के हो आस्टियोपोरोसिस ?
अति व्यस्त र तनावपूर्ण जीवनशैलीले अनेक थरिका स्वास्थ्य समस्यालाई जन्म दिइरहेको हुन्छ । त्यसमध्ये आस्टियोपोरोसिस पनि एक हो । अस्टियो पोरोसिसको शाब्दिक अर्थ ‘छिद्रयुक्त हड्डी’ हुन्छ । समयक्रमसँगै सबै कुराको विकास हुन्छ भने शरीरका हड्डीहरू भने उमेरथपिँदै (बुढेसकाल) जाँदा खिइँदै जान्छ । शरीरका हड्डीमा पाइने तत्वहरू क्याल्सियम, फस्फोरस तथा अन्य खनिज पदार्थको कमी भई हड्डी खोक्रो हुन थाल्छन् । शरीरको यस अवस्थालाई अस्टियोपोरोसिस अर्थात् ‘हड्डी खिइए’को भनिन्छ । हड्डी खिइएपछि शारीरिक श्रम गर्दा चर्किने वा भाँचिने सम्भावना अधिकहुन्छ ।
कारण
दिनभरि घरमा बसेर टीभी हेर्ने, फोन, मोबाइलमा घन्टौं कुरा गर्ने या गेम खेल्ने, कम्प्युटरमा बसिरहने, कुर्सीमा लामो समय बसेर काम गर्ने कारणले शरीरका हाडजोर्नीको गतिशीलतामा कमी आउँछ । फलस्वरूप दुई हड्डीको बीचमा रहेको चिल्लो पदार्थ कम हुँदै जान्छ । यस्तो अवस्थामा हड्डीका टिस्युजहरू आपसमा घर्षण हुँदा कमजोर हुन्छन् । हड्डीको स्वाभाविक बनावटमा असामान्य अवस्था आउन थाल्छ । जसले गर्दा हल्का चोटपटक लाग्दा पनि तिघ्राको, खुट्टाको, घुँडा, ढाडको, हातको हड्डी चर्किने वा भाँचिने सम्भावना हुन्छ । यस्तो हुनुको मुख्य कारण युवायुवतीको शरीरमा पनि क्याल्सियम र भिटामिन ‘डी’ को कमी हुनु हो । त्यसो भएमा हड्डीहरूको घनत्व तीव्र गतिले कम हुन थाल्छ । जुन पछि गएर यो रोगको कारण बन्ने गर्छ । हालै अर्थराइटिस फाउन्डेसनआफ इन्डियाले गरेको सर्वेक्षणअनुसार भारतमा लगभग ४० लाख मानिस हड्डी खिइने समस्याबाट पीडित छन् । त्यसमध्ये युवाको संख्या द्रुत गतिले बढिरहेको छ । पहिले यो समस्या ६० वर्ष उमेर काटेपछि आउँथ्यो । अचेल २० देखि ३० वर्षका युवा उमेरमै यस खालकालक्षण देखिन थालेका छन् ।
उमेरसँगको सम्बन्ध
पहिले हड्डी खिइनु भनेको पाको उमेरकी महिलाको मात्रै समस्याको रूपमा मानिन्थ्यो । उनीहरूको उमेरसँग यस रोगको सिधा सम्बन्ध हुन्थ्यो । महिनावारी सुकेपछि महिलामा प्रोजेस्ट्रान र एस्ट्रोजेन (हार्मोन्स)हरूको स्तर कम हुन्छ । जसले गर्दा खास उमेरपछि महिलामा आस्टियो पोरोसिसको समस्या सुरु हुन्छ । तर तनावपूर्ण र अति व्यस्त जीवनशैलीका कारणमहिलामा ३५ वर्षको उमेरमा नै मेनोपोजको लक्षण देखिन थाल्छ । मानसिक कारणलाई हेर्ने हो भने महिलामा आफूलाई सुरक्षित महसुस नगर्नु या जीवनमा कुनै दरो सहारा नभएको आभास हुनु, आफ्नो कोही नभएको ठान्नु, जीवनप्रति असन्तोष हुनु, उदास हुनु आदि जस्ताकारणलाई पनि लिन सकिन्छ ।
जीवनशैली
