बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सिद्धान्त र व्यवहार सम्बन्धमा हाम्रो दृष्टिकोण

सिद्धान्त र व्यवहार सम्बन्धमा हाम्रो दृष्टिकोण


  • सागर कुँवर
  • फाल्गुन १९ २०७६, सोमबार

१. सहि गन्तव्यमा पुग्नको लागि सहि बाटो हिड्नु पर्दछ । सहि चिजको निर्माणको लागि सहि दृष्टिकोण चाहिन्छ। कुनै पनि चिजलाई राम्रो बनाउनको लागि राम्रो विचार चाहिन्छ । विचार अनुसारको कार्ययोजना र सङ्गठन पनि चाहिन्छ। गलत विचार बोकेर जति नै ठूलो सङ्गठन निर्माण गरे पनि त्यसले गुणात्मक फाइदा गर्दैन । मुख्य चिज के हो भने सहि मार्गदर्शन हो । सहि मार्गदर्शन बिना कहिलेकाही कसैले विजयप्राप्त र्गयो भने पनि लामो समय त टिक्दैन । मुख्य सवाल सहि मार्गदर्शन, त्यसको व्यवहारिक परिणामको लागि सहि कार्यदिशा र कार्यदिशा कार्यान्वयनको लागि सहि सङ्गठन अनिवार्य शर्त हुन । चिजलाई सहि ढंगले बुझौं र सहि दृष्टिकोण सहित सहि बाटो हिडौ । माओत्सेतुङले भने झै “जो हजारौं मारबाट हुने मृत्युदेखि डराउदैन उसले नै बादशाहलाई घोडाबाट खसाल्ने आट गर्दछ । समाजवाद र साम्यवादको निर्माण गर्न हाम्रो सघर्षमा चाहिने दुर्जय भावना यहि हो ।” यहि भावना अनुसार क्रान्तिकारीहरु अगाडि बढ्नुपर्छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्तले एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर कार्यनीति तय गर्नुपर्ने बताएको छ । ठोस परिस्थिति भन्दा धेरै अगाडि बढ्दा त्यसले उग्रवामपन्थी दिशा समात्ने खतरा हुन्छ भने ठोस परिस्थितिको विश्लेषणको नाममा क्रान्तिकारी कार्यप्रती गरिने उपेक्षाले यथास्थितिवादको सेवा गर्दछ । यी दुबै धारा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको लागि घातक छन् । एउटा माक्र्सवादी लेनिनवादी पार्र्टीले सँधै परिस्थितिको उचित मुल्यांकन गरेर नै कार्यनीतिहरु निर्धारण गर्नु पर्दछ तर त्यो कार्यनीतिले रणनैतिक उद्देश्यलाई सहयोग गर्नुपर्दछ । वर्तमान अवस्थामा एउटा माक्र्सवादी लेनिनवादी पार्टीले तय गर्ने कार्यनीतिले रणनितिलाई सहयोग गर्दैन भने त्यो सहि कार्यनिती हुन सक्दैन । कम्युष्टि आन्दोलनको मुल लक्ष्यको बाटो समात्न नसक्ने कार्यनीति क्रान्तिकारी कार्यनीति हुन सक्दैन् । वर्तमान विश्व कम्युनिष्ट आन्दोलनमा कार्यनीतिक लचकता र रणनीतिक दृढताको नाममा समेत नवसंसोधनवाद हाबी हुँदै गएको अवस्थामा क्रान्तिकारीहरुले त्यो प्रकारको व्यवहार र प्रयोग प्रति सचेतना अपनाउँदै क्रान्तिकारी कार्यदिशाको निर्धारणमा उचित ध्यान दिनुपर्दछ ।

