कोरोना भाइरस (कोभिड – १९) ले अहिले सारा विश्व आक्रान्त छ । ४ लाख ७० हजार बढी संक्रमित छन् । २१ हजारभन्दा बढीले ज्यान गुमाइसके । विश्वको १ सय ९८ देशमा फैलिसकेको यस भाइरसको रोकथामका लागि विश्वका शक्तिशाली राष्ट्रहरुले घुँडा टेकिसकेका छन् । हाल विश्वको तीन भागको एक भाग लकडाउनको अवस्थामा पुगिसकेको छ । नेपालमा हालसम्म तीनजना यस भाइरसबाट संक्रमित भेटिसकेका छन् । नेपाल सरकारले यसलाई फैलिन नदिन चैत ११ गते बिहान ६ बजेदेखि ‘लकडाउन’ आदेश जारी गरिसकेको छ । अतिआवश्यक काममा बाहेक बाहिर हिडडुल गर्न रोक लगाइएको छ । यो नै कोरोना फैलिन नदिनको लागि सबैभन्दा राम्रो उपाय रहेको छ । सरकारले सबैलाई घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।
सेल्फ क्वारेन्टाइनमा गर्ने चाहिँ के ? सबैको मनमा यहीँ प्रश्न तेर्सिएर आउँछ । घरमै बसेर यस समयलाई उपलब्धिमूलक कामहरुमा खर्चन सकिन्छ । यो एउटा राम्रो अवसरको रुपमा सावित हुनसक्छ । सबैभन्दा राम्रो विकल्प हो पुस्तकहरु पढ्ने । म आफै परँे घुम्न सौखिन मान्छे । अहिले भने सेल्फ क्वारेन्टाइनमा रहेर शब्दहरु मार्फत संसार घुम्दैछु । अर्थात संसार विचरण गर्दैछु । शब्दमार्फत विश्व चाहर्दा भाइरस सर्ने पनि हैन । यस घडीमा पुस्तकहरु अध्ययन ग¥यो भने एक त अत्यारलाग्दो समय बितेको पत्तै हुँदैन र अर्कोपाटो यसले हामीहरुलाई थप अध्ययनशील र सिर्जनशील बनाउँछ । पढेका पुस्तकहरु माथि सामाजिक सञ्जालमा साथीहरुसँग चर्चा, परिचर्चा र विमर्श गर्न सकिए झन् उपलब्धिमूलक ! हैन र ? मैले हालै पढेका केही पुस्तकहरु माथि लेख्ने जमर्को गरेको छु ।
छुटेका अनुहार
कवि तथा निबन्धकार रमेश सायनको पहिलो निबन्ध संग्रह हो, छुटेका अनुहार । उनको जीवन कालखण्डमा छुटेका अनुहारहरु र ती पात्रहरुको यादगार स्मृतिहरुलाई बटुलेर फरक स्वादमा पस्किएका, फरक कथाहरुको संग्रह हो, यस पुस्तक । १९ शीर्षकमा रहेका निबन्धहरु पढ्दा जति मज्जा आउँछ, उतिकै नोस्टाल्जिक बनाउँछ ,ठाउँठाउँमा । रसिला अनि चोटिला छन्, प्रयोग गरिएका छोटा वाक्यहरु । उस्तै काव्यिक पनि छन् ।
कुनै काल्पनिक पात्रहरु खडा नगरिकन लेखिएको यस किताबमा पाठक स्वयं पात्रहरु बनी उभिँदा बाल्यपनको अनुभूतिमा हराइनु किताबको अर्को विशेषता हो । समाजमा विद्यमान रहेका लैगिंक विभेद, दाइजो प्रथा अनि परदेशमा नेपालीहरुले भोग्नु परेका यर्थाथलाई मात्र उनले पस्केका छैनन्, सँगै उठाएका छन् सीमान्तकृतहरुका दबिएका आवाजहरु पनि । सामान्य विषयहरुलाई टपक्क टिपेर बनेको सुन्दर फूलहरुको माला हो, यस पुस्तक । यसर्थ पनि यस पुस्तक छुटाउनै नहुने एक पुस्तक हो । वि.सं २०७५ सालको पद्यश्री साहित्य पुरस्कारबाट सम्मानित यस पुस्तक नेपाली साहित्य क्षेत्रमा राम्रो स्थान ओगटेको छ ।
भुइयाँ
