बिगत ३० बर्षदेखि मजदुर आन्दोलनको अग्रणी तथा नेतृत्वदायीे इतिहास बोकेको ट्रेड युनियन महासंघ जिफन्टले उठाएका मागहरु प्रायः सफलता हासिल गर्न सफल भएको छ । ट्रेड युनियन महासंघ जिफन्टले हासिल गरेका उपलब्धीहरु लिपीबद्ध गरी संरक्षण गर्न नीति, नियम, निर्माण र कानुन बनाउन पनि सफल भएका छन् । कतिपय कार्यक्रमहरु हाम्रो संगठन जिफन्टले उठाएका मागहरु, मजदुर बर्गको हित र पक्षमा समेत घोषणा भएका छन् । सरकार, सरोकारवाला पक्ष र हाम्रो संगठनको नेतृत्वको निरन्तरको वार्ता, छलफल र प्रयासको कारण मजदुरहरुको न्यूनतम पारिश्रमिक तोकिएको छ । त्यसैगरी हाम्रो संगठन जिफन्ट, सरकार र ब्यावसायीक प्रतिष्ठानहरुको सहकार्यमा योगदानमा आधारित पेन्सन कार्यक्रम हालै ल्याइएको छ । जुन कार्यक्रम मजदुर बर्गको हितको लागि मात्रै नभई ब्यावसयीहरुलाई समेत फाइदा पुग्ने खालको छ । प्रतिष्ठानमा कार्यरत दक्ष श्रमिक नेपालबाट पलायन हुनबाट रोक्न आर्कषक र महत्वकांक्षी कार्यक्रमले श्रमिकहरुलाई केही हदसम्म नेपालमै बस्न प्रेरित गर्दछ । यो कार्यक्रमले नेपाली श्रमिकहरुको सामाजिक सुरक्षालाई संस्थागत गर्ने काम समेत गरेको छ । देशैभरिका ब्यापारिक प्रतिष्ठानहरु लगायतमा समेत ब्यापक र बिस्तृत संजाल रहेको टे«ड युनियन महासंघ जिफन्टले मजदुर बर्गका हक अधिकारको पक्षमा वकालत गर्दै आएको कुरा आम ट्रेड यूनियकर्मीहरुको जानकारीभित्रै छ ।
टे«ड युनियन महासंघ (जिफन्ट)ले आफ्नो संरचनामा नेतृत्वदायी पदमा महिलाहरुको उपस्थितीलाई बढाउदै लगेको छ । तर यति हुँदैमा आम श्रमिक महिलाहरुको पक्षमा काम भइरहेको अवस्था भने छैन । सांगठनिक संरचनाभित्र आम रुपमा महिलामाथि बिभेद हुन्छ भन्ने प्रसंग उठाउन खोजिएको होईन तर आम रुपमा संगठित या असंठित क्षेत्रमा कार्यरत महिला मजदुरहरु भेदभाव र यौनजन्य हिंसाको सिकार भने भईरहेका उदाहरणहरु प्रसस्तै छन् । सरकारी तथा निजी (प्राइभेट) प्रतिष्ठानमा कार्यरत श्रमिक महिला तथा कर्मचारीहरुमाथी कार्यस्थलमा हुने यौनजन्य हिंसाको सवालमा ट्रेड युनियन महासंघ जिफन्टले ५० को दशकदेखिनै आवाज उठाउँदै आएको हो । ट्रेड युनियन महासंघ जिफन्टको संरचनाभित्र, महासंघको दास्रो राष्ट्रिय सम्मेलनदेखि नै श्रमिक महिला र लैङगिक समानताको बिषय उठान गरेर महिला नीति बनाए पश्चात नेतृत्वका सबै अभयबहरुमा महिलाको सहभागित बढाईयो । हाल जिफन्टमा महिलाहरुको सार्थक उपस्थिीति देखिएको छ । नीति निर्माणको तहमा महिलाको उपस्थिीति, नीति तथा कानुन निर्माण भएर मात्रै पुग्ने अवस्था नहुँदा महिलाहरुले अब ऐन, कानुनहरुको कार्यान्वयन गराउन, कार्यस्थलमा महिलामाथी हुने यौनजन्य हिंसा बिरुद्धको सचेतना अभियान नै संचालन गर्नुपर्ने जरुरी देखिएको छ । हुनतः चेतनाको अभावमा महिलामाथी हिंसा भइरहेको अवस्था भने होईन । बिभिन्न कारणबाट हिंसाको प्रतिकार गर्न नसक्ने र गर्न नखोज्ने अवस्थाले एकतिर हिंसा मौलाउँछ । अर्कोतर्फ जानेर बुझेर पनि हिंसा गर्ने प्रबृति हाबी भएको छ । “कानुननको अनबिज्ञता क्षम्य हुँदैन भन्ने कानुनको सिद्धान्त छ ।” आम नागरिकले त कानुन बुझ्नु पर्दछ भन्ने मान्यता छ भने सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुले कानुन नबुझेर हिंसा गरेका हुन् भन्ने मान्यता हुन सक्दैन । पोखराकै एक सरकारी कार्यालयमा काम गर्ने महिला कर्मचारी