२. कुनै एक समय धेरै क्रान्तिकारी भएका नेताहरु अर्को कुनै समयमा क्रान्तिकारी लिगबाट बाहिर निस्कन सक्छन । कुनै समय चौतर्र्फी क्रान्तिको लागि भनेर लागेका नेता तथा कार्यकर्ता अर्को समय वस्तुगत तथा आत्मगत अनुकुलताको नाममा मन्द गतिमा दक्षिणपन्थी दिशामा दिशारोहण भएका हुन पनि सक्दछन । त्यो व्यवहारिक कसिले निर्धारण गर्दै जान्छ । अन्तरास्ट्रिय कम्युनिष्ट आन्दोलनको ईतिहास र स्वयम नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा पनि त्यसप्रकारका कैयौं उदाहरणहरु छन । सिद्धान्त र ब्यबहारको कुनै तालमेल नै हुँदैन त्यस प्रकारको खेलमा । तर तिनिहरुले आफुलाई कहिल्यै पनि दक्षिणपन्थी दिशा समातेको बताएका छैनन र बताउने पनि छैनन । डा. केशरजंग रायमाझीले राजावादी लाइन समात्दा पनि उनले आफुलाई कम्युनिस्ट नै भन्थे । झलनाथ, केपी ओलि, माधव नेपाल देखि प्रचण्ड वादलहरुले पनि आफुहरुले दक्षिणपन्थी दिशा समातेको बताएका छैनन, उनिहरुले आफुलाई कम्युनिस्ट शक्ति नै दाबी गर्दै आएका छन । वन्स्र्टिन, काउत्स्की देखि खुश्चोम र देङसियो पिङले पनि आफुलाई असली कम्युनिस्ट भएको र क्रान्तिकारी राजनितिक लाइनको पक्षपाती भएको बताएका थिए । अल्बानीयाली होक्साले आफूलाई माओको अनुयायी नै बताएर पनि माओ मृत्यु पछि निरन्तर माओका विरुद्ध तरवार उठाएका थिए तर आफू नै सहि कम्युनिष्ट भएको दाबी गरिरहे । रुस, चिन लगाएतका समाजवादी मुलुकहरुले पुँजिवादमा पुनः स्थापित हुने कुनै औपचारिक निर्णय गरेका थिएनन । विश्व कम्युनिस्ट आन्दोलनको समग्र इतिहासमा कुनै पनि कम्युनिष्ट शक्तिले औपचारिक रुपमा नै दक्षिणपन्थी दिशा समातेको बताएका छैनन । जे जति कम्युनिस्ट नामधारी शक्तीहरु छन, तिनिहरुले आफुलाई असल कम्युनिस्ट शक्ति नै दाबी गरिरहेका छन । उनीहरुले औपचारिक रुपमा कम्युनिष्ट आन्दोलनको मुल लिगेसी छाडेको घोषणा गरेका छैनन् । तर, व्यवहारमा उनीहरुले कम्युनिष्ट आन्दोलनका मुलभूत सिद्धान्तहरुलाई परित्याग गरेका छन । संसार कै सर्वशक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टी देखी भारतिय कम्युनिष्ट पार्टीका कैयौ गुटले त्यस प्रकारको औपचारिक घोषणा गरेका छैनन । नेपालका दक्षिणपन्थी संसोधनवादमा भासिएका नेकपा(नेकपा) (पूर्व एमाले रमाओवादी) ले पनि आफूलाई क्रान्तिकारी दल बताइरहेकै छन । विश्वभरी नै यस प्रकारको दक्षिणपन्थी ससोधनवादिहरुको क्रान्तिकारी भ्रमजाल अहिले पनि कायम छन् । यसमा विषेश गरेर नीति होइन, नेता प्रधान मान्ने प्रवृतीले काम गरेको हुन्छ । रुप पक्षमा नीति प्रधान बताइदिने तर सार पक्षमा नेता प्रधान मान्ने व्यबहारिक क्रियाकलाप यो प्रवृतिमा हमेसा देखिरहन्छ । यो कम्युनिस्ट आन्दोलनको लागि निकै नै घातक छ । दक्षिणपन्थी ससोशनवाद बाजा बजाएर तामझाम गरेर आउँदैन । आजसम्मको इतिहासमा दक्षिणपन्थी संसोधनवाद कुनै औपचारिक निर्णय गरेर आएको छैन्, त्यो ब्यबहारले स्पष्ट गर्दै जाने हो र व्यबहारिक कसीको आधारमा नै त्यसको छिनोफानो हुँदै जाने पनि हो ।

