सार्वजनिक विदाको बारेमा पक्ष विपक्षमा निकै चासो पुर्वक बहस हुने गरेको पाईन्छ । मुख्य तः सार्वजनिक तथा निजी औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारीहरु सार्वजनिक बिदाको वेग्र प्रतिक्षामा हुन्छन् । नागरिक तथा बौद्विक तहबाट सार्वजनिक विदाहरुको कारण सरकारी काम प्रभावित भयो भन्ने तर्क पनि उठ्ने गर्दछ । सार्वजनिक बिदा नियमित कार्यतालिका छाडेर आराम लिने नन् वर्किङ डे हो । विभिन्न देशहरुमा हप्ताको निश्चित दिनहरुलाई आरामको दिन (रेष्ट डे) तोकिएको हुन्छ । सार्वजनिक बिदाहरु मुलत राष्ट्रिय दिवस, महत्वपुर्ण धार्मिक, सांस्कृतिक पर्वहरु, विशिष्ट व्यक्ति तथा ऐतिहासिक राजनैतिक घटनाहरु संग सम्वन्धित दिनहरु आदिलाई आधार मानेर दिने गरिन्छ ।
फिनल्यान्डमा भर्खरै निर्वाचित प्रधानमन्त्री सन्ना मरिनले हप्तामा ५ दिन र दिनको ८ घण्टा काम गर्ने कार्यतालिका संसोधन गरी हप्तामा ४ दिन र दिनको ६ घण्टाको दरले काम गर्ने लचिलो कार्यतालिका पेश गरेको समाचार आएको छ । यस अघि यातायात मन्त्री हुदा मरिनले कामदारको उपलब्धी बढाउन वर्किङ डे छोट्टाउनु पर्ने वकालत गर्थिन । विश्वका अधिकांस विकसित मुलुकमा हप्ताको ५ दिन र दिनको ८ घण्टा र नेपालमा हप्ताको ६ दिन र दिनको ६÷७ घण्टा कार्यतालिका कायम रहेको अवस्थामा सार्वजनिक विदा सम्वन्धमा केहि वहस जरुरी देखिन्छ ।
सन् १८०० मा युरोप र अमेरीकामा औधोगिक आन्दोलन शुरु हुन पुर्व हरेक हप्ता १ दिन, विशेष गरी धार्मिक कार्यको लागि रेष्ट डेको प्रचलन थियो । धार्मिक समुदाय अनुसार फरक फरक दिन बिदा दिने गरिएको थियो । जसमा मुस्लिम समुदायले शुक्रवार, क्रिष्चियनहरु आईतबार र जिउजहरु शनिवार बिदा मनाउने प्रचलन थियो । औधोगिक क्रान्ति पछि अर्थतन्त्र परम्परागत कृषिबाट औधोगिकीकरण तर्फ अगाडि बढेको, औधोगिक श्रमिकको रुपमा काम गर्दा हप्तामा कामको लोड बढी भएको र परिवार संग समय विताउन नपाएको भनि कृषकहरुले गुनासो गर्न थाले । गुनासोले श्रमिक आन्दोलनको रुप लिदै श्रमिक स्ट्राईक भएपछि औधोगिक क्षेत्रमा थप बिदा दिन दबाव वढ्यो । अन्ततः शुक्रवार र शनिवार वा शनिवार र आईतवार गरी हप्तामा दुई दिन आरामको लागि दिन तोकियो । बिख्यात उद्योगपति हेनरी फोर्डले संघिय सरकारले कुनै कानुनी ब्यवस्था नगर्दै आफ्नो कम्पनीमा काम गर्ने कामदारलाई हप्तामा दुई दिन बिदा दिने कामको थालनी गरे । हप्तामा दुई दिन बिदाको कारण श्रमिकहरु गाडी चलाउन सिक्ने, बस्तु तथा सेवाको खरिद गर्न समय प्राप्त हुने, मनोरञ्जन गर्न सक्ने हुन्छन् अनि कार तथा अन्य बस्तुको कारोवार संगै अर्थतन्त्रको आकार वढ्ने उनको अपेक्षा थियो ।