सहरतिर बस्ने कामकाजी युवायुवतीमा अति व्यस्तता, लापरबाहीले मर्निङवाकका लागि समय ननिकाल्नु र सानो फ्ल्याटमा आधुनिक घरेलु उपकरणले शारीरिक श्रम गर्ने बानी छुट्दै जानु, बिहान चाँडै घरबाट निस्किने र राती अबेर घर फर्किने युवावर्गको दिनचर्या भइसकेको छ । बिहानको पारिलो घामबाट पाइने भिटामिन ‘डी’ बाट सहरिया जीवन प्रायः बञ्चित रहन्छन् । यस्तो स्थितिमा मिल्क प्रोडक्ट जति खाएपनि भिटामिन ‘डी’ को अभावमा हड्डीहरूले क्याल्सियमको अवशोषण गर्न पाउँदैन । यही कारण युवावर्गमा पनि यो समस्या बढिरहेको छ ।
साइडइफेक्टको परिणाम
पछिल्लो समय धेरैजसोलाई सानै उमेरमा थाइराइड तथा पाचन प्रणालीसम्बन्धी गडबडी देखिन थालेको छ । यससम्बन्धी रोगको उपचारका क्रममा औषधिको लामो प्रयोगले गर्दा हुने दुष्प्रभाव (साइडइफेक्ट)का कारण पनि शरीरमा क्याल्सियम र भिटामिनको मात्रामा कमी आउन थाल्छ । जो पछि गएर हाडजोर्नी दुख्ने कारण बन्छ । रक्सी, चुरोट, युवाहरूको जीवनशैलीको एक हिस्साजस्तै भइसकेको छ । यी सबैको असर पाचन प्रक्रियामा परिरहेको हुन्छ । अल्कोहलले पाचनतन्त्र ट्रेकमा क्याल्सियमको अवशोषण क्षमतालाई कम गरिदिन्छ । अन्तस्रावी ग्रन्थीले कोलेजन नामक आवश्यक प्रोटिनको निर्माण उचित ढंगले गर्न सक्दैन । जसले हाम्रो हड्डी र छालालाई पोषण गर्ने काम गर्दछ । यसरी नै कफी, कोल्डड्रिङ्क तथा एनर्जी ड्रिङ्कको अधिक सेवनले युवा पुस्ताको हड्डी कमजोर बन्दै गएको छ ।
खानपान
दूध तथा दूधबाट बनेका परिकारहरू, सोयाबिन, हरियो सागपात, केरा, अन्डा, नरिवलजस्ता क्याल्सियमयुक्त खानेकुराको नियमित सेवन गर्नुपर्छ । भिटामिन ‘डी’ का लागि प्रत्येक दिन बिहानको कलिलो घाममा २० र ३० मिनेट बस्नुपर्छ । दैनिक खानामा चिनी र नुनको प्रयोग सकेसम्म कम गर्नुपर्छ । किनकि शरीरमा यी दुवै चिज अधिक हुनु आस्टियो पोरोसिस अर्थात् हड्डी खिइने रोगको कारण बन्दछ ।
होमियोप्याथिक औषधि
हड्डी खिइने रोगमा बिरामीको शारीरिक एवं मानसिक लक्षणको आधारमा प्रयोग गर्ने केही औषधि छन् । जसको प्रयोग कुनै योग्य तथा अनुभवी चिकित्सकको परामर्श गर्न सकिन्छ । कल्केरियाफाँस, सिम्फाइटम, कल्केरियाकार्व, साइलिसिया, रुट्टा आदि ।
खानामा प्रशस्त मात्रामा तरकारी
तरकारी हड्डीका लागि राम्रो खानेकुरा हो । तरकारीलाई भिटामिन सीको स्रोत पनि मानिन्छ । भिटामिन सीले हड्डी बनाउने कोष निर्माण गर्न मद्दत गर्छ । केही अध्ययनले यस्तो सुझाएका छन् कि भिटामिन सीबाट उत्पादन हुने एन्टिअक्सिडेन्ट तत्वले हड्डीका कोषलाई नष्ट हुन दिँदैन र हड्डीमा खनिज घनत्व पनि वृद्धि हुन्छ । हड्डीको घनत्व नै हड्डीमा कति खनिज र क्याल्सियम प्राप्त भयो