३. राजनीतिमा व्यक्तीलाई केन्द्रिय प्रश्न बनाएर जब व्यवहारहरुको प्रदशन हुन्छन, तिनलाई सैद्धान्तिक पदावली दिएर क्रान्तिकारी आवरणमा ठोस परिस्थितिको ठोस मुल्यांकनको पगरी गुथाइन्छ । त्यो वास्तवमा कम्युनिष्ट आन्दोलनमा विकास भएको मनोगतवादी रोग हो । त्यहाँ क्रान्तिको लागि होइन, क्रान्तिको नाममा लुकेका अवसरवादीहरुलाई अगाडि लगाएर क्रान्तिकारी आन्दोलनमा लागेका सच्चा योद्धाहरुको सपनालाई हत्या गरिन्छ । वास्तवमा यहि हुँदै आएको पनि छ । अनेकौं सैद्धान्तिक शब्दजालको भ्रममा पारेर क्रान्तिकारी आन्दोलनको नाममा नेतृत्वका नजिकका मान्छेहरुलाई काखी च्याप्नेहरुले क्रान्तीकारीहरुलाई होइन, अन्ततः प्रतिक्रान्तिकारीहरुलाई नै सहयोग गर्दछन । वर्तमानमा त्यस प्रकारका नाटकिय रुपको पर्दाहरु देखिइरहेका छन् । प्रकट रुपमा क्रान्तिकारी जस्तो पनि देखिने तर छदम(वास्तविक) रुपमा क्रान्तिकारी विचारधारा र क्रान्तिकारी विचारधाराप्रती समर्पित नेता तथा कार्यकर्ताको कत्लेआम गर्ने प्रवृती नेपालको कम्युनिष्ट आन्दोलनमा गम्भीर चिन्ताजनक विषय बनेको छ । नियम कानुनहरुलाई आफू अनुकुल बनाउँदै जाने र षडयन्त्रमुलक ढंगले त्यो प्रकारका क्रान्तिकारी नेता कार्यकर्ताको कत्लेआमले वास्तवमा कम्युनिस्ट आन्दोलन कैयौं दशक पछाडी धकेलिदै जानेमा कुनै शंका रहन्न । कुनै पनि व्यक्तीको पुजा (देवत्वकरण–व्यक्तीपुजा) र राक्षसीकरण दुबै गलत हुन । कुनै पनि विचारधारामा चल्ने संघर्षमा व्यक्तीको देवत्वकरण र राक्षसीकरणले त्यो विचारधारात्मक संघर्षलाई गौण र व्यक्तीलाई प्रधान बनाइदिन्छ । इतिहासका कैयौं कालखण्डमा त्यसरी व्यक्तीको देवत्वकरण र राक्षसीकरणमा विभाजित भएका तथ्यहरुले यो पनि स्पष्ट गर्दछ कि त्यसरी सहि चिजमाथी पर्दा हाल्ने काम भएको हुन्छ । विश्व राजनितिमा होस वा नेपालमा, कम्युनिष्ट आन्दोलनमा होस वा प्रजातान्त्रिक आन्दोलनमा कुनै पनि व्यक्तीलाई प्रधान ठान्ने प्रवृती निकै नै घातक र दुषपरिणामयुक्त हुँदै आएको छ र हुन्छ । कुनै पनि आन्दोलनमा कुनै व्यक्तीलाई प्रधान ठान्ने चिन्तन र प्रवृती निम्नपँुजिवादी चिन्तनको पराकाष्ठा हो । अझ विषेशत यो ध्यान दिनु पनि आवश्यक छ कि, घनिभुत तरिकाले व्यक्तीको देवत्वकरणमा लागेका मान्छेहरु सबै भन्दा पहिला उक्त व्यक्तीको राक्षसीकरणमा लाग्ने गरेका इतिहासहरु हाम्रो अगाडि दिनको घाम झै छर्लङ्ग छन । जसरी पुस्तक पुजा गर्नेहरुले अध्ययन गर्दैनन र पुस्तक पुजा गरेर बस्छन, त्यसरी नै व्यक्ती पुजा गर्नेहरुले व्यक्तिको देवत्वकरण गर्दछन र अन्ततः आफ्नो हैसियत छरपष्ट देखाउँछन । इतिहासका यस्त कैयौं मजाक लाग्दा तथ्यहरुलाई नियाल्दा व्यक्तीको देवत्वकरण र राक्षसीकरण दुबै मानव जाती, राजनितिक आन्दोलन, सामाजिक, सांस्कृतिक मुल्य–मान्यता तथा वैचारिक आन्दोलनको लागि घातक देखिन्छन । आलोचनात्मक चेतलाई अल्पज्ञान र महत्वकांक्षाको ट्याग भिराउने र अन्ततः सहि प्रकारको कार्यदिशालाई पराजित गर्न व्यक्ति पुजाको राजनीतिलाई प्रचारप्रसार गर्ने जुन तरिका देखिन्छ्, त्यो द्धन्द्धात्मक भौतिकवादी चेतनाको अभावको कारणले देखा पर्ने गर्दछ ।