ईस्लामिक मुलुकहरु साउदी अरब, ईजिप्ट लगाएतका मुस्लिम देशहरुमा शुक्रवार र शनिवार बिदा दिने गरिन्छ । अफगानिस्तान र यमनले विहिवार र शुक्रवार अनि ईन्डोनेसिया र पाकिस्तानले शनिवार र आईतबार बिदा दिने गर्दछन् । पश्चिमा मुलुकहरु बेलायत, अमेरीका, एसियाली मुलुकहरु चीन जापान र फ्रान्स जस्ता युरोपियन मुलुकहरुमा शनिवार र आईतवार दुई दिन बिदा दिने प्रचलन छ । क्यानडा, नर्थ अमेरीका तथा अष्ट्रेलियामा पनि शनिवार र आईतवार नियमित सार्वजनिक विदा हुने गर्दछ ।
विश्वमा अभ्यास
अमेरीकाको ३१ औ राष्ट्रपति हरवर्ट क्लार्क हूभरले ईकोनोमिक डिप्रेशनको बेला ४० घण्टा भन्दा कम काम गर्ने समय घटाएका थिए । पछि ३२ औ राष्ट्रपति एफ डि रुजबेल्ट ले फेयर लेवर स्टान्डर्ड एक्ट १९३८ अनुसार हप्ताको ५ दिन ४० घण्टाको ब्यवस्था गरेका थिए । हप्ताको दुई दिन सार्वजनिक बिदाको व्यवस्था अधिकांश मुलुकमा दिने गरिएको पाईन्छ । सन २०२० को लागि अष्ट्रेलियामा नयाँ बर्ष सहित ७ दिन, उत्तर अमेरीकी राष्ट्र क्यानडामा ९ दिन र उत्तर अमेरीका महादेशको संयुक्त राज्य अमेरीकामा १० दिन संघिय राष्ट्रिय सार्वजनिक विदा तोकिएको छ। यी बिदाहरु शनिवार र आईतबार बाहेकका हुन भने राष्ट्रिय बिदा बाहेक अन्य सार्वजनिक बिदाहरु आ–आफ्ना धर्म संस्कृतिको आधारमा प्रान्तिय तथा भौगोलिक रुपमा घोषण गर्ने गरिन्छ । हप्ताको ५ दिन वर्किङ डे हुने अफ्रिका महादेशको अफ्रिकामा ९ वटै प्रान्तमा लागु हुने गरी १३ दिन र पूर्वी एसियामा पर्ने टापुहरुको देश जापानमा १८ दिन राष्ट्रिय सार्वजनिक बिदाको घोषणा गरिएको छ ।
नेपालको नजिकको छिमेकी राष्ट्र भारतमा हप्तामा आईतबार एक दिन र राष्ट्रिय रुपमा ३ वटा सार्वजनिक बिदाहरु र अन्य प्रान्तहरुले घोषणा गरेका विदाहरु हुने गर्दछ । प्रत्येक दोस्रो र चौथो शनिवार बैङ्क होलिडेको रुपमा मनाउने गरिन्छ ।
दक्षिण अफ्रिकामा यदि आईतबार कुनै सार्वजनिक बिदा परेमा त्यस पछिको सोमवारलाई पनि सार्वजनिक विदाको रुपमा मनाईन्छ । जापानमा आईतबार कुनै अर्को सार्वजनिक विदा परेमा अर्को वर्किङ डेमा सार्वजनिक बिदा (ट्रान्सफर होलिड) हुन्छ । यदि दुईवटा सार्वजनिक विदाको बीचमा कुनै दिन परेमा त्यो दिन पनि सार्वजनिक बिदा (सिटिजन्स होलिड) दिने गरिन्छ । त्यसैगरी अमेरिकामा यदि शनिवार कुनै सार्वजनिक बिदा परेमा त्यस भन्दा अघिल्लो शुक्रवारलाई र आईतबार कुनै सावैजनिक बिदा परेमा त्यस पछिको सोमवार सार्वजनिक विदाको रुपमा मनाईन्छ । यसरी नै अन्य विकसीत मुलुकहरु जस्तै बेलायत, रुष तथा चीन आदिले पनि सार्वजनिक बिदालाई निकै महत्वपुर्ण दिनको रुपमा लिने गरेको पाईन्छ ।