भन्ने आधार हो । तर ओस्टोपेनिया हड्डीको घनत्व कम र ओस्टियोप्रोसिस असामान्य कुरकुरे हड्डी दुवै हड्डीमा कम घनत्व भएको अवस्था हो । बच्चामा पहेँलो तथा हरियो तरकारी खाए हड्डीमा खनिज तत्व उत्पादन गर्न सहयोग पुग्छ र पछि गएर हड्डी बलियो बन्छ । वृद्धा महिलाले प्रशस्त तरकारी खानु पनि फाइदाजनक मानिन्छ । पर्याप्त तरकारी सेवन गरेका ५० वर्षमाथिका महिलामा ओस्टियोप्रोसिस हुने सम्भवाना कम हुन्छ भनेनगरेकालाई बढी हुन्छ । एक अध्यायन अनुसार जो तीन महिनाभन्दा बढी ब्रोकाउली, बन्दाकोपी तथा अन्य तरकारी सेवन गरेका छन्, उनीहरूमा हड्डीको संरक्षण गर्ने तत्व एन्टिअक्सिडेन्ट वृद्धि भएको पाइएको थियो ।
व्यायाम
हड्डी बलियो बनाउन कडा व्यायाम उत्तम मानिन्छ । जसले नयाँ हड्डी निर्माण गर्न सहयोग गर्छ । जुन बच्चाहरूमा टाइप वान मधुमेह भएकोछ, उनीहरूमा शारीरिक गतिविधिले राम्रो हड्डी बनेको अध्ययनले देखाएको छ । व्यायामले पाका मानिसमा हड्डी खिइने समस्या आउन दिँदैन । अध्ययनले यो कुरा पनि पुष्टि गरेको छ कि तौल उचाल्ने व्यायामले पाका मानिसमा हड्डीमा खनिज वृद्धि भई हड्डीको घनत्व र आकारमा सुधार भएको थियो । साथै हड्डी भाँचिने र संक्रमण हुने समस्या पनि हुन दिँदैन । मांसपेशी बलियो बनाउन व्यायाम केवल मसल निर्माणका लागि मात्र नभएर उमरमै हड्डी खिइने र हड्डी भाँचिने र स्तन क्यान्सरबाट बच्न समेत सहयोगी सावित हुनेछ ।
पर्याप्त प्रोटिनयुक्त खाना
५० प्रतिशत हड्डी प्रोटिनयुक्त खानाबाट बनेका हुन्छन् । अनुसन्धानकर्ताले यो पनि जनाएका छन् कि प्रोटिन कम भएमा क्याल्सियम सोस्नेक्रम घट्छ र हड्डी बन्ने क्रम घटेर हड्डी टुक्रिन सक्छ । उच्च प्रोटिन भएका खानाबाट हड्डीमा क्याल्सियम पुग्छ । जुन मानिस दैनिक १ सय ग्राम प्रोटिन खपत गर्छ उसको शरीर सन्तुलनमा रहन्छ । यो तरकारी र खानाबाटै प्राप्त हुन्छ ।
दैनिक क्याल्सियमयुक्त खाना आवश्यक
हड्डी स्वस्थ राख्न क्याल्सियम सबैभन्दा महत्वपूर्ण कुरा हो । यसले शरीरमा मुख्य खनिज तत्व पुर्याउँछ । हड्डीका पुराना सेलहरू नष्ट हुन्छन् र नयाँबाट प्रतिस्थापन हुन्छ । यसका लागि दैनिक क्याल्सियम खपत हुनुपर्छ । एकजना व्यक्तिले दैनिक १ हजार मिलिग्राम क्याल्सियम खपत हुनुपर्छ । साना उमेरका लागि १३ सय मिलिग्राम र पाका महिलाका लागि १२ सय मिलिग्राम आवश्यक पर्छ । तर, शरीरले क्याल्सियम राम्रोसित सोसेको हुनुपर्छ । यदि ५ सय मिलिग्रामभन्दा बढी क्याल्सियमयुक्त खाना खाइन्छ भने शरीरले योभन्दा कम मात्र सोसेको हुन्छ । त्यसकारण दैनिक खानामा धेरै क्याल्सियम भएका खाना समावेश गर्न आवश्यक छ । हालै गरिएको एक अनुसन्धानले खानाबाट बढी क्याल्सियम खपत गर्नेहरूमा मुटुरोगको जोखिम कम हुने पत्ता लागेको छ । जो क्याल्सियम लिन्छन्, उनीहरूमा मुटुरोग लाग्ने सम्भावना २२ प्रतिशत कम हुन्छ ।