४. माक्र्सवादले हामीलाई व्याख्या गर्न मात्र होइन व्याख्या अनुसार बदल्न सिकाएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै पनि चिजको व्याख्या बारम्बार हुने गरेको छ तर त्यसलाई बदल्ने सवालमा निकै नै कम प्रयत्नहरु हुने गरेका छन । यहाँ यो पनि निकै उल्लेखनीय छ कि जसले व्याख्या गरे तिनिहरु कहिल्यै बदलिएनन् । बदलिनुपर्छ भन्ने तर कहिल्यै नबद्लिने व्यवहारले कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक स्तर उठ्न नै सकेन । यो निकै गम्भीर समस्या हो । इतिहासबाट शिक्षा र अनुभव दुबै लिएर व्याख्या अनुसार बदल्ने काममा नलाग्ने हो भने अब नेपालको कम्युनिस्ट आन्दोलन अझै रक्षात्मक मात्र होइन विघटनको दिशातर्फ जानेछ । कुनै पनि चिज तथा घटनाको कार्यकारण सम्बन्धको पत्ता लागे पछि त्यसको सकारात्मक परिवर्तनको लागि व्याख्या अनुसार बदल्ने काम गर्नुपर्दछ तर त्यस सम्बन्धमा ठोस उपलब्धी र योजनाको अहिलेसम्म अभाव मात्रै देखिन्छ ।

५. कुनै शक्तीको विश्लेषण गर्दा त्यो शक्तीले हिजोको दिनमा देशको राजनितिमा खेलेको भुमिका र विगतमा अपनाएको विचारको आधारमा होइन, वर्तमानमा त्यो शक्तिले खेलेको भुमिका र अपनाएको विचारको आधारमा नै त्यसको विश्लेषण गरेर अगाडि बढ्नुपर्छ । तर आज नेपालको कम्युनिष्ट आन्दोलनमा जडशुत्रवादी रुझान तथा दक्षिणपन्थी शक्ति परस्त सोचाई र व्यवहारले विगतको आफ्नो व्याख्याबाट अगाडि बढ्न चाहन्न । त्यो अवस्थामा न त वर्तमान स्थितिको ठोस विश्लेषण हुन सक्छ न त ठोस कार्ययोजना नै बन्न सक्छ । यस प्रकारको सोचाई र व्यवहारले चिजलाई गलत बुझाई र आन्दोलनलाई गलत बाटोमा लैजान्छ ।
६. कुनै पनि आन्दोलनलाई उचाइमा पु¥याउनको लागि त्यसलाई सहि मार्गदर्शन चाहिन्छ । सहि सैद्धान्तिक वैचारिक राजनिती र कार्यक्रम बिना क्रान्तिकारी आन्दोलनले गति लिन सक्दैन । त्यसको लागि क्रान्तिकारी शक्तिहरुले आलोचनात्मक चेत सहितका नेता कार्यकर्ताहरु उत्पादन गर्न सक्नुपर्दछ । अन्यथा चुनावी परिणामले पनि तिनिहरुमा निराशा पैदा गर्दछ । पार्टी सानो ठूलोको प्रश्न होइन, मुख्य कुरा विचारको हो । विचार सहि छ भने साङ्गठनिक रुपमा सानो भए पनि अन्ततः त्यो ठूलो र विजयी हुन्छ । धेरै पटक हारे पछि जितको सुत्र निस्कन्छ । सुनौलो जितको लागि कैयौं पटक हार बेहोर्नु पर्छ । विचारबाट विचलित हुनुहुँदैन, सफलता त दास बनेर आउनेछ । यो स्पिरिटबाट अगाडि बढ्ने, विचार सिद्धान्त अनुसारको व्यवहार बनाउने र दीर्घकालीन उद्देश्यतर्फ पुग्नको लागि कार्यनिती निर्माण, प्रयोग र विकास गर्दै जाने हो भने क्रान्तिकारी आन्दोलनको विजय अवश्यम्भावी छ ।

७. वुर्जुवा सामन्ति व्यवस्थामा आधारभुत सङ्रचनामा परिवर्तन नआएसम्म समाजवादको गर्भधारण सम्भव हुँदैन । राज्यसत्ताको मुल चरित्र सामन्ती तथा प्रतिक्रियावादी रहेसम्म श्रमजीवी जनताको पक्षमा राज्यले काम गर्दैन । विद्यमान अर्ध–सामन्ति र अर्ध–औपनिवेशिक अवस्थामा आमूल परिवर्तन नगरिकन समाजवादको सपना कोरा कल्पना मात्र हो । नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुखको प्रश्न पँुजिवादी खोलभित्रको कथित समाजवादी आडम्बर मात्र हो । अहिलेको मुख्य सवाल अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्थाको अन्त्य गरेर नयाँ जनवादी व्यवस्था हुँदै समाजवाद, साम्यवादसम्मको राजनितिक कार्यदिशा अवलम्बन गर्ने कि कथित समाजवाद उन्मुख संविधान कार्यान्वयनको नाममा दक्षिणपन्थि ससोधनवादको लाइनमा जाने ? क्रान्तिकारीहरुको लागि यो निकै पेचिलो प्रश्न हो । अहिलेको क्रान्तिकारी शक्तीहरुले वर्तमान संविधानका सकारात्मक चिजहरुलाई उपयोग गर्दै शोषणमा आधारित राज्यव्यवस्थालाई ढलाएर नयाँ जनवादी व्यवस्था हुँदै समाजवादमा जाने राजनीतिक कार्यदिशमा अगाडि बढ्नुपर्दछ । चिजलाई सहि ढंगले बुझ्ने हो भने क्रान्तिकारीहरुले क्रान्तिकारी विचारधाराको रक्षा, प्रयोग र विकास अनिवार्य सर्त हुनुपर्दछ । बुर्जुवाहरुको व्यवस्थाको रक्षाको चिन्ता क्रान्तिकारीहरुले गरेर त्यही लटपटिने बाटो रोजिन्छ भने त्यहाँ क्रान्तिकारी भविष्यको कुनै ग्यारेन्टी हुनेछैन ।

८. वर्तमान विश्व परिस्थितिमा नयाँ जनवादी क्रान्ती बिना समाजवादी नीति तथा कार्यक्रम लागू गर्ने आश्वासन राजनितिक आन्दोलन माथी कै भद्दा मजाक हो । समाजवादमा पुग्न हामीले नयाँ जनवादी क्रान्ती सम्पन्न गर्नै पर्छ । आजको युगमा नयाँ जनवादी क्रान्ती मार्फत नै समाजवादको यात्रा तय गर्न सकिन्छ । त्यो चुनाव र वुर्जुवा राज्यसत्ताको चौकिदार बनेर सम्भव छैन । बुर्जुवाहरुको प्रतिक्रियावादी राज्यसत्तामा आमूल परिवर्तन नगरिकन आजको युगमा समाजवादको सपना केवल सपना मात्रा हो । अवसरवादीहरुले खेल्ने खेलको एउटा अङ्ग मात्र हो । खुस्चोभपन्थीहरुले समाजवादी यात्रा तय गर्न सक्दैनन् । त्यसकारण, नयाँ जनवादी क्रान्तिको लागि हामी सर्वाहारा शिबिरमा गोलबन्द भएर नै समाजवादको लक्षमा पुग्न सक्छौ । आमूल परिवर्तन बिना समाजवादको गर्भाधारण फगत गफ मत्रै हुन । क्रान्तिको सफलता बिना समाजवाद यो दुनियाँमा कतै उदायको छैन । नेपालको संविधानमा स्वीकृत समाजवाद उन्मुखको अर्थ वैज्ञानिक समाजवाद उन्मुख भनेको होइन, त्यो वुर्जुवाहरुले जनतालाई ढाट्नको लागि प्रयोग गरिने समाजवादको जलप हो । क्षणिक समयको लागि लगाइने क्यारिरिष्ट नारा मात्र हो । जनताको कम्युनिष्ट शक्तिप्रति भएको एउटा विश्वास माथीको व्लयाकमेलीङ मात्र हो । देशको वर्तमान राज्यसत्ताको जुन चरित्र छ, यहाँ समाजवादका प्रारम्भिक कार्यहरु हुने होइनन, खाली त्यसको रुझानमा पुजिवाद उन्मुख सानातिना काम मात्र हुनसक्दछन तर त्यो दलाल प्रकृतिको नै हुने छ । नयाँ जनवादी क्रान्ती सम्पन्न नगरिकन समाजवाद उन्मुख नीति तथा कार्यक्रम वुर्जुवा राज्यसत्ताले लागू गर्न वा त्यो प्रकारको योजना बनाउन सक्दैन । नयाँ जनवादी क्रान्ति आजको आधारभूत आवश्यकता हो । त्यो मूलरुपमा पूँजीवादी प्रजातान्त्रिक क्रान्ति नै हो । तर आजको विश्व साम्राज्यवादी भुमण्डलिकरणको युगमा त्यो क्रान्ति पूँजीपति वर्गको नेतृत्वमा