मुलुककै सक्रिय जनशक्ति युवा जमात विश्वको विभिन्न मुलुकहरुमा बैदेशिक रोजगारको निम्ति दैनिक रुपमा हजारौको संख्यामा बाहिरिनु पर्ने बाध्यतालाई न्युनिकरण गरि त्यस्ता जनशक्तिलाई नेपालमा नै न्युनतम रोजगार सुनिश्चित गरेर त्यसको व्यवस्थापन गर्ने, हरेक नागरिकको दैनिक जीवनयापनमा सहजता र सुधार ल्याउने कार्यको थालनी र पहल कदमी लिन संघ, प्रदेश र स्थानीय तहका सरकारहरुको प्रमुख जिम्मेवारी र आजको आवश्यकता अनिवार्य रुपमा देखिन्छ ।
नेपालको संविधान धारा १६ देखि ४६ सम्म विभिन्न हकहरुको व्यवस्था नयाँ संविधानले गरेको छ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, खाद्य आवास लगायत रोजगारीको हकलाई मुलुकमा आम नागरिकको लागि महत्वपूर्ण हकको रुपमा हेरिएको छ । यहि उद्देश्य अनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५, कामको लागि पारिश्रमिक ढाँचामा रोजगार संचालन गर्न रोजगारीको हक सम्वन्धी ऐन २०७५ संघीय संसदमा पास भैसकेको छ । यसको दफा ३२ ले दिएको अधिकारलाई प्रयोग गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामको लागि पारिश्रमिकमा आधारित सामुदायीक आयोजना संचालन तथा व्यवस्थापन कार्यविधी २०७६ निर्माण गरी आर्थिक वर्ष २०७६ बाट नै रोजगारको अवसरमा एक व्यक्तिलाई न्युनतम एकसय दिन रोजगारी प्रदान गर्ने उद्देश्यले ७५३ वटा स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापन सहित रोजगार सेवा केन्द्रको स्थापना गरिसकेको छ । टोल बस्ती गाँउ स्तरमा बसोवास गर्ने वेरोजगार समुदाय वा व्यक्तिहरुको न्युनतम रोजगारीका लागि सर्वेक्षण तथा सुचिकृत कार्यको थालनी गर्दै आवश्यक संख्यामा रहेका श्रमिकहरुका लागि प्राथमिकरणको आधारमा विभिन्न आयोजना संचालनका क्षेत्रहरु सडक मर्मत सम्भार, पदमार्ग, स्वास्थ्य, सरसफाई, पर्यटन, वृक्षारोपण जस्ता कार्यहरुको तदारुकता हुनुले पक्कै पनि राजनैतिक परिवर्तन पछिको रोजगारीमा लागिएको प्रयासले सबैमा आशा भरोसा जागेको छ । ‘अध्ययन गर्ने र कुरालाई व्यवहारमा उतार्ने यि दुबै सिकाईका पद्धती हुन्, विचार नगरी गरिएको अध्ययनले जोसुकैलाई पनि लथालिङ्ग पर्छा । अध्ययन बिनाको सिकाईले मानिसलाई उदनेत बनाउनुछु । –चिनियाँ उखानले भनेझै ।
प्रधानमन्त्री रोजगार कार्यक्रमहरु अभियानात्मक रुपमा देशैभरी लागू भएपछि यसलाई बुझ्ने र लागु गर्ने सन्दर्भमा कहीँकतै फरकपना पनि रहन गएका छन् । यसको विभिन्न दृष्टिकोणहरुबाट कतै हल्का, हाँसोमजाकको विषय पनि बन्न गए । कतै युगको आवश्यकताको अर्थमा पनि बुझ्ने कोशिस भयो । यसो हुनुमा आम राजनीतिक परिवर्तनले धेरै पूराना मूल्य मान्यतालाई भत्काउदै गएको छभने नयाँ मूल्य मान्यताले अर्को ठाउँ ओगट्दै छ । नयाँ पुरानो विचारबीच शक्ति संघर्ष हुँदा यी कुराहरु उठ्नु स्वभाविक थियो । जे भए पनि प्रधानमन्त्री रोजगार कार्यक्रम आजको वस्तुगत आवश्यकताको उपज हो । यस कार्यक्रमले एकातिर गरिव विपन्न समुदाय तथा वर्गलाई आर्थिक रुपमा, प्रत्यक्ष रुपमा लाभ लिनसक्ने वातावरण बनेको छ । धेरै व्यक्तिहरु परिचालन भएर भौतिक पूर्वाधारहरु निर्माण हुने, स्थानीय समुदायको सामाजिक आर्थिक विकासमा प्रत्यक्ष सहयोग, वातावरण संरक्षण, विपद व्यवस्थापन कार्यहरुमा मद्दत पूग्ने, समुदायमा देखिने स–साना समस्या तत्कालै समाधान गर्ने आधार बन्दै गएको छ ।