पर्याप्त भिटामिन ‘डी’ र ‘के’
हड्डी बलियो बनाउन भिटामिन ‘डी’ र ‘के’ को अत्यन्तै भूमिका हुन्छ । भिटामिन ‘डी’ले शरीरमा भएको क्याल्सियम सोस्ने काम गर्छ । यो बिना खानाबाट प्राप्त क्याल्सियम शरीरमा सोस्दैन । शरीरमा हुनसक्ने अन्य हड्डी सम्बन्धी रोग र ओस्टोपेनियाँविरुद्ध सुरक्षा राख्न कम्तीमा ३० ःन् भिटामिन डी को मात्रा हुनुपर्छ । अध्ययनले यो कुरा जनाएको छ कि बालबालिका र पाका मानिस मा भिटामिन डी’ कमी भएमा हड्डीको घनत्व कम हुन्छ र हड्डी भाँचिने जोखिम बढ्छ । तैपनि भिटामिन डी’को कमी हुनेको संख्या बढी छ । त्यसैले उनीहरू अन्य मानिसभन्दा बढी हड्डी भाँचिने जोखिममा हुन्छन् । बिहानी सूर्यको प्रकाश भिटामिन डी’को मुख्य स्रोत हो । सूर्यको प्रकाशबाटै पर्याप्त भिटामिन ‘डी’ पाउन सकिन्छ । तैपनि धेरै मानिस भिटामिन ‘डी’को प्रतिस्थापन लिने गर्छन् । सूर्यको प्रकाशसँगै माछा, कलेजो, चिजजस्ता खानेकुरामा पनि भिटामिन ‘डी’ पाइन्छ । भिटामिन ‘के–टु’ ले हड्डीको स्वास्थ्य अनुकूल राख्न मद्दत गर्छ । यो भिटामिनले हड्डी निर्माणमा प्रोटिन र ओस्टियोक्याल्सिन उत्पादन गर्ने काम गर्छ । यसले शरीरमा क्याल्सियमको सुरक्षा गर्छ । भिटामिन के–टु, एमके–फोर, एमके–सेभेन र एमके–फोर कलेजो, अन्डा, चिज र भटमासका परिकारमा पाइन्छ । यो भिटामिनले शरीरमा ओस्टिक्याल्सिन उत्पादन गरी बालबालिका र महिनावारी बन्द भएका महिलामा समेत हड्डीको घनत्व बढाउन मद्दत गर्छ । अध्ययनले यो कुरा पनि प्रमाणित गरेको छ किभिटामिन एमके–फोरको प्रतिस्थापन नाटो प्रयोग गरेका र नगरेका महिलाको हड्डी टुक्रिने स्थितिमा फरक पाइएको छ । यसर्थ भिटामिनडी र के–टु पर्याप्त मात्रामा लिन सके हड्डीको सुरक्षा गर्न सकिन्छ ।
कम क्यालोरीयुक्त खाना
अति नै कम क्यालोरी भएका खाना स्वास्थ्यका लागि राम्रो मानिँदैन । दैनिक १ हजार क्यालोरी भएका खाना खानाले हड्डीको घनत्व कम गर्छ । एउटा अध्ययनले महिला जो चार महिनासम्म ९ सय २५ क्यालोरी भएका खाना खान्छन्, उनीहरूको हड्डीको घनत्व कम भएको पाइएको छ । बलियो हड्डी निर्माण गर्न सन्तुलित खाना खानुपर्छ जसका लागि प्रतिदिन कम्तीमा १२ सय क्यालोरी खानुपर्छ । यसमा पर्याप्त मात्रामा प्रोटिन, भिटामिन र खनिज तत्व समावेश हुनुपर्छ ।
कोलोजिन प्रतिस्थापन खानुपर्छ
