बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राङभाङमा अल्झेको मन

राङभाङमा अल्झेको मन


  • दिवस गुरुङ
  • फाल्गुन २७ २०७६, मंगलबार

ठुलो खेल मैदान । अनि छेवैमा अरनिको मा.वि. । त्यही विद्यालय कक्षा ५ मा पढ्ने अनिल केही दिनदेखि खुसी मुद्रामा देखिन्थे । सधैं पठनपाठन हुने उसको विद्यालयमा छुट्टै रौनक छाएको थियो । बिहान घरबाट निस्केपछि ऊ दिनभर विद्यालयमैै रमाउँथे । ऊजस्तै राङभाङ र नजिकै गाउँका विद्यार्थीहरु दुई दिन त्यही रमाएँ । रमाएनन् मात्रै लाटोकोसेरो र हुँचिल बारे धेरै ज्ञानगुणका कुराहरु सिकेँ । सगैँ सिकेका धेरै कुराहरु आफ्नाहरुलाई पनि सुनाए ।
कोही लाटोकोसेरोको तस्वीर भएको मास्क लगाउँदा फुरुङ्ग देखिन्थे त कोही अनुहारमा लाटोकोसेरोको कलर पेन्टिङ गर्न व्यस्त थिए । फरक फरक उत्साह प्रष्ट देखिन्थ्यो सबैको मुहारमा । ‘नेपाल लाटोकोसेरो तथा हुँचिल उत्सव २०७६’ को नवौं संस्करण आयोजना गरिएको स्याङ्जाको राङभाङमा अवस्थित अरनिको मा.वि. को माहोल थियो योे । लाटोकोसेरोमय भएको थियो राङभाङ गाउँ ।
यसभन्दा पहिले धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र जिरीमा सम्पन्न भएको थियो यस उत्सव । चाहना हुँदा हुँदै मौका मिलेको थिएन त्यहाँ पुग्न । त्यसैले यस पटक माघ २४ र २५ गते राङभाङमा हुने उत्सवका लागि त्यहाँ पुग्ने योजना बन्यो । त्यो पनि साइकलमा । अन्तिममा आएर सगैँ जाने कोही भएनन् । स्याङजाको अत्यासलाग्दो बाटो एक्लै जान मनले मानेन । त्यसैले साथीसगँ पोखराबाट बाइकमा कुद्यौ । माघ २४ गते बिहानै । दुई घन्टामा स्याङ्जा बजार अलि पर घुम्ती पुग्यौं । त्यस पछिको करिब १ घण्टाको कच्ची बाटो । सडक विस्तार भइरहेकाले यात्रा अलि सकस बन्यो । करिब बाह्र बजे राङभाङको अरनिको मा.वि.को प्राङगणमा पुग्दा छुट्टै रौनक थियो त्यहाँ ।
लोभलाग्दो थियो विभिन्न स्कुलका विद्यार्थीहरु लाइनबद्द भएर विद्यालयको खेलमैदानमा प्रवेश गर्दाको दृश्य । एकैछिनमा गाउँलेहरुले खेलमैदान भरिदै गयो । कोही नजिकैको रोटेपिङको आनन्द लिदैँ थिए त कोही नजिकैको खरले छाएको नमुना घरसगैँ सेल्फी लिन । नमुना घरभित्र प्रदर्शनमा राखिएका थिए स्थानीय सामग्रीहरु । नाङ्लो, जाबी, सेखु, टपरी, मान्द्रो, डालो, ठेकी अनि भकारी । केही बेरमै गण्डकी प्रदेशका आर्थिक तथा मामिला मन्त्री किरण गुरुङले कार्यक्रम उद्घाटन गरे । उनले विद्यालयमा बनाइएको संग्रहलय अवलोकन मात्र गरेनन्, विभिन्न चराचुरुङ्गी र जनावरमा लामो समय अनुसन्धान र संरक्षणमा लागेकाहरुसगँ त्यस बारे बुझेर हौसला समेत दिए ।
अरु मेलाभन्दा फरक थियो यस उत्सव । फरक थियो यसको लक्ष्य अनि कार्यक्रमहरु । नाफामुलक नभई यस उत्सव लाटोकोसेरोको बारे जानकारी र यसको संरक्षणबारे बढी केन्द्रित थियो । लाटोकोसेरोको परिचय र यसले किसानलाई दिने फाइदा र पर्यायवरणमा पु¥याउने योगदान बारे ठाउँठाउँमा सन्देशमुलक पोष्टरहरु मात्र बनाएका थिएनन्, हरेक वक्ताले यस बारे जानकारीहरु दिएका थिए । वन क्याम्पसका विद्यार्थीहरुले प्रस्तुत गरेको ‘भैसेंगौडा राङभाङ गाउँ, लाटोकोसेरो हुचिललाई जोगाऔं’, नामक गीतले माहोल तातियो । त्यहाँ उपस्थित भएकाहरुलाई सगैँ नाच्ने बनायो । यता अरनिको मा.वि.का विद्यार्थीहरुले प्रस्तुत गरेको नाटकले उस्तै प्रशंसा पायो । उस्तै गडगडाहट ताली बजिरह्यो ।