वैदेशिक रोजगारदाताको नजरमा न्यून पारिश्रमिक घण्टाको सय रुपैयाले मन सानो हुन सक्छ तर भोली देश आर्थिक रुपमा बलियो बन्दै गयो भने घण्टाको ५०० रुपैयाँमा काम गर्ने वातावरण पनि बन्न सक्छ किनभने समय गतिशिल र परिवर्तनशिल छ, परिवर्तित समय अनुसार हाल १०४५ अमेरिकी डलर रहेको नेपाली नागरिकको प्रतिव्यक्ति आय आगामी १५ वर्षमा २५०० अमेरिकी डलर पु¥याउने नेपाल सरकारको लक्ष्य रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा १८ वर्षदेखी ५० वर्ष सम्मको व्यक्ति रोजगारको निम्ती सूचीकृत हुन सक्छ । एक व्यक्ति कुनै रोजगारीमा छभने सम्पूर्ण परिवार नै त्यसैमा परनिर्भर रहने अवस्थाका कारण एक जनाको रोजगारीले परिवार धान्न असहज भइरहेको छ, यस कार्यक्रममार्फत वर्तमान एकै परिवारका दुई सदस्यले रोजगारी प्राप्त गर्न सके हामी दुवै, कतार, मलेशिया जस्ता देशमा जीवन निर्वाहको लागि धाउनु पर्ने बाध्यताको अन्त्य हुनेछ । रोजगारीमा संलग्न हरेक व्यक्ति वा समुदायले यस कार्यक्रमलाई आफ्नै समुदायको विकास, उन्नती र प्रगतीको लागी ह्रदयदेखी नै स्वीकार गररे आ–आफ्नो भूमिकालाई पुरा गर्न सके मात्र समाजले गति लिन सक्छ न कि हिजो कै शैलीमा ‘राजाको काम कहिले जाला घाम’ भन्ने मानसिकता बनाइयो भने न त समाजको प्रगती हुन सक्छ न त रोजगारीमा खटिने व्यक्तिबाट राज्यले अपेक्षा गरेको कुरा नै पूरा हुन सक्छ । विश्वका विकसित
मुलुकहरुलाई हेर्दा देश विकासको मुख्य आधार भनेको काम प्रतिको माया र समयको सहि प्रयोग गररे नै सोहि अनुसार विकसित मुलुकमा रुपान्तरण भएको भन्ने कुरा हो प्रष्ट रुपमा देखिन्छ र यसलाई सबैले आत्मसाथ गर्नु आजको आवश्यकता हो । समय सापेक्ष रुपमा कामको गतिलाई समात्न नसक्दा, दक्ष र अधर्दक्ष जनशक्तिहरु बिच कामको प्रकृतीको तालमेल मिलाउन नसक्दा, प्राविधीक स्टिमेटलाई बुझ्न नसक्दा आदि विविध कारणहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमका समस्याहरु केहि रुपमा रहन गए । त्यसका लागी काम गर्नभन्दा अगाडी नै कामको बारेमा जनचेतना, छलफल, अन्तक्रिया गराउनुपर्ने तथा विभिन्न तालिमहरु संचालन गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । अन्त्यमा टोल, बस्तीमा प्रत्येक समुदायका रोजगारमा संलग्न व्यक्तिलाई कार्यक्रमको लक्ष्य, उद्देश्यको बारेमा हामीले प्रशिक्षित गर्न सक्यौ भने थोरै पैसाले धेरै काम गर्नुको साथै समुदायमा आधारित पूर्वाधारका कामहरु छोटो समयमा धेरै गर्न सकिने प्रशस्त आधारहरु भेटिन्छन् । फल राम्रो या नराम्रो सुरुवातीको विउमा नै भर पर्ने भएकोले यसलाई सफल बनाउन आजैबाट निरन्तर प्रयासको आवश्यकता देखिन्छ ।