कोलोजिन हड्डी बलियो बनाउन विभिन्न तत्व मिलाएर बनेको खाद्यपदार्थ हो । यो खानाले पनि हड्डीलाई बलियो राख्न सहयोग गर्छ । कोलोजिनले हड्डीमा आवश्यक प्रोटिन पूर्ति गर्छ । यो जनावरको हड्डीमा पाइन्छ । यसलाई सामान्य रूपमा जेलाटिन भनेर पनि चिनिन्छ । यो पहिलेदेखि नै जोनी दुखेको बेला प्रयोग गर्ने गरेको पनि पाइन्छ ।
तौल स्थिर राख्नुपर्छ
तौल कम भएमा ओस्टोपेनियाँ र ओस्टोप्रोसिस हुने जोखिम हुन्छ । जो महिनावारी पछि स्ट्रोजन हर्मोन गुमाएका हुन्छन्, उनीहरूको हड्डी खिइएको हुन्छ । यो उमेर समूहमा कम तौल हड्डी खिइने र हड्डीको घनत्व कम हुने मुख्य कारण हो । छोटो समयमा धेरै तौल घट्नु पनि हड्डी स्वास्थ्यका लागि राम्रो मानिँदैन । छिटो तौल बढ्नु र घट्नु पनि राम्रो मानिँदैन । यसकारण तौल स्थिर राख्नुपर्छ । उचित तौल स्थिर राख्न सकेमा हड्डी स्वास्थ्यका लागि राम्रो मानिन्छ । बढी मोटो हुनु र बढी पातलो हुनु दुवै तौल हड्डी स्वास्थ्यका लागि राम्रो मानिँदैन ।
खानामा बढी म्याग्नेसियम र खनिज समावेश गर्ने
क्याल्सियम र खनिजले मात्र स्वस्थ हड्डीका लागि राम्रो मानिँदैन । यसका लागि म्याग्नेसियम र जिंक तत्व पनि समावेश हुनुपर्छ । म्याग्नेसियमले भिटामिन ‘डी’लाई क्याल्सियम सोस्न सहयोग गर्छ । म्याग्नेसियम हामीले खाएको खानामा केही मात्रामा पाइन्छ ।
उपचार
प्रायःगरी यस समस्याको निदानका लागि एक्स–रे, एमआरआई, बोनडेन्सिटी (हड्डीको घनत्व) आदि जस्ता परीक्षण गराइन्छ । जसबाट हड्डीको बनावट र अवस्थाबारे जानकारी हुन्छ । यसबाहेक हड्डीलाई बलियो बनाउनेमा क्याल्सियम र फस्फोरस जस्ता तत्वहरूकोमहत्वपूर्ण भूमिका हुन्छ । त्यसको मात्रा शरीरमा कति छ भन्ने पत्ता लगाउन ब्लड टेस्ट गर्नु जरुरी हुन्छ । शरीरमा क्याल्सियम र फस्फोरसको मात्रा कम पाइयो भने यो खतराको संकेत हो । त्यस्तो अवस्थामा रगतमा क्याल्सियम र फस्फोरसको आपूर्ति गर्न हड्डीहरूबाट यी दुवै तत्वहरूको ‘रिसाव’ हुन थाल्छ । त्यसले शरीरका हड्डीहरू कमजोर हुन थाल्छन् र जोर्नीको दुखाइ बढ्न थाल्छ । यस्तो भएका सम्बन्धित चिकित्सकद्वारा सिफारिस गरिएका आवश्यक औषधिको नियमित सेवन गर्नुका साथै खानपानमा क्याल्सियमयुक्त खाद्यपदार्थ लिनुपर्छ ।
सुझाव
पीडित व्यक्तिले के बुझ्नुपर्छ भने हड्डी खिइने समस्या व्यक्तिको उमेर, जीवनशैली, खानपिन, आचरण र व्यवहारमा भरपर्छ । यसलाई पूर्णरूपले हटाउन सकिँदैन । तर स्वस्थ्यकर जीवनशैली अपनाएर यसबाट हुने नकारात्मक असरलाई केही हदसम्म कम गर्न सकिन्छ । हड्डीलाई बलियो बनाउन नियमित व्यायाम, योगासन गर्नु जरुरी छ । स्वस्थ खानपान तथा सकारात्मक सोच अपनाउने, वर्षको एकपल्ट स्वास्थ्य जाँच गराउनु उत्तम हुन्छ ।