सम्पन्न हुन सक्दैन र खालि सर्वहारा वर्गको पार्टीको नेतृत्वमा नै त्यसको स्थापना हुन सक्दछ । कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्तिकारी वर्गहरुको संयुक्त मोर्चा र दीर्घकालीन जनयुद्ध त्यसका लागि निर्णयात्मक शर्तहरु हुन । त्यसको तयारी अबको राजनितिक कार्यदिशा हो । नेपालमा क्रान्ति अरु देशमा भएको क्रान्तिको नक्कल स्वरुप होइन, यहाँको ठोस धरातलमा हुनेछ । त्यस आधारमा अबको सघर्षको दिशा निर्धारण हुनुपर्दछ ।

९. हामीले हमेसा हेक्का राख्नु पर्छ कि गलत गलत नै हुन्छ, जति नै भ्रमहरुले सिंगारे पनि । इतिहासमा गरेका सहि कार्यहरुले वर्तमानको गलतलाई बचाउन सक्दैन । इतिहासका दृष्टान्तहरु पस्केर वर्तमानको अवसरवादलाई विगतको क्रान्तिकारी सच्चाइले पर्दा हाल्ने पर्यत्न गर्नु गम्भिर भूल हो । हामी स्पष्ट हुनुपर्दछ कि भ्रमहरुको संसारलाई ध्वस्त गर्न माओविचारधाराले स्पष्ट दिशानिर्देश गरेको छ । आजसम्मको इतिहासमा, गलत बाटो समातेका हस्तीहरुले गलत बाटो समात्दै छौं भनेर पूर्व उद्घोष पनि गरेनन र गलत बाटो समाति सके पछि पनि गलत बाटो समातियो भनेर आत्मालोचना गरेनन, जे गरे त्यसलाई सहि बताउँदै गए । परिणाम यो भयो कि विश्व समाजवादी व्यवस्थाको नै विघटन भयो र विश्वमा साम्राज्यवादले एकछत्र राज गर्ने वातवरण तयार भयो । खुश्चेव, मार्ताेव, गेर्वोचोभ, काउत्स्की देखी देङ्सियोपिङ् हुदै मुस्ताफा काकाले पनि गलत बाटो समातेको भनेर स्वीकार गरेनन्, उनीहरुको आलोचकलाई अनेकौं आरोप लगाए तर अन्ततः उनीहरु इतिहासको पानामा गलत नै सावित भए । नेपाल कै कुरा गर्ने हो भने पनि केपी ओली र प्रचण्डले दक्षिणपन्थी संसोधनवादको बाटो समातेको स्वीकार गरेका छैनन । हामीले उनीहरुको व्यवहारबाट उनीहरुले गलत बाटो समातेको थाहा पायौं । सिद्धान्ततः एउटा बताएर व्यवहार अर्का अपनाउने प्रयोगशालाले नेपालको कम्युनिष्ट आन्दोलन तहसनहस भएकोमा दिनको घाम झै छर्लङ्ग छ । त्यसकारण, व्यवहारिक कसिमा आउँदा देखिएका अपत्यारिलाई दृश्यहरुले परिस्थितिलाई स्पष्ट पार्दिएको छ । प्रिय मित्रहरुलाई एउटा हेक्का रहनै पर्दछ इतिहास दोहोरिदैन, इतिहास नयाँ बन्दै जान्छ । इतिहास वर्तमानलाई सचेतता पुर्वक अगाडि बढाउने मार्गदर्शन हो । इतिहासमा घटेका जस्तै घटनाहरु पुनः घट्नेछन भनेर ठोकुवा जसले गर्दै हिड्छन, त्यसले नै त्यस्ता घटनाहरु दोहोराउन उदत्त हुन्छ । इतिहास कहिलेकाही पुनरावृत्ति हुने खतरा रहन्छ, तर त्यो उस्तै भने हुँदैन । थप बुझ्नै पर्ने तथ्य के पनि हो भने, वर्तमानका गलत रबैयाहरुको उन्मुक्तिको लागि विगतका घटनाहरु पस्केर चोर साधु बन्न खोज्नु गम्भीर षड्यन्त्र हो । यदि कोहि कसैले आफ्ना वर्तमानका गलत कर्तुतहरुलाई ढाकछोप गर्न विगतका गलत तत्वहरुको उदाहरण पस्केर वर्तमानका यथार्तताहरुलाई पराजित गर्न खोजिन्छ भने त्यसले भविष्यलाइ गम्भीर धक्का भने पक्का दिनेछ । तर अन्ततः सत्यको विजय र झुटको पराजय निश्चित हुनेछ, र यो पनि स्मरण हुन आवश्यक छ इतिहासका गलत क्रियाकलापहरुको लेपन लगाएर वर्तमान र ठोस तथ्यहरुलाई पनि गलत बताउने जो कोहि पनि भविष्यको नयाँ व्यवस्थाको कठघरामा उभिनु पर्नेछ ।