नेपालको सन्दर्भ
नेपालमा सार्वजनिक बिदा दिने चलन राजा भिम मल्लले शुरु गरेको र शनिवार बिदा र कार्यालय समय १० बजेदेखि ५ बजेसम्मको प्रचलन भिम शमसेरले चलाएको पाईन्छ । नेपालमा हप्ताको ६ दिन काम गर्ने कार्यतालिका छ । बि.स. २०७६ को लागि नेपाल सरकारले २०७५ चैत्र १ गतेको राजपत्रमा दशै तिहार लगाएत अन्य धार्मिक सांस्कृतिक विषेश गरी १५ दिन सार्वजनिक बिदाको घोषणा गरेको छ भने प्रदेशहरुले बर्षको बढीमा ६ दिन आ—आफ्नो प्रदेशमा लागु हुने गरी सार्वजनिक बिदा दिन सक्ने ब्यवस्था गरिएको छ । आकस्मिक रुपमा आईपर्ने विदाहरु केहि दिन बढी हुन सक्छन् । शनिवार अन्य सार्वजनिक बिदा परेमा त्यसको अघिल्लो वा पछिल्लो दिनमा सार्वजनिक बिदा दिने प्रचलन नेपालमा छैन ।
सार्वजनिक बिदाको आबश्यकता
सार्वजनिक बिदा गहन महत्वको विषय हो । यसका सामाजिक सांस्कृतिक, आर्थिक पक्षहरु हुन्छन । कर्मचारीको उत्पादकत्व र मनोविज्ञान संग त यो प्रत्यक्ष सरोकार हुन्छ । यसलाई कर्मचारी वा मजदुरको मानसिक तथा शारिरीक स्वास्थ्य, कार्यालयमा कर्मचारीको काम प्रतिको तत्परता र कामको प्रभावकारीतामा आधारित गरिनु पर्छ । त्यसैगरी आरामले सृजनात्मक क्षमतामा पार्ने असर, कर्मचारीका सामाजिक सांस्कृतिक सम्बन्धहरु र यसले अर्थतन्त्रमा पार्ने प्रभावको आधारमा सार्वजनिक बिदा निर्धारण गरिनु पर्दछ । जस्तै फिनल्यान्डका प्रधानमन्त्री सन्ना मरिनले पेश गरेको लचिलो कार्यतालिका प्रति उनको मुख्य तर्क भनेको कामदारले आफ्नो परिवार र सांकृतिक जीवनका पक्षहरु संग धेरै समय विताउन सकुन भन्ने छ ।
सन २०१० मा द न्यु ईकोनोमिक फाउन्डेसनले अत्यावश्यक र अन्तरनीहित समस्याहरु जस्तै अत्याधिक कामको भार, अति उपभोग न्युन जीवनस्तर, अत्याधिक कार्वनमोनोअक्साईडको कारण हुने जलबायु परिवर्तन र बेरोजगारीको समाधान गर्नको लागि २१ घण्टाको स्टान्डर्ड समय निर्धारण गर्न सिफारिस गरेको थियो । यो अध्ययनले थोरै समयको कामले मानव स्रोतको प्रभावकारी परिचालन गर्न सक्ने ,आम्दानीको समान वितरणमा सघाउने र अन्तत श्रम र स्रोतको बजारलाई प्रतिष्पर्धी बनाई अर्थतन्त्रलाई दीर्घकालिन फाईदा बनाउने निष्कर्ष सुझाएको छ । गल्फ कोअपरेशन काउन्सिलको प्रतिवेदनले भनेको छ धेरै मानिसहरु विदाको दिनमा बाहिर निस्कन र लचक समय तालिका अनुसार काम गर्न सक्ने हुदा यसले ब्यापार, पर्यटन र उत्पादकत्वमा असर गर्दछ । द ईस्टिच्युट फर द स्टडी अफ ल्याबर (आईजेडए) ले बिदाको फुर्सदिलो समयले सामाजिक सम्बन्धहरु ( सोसल कन्ट्याक्ट) मजबुद बनाउने निश्कर्ष निकालेको छ । यस