त्यहाँको स्थानीय खेल रहेछ घुयत्रो । स्टेजमा गाउँका दुई जना बुढा मानिसहरुले धागोमा पातलो काठ बेरेर त्यसलाई घुमाएर यस खेल देखाए । रमाइलोका लागि हैन, पहिला पहिला गाउँघरमा मेलापात गरेर थाकेर घर फर्कदा पंखाको रुपमा प्रयोग गर्दा रहेछन् गाउँलेहरुले । मगर जातिको अर्को लोपोन्मुख खेल पाङग्रा घुमाउने खेल उस्तै अचम्मको । भुरुङ, घोचा गाड्ने, ठेला हान्ने जस्ता त्यहाँका स्थानीय लोपोन्मुख खेलहरु उत्सवमा स्थानीयले देखानन् मात्र, यसको महत्व बारेमा सबैले बुझ्ने अवसर मिल्यो । कति खेल त मैले पहिलो पटक देखेको थिए । यसले मनमा उत्सुकता थपियो । यस बारे अझ बुझ्ने र अध्ययन गर्ने संकल्प गरे । यस्ता खेलहरुले क्षणिक रमाइलो मात्र प्रदान गर्दैन, विगत बुझ्ने एउटा राम्रो अवसर पनि हो ।
मगर र गुरुङहरुको बाक्लो बस्ती रहेको गाउँ हो राङभाङ । लस्करै खरले छाएका चिटिक्क परेका घरहरु । अनि स्थानीय नृत्य र नाजगानमा उस्तै धनी रहेछ यो गाउँ । अझै जीवन्त बनाएर राखेका रहेछन् गाउँलेहरुले आफ्ना परम्परागत नाजगानहरु । यस उत्सवको अर्को मुख्य लक्ष्य भनेकै त्यस्ता नृत्यको प्रस्तुति र प्रतियागिता गराएर आम मानिसमा यसको महत्व बारे प्रकाश पार्नु थियो । सोरठी नाच, मगर र गुरुङ जातिको स्थानीय नाच । नाच्ने, गाउने र मादल बजाउने गरेर कम्तिमा १२ जना चाहिने रहेछ यस नाच प्रस्तुत गर्न । प्राय महिलाको भेषमा नाच्ने दुई जना पुरुषलाई मारुनी र एक जना पुरुषलाई चाहिँ पुर्सिङ्गे भनिदो रहेछ । यसको छोटो नृत्य प्रस्तुत गर्न पनि करिब १ घण्टा नै लाग्दो रहेछ । तीन जना कलिला बाबु नानीहरुले कलात्मक ढंगले नाच देखाए सोरठीको । हेरीरहुँ जस्तो खालको । घाटु, झोरा, कौडा, नौमती बाजा, भजन, सालैजु, २२ ताल भाका, छैटी जस्ता नाचहरु उत्सवमा प्रस्तुत गरे राङभाङवासीहरुले । फरक थियो स्थानीय रैथाने स्वाद । उस्तै प्रशंसायोग्य प्रस्तुति ।
गाउँमा बडेमानको भ्वाङ छ, त्यसैले नाम रहन गएछ, राङभाङ । केही वर्ष अघिसम्म गुमगाम यस भ्वाङ अहिले गाउँको पर्यटकीय आकर्षण बनेको छ । यसको अध्ययनका लागि वि.स. २०७० सालमा भ्वाङभित्र गएर अनुसन्धान गरिएको रहेछ । राङभाङ क्लबका अध्यक्ष बालकुमार गुरुङले भने, ‘९० फिटसम्म मानिसहरु डोरीको सहयताले पुग्न सकिन्छ । त्यहाँबाट साघुरो बाटो पछ्याउँदै अझ १५ फिट तल झरेपछि दायाँ र बायाँ दुवैतर्फ मानिस छिर्न सक्ने साना प्वालहरु रहेका छन् । दायाँबाट जंगल पुगिन्छ भने बायाँबाट बिरुवा गाउँ ।’ यस भ्वाङ नेपालकै साहसिक पर्यटनको रुपमा विकास गर्न सकिन्छ भन्ने कुरामा उनले जोड दिएँ ।
