बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चुनावी प्रतिवद्वता पुरा हुने आधार बन्दैछन्

चुनावी प्रतिवद्वता पुरा हुने आधार बन्दैछन्


  • Dhorpatan News
  • फाल्गुन ८ २०७६, बिहिबार

सदरमुकाम बागलुङ बजारबाट भौगोलिक दुरीका हिसाबले नजिकै रहेको भए पनि विकासका दृष्टिले जिल्लामै पछि परेको स्थानीय तह हो– ‘बरेङ गाउँपालिका ।’ अग्ला पहाड र गहिरा खोँचको समिश्रण रहेको यहाँको भू–भागमा सडक, खानेपानी, सिंचाई जस्ता विकासका पूर्वाधारको कमी छ । नमिलेको भू–भागमा पूर्वाधार निर्माण र विकासका काम सञ्चालनमा कयौं कठिनाई आउने गरेका छन् । नेपाल सरकारले २०७३÷११÷२७ गते राजपत्रमा प्रकाशित गरि नेपालभरि ७४४ स्थानीय तहको गठन गर्दा साबिकका धुल्लुबास्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गरि ५ गाविसलाई समाबेश गरि बरेङ गाउँपालिका बनेको हो । बरेङ गाउँपालिकामा जम्मा ५ वडा सडक संजालसंग जोडिएका छन् । साबिकका ५ गाविसलाई नै ५ वडा बनाइएको छ । कुल जनसंख्या १४४९२ रहेको यो गाउँपालिका ७५.२८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । चालु आर्थिक बर्षमा जिल्लाभरमै पहिलोपटक यहीँ गाउँपालिकाको वडा नं ५ सुखौराले आफ्ना योजनाहरुको काम सकेर फरफारक गरेको छभने अन्य वडाका काम समेत द्रुत गतिमा भैरहेका छन् । एक मिटर कालोपत्रे सडक समेत नरहेको यो गाउँपालिकाको आयात र निर्यात दुवैका लागि निर्भर रहने बजार गुल्मीको शान्तिपुर हो । सदरमुकाम र जिल्लाकै अन्य बजारमा बरेङको आउजाउ निकै कम हुन्छ । मगर जातिको बहुल्यता रहेको बरेङमा ब्राहमण, क्षेत्री, थकाली तथा दलित समुदायको बाक्लो उपस्थिती छ । बरेङमा जिल्लाकै प्रसिद्ध साग्दी सत्यवती मन्दिर छ । देबी बाहिरी भएकोले चर्को स्वरमा मागेमा मनोकामना पुरा हुने बिश्वास गरिने यस मन्दिरमा पुर्णिमामा विशेष मेला लाग्ने गर्दछ । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित भए । शर्मासहित निर्वाचित जनप्रतिनिधि आएको झण्डै तीन बर्ष अबधि पुरा हुने चरणमा छ । बरेङको विकासका लागि भएका काम र आगामी योजनाका बिषयमा ढोरपाटन न्यूजकालागि सहकर्मी तारानाथ आचार्यले अध्यक्ष कृष्ण प्रसाद शर्मासँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको संम्पादित अंश ।
बरेङको विकासका लागि के के हुँदैछ ?
–बरेङका सर्वसधारणले चाहेको जस्तो विकासका काम अझै गर्न सकिएको छैन । हिजोको जनजीवन किनै कष्टकर थियो, त्योभन्दा फरक महसुस हुनेगरी केही काम भएका छन् । जनस्तरमा चित्तबुझ्नेगरी काम हुन नसकेको भएपनि विकासको आधार बन्ने तरखरमा रहेको छ । काम धेरै भएका छन् । सबै काम एकपछि अर्को प्राथमिकतामा रहने र जनताका समस्या पहिलो सकिँदा दोस्रो प्रधान बनिरहने भएकाले भएगरेका कामबाट देखिने नतिजाभन्दा हुँदै गरेका कामहरुमा चासो राख्नु जायज नै हुन्छ जस्तो लाग्छ ।
बरेङबासीले हाम्रो सरकार छ, हामीले चाहेको जस्तो काम हुन्छ भनेर अनुभुती गर्न हजुरको कार्यकाल सकिनै पर्छ कि अहिले पनि त्यो अनुभुती गरिरहेका छन् ?