आधारमा विश्लेषण गर्दा सार्वजनिक बिदाको कारण कर्मचारी आफ्नो परिवार, समाज, सामाजिक सांस्कृतिक गतिविधी संग नजिक रहेर समय बिताउन पाँउछ यसले उसको कार्यसम्पादनमा अभिवृद्दि ल्याउछ । प्रयाप्त आरामको कारण कर्मचारीमा सकरात्मक मनोविज्ञान सृजना भई काम प्रतिको उसको तत्परता बढ्ने र यसले कार्यालयमा सृजनशिलता अभिवृद्दि गर्दछ । मलेसियाको केन्द्रिय बैकले गरेको सार्वजनिक बिदाको अर्थशास्त्र सम्बन्धी अध्ययनले सार्वजनिक बिदाको कारण विशेष गरी खुद्रा तथा होटल रेष्टुरेन्ट जस्ता सेवामुलक ब्यवसायमा उपभोक्ताको खर्च बढ्ने र पर्यटनका क्षेत्रका क्रियाकलाप बढ्ने हुदा अर्थतन्त्रमा फाईदा पुग्ने बताएको छ । प्रयाप्त समयका कारण मानिसहरुले किनमेलमा निस्कन र घुमफिरका लागि समय प्राप्त गर्ने हुनाले यसले बजारलाई चलायमान बनाउदै पर्यटनको बिकास मार्फत अर्थतन्त्रमा पनि सकरात्मक योगदान दिन सक्छ । अहिले ब्यक्तिको प्रति ब्यक्ति आम्दानी बढ्दो छ भने सरकारहरुले नै कर्मचारीका लागि निश्चित दिन र खर्च सहित घुमफिरको प्याकेज व्यवस्था गरेका छन् । फलस्वरुप विश्वभर काम गर्ने समय घटाउने तर्फ नीतिगत व्यवस्थाका बहस अगाडि बढिरहेको छ ।
नेपालमा सार्वजनिक बिदाको ब्यवस्थापन
नेपालमा सार्वजनिक बिदाको ब्यवस्थापनको विषय पनि निकै चुनौतिपूर्ण रहेको छ । नेपालमा आराम गर्ने संस्कृति कम छ । निजी क्षेत्रमा त अझ कार्यबोझ र समयको कुनै सीमा हुदैन । सार्वजनिक विदाको व्यवस्थापनको लागि सबैभन्दा महत्वपुर्ण विषय यस संग सम्बन्धित कानुन हो जुन नेपालमा छैन । जापान, दक्षिण अफ्रिकामा सार्वजनिक बिदाको ब्यवस्थापन गर्न पब्लीक होलिडे एक्ट लागु गरिएको छ । नेपालमा सरकारको निर्णय राजपत्रमा प्रकाशन गरेर सार्वजनिक विदा तोकिन्छ । नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक विदाका अतिरिक्त प्रदेश सरकारहरुले आ(फ्नो प्रदेशमा त्यहाको धर्म संस्कृति र रितिस्थितिलाई समेत आधार गरी वर्षमा बढीमा ६ दिन सम्मको सार्वजनिक बिदा दिन पाउने निर्णय २०७६÷०१÷३० को राजपत्रमा प्रकाशित गरिएको छ । स्थानिय तहले सार्वजनिक बिदा दिन पाउने कुनै पनि कानुनी ब्यवस्था छैन । तर पनि स्थानिय तहमा आफै विदा घोषणा गर्ने प्रचलन बढिरहेको छ । केहि समय अगाडि नुवाकोटमा मेयर र उपमेयर बिदेश भ्रमणमा जादा सार्वजनिक बिदा घोषणा गरिएको समाचार आएको थियो । दशैको पर्सिपल्ट र तिहारको भोलिपल्ट कार्यालय खुल्छ तर कर्मचारी फर्कन भ्याएको हुदैन र सेवाग्राही पनि अति नै न्युन संख्यामा हुन्छन् । तीज, जनै पुर्णिमा जस्ता ठुलो समुदायले मनाउने पर्वमा सेवाग्राही पनि नहुने र कर्मचारी पनि काम गर्ने अवस्थामा नहुने देखिएको छ ।