समुद्री सतहबाट १५०९ मि. को उचाईमा रहेको यस गाउँ सुर्योदय र सुर्यास्तको उस्तै प्रसिद्ध छ । मौसम खुल्दा यहाँबाट धौलागिरी, अन्नपूर्ण हिमशृंखला, लमजुङ अनि मनास्लु हिमाल धीतमरुन्जेल नियाल्न सकिन्छ । गाउँबाट केही मिनेटको हिडाइँमा राङभाङ कोट पुगिन्छ । अझै पनि त्यहाँ पुजाआजामा टोप पड्काउने चलन कायमै रहेछ । आकर्षक छ छेवैको रोल बारही मन्दिर । गाउँ जादाँ यहाँ पुग्न छुटाउनु हुँदैन । शान्त र सुन्दर वातावरणमा जो कोही हराउँछन् ।
गाउँमै छ ठुलो निल पोखरी । गाउँकै कुल बहादुर थापाले यस पोखरीको ऐतिहासिक किबंदन्ती सुनाएँ । यहाँ काटिएको रागो बराह थानमा पुग्दो रहेछ । हरेक बैशाख पूर्णिमाका दिन यहाँ पूजाआजा गरिन्छ । त्यसका लागि चाहिने भाडाकुडा स्वत त्यही पोखरीबाट आफैँ निस्कदो रहेछ । एकपल्ट पूजा सकिएपछि एक जनाले त्यहाँका भाडाकुडा घरमा लान खोजेका रहेछन् । उनी जति अघि बढेपनि त्यही आइपुग्दा रहेछन् । पछि उनले सबै भाडाकुडा त्यही छोडिदिदाँ मात्र घर जान पाएछन् । यस घटना पछि भने भाडाकुडा आफैँ आएनन् ।
प्राकृतिक र जैविक विविधताले पनि सम्पन्न छ राङभाङ । यस क्षेत्रमा रतुवा, दुम्सी, खरायो, बाँदर, लंगूर, चितुवा, चरी बाघ मात्र पाइदैन, काँडेभ्याकुर, कालिज, लामपुच्छे«, तित्रा, सुगा, लाटोकोसेरो, हुचिल लगायतका चराहरु पनि देख्न पाइन्छन् । चरा अवलोकनका लागि पनि उत्कृष्ट यस क्षेत्रमा दुई दिन चरा अवलोकन पनि भएको थियो । जसमा करिब सय थरीका चराहरु अवलोकन गरे । यसले के प्रष्ट पार्छ भने भविष्यमा यस क्षेत्र चरा पर्यटनको लागि एक प्रसिद्ध गन्तव्य बन्न सक्छ ।
प्राकृतिक, जैविक र सांस्कृतिक रुपमा सम्पन्न भएकाले नै नवौं उत्सव राङभाङमा आयोजना गरिएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए । उनले थपेँ, ‘विश्वभर लाटोकोसेरो र हुँचिलको अवैध व्यापार भएकाले नै ९ वर्षदेखि प्रकृतिका साथी नामक संस्थाले विभिन्न जिल्लामा यस उत्सव गर्दै आएको छ । किसानको साथी मानिने लाटोकोसेरोको जोडीले एक सिजनमा ३००० वटासम्म मुसा खाने गर्छन् । यसको मासुमा औषधीय गुण हुने कुरा वैज्ञानिकले अहिलेसम्म पुष्टि नभए पनि नेपालबाट वार्षिक रुपमै कम्तीमा २००० को हाराहारीमा यसको अवैध रुपमा व्यापार हुन्छ ।’ उनले थपेँ, हामी हरेक वर्ष फरक जिल्लामा यस उत्सव मनाउछाँै । यसले आम मानिसमा लाटोकोसेरो र यसको संरक्षणमा केही योगदान पु¥याउने छ भन्ने कुरामा हामी विश्वस्त छौं ।
यता अरनिको मा.वि.का प्राचार्य गोपाल पौडेलले भने, ‘राजु सर र उहाँको टिम पहिला नै यस उत्सव राङभाङमा आयोजना गर्न अध्ययनका लागि आउनु भएको थियो । विद्यालय कै प्राङगणमा आयोजना गर्दा कतै पढाईलाई अवरोध पु¥याउने त हैन लागेको थियो ? पछि विद्यालय व्यवस्थापन समिति, अभिभावक र उहाँहरुको टिमसगँ छलफल गरेर यही आयोजना गर्ने निर्णय बन्यो । यो हाम्रो लागि एउटा सुनौलो अवसर सावित भयो ।’