भुइयाँका लेखक हुन्, फिल्म समिक्षक एवम् पत्रकार, यज्ञश । उनले यस अघि नै ‘मोहनदास’ र ‘नेलकटर’ दुई अनुवादित पुस्तकहरु प्रकाशन गरिसकेका छन् । भुइयाँ भने उनको पहिलो मौलिक पुस्तक हो । पहाडको एक कथासँगै पूर्वी तराई देखि पश्चिमसम्मका नौ मौलिक कथाहरुमा महिलालाई मुख्य पात्र बनाई तयार पारिएको कथासंग्रह हो, भुइयाँ । लेखकले लामो समयदेखि विद्यमान भूमि आन्दोलन, कमैया आन्दोलन, सुकुम्बासी आन्दोलनका साथै समाजमा त्यस्त समूहमाथि कायम रहेको अन्याय, अत्याचार र शोषणमाथि लेखेका छन् । अनि बुलन्द रुपमा उठाएका छन् ,उनीहरुका दबिएका आवाजहरु ।
नेपालगञ्जको वनघुस्री गाउँमा बस्ने सलमा साई इद्रिस बेहेनासँग बिहे गर्दा तल्लो जातिसँग बिहे गरेको आरोपमा झन्डै उनीहरु दुबै मृत्युको शिकार बनेनन् । माओवादी जनयुद्धपछि सलमाले जमिनदारसँग लामो समयदेखि खेती गर्दै आएको जमिनमा खेती गर्न पाउने अधिकार पाउनका लागि गरेको उनको संघर्ष सानोतिनो छैन । समयसँगै कसरी उनी भूमिहीन मानिसहरुको हकहितका लागि आवाज उठाउने अभियान्त बनिन् भन्ने कथा हो ‘तातो कराइ’ । यस कथासँगै जोडिएका छन् धेरै पट–कथाहरु । फरक पात्र, फरक ठाउँ भए पनि समानता छ ,उनीहरुको पीडा अनि लक्ष्य । अनि समान छन् उनीहरुको सपना ! बस्, आफ्नै जनिममा अन्तिम सास फेर्ने चाहना !
यता, कञ्चनपुर मछेलीकी पूर्व कमलरी पार्वती डगौरा र मुक्त कमैया चुकेको प्रेमकथा एकादेशको दन्त्यकथा जस्तै लाग्छ । श्रीमानबाट पीडित एक महिलालाई नयाँ जीवन दिलाउन एक छिमेकी चुकेको र माओवादी द्धन्दकालमा उनीहरु एक हुनका लागि गरेको संघर्षका कथा पढ्दा झट्ट पत्यार लाग्दैन । कतै सँगै रुवाउन बाध्य बनाउँछ त कतै मुस्कुराउन । सुकुमबासी र महिला हकहितका लागि आवाज उठाउँदै अघिबढेकी पार्वतीको सपना पूरा गर्न चुकेको हरदम साथ प्रशंसायोग्य छ ।
किताबभरि भेट्छौँ हामी यस्तै सघंर्षका कथाहरु । पीडा अनि दुःखका पानाहरु । आफ्ना अधिकार प्राप्तिका लागि ज्यानै दिन तत्पर योद्धाहरुका कथाहरु । पिरोलिरहेका छन् ती सिमान्तकृत वर्गहरुलाई– कहिले पहाडको पहिरोले त कहिले तराईको बाढीले । रातभर जंगली जनावर त कहिले प्रहरी र स्थानीयहरुले उठीबास लगाउने हुन् भनेर सन्त्रास मै रातभर झिमिक्क आँखा बन्द नगरी रात काटेका छन्,उनीहरुले । सरकार उनीहरुका लागि बहिरो बनेको तर अझै हिम्मत हारेका छैनन् ,उनीहरुले । यस्तै दुःख, सघंर्ष, त्याग, समर्पण, आशा अनि साहसको प्याकेज हो – भुइयाँ । २०७४ सालको मदन पुरस्कारको लागि छनोट ८ पुस्तकहरु मध्ये पर्न सफल यस पुस्तक पहिचान पुरस्कारबाट सम्मनित भएको थियो ।
घुमिफिरी बन्दीपुर
लामोसमय शिक्षा क्षेत्रमा योगदान दिएका शिक्षाविद् हुन्, बन्दीपुरमा जन्मेका चीजकुमार श्रेष्ठ । हो, उनै श्रेष्ठले गाउँको साधारण स्कुलमा अध्ययन गरी काठमाडौं सहरमा आएर झेलेका अनेकन कठिनाइ अनि संघर्षका कथाहरु मात्र नभई व्यक्तिगत र सामाजिक जीवनमा कसरी सफल भए भन्ने कथाहरु समेटिएका छन् ,यस आत्मकथामा । २०२९ सालमा सदरमुकाम बन्दीपुरबाट दमौली सारेपश्चात घोस्ट टाउनले चिनिएको बन्दीपुरलाई फेरि ब्ँयुझाउन उनीलगायत उनकै अध्यक्षतामा सुरु भएको बन्दीपुर समाज विकास समितिको अथक प्रयास बारे पढ्दा छुट्टै आनन्दको अनुभूति मिल्छ ।
