएनन् । सरकार फेरियो । केपी ओली अहिले पुन प्रम बनेको दुई बर्ष पुग्यो । उनले संसदमा राखेको विचार तिर नगई हाम्रो अनुभवले हेर्दा यो सरकारले केही पनि गरेन की केही गर्न खोज्दैछ । प्रमको दुई बर्षको कार्यकालको समिक्षा गर्दै गर्दा नाम नखोल्ने शर्तमा नेकपाका एक नेताले यसो भने उसो भने यो प्रमले बाँसुरी बजाएर समय पाले जस्ता अमुर्त विचार छाप्ने ठुला पत्रिकाले यो सरकारले केही नगरेको जस्तै आलोचना गरिरहेका छन् ।
लेखको आसय यो दुई बर्षमा देश कायापलट भयो भनेर भन्न खोजेको पनि होईन तर कुनै पत्रकारले मेरो बारीको चिलाउनेको रुखमा अघिल्लो बर्षभन्दा यो बर्ष धेरै भारी सेउला आए यो ओली सरकारले गर्दा हो भन्ने खालका कान्ला ओर्लेका विचार भने अतिबाद नै हो । यो सरकार आएपछि काण्डै काण्ड भनेर काँग्रेसले २१ काण्डको पर्चा छापेर जिल्ला जिल्ला पुर्यायो । कार्यकर्तादेखी घेरै जसो आलोचक यसैमा रमाए तर कसैले पनि यि काण्डका पिँधमा को छ खोज्न चाहेनन् । अधिकांश पत्रकारहरु सरकारको मिडिया विद्येयकका कारण रुष्ट भएर होला सरकारका कुनै मन्त्रीले लेखेको कवितामा पनि आफ्नै अनुहार देख्छन् । जहाँ गिद्धले गीत गाउँदैन भन्ने शीर्षकमा आफ्नो अंश खोज्दैछन् ।
गत हप्ता एउटा मिडियाले तुईन तरेको १०० रुपैयाँ भनेर फोटोसहित समाचार लेख्यो । सरकारको आलोचनामा खुराक खोजी रहेकाहरूलाई यसले भरपुर खुशी बनायो । खासमा आजको दिनमा पनि तुईनबाट स्कुल जानु पर्ने, बच्चाबच्ची बोकेर तुईन तर्नुपर्ने दुखद कुरा हो तर आलोचकहरूले नेपाल अधिराज्यभर भएका तुईन लगभग हटिसकेको कसैले खोज्न चाहेन । अहिले केवल आठ ठाउँमा तुईन नहटेको त्यसको कारण पनि जग्गा विवादले मुद्धा चलेका कारण हो तर सबैलाई त्यही एउटा तुईनले पुर्याईदियो खुराक । यो पनि हट्नु पर्छ यसमा सरकारले गरोस् भनेर भन्नैपर्छ तर हामीले करीब दुई सय वटा तुईनमा लगातार काम भईरहेका कारण अहिले कवेल आठ दश ठाउँमा मात्रै बाँकी छन् ।
सबै भन्दा चर्केको बिषय रह्यो बालुवाटार जग्गा प्रकरण । अख्तियारले मुद्धा समेत दायर समेत गरेको छभने धेरैको जग्गा समेत जफत हुने भएको छ । यो सरकारमा संलग्न कसैले पनि यो प्रकरणमा चोखा छन् भन्ने होईन तर यो प्रकरणमा कृष्ण प्रसाद भट्टराईको नाम बेचेर कतिले दुनो सोझाएका रहेछन् भन्ने कुरा पनि देखियो । सरकारले जति काण्ड मच्चायो भने पनि यि काण्डका जरो सबै पाटीका मुख्य मान्छेसँग जोडिएको देखिन्छ । यो सरकारका पालामा सबैभन्दा घेरै काण्ड भए जसको फरक पाटो के हो भने आजसम्म यि काण्ड किन थन्काएर राखिए । यो सरकारका मान्छे फेसे पनि यस्ता गलत कार्यको उजागर त पक्कै भएको छ । यो सरकार संघियता पछिको पहिलो सरकार हो । जनताले सोचे बमोजिम काम पक्कै भएका छैनन् । कानुन निर्माणको क्षेत्रमा उल्लेखनिय काम प्रगति भएको छ । प्रमले गर्न नखोजेको पक्कै देखिँदैन किनकी केही समय अगाडी मन्त्रिमण्डल हेरफेर गरे । जनताले राम्रै मानेका गोकर्ण बिष्ट समेत निकालिनु दुखत हो तर अन्य जो जसलाई हटाए राम्रै थियो । टेष्ट गरेर नगर्नेलाई समयमा निकाल्नु पर्छ । यातायातमा हाल आएका मन्त्रीले सुधारको संकेत देखाएको कुरा पुर्व अर्थ सचिवले टुईटमार्फत व्यक्त गरेका थिएभने काठमाण्डौ बाहिरका कतिपय ठाउँमा भएका बाटाका सुधार निकै राम्रो रहेको समेत उल्लेख गरेका थिए ।