–आवश्यकताहरु तत्कालिन र दिर्घकालिन हुन्छन् । जनताहरुले दुई खालको समस्या भोगीरहनु भएको छ । जस्तो एउटा समस्या अहिले भर्खरै जीवन बिताउनका लागि जुन प्रकारको समस्या छ, त्यो सम्बोधन गर्दिए हुन्थ्यो भन्ने जनतामा हुन्छ । दोस्रो, पहिलो समस्याको समाधान हुँदा आउने पहिलेको दोस्रो समस्या प्रधान बन्नु हो । जनताका विकास निर्माणका चाहना हाम्रो कार्याकालमा सबै पुरा गछौं भन्न सकिँदैन । किनभने जनताका समस्या वा अवश्यकता भन्ने चिज सधैं रहने र एकपछि अर्को प्रधान बन्दै जाने हुन्छन् । जति समस्या छन् ती समस्या क्रमशः हामी पुरा गर्दै जान्छौं । जनताका समस्या समाधानका लागि प्रयास गरिरहेका छौं । जनताका कामका लागि हामी जनताका माझमा जाने गरेका छौं । उहाँहरुले स्तरिकरण गरेकै आधारमा पहिलो, दोस्रो र तेस्रो गर्दै ती समस्या समाधानका लागि काम भैरहेका छन् । जुन कामहरुबाट जनता सन्तुष्ट पनि हुनुहुन्छ ।
जनताका समस्या के हुन भनेर आधा कार्यकाल बिताइसक्ने बेलासम्म पहिचान त भए होलान नि ?
–हो यहाँले भनेको जस्तै हामी धेरै समस्याहरुको भुमरीमा छौं । जिल्ला सदरमुकाम र जिल्लाकै अरु स्थानीय तहसँग जोड्ने भरपर्दो सडक सञ्जाल समेत हामीसँग छैन् । यो बरेङका आम नागरिकले अनुभुत गरेको समस्या हो । त्योभित्र पनि अझ बरेङमा गम्भिर र जटिल प्रकृतिका समस्या छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाईंको समस्या छ । पोषण र चेतनाको समेत समस्या छ । सबै समस्याको पहिचान भएको छ । हामीले सबै समस्या क्रमागत रुपमा निधानका बिधि खोज्दै छौं । बिशेष गरेर हामीले अहिले पालिका मुकामबाट जिल्ला सदरमुकाम जोड्ने एउटा बाटोलाई स्थायी बाटोका रुपमा विकास गर्दैछौं । केही भू–भाग यो बर्ष कालोपत्रे गर्दैछौं । जुन कुरा सडक सुधारको सुरुवात हुने छ । यो बर्ष पालिकाको मुकामदेखि जैमिनी नगरपालिका जोड्ने सडकलाई चार खण्ड बनाएर दुई खण्ड कालोपत्रे र दुई खण्ड स्तरोन्नती हुने छ । छिमेकी पालिकाले आफ्नो भू–भागमा सडक स्तरोन्नती गर्दै गरेकाले त्यो बाटोसम्म हाम्रो बाटो जोड्दा करिब बाटोको समस्या समाधान गर्छौं भन्ने लागेको छ ।
बरेङ खानेपानीको धेरै समस्या भएको पालिका हो । कहिले पुग्छ सबै घरमा खानेपानी ?
–यहाँले उठाएको यो समस्या एकदमै सान्दर्भिक हो । हामीले करिब–करिब खानेपानी नै नभएको गाउँ भन्ने नपर्ने गरि काम गरिरहेका छौं । पानीको स्रोत नभएका ठाउँहरुमा लिफ्टिङ गरेर पानी पु¥याउने प्रयास गरेका छौं । सौर्य उर्जाको प्रयोग गरेर पानी तान्ने काम थालेका छौं । जस्तो वडा नं ५ सुखौराको कुरा गरौं । काठेखोला गाउँपालिकाको तंग्रामदेखि सिग्दी अर्लातुङ र बरेङ बजारका लागि अत्यन्तै टाढा बा ठुलो मेहेनतपछि खानेपानी ल्याएका छौं । ति उचाईका बस्ती हुन् । पानी पु¥याउन कठिन थियो । सुखौराको लिफ्टिङ आगामी बर्ष पुरा हुन्छ । आगामी बर्षभित्र खानेपानीमा सबैभन्दा धेरै समस्या भएको क्षेत्रमा हामी पानी पु¥याईसक्छौं । त्यसको साथै दोस्रो स्तरमा पर्ने समस्या भएका क्षेत्रमा यि काम सक्दा ति समस्या प्रधान भएर आउने भएकाले काम गर्नु त छँदैछ ।
शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सुधारका केही प्रयास भए त ?