मध्य पहाडी क्षेत्रको प्रसिद्ध पदयात्रा (सहस्राब्दी पदमार्ग) मिलेनियम ट्रेकको मध्यबिन्दु हो राङभाङ गाउँ । सन् २००० बाट सुरुवात भएको यस ७२ कि.मी. पदमार्ग तनहुँको दुलेगौँडाबाट सुरु भएर स्याङ्जाको रामबाछामा आएर टुङ्गिन्छ । यस उत्सवले थप यस पदमार्ग र सिगों गाउँको पर्यटनलाई टेवा पु¥याउनेमा दुई मत छैन । अहिले गाउँमा पाहुनाहरुका लागि सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ । केही समय पछि होमस्टे सञ्चालनमा गर्ने गाउँको योजना पनि रहेको छ ।
यहाँको विशेषता भनेकै आत्मीय स्वागत अनि रैथाने स्वाद । गाउँलेहरु जागरिला छन् । आफ्नै खेतबारीमा उत्पादित सिजन अनुसारका सागसब्जी अनि फलफुल उब्जाउछन् । पाहुनाहरुलाई त्यही अर्गानिक स्वाद चखाउँछन् । सिजनमा लटरम्म सुन्तला फल्छ यहाँ । कोदाको ढिडोँ अनि लोकल कुखराको मासु विशेष परिकार यहाँको । अझ कोदाको रक्सी (नारे पा) पनि पाहुनाहरु चाख्छन् ।
यही गाउँमा उत्सव सुरु हुनुभन्दा दुई साता अघि नै स्याङ्जाका विभिन्न विद्यालयमा लाटोकोसेरो चेतना शिविर सञ्चालन मात्र भएन, विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिता पनि आयोजना भयो । यसले एक त विद्यार्थीहरुको सृजनशीलतालाई तिर्खाने काम गर्यो र अर्को लाटोकोसेरो सम्बन्धी जानकारी पनि दियो । उस्तै प्रशंसायोग्य थियो उत्सव । गहुँको छ्वाली, चुरा, स्टीलको पाता, लप्सीको दाना, ढुंगा आदिबाट बनाइएका लाटोकोसेरोका नमूनाहरु लोभलाग्दा र आर्कषक थिए । लाटोकोसेरो कै एक फिट अग्लो रोबोट देख्दा विद्यार्थीहरु छक्क परेका थिए । थप ज्ञान बटुल्नका लागि आठ प्रजातिका लाटोकोसेरोको आवाज सुन्ने र भिडियो हेर्ने व्यवस्था पनि गरिएको थियो । यस अघि विभिन्न आठ जिल्लाहरुमा आयोजना गरिएको कार्यक्रमहरुको फोटो प्रदर्शनी उस्तै सुचनामुलक थियो ।
उत्सवको अर्को मुख्य पाटो भनेकै अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई पुरस्कृत गर्नु थियो । पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे, पत्रकार अविनाश चौधरी, ग्रीन गार्ड नेपालका अध्यक्ष विश्वनाथ रिजाल र शुक्लाफाटा राष्ट्रिय निकुञ्जका अधिकृत लक्ष्मण पौडेल ‘प्रकृति संरक्षण पुरस्कार’ बाट सम्मानित भए । स्थानीय संरक्षण पुरस्कार डिभिजन वन कार्यालय स्याङ्जा र राससका पत्रकार वासुदेव पौडेलले प्राप्त गरे । यता संस्थागत रुपमा बर्दिया जिल्लामा कार्यरत बर्दिया प्रकृति क्लब र पाँचथरको दीपज्योति युवा क्लब सम्मानित भए । यसले थप यस क्षेत्रमा लाग्नेहरुलाई हौसला मिल्ने नै छ ।
यस उत्सवले राङभाङ र सिंगो स्याङ्जा जिल्लाकै पर्यटन प्रवद्धनमा एउटा महत्वपूर्ण योगदान दिनेछ भन्नेमा सबै विश्वस्त छन् । यसले चरा पर्यटन ब्रान्डिङ गरायो । करिब ५००० बढी सहभागी भएको यस उत्सवले गुमगाम मिलेनियम पदयात्रालाई फेरि ब्युतायो । नपुगेकाहरुलाई यहाँसम्म दो¥यायो र पुगेकाहरुलाई फेरि पुग्ने बनायो । अर्को पटक राङभाङ साइकलमै पुग्ने योजना बुने । फेरि हेर्नु छ धीतमरुन्जेल, धौलागिरी देखि मनास्लुसम्मको हिमशृंखलाको प्यानारोमिक भ्यु । घुम्नु छ खाल्टो गुफा अनि सिद्ध बाबा मन्दिर । आफैँलाई भुलाउनुछ राङभाङमा ।
जय पर्यटन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->