सार्वजनिक बिदाको संख्याले भन्दा यसको व्यवस्थापनको प्रभावकारीताले आर्थिक गतिबिधी र दैनिक जीवनमा पार्ने प्रभाबको निर्धारण गर्दछ । आकस्मिक र हप्ताको बीचमा घोषणा गरिने सार्वजनिक बिदाहरु सार्वजनिक सेवा, दैनिक जीवनयापन तथा समग्र अर्थतन्त्रलाई प्रतिकुल प्रभाव पुराउने खालका हुन्छन् । केहि निश्चित क्षेत्रहरु जस्तै स्वास्थ्य, बैंकिङ क्षेत्रमा सार्वजनिक बिदाले बढी प्रभाव पार्ने गर्दछ ।
नेपालमा सार्वजनिक बिदाको ब्यवस्थापनको लागि सर्व प्रथम विज्ञ सहितको सार्वजनिक बिदा सुझाव कार्यदल गठन गरी त्यसको आधारमा सार्वजनिक बिदा सम्वन्धी कानुनको निर्माण जरुरी छ । बिदा घोषणा गर्ने अधिकार, सार्वजनिक बिदाका दिन तोक्ने आधारहरु, लागु हुने क्षेत्र र कार्यालयहरु स्पष्ट हुन जरुरी छ । पुर्व निर्धारित सार्वजनिक बिदाहरुले सार्वजनिक सेवा, दैनिक जीवनयापन, उत्पादन तथा समग्र अर्थतन्त्रको लागि स्रोतको योजनाबद्घ परिचालन गर्न सकिने हुदा प्रतिकुल प्रभाव नपुराउने र लिजर समयको कारण मजदुर कर्मचारीको सृजनसिलता र उत्पादकत्व बढ्दा यसले बढी बिदाको कारण उत्पादन घट्ने, ज्याला लागत बढ्ने समस्या समाधान गर्दछ । बैंकिङ सेवाहरुलाई डिजिटल प्रविधी मार्फत अगाडि बढाउदा सार्वजनिक बिदाले कुनै प्रभाव पार्दैन । स्वास्थ्य क्षेत्र संवेदनशिल भएकोले यसमा सार्वजनिक बिदाको समयमा डाक्टर, नर्स तथा कर्मचारीलाई चक्रिय रुपमा काम तोक्ने र अतिरिक्त सुविधा उपलब्ध गराउन सकिन्छ । अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको लागि सार्वजनिक बिदा दिदा उनीहरुको दैनिक जीबन यापन र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न जरुरी छ ।
निष्कर्ष
नियमित कामबाट प्रयाप्त आराम गर्न पाउनु कामदारको न्युनतम आवश्यकता हो। सन १९१९ को आईएलओ महासन्धीले हप्तामा ४८ घण्टा (दिनको ८ घण्टा) नबढ्ने गरी, सन १९३५ को हप्तामा ४० घण्टा र त्यसपछि कामको समय घटाउने, साप्ताहिक आराम, रात्री तथा पार्ट टाईम काम सम्वन्धमा विभिन्न ब्यवस्था गरेको छ । अहिलेको नयाँ प्रविधिको प्रयोग संगै नेपालमा पनि समयमा आधारित कार्यप्रणालीलाई काम र परिणाममा आधारित बनाउदै कर्मचारीलाई लचक कार्यतालिकामा काम गर्ने प्रणाली विकास गर्न आवश्यक छ । विश्वका अधिकांश मुलुकहरुको अभ्यास जस्तैै नेपालमा पनि धार्मिक सांस्कृतिक र आकस्मिक बिदाहरु सकेसम्म कम गर्ने र हप्तामा दुई दिन शनिवार र आईतवार बिदाको शुरुबात गर्न जरुरी छ । Email- ecobhesh@gmail.com
(शर्मा पोखरा महानगरपालिकाका शाखा अधिकृत हुन् ।)