–स्वास्थ्यको कुरामा पनि केही प्रयास थालेका छौं । पाँच स्वास्थ्य चौकी हामीकहाँ थिए । जनसंख्या धेरै र भौगोलिक हिसाबले कठिन रहेका क्षेत्रमा स्वास्थ्य इकाई बनाएका छौं । तीनवटा स्वास्थ्य इकाई थप गरेर स्वास्थ्यको पहुँच सर्वसाधारणमा पु¥याउने प्रयासमा छौं । शिक्षामा पनि त्यस्तै समस्या छ । धेरै ठाउँमा विद्यालय व्यवस्थापन समिति होस् वा नागरिक विद्यालयको पुर्वाधारलाई मात्रै प्राथमिकता दिईरहेको अवस्थामा हामीले धेरै पूर्वाधार निर्माणका काम सकेर अब शैक्षिक गुणस्तर बृद्धिको खोजीमा लागेका छौं । गत दुई बर्षमा शिक्षामा सुधारका लागि धेरै विकास भएको छ । यहाँबाट पलायन भएका प्रतिभा रोक्न र शैक्षिक वातावरण बनाउनका लागि पनि हामीले धेरै प्रयास गरेका छौं ।
त्यसका अलवा कृषि तथा पशुपालनको क्षेत्रमा विगतमा जुन पद्धती थियो । सदरमुकाममा रहेका कार्यालयहरुले छनौट गरेका किसानले मात्रै सुबिधा पाउने अवस्था थियो त्यसबाट मुक्तिको प्रयास सुरु भैसकेको छ । कृषिमा जुन ठाउँमा जे सम्भावना छ त्यो पकेट क्षेत्रको घोषणा गरेर हामीले लगानी गर्ने र प्रतिफल लिने बाटोमा रहेका छौं । आलु, अलैचीं जस्ता पकेट क्षेत्रको घोषणा गरेका छौं । त्यहाँ उत्पादन भएका बस्तुले बजार पाएका छन् । किसानले राहतको महशुस गरेका छन् । गत बर्ष सुखौरामा फलेको आलुले बजार नपाउँदा हामी आँफै बजारको खोजीमा हिँड्यौं । पकेट गाउँपालिकाले लगानी गरेर समुहमा उत्पादन गर्नेलाई प्रोत्साहन गर्ने र व्यक्तिगत उत्पादन गर्नेलाई पनि प्रोत्साहन गर्ने कार्यक्रम छ । दुधमा गत बर्षदेखि हाम्रो पालिका आत्मानिर्भर भएर केही दुध बाहिर बजारमा पठाउन थालेका छौं । अहिले हाम्रोमा उत्पादन भएको केही दुध कुश्मीशेरा बजारमा निर्यात हुन्छ । यो अझै बढाउनु पर्नेछ । किसानका समस्या छन् । आलु, अलैचीलाई बजारको समस्या, दुध फाट्ने समस्या छन् । अहिले हामीले दुधको लागि चिलिम भ्याटको व्यवस्था मिलाएका छौं । अरु उत्पादनको लागि बजारको व्यवस्था गर्न समेत बेला–बेलामा लाग्ने गरेका छौं ।
किन बिक्री हुँदैन यहाँका किसानले उत्पादन गरेका बस्तु ?