लेखकको बाल्यकालमा भएका तीता–मीठा घटनाहरुलाई स्वयं पाठकले आफैलाई उभ्याएर अनुभव गर्दाको फरकपन विशेष रहन्छ । यतिमात्र नभएर लेखकले समयसँगै परिवर्तन भएको नेपालको शिक्षा प्रणाली, विकास क्रम, कर्मचारीतन्त्र आदिबारे लेखेका छन् । जसले पुस्तक झन् रोचक बनाएको छ । आत्मकथा भए पनि पुस्तकले पाठकलाई अन्त्यसम्म तानिरहन्छ । जुन यस पुस्तकको विशेषता हो ।
चिवाभञ्ज्याङ – झुलाघाट मध्यपहाड यात्रा
समाजवादी पार्टी, केन्द्रीय महासचिव समेत रहेका गंगा श्रेष्ठले लेखेका हुन्, यस नियात्रा । वि.सं २०७५ माघ १५ गतेबाट फाल्गुन १५ गतेसम्म त्यतिबेलाको नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईसहितको टोलीले मध्यपहाडी अर्थात पुष्पलाल लोकमार्गको जनसंवाद यात्राबारे लेखकले पुस्तकमा उतारेका छन् ।
नेपालको मध्यपहाडको पूर्वी सीमाना चिवाभञ्ज्याङदेखि पश्चिमी सीमाना झुलाघाटसम्मको एक महिने यात्राको लक्ष्य, तयारी, व्यवस्थापन, कार्यान्वयन, कार्यविधि, कार्यशैली, अनुभव, चुनौतिलगायतका समग्र पाटाहरुबारे रोचक र अत्यन्त तथ्यपूर्ण ढंगले पस्कन सक्नु लेखकको खुबी मान्न सकिन्छ । पुस्तकमा राजनीतिक पाटो मात्र नभई मध्य पहाडी लोकमार्गले छुने २८ जिल्लाहरुको अहिलेको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्थाका साथै यसको निमार्ण लगत्तै यसले पु¥याउने योगदान लगायत विभिन्न विषयमा ज्ञान लिन सकिन्छ । मध्य पहाडी जिल्लाहरु बुझ्ने आँखीझ्याल बन्न सक्छ, यस पुस्तक । यस पुस्तक पढेसँगै नेपालका मध्यपहाडमा रहेका जिल्लाहरु घुम्ने हुट्हुटी मनमा थपिन सक्छ ।
संसारलाई साढे पाँच फन्को
विश्व साइकल यात्री र सगरमाथा आरोही हुन् ,पुष्कर शाह । साथीहरुसगँ गफैगफमा संसार घुम्ने योजना बुनेका शाह आमाले दिएको सय रुपैयाँमा संसारका १५० देशहरु मात्र घुमेनन्, फर्केसँगै विश्वको अग्लो शिखर सगरमाथामा पाइला टेकेर विश्व कीर्तिमानी राखे । ११ वर्षमा २ लाख २१ हजार कि.मी. पाउदानी चलाउँदाको कथा मात्र छैन यसमा, भिन्न भिन्न देशहरुको फरक राजनीति र त्यहाँको धर्म, संस्कृति र समाजको यर्थाथ चित्रण भेटिन्छ यहाँ ।
भोकाएर बाटामा फालिएको सुन्तलाको बोक्रा खाएर रात कटाएको क्षण होस् वा पाँचतारे होटलमा निदाउन नसक्दाको क्षण, केबल कथा मात्र हैनन्, जीवन जिउन सिकाउने कथाहरु हुन् । रक्की माउन्टेनमा माइनस ५ डिग्री सेल्सियसमा दौडिँदाको कथा होस् वा सहारा मरुभूमिमा ५० डिग्री सेल्सियसको तापक्रममा साइकल पाउदानी चलाउँदाको कथा ! रोचन अनि रमाइलो छ । फरक छ, लेखक शैली अनि चोटिला वाक्यहरु । अथाह सम्पतिले मात्र हैन, विश्व घुम्न उस्तै उत्साह, जोस, जाँगर र साहस चाहिन्छ । पुस्तक पढिसक्दा पाठकले यही अनुभूति गर्छ । धेरै योन विषयलाई अनावश्यक चर्चा गरिएको भनेर आरोप खेपिएको यस पुस्तक समग्रमा पढ्नै पर्ने पुस्तकको रुपमा लिन सकिन्छ । त्यसै प्रा. डा. अभि सुवेदीले भनेका हैनन्, ‘उनका यात्रा–कथाले हरेक पाठकलाई आफूसँगै संसारमात्र घुमाउँदैनन्, जीवन जिउने आँट, साहस र प्रेरणा पनि थप्छन् । यो पुस्तक नपढे जीवन पढ्न छुट्छ ।’