आफ्ना सहकर्मी र हाकिमबाट पलपलमा बिभिन्न बहानामा हिंसाबाट प्रताडित हुनु परेको तथ्य यो लेखकलाई उजागर गरिन् । “अफिसमा महिला कर्मचारी नभएको कारणबाट म माथी छुट्टै ब्यवहार गरेको महसुस भएको छ ।” खाजाको समयमा होस या काम गर्दा गर्दै होस महिलालाई मनोरन्जनको साधनको रुपमा लिई जिस्क्याउनु आम प्रचलन नै बनेको छ । ब्यावसायीकभन्दा फरक कुराकानी गर्नु पद अनुसारको जिम्मेवारी नदिनु जस्ता ब्यवहार ठूलै ओहोदामा पुगेका महिलाहरुले समेत भाग्नु परेको अवस्था छ ।
साबिक मुलुकी ऐन अदालती बन्दोबस्तको ३ नं मा अड्डा बसेदेखि बन्द नभएसम्म अड्डामा आफुले गर्नुपर्ने अड्डासम्बन्धी काम कुराबाहेक अरु कुनै काम कुरा वा ठट्टा मस्करी गर्न र गर्न दिन हुँदैन भनी नेपालको सबै भन्दा जेठो कानूनले नै त्यसरी उल्लेख गर्नुले काम गर्ने कर्मचारी अनुशासित हुनुपर्छ बुझाउँछ ।
सभ्य र संयम हुनुपर्छ भन्ने सन्देश दिएको प्रष्टसंग बुझ्न सकिन्छ । हाकिमले आफू मातहतका कर्मचारी त्यसमा पनि महिला कर्मचारीमाथि आँखा गाँडेको, जिस्काएको, शरीरमा हातले छोएको वा हातैले छोएर काम अहृाउने वा ढाडमा सुम्सुमाउदै स्याबासी दिने वा एकान्तमा उच्श्रृंखल कुरा गरेर महिला कर्मचारीमाथि असभ्यता प्रकट गरेका घटनाहरुका सार्वजनिक हुने गरेका छन् । कार्यस्थलमा हुने यौनजन्य हिंसाका घटनाबारे उजुरी गर्न र पीडकलाई सजाय दिनसकिने गरी कार्यस्थलमा हुने यौन हिंसाबारे व्यवस्था गर्न ऐन कार्यान्वयनमा आएको छ । कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा आएपछि केही मात्रामा भएपनि महिलाहरुले आफुलाई कार्यालयमा सुरक्षित भएको महसुस गर्न थालेका छन् । कर्मचारीका रुपमा रहेका महिलाहरुले आफ्नौ पुरुष साथीहरुबाट हुने यौनजन्य दुव्र्यवहारबाट पूर्णतः उन्मुक्ति पाउन भने सकेको अवस्था पाईदैन । तर पनि उनीहरु आफूले पुरुष साथीबाट झेलेका यौनजन्य दुब्र्यवहारका बारेमा बाहिर बताउन वा बोल्न मिटु अभियानको सहारा लिएका छन् । आफ्नो पद, शक्ति वा अधिकार दुरूपयोग गरी विभिन्न दबाब, प्रभावका साथै प्रलोभनमा पारेर वा हतोत्साही गरी महिलामाथि हिंसा गर्ने प्रवृत्ति देखिन्छ । कर्मचारी मात्र होइन, सेवाग्राहीले समेत यस खालका हिंसा सहने गरेका छन् । यौनजन्य आशयले जिस्काउने, भिडभाडमा महिलाको शरिर छुदै हिड्ने वा हैरानी गराउने कार्य महिला कर्मचारी तथा सेवाग्राहीमाथि हुने गरेको छ । यसरी महिलाहरुले कार्यस्थलमै यौनजन्य दुव्र्यवहार भोग्नु परेको अवस्था बिद्यमान छ । केहि समयअघि नेपाल वायु सेवा निगमकी एक महिला कर्मचारीलाई हाकिमले कार्य सम्पादन मूल्यांकनमा हेरफेर गर्ने आश्वासन दिँंदै कुदृष्टि लगाएपछि राष्ट्रिय महिला आयोगमा उजुरी गरिन् ।
सरकारी निकायमा कार्यरत योग्य र सक्षम महिलामाथि कार्यस्थलमा भएका विभिन्न खालका हिंसाका यी प्रतिनिधिमूलक घटना मात्र हुन् । यस्ता घटना सरकारी कार्यालयमा मात्रै हुन्छ भन्न खोजिएको होईन व्यवसाय वा सेवा प्रदान गर्ने उद्देश्यले खोलिएका निजी कार्यालयमा कार्यरत महिलाले दिनहुँजसो विभिन्न खाले हिंसा सहनु परेको अवस्था छ । निजी क्षेत्रमा काम गर्ने महिलाहरु आफ्नो समकक्षीले गरेको यौन दुब्र्यवहारबिरुद्ध त आवाज उठाउलान् तर ब्यवस्थापक वा तीनका मान्छेले गरेका साना तिना दुब्र्यवहार सहेरै बस्नुपर्ने अवस्था रहेको पाईन्छ किनकी उनीहरुको जागिर जान्छ भन्ने डरले हिंसा सहन बाध्य हुन्छन् । यौनजन्य आशयले शरीरको कुनै अंग छुने प्रयास गर्ने, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गर्ने कार्य भएको देखिन्छ । तर त्यसविरुद्ध प्रतिकार वा उजुरी गरी कानुन्को दायराभित्र ल्याउने प्रयास भने कमै मात्र हुन्छ ।