–हाम्रो पालिका बुटवल बजारदेखि नजिकै छ । यहाँका किसानले उत्पादन गरेको सामग्रीको मुल्य उत्पादनमै धेरै पर्ने र छिमेकी देश भारतको सिमा रहेको बुटवल बजारहुँदै भित्रिने सामानको मुल्य कम पर्ने भएकाले बजारमा प्रतिस्पर्धा चर्को छ । हाम्रा किसानले उत्पादन मुल्य नै नउठाई बजार पठाउन सक्दैनन भने उताबाट आउने सामान निकै सस्तो आउँदा समस्या छ । त्यसको व्यवस्थापनको लागि पनि हामिले प्रयास गरिरहेका छौं ।
तपाईंको बितेको कार्यकालले कस्तो संकेत गर्दैछ ? आधा समय बिताउँदा सफलताको बाटोमा लाग्नुभो की आलोचनाको ?
–मेरो बिचारमा हामीले हिजो धेरै ठुला सपनाहरु पनि बाँडेको छैनौं । हामी सरकारबाट जे जति अनुदान पाउँछौं । त्यो दुरुपयोग नहुनेगरी जनताको बिचमा ल्याउँछौं भनेका थियौं । हिजो गरेका प्रतिबद्धता पनि हामीले पुरा गर्न नसक्ने खालका थिएनन् । यो बिचको अबधिमा हामीले प्रतिबद्धता पुरा गरेका छौं । बाँकी रहेका र बाँकी अबधिमा पनि हामीले गरेका प्रतिबद्धता पुरा हुन्छन्, गर्छौं । नागरिकमा तीब्र विकासको चाहना तर हिजोको अवस्थाबाट नयाँ व्यवस्थामा जाँदा बिधि र बिधानमा चल्नुपर्ने अवस्थामा सोचेका वा नागरिकले चाहेको गतिमा काम नभएका भए पनि धेरै सुधारका काम भएका छन् । नागरिकको चाहना स्वभाविक हो र हामीले गरेका काममा पनि उहाँहरु स्वभाविक रुपमा सन्तुष्टि छ भन्ने लाग्छ ।
कर्मचारी र जनप्रतिनिधि बिचको तिक्तताका कारण जनताले दुःख पाउने अवस्था त छैन नि ?
–स्वभाविक रुपमा नयाँ संरचना बन्दा कर्मचारीको निकै कमी थियो । दरबन्दीमा कर्मचारी नभएर काम नहुने अवस्था बने । हामीले नीति बनाउने हो । कार्यान्वयन गर्ने कर्मचारीले नै हो । हामी बिचमा तिक्तता छैनन् । बरु कर्मचारी नै नभएका कारण समस्या हो । अहिले समायोजन भएर र नयाँ केही साथीहरु आउनुभएको छ । तालिममा हुनुहुन्छ । उहाँहरु आएपछि सबै दरबन्दीमा कर्मचारी पुरा भएपछि सहज सेवा प्रवाहमा शंका छैन् । कर्मचारीको संख्या ठुलो भएर मात्रै सेवा प्रवाह राम्रो हुन्छ भन्ने छैन् तर आवश्यक कर्मचारी भए हामीले व्यवस्थापन गरेर जनताको चाहना अनुसारको काम गर्ने सोँचमा छौं । हामीमा दम्भ छैन र कर्मचारीमा पनि स्थायी सरकार हौं भन्ने दम्भ छैन, त्यसैले कर्मचारी र हामीबिच मदभेद भएर जनताले दुःख पाउने अवस्था छैन् ।
पालिकामा विकासका बाधक के हुन् ?
–जिल्लाकै दुरदराज मानिने पालिकाभन्दा हाम्रोमा भएका पूर्वाधारको कमी नै हाम्रा बाधक हुन् । प्राकृतिक बिपत्ति र भौगोलिक अवस्थाले हामीलाई चुनौती दिईरहन्छ तर राजनीतिक रुपमा कुनै बाधा छैन ।
अन्तमा केही भन्नु छ ?
–हामीले काम गरिरहेका छौं । जनताका लागि हुने हरेक काममा जनताको सहभागिता र चासो आवश्यक पर्छ । जनताको चासो बढाउन यहाँहरुले गरेको सहयोगप्रति आभारी छौं । पूर्वाधारको आधारभुत आधार तयार भएको गाउँपालिका आगामी साढे दुई बर्षमा बन्ने छ । सपना त धेरै देखेका छौं । ती सपना हामीले पुरा गर्न नसके पनि आधार बनाउँछौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->