बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोना भाइरस : लकडाउन र आत्मानुशासन

कोरोना भाइरस : लकडाउन र आत्मानुशासन


  • सीताराम थापा
  • चैत्र १६ २०७६, आइतबार

विश्वका धेरै देशमा तीव्र गतिकासाथ फैलिइरहेको कोरोना भाइरसको महामारीले नेपाल पनि अछुतो रहेन कुनै भएन । त्यसले अहिले देशब्यापी रुपमा सन्त्रास फैलाइरहेको छ । संसारका करिव १८५ भन्दा बढी देशले सक्रमणको भयावह संत्रासलाई जवरजस्ती ग्रहण गरिहेका छन् । यसले सिंगो मानब जगत असर र प्रभावित भई एउटा भयानक चुनौतिको सामना गरिहेको छ । यस भयावह चुनौतिको सामाना खेप्न मानव जगतमा नाफा र स्वार्थभन्दा स्वास्थ्य पहिलो महत्व हो भन्ने सन्देश प्रवाह भएको छ ।
यसैसन्दर्भमा नेपाल जस्तो गरीब मुलुकमा प्रवासमा गएका नेपालीहरु कोरोना भाइरसको चुनौति सामाना गर्न आफ्नै मातृभूभि फर्किए । कतिपय भारतीय पनि खुला सीमाको उपयोग गर्दै नेपाल आएका छन् । सीमा लक हुन भएको ढिलाइलाई उपयोग गर्दै भित्रिनेको सख्या पनि बढी नै छ । कोरनाको संक्रमणले मरिने डर र त्रासदीमा सीमाना तोडेर भागदौड गर्दै आफनो जिल्ला र गाउँ छिरेको पछिल्लो पटक देश भित्रिनेहरुले नै बताइरहेका छन् । यसको अर्थ उनीहरु सबै चिज छाडेर बाँच्नका लागि आइरहेका छन् ।
पछिल्लोपटक आएको नमूना परीक्षणको परिणामले प्रवासबाट नै कोरोना भित्रिएको पुष्टि हँुदैछ । त्यसैले त उनीहरु गाउँमा आएर परिवारसँग बस्दा छिमेकी मात्रै होइन, इष्टमित्र र परिवारका सदस्यहरु नै डराउने परिस्थिति बनिरहेको छ । प्रवासबाट भित्रिएकाहरुको बेलैमा ब्यवस्थापन नहुँदा सामान्य ज्वरो र रुघा लागेपनि समाजमा लान्छना र भेदभाव सहनुपरेको छ । समाज र स्थानीय निकायले उनीहरुलाई एक्लै राख्दा ती मानिसका परिवार र इष्टमित्रमा समेत मनोबैज्ञानिक संत्रास छ ।
महामारीको भयावह प्रकोप बाढी आएभन्दा पनि बढी छ । एउटा देशबाट अर्को देशमा प्रवाहहुँदा यसको सामाना गर्न सबै मिलेर लाग्नै पर्ने शिक्षा सबैलाई दिएको छ । विश्वको महाशक्तिशाली बन्दै गरेको धनी देश चीनबाट आरम्भ भएको कोरणा अमेरिकामा सामान्य प्रभाबित हुँदा चीनलाई दोषारोपण गरिरहेको वक्तव्य आइरहेको हामीले मिडियाबाट थाहा पाएकै हो । तर लापर्वाहीले महाशक्तिशाली नै ठान्ने अमेरिका सबैभन्दा बढी प्रवाहित भएको देशमा गनिइसकेको छ । विश्वको धनी र प्रबिधिमा शक्तिशाली ठानिएका देशहरुमा संक्रमण भयावह भएपछि नेपालीमा झनै त्रासले घर गरेको छ । सबैले सामाजिक संजाल र संचार माध्यममार्फत आफ्नो मत, अभिमत प्रकट गरिहेका छन् ।
अहिले चीन आफ्नो देश वुहानमा भएको डर र त्रासदीबाट जनतालाई मुक्त गरि अरु देशलाई सघाउन लागेको छ । चीनले नेपालजस्तो गरीब देशलाई पनि कोरोनाको भय र त्रासमा सान्त्वना दिदै आवश्यक उपकरण, प्राबिधिक र चिकित्सक सहयोग गर्न सुरु गरिसकेको छ । उत्तर छिमेकीबाट सहयोग आउन थालिरहँदा दक्षिण छिमिकीको त्रास सबैभन्दा बढी छ । यसैका कारण नेपाली समाज उन्मुक्त हुन सकेको छैन । हाम्रो जस्तो प्राकृतिक सौन्दर्यता र कृषिमा आश्रित मुलुकमा कोरणको प्रभाब र संक्रमण सापेक्षिक रुपमा पछि हुनुले हामीलाई खुशी त बनाएकै छ , तर यसबाट सबैभन्दा पहिलो आफ्नै प्रयास हुनुपर्छ भन्ने विषयलाई कहिल्यै पनि भुल्नु हँुदैन । अरु देशबाट सिकेर बाँच्ने र बचाउने प्रयास गरिएन भने डरलाग्दो अवस्थामा नै हामी पुग्नेछाँै ।