१०. नेतृत्व कसरी विकास हुन्छ ? त्यो सम्बन्धी सहि माक्र्सवादी लेनिनवादी दृष्टिकोण आवश्यक छ । नेतृत्व आफै आउने होइन । नेतृत्व संघर्षको मैदानबाट आउने हो । नेतृत्व निर्माण हुँदा अनुभववादको प्रष्ट विरोध हुनुपर्छ । अनुभववादले गतिशील क्रान्तिकारी आन्दोलन चलाउन सक्दैन । यस सम्बन्धमा हाम्रो ध्यान सोभियत सघको कम्युनिस्ट पार्टीको नेतृत्व कसरी निर्माण भयो त्यसको अध्ययन महत्त्वपूर्ण हुन्छ । प्लेखानोभ रुसमा सर्वप्रथम माक्र्सवादी विचारको प्रचारप्रसार र सङ्गठन गर्ने पहिलो व्यक्ती थिए । उनले नै रुसमा रुसि भाषामा सर्वप्रथम कम्युनिस्ट घोषणा पत्रलाई अनुवाद गरेर प्रचार गरेका थिए । उनले लेनिनसङ्ग मिलेर इस्क्रा र जार्या पत्रीकाको सम्पादन समेत गरेका थिए । उनले दर्शनको क्षेत्रमा त्यो समयसम्म अद्वितीय ज्ञान हासिल गरेका थिए । प्लेखानोभको दार्शनिक क्षमता र मजदुर आन्दोलनको लगावलाई लेनिनले मुक्त कण्ठाले प्रशंसा गरेका थिए । प्लेखानोभले कैयौं सवालहरुमा लेनिनलाई बलियो समर्थन गरेका थिए । उमेर र समयका हिसाबले प्लेखानोभ लेनिन भन्दा धेरै नै पाको र परिपक्क थिए । रुसको सामाजिक जनवादी पार्टीको १९०३ मा सम्पन्न दोश्रो महाधिवेशनमा प्लेखानोभले अवसरवादीहरुसङ्ग साझौतापरस्त नीति अपनाएका थिए । त्यस पछाडि उनले सिद्धान्तहिन पार्टी एकतामा जोड दिने नीति अपनाए र लगत्तै मेन्सिविक कित्तामा सामेल भए । मेन्सेविकका प्रमुख नेता मार्तोभ भए पनि प्लेखानोभले त्यो बेलामा मेन्सिविकलाई समर्थन गर्नु एउटा एतिहासिक गम्भीर भुल थियो तर पनि प्लेखानोभले आफूलाई गलत भएको स्विकार गरेनन । बरु समयले नै उनलाई गलत बनाइदियो । त्यो अवस्थामा लेनिनले सधै त्यसप्रकारका प्लेखानोभका ढुलमुल अवसरवादी लाइनका विरुद्ध निरन्तर साझौताहिन संघर्ष चलाए । त्यो समय लेनिन प्लेखानोभको तुलनामा फुच्चे नै थिए । तर “परिपक्क र पाको” प्लेखानोभको वैचारिक स्खलनका विरुद्ध लेनिनले उठाएको सैद्धान्तिक, वैचारिक तथा संगठनात्मक झण्डाले रुसमा सोभियत सत्ता जन्मायो । विश्व कम्युनिष्ट आन्दोलनलाई अभुतपूर्व वलियो बनायो । विश्व समाजवादी व्यवस्थालाई उचाइमा पु¥यायो । इतिहासका तथ्य घटनाहरुले बताउँदछ कि कुनै वेला सहि दृष्टिकोण अपनाएका “परिपक्क र पाका” नेताहरुले पनि गलत विचारको शिकार हुन्छन र दक्षिणपन्थी विचारधारालाई नै अंगाल्न पुग्दछन । त्यो अवस्थामा “ परिपक्क र पाको” नै नभए पनि सहि विचार बोक्नेहरु नै नयाँ युगको लागि नयाँ र भर पर्दा मान्छेहरु हुन । मान्छे एकै पटक परिपक्क र पाको खोज्ने प्रवृति वा दृष्टिकोण निम्नपुजिवादी दृष्टिकोण हो भने नयाँ क्षमतालाई नदेख्ने प्रवृति यथास्थिथिवादी चिन्तनको परिणाम हो । नेतृत्व कोहि अमुक मान्छेको निगाहमा होइन, संघर्षको भुमरीबाट जन्मने हो । नयाँ युगको आवश्यकता पूरा पुराना यथास्थितिवादले सिङ्गारिएका मान्छेहरुबाट होइन, नयाँ ढ्ङ्गले नयाँ वस्तुगत यथार्थताको स्विकारोक्ती र कार्यदिशाको निर्माण, प्रयोग, विकासबाट मात्र सम्भव छ ।