प्रमले आफ्ना सल्लाहकारलाई राजिनामा दिन लगाए । यदि जयजयकार मात्रै सुन्ने इच्छा हुन्थ्यो त पक्कै हेरफेर गर्ने थिएनन् र कतिपय कुरामा आँफुलाई सही तरिकाले ब्रिफिङ नगरेको कुरा पनि नलुकाई प्रष्ट राखेकै पनि छन् । केही यस्ता कुराहरूले गर्दा प्रमले गर्न नखोजेको भन्ने लाग्दैन । तर सामुहिक प्रयत्न बिना राम्रो नतिजा आउन सक्तैन यिनै कतिपय कारण सोचेको काम पुरा भएका छैनन् । सरकारलाई जति खिल्ली उडाए पनि काँग्रेसले समेत घोषणापत्रमा रेलको तस्विर राखेर घोषणापत्र बाँडेको थियो । रेल पानीजहाज नेपाललाई आवश्यक छैनन् भनेर कुनै पाटीले चुनावको समयमा भनेन् तर अहिले रेल किन ? पानी जहाज किन ? निजगढमा बिमानस्थल किन ? भनेर लामा लामा लेख आईरहन्छन् ।
भर्खरकै एउटा उदाहरण हेरौं । चीनमा फैलिएको कोराना भाईरसका कारण चीनमा रहेका नेपाली विद्यार्थीलाई नेपाल ल्याउन सरकारले पहल गर्दै गर्दा नेमकीपाका नारायणमान विजुच्छे र प्रेम सुवालले चर्को बिरोध गरेर भक्तपुरमा राख्न नहुने भनिरहेका थिए । संसदमा सुवाल ध्यानाकर्षण गराए तर प्रमले संसदमै भक्तपुर सबैको जिल्ला हो प्रम बस्ने ठाउँ पनि हो अरु ठाउँमा पठाउँदा विविद होला भनेर यहि राख्ने योजना छ भने निर्भिक रुपमा प्रस्तुत भए । परेको बेला अभिभाकत्वका रुपमा बोल्ने केपीको यो शैली धेरै कममा छ । भक्तपुरमा राख्दा अस्पताल एवं अन्य सुविधा पनि हुने हुँदा उत्तम रहेको भनेर उनले निकै राम्रो विचार राखे । यसरी हेर्दा सरकारले केवल दिन मात्र कटाउने पक्षमा छ जस्तो लाग्दैन ।
सरकारकाले चालेका कतिपय कदममा सरकारको अझै अध्यान नपुगेको पक्कै देखिन्छ । जस्तो गुठी विद्ययेक कतिपयले बुझे जस्तो सामन्ती अवषेश थिएन । सरकारले संघियतामार्फत सिंहदरबारको सेवा गाउँगाउँमा पुर्याउने भनेता पनि अधिकांश ठाउँमा सिंहदरबारमा जस्तो बिलासी जीवन स्थानीय जनप्रतिनिधीहरू देखियो । कर उठाउने कतिपय कच्चा निर्णयदेखी पदाधिकारीहरूले गाडी किन्ने सम्मका कुरा विकृति नै हुन भने गाउँ–गाउँ प्रायः धेरै जसो वडाध्यक्षहरूले डोजर किनेर आफ्नो हात जगन्नाथ गरेका छन् । यस्ता बिकृति हटाउने केन्द्रले अभिलम्ब कदम चाल्नु पर्छ । सरकारका सबै मन्त्रीले ठीक गरेका छन् पक्कै होईन तर अहिलेका खेलकुदमन्त्रीले नेपालमा जुन भव्यताका साथ साफ खेल सम्पन्न गरे उनलाई बधाई दिनैपर्छ । हाम्रो समाजमा नकरात्मक कुरा बुलेट ट्रेनको गतिमा फैलाउने तर सकरात्मक कुरामा एक शब्द खर्च गर्ने नसक्ने गरी गाँजिएको छ । यस्तै परराष्ट्रमन्त्रीले जुन हिसाबले काम गरिराखेका छन् यो निकै महत्वपुर्ण छ ।
लिपुलेकका बारेमा औपचारिक रुपमा पत्र पठाईसकेको छ भने बेलायतका भुपु गोर्खा सैनिकको असमान पेन्सन र भत्ताका सवालमा भर्खर मात्रै सरकारले औपचारिक पत्र पठाएपछि त्यहाँ आन्दोलनरत भुपु गोर्खाले विरोधका कार्यक्रम स्थगित गरेका छन् । यसरी समग्रमा हेर्दा सरकार पुर्ण रुपमा असफल भएको भन्नै कतिपयको भनाई अतिसयपुर्ण हुन्छ भने सरकारले गरेका कतिपय राम्रा कुरा छायाँमा पारिएको पक्कै छ । यो सरकारले अबको तीन बर्षमा कति प्रगति गर्छ तब बल्ल हरेक दिन बिदेश जानेको लाईन कति घट्छ नाप्न सकिन्छ । त्यसैले भएका कामको चर्चा नगरी सबै विचारलाई तुईनमा बन्धक राखेर झुण्डाउनु काम भने गलत हो ।