विश्व स्वास्थ्य संगठनको अध्ययनमा समेत नेपाल सरकारले सापेक्षिक रुपमा समयमैँ कोरोनाको महामारी रोकथामलाई सम्बोधन गरेको हो । छिमेकी देशमा महामारी फैलँदा नेपालमा नछोएकोले नेपाली समाजमा महोत्सब र उत्सव,सभा समारोह चलिरहेका थिए । सामान्य नागरिकहरुलाई यसबारे जानकारी नै नभएर पनि डर त्रास नै थिएन । जब, सरकार र संचारमाध्यममा एक्कासी बाढी आयो र लकडाउनको अवस्थामा मुलुक पुग्यो,बल्ल सर्वसाधारणमा ठूलो भुइँचालो गएजस्तो त्रास उत्पन्न भयो । अहिलेसम्म पनि कतिपय त लकडाउनबारे धेरै सचेत नभएर घर बाहिर जान नपाएको गुनासो गर्दैछन् ।
चीनको वुहान सर्प र चील निकै लोकप्रिय मानिँदै आएको सहर हो । प्राकृतिक जीवजन्तुहरुसँग खेलवाड गरिरहेको मानव जातले प्रकृतिमैत्री नहुँदा अनेकौँ समस्या आउँछन् नै । तर, यसको त्रास र भय निर्दोष हाम्रो जस्तै नेपाली समुदायले भोग्नु दुःखद कुरा हो । कोरोना सरुवा भाइरस भएकोले नेपालमा पनि संक्रमण भइरहेको र मानिसबाटै यसको संक्रमण भएको तथ्यले पुष्टि गर्दछ । नेपालको रोजगार प्रवासमा निर्भर हुनु र आवश्यक उत्पादन पनि उतैबाट आयातित हुनुले समाजलाई थप डर र भयावह बनाउनु स्वभाबिकै हो । मानिसबाट सर्ने, संक्रमण फैलिने संभावना प्रवल हुने देशमध्ये नेपाल पनि एक हो । यसको साथमा सबै आयातित सामाग्रीको प्रयोग अत्यधिक हुने पनि नेपाल नै हो । यो दुबै पक्षबाट विश्लेषण गर्दा पनि यहाँको त्रासदी र भयावहलाई रोक्न हामी आफैले विशेष ध्यान दिनु जरुरी छ । अहिले केही उच्च वर्गकाले माक्स लगाएपनि सर्वसाधारणले मास्क नै नपाएनु नै दुर्भाग्य छ । किनकि यो सर्वसाधारणको पहँुचसम्म आइपुगेको नै छैन ।
कतिपय घरेलु श्रमिक र ज्यालादारी गरिखाने मानिसहरु एकातिर कोरनाको भय, अर्कोतिर जिविकोपार्जनको समस्यामा छन् । लकडाउनको सबैभन्दा ठूलो मार पनि उनीहरुलाई नै छ । कोरोना त्रासकै बीच गरिखानेहरुलाई कसरी जोगिने भन्नेमा भन्दा दैनिकी जोहो गर्नेको समस्या छ । ग्रामीण बस्तिसम्म यसको सचेतना त थप चुनौतिपूर्ण देखिएको छ । कतिपय सर्वसाधारणसँग जानकारी लिँदा, लौ मरिने कोरना भाइरस आयो रे, भन्ने मात्र थाहा छ, अरु खासै थाहा छैन । सर्वसाधरण मानिस श्रम गर्छन र खान्छन । उनीहरु यस्तो रोगको बारेमा सुसूचित छैनन् । सूचनामा पहुँच कम छ । पढेलेखेका कर्मचारीमा सही ज्ञानको जानकारीे कमी छ भने कतिपय स्थानी तहसमेत क्वारेन्टाइन बनाउनसमेत प्राबिधिक जानकारी नभएको समाचार पढन पाइन्छ । यस अवस्थामा नेपाली संचार माध्यममा पहुँच भएकाको संख्या समेत कमी छ भन्ने हुन्छ ।
नेपाली आफैमा सचेत र सवेदनशील भएर थाहा पाउने प्रयत्नको कमी छ । यस्तो अवस्थामा जिम्मेवारी र जवाफदेही स्थानीय तह संवेदनशील नहुँदा हामी सचेत नागरिक पनि दोसाँधमा रहेको आभास भइरहेको छ । यसले झनै डर, त्रासलाई बढोत्तरी गरेको छ । थाहा भएर वा नभएर आफ्ना सन्तान विदेशमा हुने धेरै छन । विदेशबाट पनि उनीहरुले सन्त्रासको खबर सुनाइरहेका छन । यसले आफ्नो परिवार घर बाहिर हुँदाको त्रास र भयपूर्ण वातावरण खेप्नु परेको छ । विदेशमा हुनेहरु पनि कोरोनाको त्रास र रोगजारको डरले भयभित छन । एकैपटक मुलुक कोरोना संक्रमण नियन्त्रण र रोकथामा जुटेको बेला हामी आफै पनि सजग, सचेत र जिम्मेवार भएर यो संकट अन्त्य गर्न लाग्नुपर्दछ । यसलाई जित्ने एउटै विधि भनेको हामी सबैले आफूलाई लकडाउनको अनुशासनमा हिँडाउनु हो । सबैले लकडाउनको आत्मानुशासन पालना गरे मात्रै यो लडाइमा सजिलै विजय प्राप्त गर्न सक्नेछौँ ।
(थापा सामाजिक अध्यता हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->