११. राजनितिक कार्यदिशा सहि हुनु र नहुनुले नै सबै चिजको फैसला गर्दछ । कार्यदिशा नै गलत भयो भने जति धेरै अनुशासन भए पनि त्यो सहि हुदैन । रसियामा १५ करोड जनसंख्या हुँदा वोल्सेभिकहरु ८ हजार थिए । तर रसियामा सोभियत सत्ता आयो । मुख्य हतियार विचार हो । संख्यामा कम हुँदैमा क्रान्ती सम्पन्न हुन्न भने विचारधारा निम्नपुजिवादी, क्रान्तिविरोधी विचारधारा हो । चिनियाँ कम्युनिस्ट पार्टीको लङ मार्च कार्यक्रममा हजारौं सेनाहरु मरेका थिए र पनि क्रान्ति रोकिएन । पुर्वी युरोपमा पनि त्यहाँको कम्युनिस्ट पार्टीले कैयौं रक्षात्मक अवस्थाहरुको सामना गर्दै क्रान्तीकारी बाटो रोजेका थिए र विजय प्राप्त गरेका थिए। कम्युनिस्ट पार्टी आकारमा कति ठूलो छ भन्दा नि कति माक्र्सवादी लेनिनवादी छ, कति मिलिटेन्ट र अनुशाशित छ, कति प्रभावकारी छ भन्ने तथ्यले त्यसको बाटो निर्धारण गर्दछ। यदि विचार, सिद्धान्त, व्यबहार र कार्यक्रम ठिक छन भने आज सानो भएको शक्ति भोली शक्तिशाली हुन्छ र क्रान्ती सम्पन्न गर्दछ । त्यसकारण, हामी सङख्यामा कति छौ, त्यो भन्दा प्रधान पक्ष हाम्रो राजनितिक कार्यदिशा सहि छ कि छैन भन्ने हो । राजनितिक कार्यदिशा सहि हुनु र नहुनुले नै सबै चिजको फैसला गर्दछ ।

१२. आजको अवस्थामा क्रान्तिकारी शक्तिहरुले सर्वप्रथम संसोधनवाद र नवसंसोधनवादका विरुद्ध वैचारिक तथा सैदान्तिक लडाइलाई माथी उठाउनु पर्दछ । एकातिर दक्षिणपन्थी संसोधनवादको खिलापमा त अर्कातर्फ क्रान्तिकारी आवरणमा संसदवाद उन्मुख नवसंसोधनवादका विरुद्ध दरिलो संघर्ष चलाएर नै हामीले क्रान्तिकारी विचारधारको रक्षा र विकास गर्न सक्दछौं । त्यो प्रकारको वैचारिक संघर्षको लागि आज वैचारिक फोरमहरु चलाउँदै नयाँ जनवादी क्रान्तिको आधारभूत तयारी स्वरुप सु–स्पट, अनुशाशित, मिलिटेन्ट, क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण र विकासलाई अगाडि बढाउन सक्छौं । नेपालको वर्तमान कम्युनिष्ट आन्दोलनमा जबरजस्त वलियो बनेर अगाडि आएको संसोधनवाद र क्रान्तिकारी आवरणमा त्यसको पुच्छर बन्दै गैरहेको नवसंसोधनवादको खिलापमा क्रान्तिकारी शक्तिहरुले एकढिक्का भएर महान बहस चलाउनु आजको समयको प्रधान सवाल हो । सर्वाहारा वर्ग र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको वर्तमान र भविष्य पनि त्यही बहसले दिशानिर्देश गर्नेछ । नयाँ जनवादी क्रान्तिको तयारी नै वर्तमान परिस्थितिको सहि क्रान्तिकारी राजनीतिक कार्यदिशा हो, त्यही आधारमा नै हामीले क्रान्तिकारी पार्टीको निर्माण र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सक्दछौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->