सरकारी कार्यालयमा कार्यरत पीडित महिला कर्मचारीले उजुरी गरेको कारणले सेवाबाट हटाउन, अन्य विभागीय कारबाही गर्न वा निजको सरुवा, बढुवालगायतका वृत्ति विकासमा असर पर्ने गरी कुनै किसिमको कारबाही गर्न नपाउने कानुनी व्यवस्था छ । चेतनाको अभाव वा दहे साथ सहयोग नपाएका कारण उजुरी गर्दा जागिर नै पो जाने पो हो की भन्ने डरले पनि तैं चुप मैं चुप भई बस्न बाध्य छन् । कार्यस्थलमा महिलामाथी प्रायः मानसिक, शारीरिक र यौनजन्य दुव्र्यवहार हुने गरे पनि चुपचाप सहने प्रवृत्ति अधिकांश महिलामा रहेको पाइन्छ । जस्ले गर्दा महिलामाथी हुने यौन हिंसा झन्झन् मौलाउँदै गएको छ । पीडितले लिखित रूपमा बन्द इजलासमा सुनवाही गर्न अनुरोध गरेमा बन्द इजलासमा सुनवायी गर्नुपर्ने कानुनी व्यवस्था समेत रहेको छ । तैपनि महिलाहरु आफूमाथिको हिंसा भरसक लुकाएरै राख्न खोज्छन् ।
कार्यस्थलमा सुरक्षित, स्वच्छ र मर्यादित वातावरणमा काम गर्न पाउने प्रत्येक व्यक्तिको अधिकार भएको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, ०७१ मा उल्लेख छ । तर सरकारी निकायमा काम गर्ने महिलाले नै यौनजन्य दुव्र्यवहार सहनु परिरहेको कुरा बेलाबखत उजागर हुने गरेको छ । तर उजुरी भने न्यून मात्रामा दर्ता हुने गरेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा महिला हिंसासँग सम्बन्धित ७२ वटा घटना उजुरीका रूपमा दर्ता भएको तथ्याड्ढले देखाउँछ । पछिल्लो पाँच महिनायता ५९ उजुरी परेको र यी उजुरी मानसिक हिंसाका साथै कार्यस्थलमा हुने यौनजन्य हिंसासँग पनि सम्बन्धित रहेकोे जानकारी दिए प्राप्त हुन आएको छ । हिंसा गर्नेलाई सजाय हुन्छ भन्ने जानकारी भएका व्यक्ति पनि हल्ला हुन्छ र ईज्जत जान्छ भन्ने डरले उजुरी गर्न नआउनु । हिंसाले अलि चर्को रूप लियो भने मात्र गुनासो लिएर आउनु प्रमुख समस्या हो । हिंसालाई सामान्य ढंगबाट लिने मानसिकता र हिंसाबिरुद्ध आवाज उठाइहाले पनि पुरुष सहकर्मीको साथ नपाईने एक्लै परिने डरले उजुरी गर्न सक्दैनन् ।
महिलामाथि हिंसा हुन नदिन कर्मचारी तथा सेवाग्राहीलाई पनि सजग गराउनेतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्ने देखिन्छ । कार्यस्थलमा मानसिक हिंसा सहने महिलाहरुको संख्या बढ्दो छ । कार्यालयमा यौनजन्य हिंसासमेत सहेका महिलामा मानसिक समस्या समेत देखिन्छ । हिंसाविरुद्ध प्रतिकार गर्ने र सम्बन्धित निकायमा उजुरी गरेर पीडकलाई सजाय दिलाउन चाहे पनि परिस्थिति झन् प्रतिकूल हुने हो कि भन्ने डरले महिलाहरुले हिंसा सहेरै बस्छन् । यसै सम्बन्धमा लामोे समयदेखि महिलामाथी हुने हिंसा बिरुद्ध लेखेर अभियान चलाउदै आएकी प्रा. डा. चन्द्र भद्र भन्छिन्– ‘पीडकलाई सजाय दिलाउन मात्र होइन, आफ्नै टेक केयरका लागि पनि उजुरी दिनु आवश्यक छ ।’ मानसिक तथा यौनजन्य हिंसाले महिलालाई चिडचिडाहट हुने, तनाव, चिन्तालगायतका मानसिक समस्यासँग सम्बन्धित समस्या उत्पन्न गर्छ । शारिरीक समस्या पनि निम्त्याउँछ र रोग बढाउँछ ।
प्रदेश सभा सदस्य ,गण्डकी प्रदेश




