विश्व हल्लाइरहेको अमेरिका अहिले कोरोनाको महामारीले आफै हल्लेको छ । त्यसैले ऊ यतिखेर फेरि चर्चाको शिखरमा छ । संसारले अमेरिकामा आँखा गाडेको छ । चीनलाई कोरोनाले आक्रान्त बनाउँदा रमाएको भन्ने आरोप खेपेको अमेरिकाले सबैको ध्यान खिचेको छ । कोरोनाको महामारीबाट संक्रमित हुने अमेरिकीहरुको संख्याले अरु सबै देशलाई उछिनेको छ । अमेरिकामा बाँकी संसारका मान्छेहरु पनि उत्तिकै भएकाले सबैको चिन्ता पनि उत्तिकै छ । के हुने हो ? कसो हुने हो ? भन्ने चिन्ताले अमेरिकन मात्रै नभएर अमेरिकामा रहेका संसारभरिका मान्छेहरुमा संत्रास छाएको छ ।
यसै भित्र हामी पनि परेका छौँ । हामी आएको पनि आज ठ्याक्कै एक महिना पुगेको छ । हामी आउँदा कोरोनालाई महामारीको रुपमा हेरिएको थिएन । कोरोनाको प्रकोप मात्रै थियो । हामी आएपछिका दिनमा विश्व स्वास्थ्य संगठले नै कोरोना भाईरस (कोभिड–१९) लाई महामारी रोगको रुपमा घोषणा ग¥यो । यही महामारीले अमेरिकालाई ढपक्कै ढाकेको छ । जताततै यही रोगको चर्चा (परिचर्चा छ । हामीलाई लागेको थियो, जसले जे नाम दिएपनि अमेरिकाका लागि यो नाथे कोरोना केही नहोला, कस्तकस्तालाई त भुईँमा बजारेको छ भने यो जाबो रोग न हो ! तर, त्यसो भनेर नहुँदो रहेछ । अदृश्य शक्तिलाई पछार्न त अमेरिकाको बाजे भएपनि नसक्दो रहेछ भन्ने पुष्टि भयो । यो कोरोना दृश्यमा हुँदो हो त इरानी सैन्य जनरल कासीम सुलेमानीलाई ठहरै पारेजस्तै ठाउँकोठाउँ ढाल्थ्यो होला, अमेरिकाले । तर, नदेखिने शत्रुमाथि कसरी ड्रोन चलाउनु र प्रहार गर्नु ? तर, टिभीमा देखिने उनीहरुको शारिरीक हाउभाउले अमेरिकीहरुमा हार पटक्कै छैन, बरु हिम्मत दह्रो देखिन्छ । हामीलाई यस्तो लाग्दैछ कि, रातारात उनीहरु औषधि तयारगर्न युद्धस्तरमा खटेका छन् । आशा गरौँ !सफल हुनेछन् ।
हाम्रो आगमनको आज एकमहिना पुग्दै गर्दा कोरोनाको कहरले अमेरिका भयावह अवस्थामा पुगेको छ । मान्छेले मान्छेलाई देखेर तर्कन पर्ने अवस्था अहिले छ । हाम्रा रसदपानी खरिद गर्न जाँदा युद्धभूमिमा प्रवेश गरेजस्तै पुरै तयारी अवस्थामा पुग्नुपर्छ । किनमेल स्टोरहरुमा अनुहार कसैका देखिन्नन्, आँखाहरु मात्र आँखाहरुले देख्छन् । एकले अर्कोलाई सद्धे देख्नै सकिन्न । सबै संक्रमित रोगी नै हुन कि भन्ने लाग्छ । कसको मनमा को पस्न सक्छ र ? कसले कसलाई चिनेको छ र ? एकअर्कामा शंकैशंका व्याप्त छ । सबै ठीकठाकै भएपनि कसैको विश्वास लाग्दैन । घर फर्केपछि लामै आत्मसमीक्षा चल्छ । हामीले कसैलाई नछोइकन आएको हो तैपनि शरिरमा लगाएका कपडामा कोरोना लुकेर बसेको त छैन भन्ने शंका मेट्न गाह्रो पर्छ । दिनभरी मनमा खेलेका तर्कना रातमा सपना बनेर नाच्छन् । ब्यूँझे पछि फेरि उसैको चर्चा चल्छ । नेपालबाट आफन्तिसँग कुराहुँदा, सञ्चै छ, अमेरिकाम त बर्वाद छ रे ! ल ह,ै आफ्नो ख्याल राख्नु है, टेक केयर गर्नु है भन्नेमा बढी जोडदिएर कुराका बीट मर्छन् । ल ! ल ! सब ठीक छ, चिन्ता नगर्नु भन्दै ढाडस दिन्छौँ । मनमनमा चिन्ता त छ’ नि, तर के गर्नु ! फेरि पनि मनमनै महामारीको यो अनन्त यात्राको गन्तव्य पहिल्याउने यत्नमा मनोबल उच्च राख्न भने चुकेका छैनौँ ।
हामी फुर्सदिला नेपालीहरु यसो खुला ठाउँमा भेट हुन्थ्यौँ । भलाकुसारी गथ्र्यौँ । अनुभव साटासाट गथ्र्यौँ । केहिदिन भयो, अहिले त्यस्तो केही पनि छैन । कोही पनि भेटिदैँन । सबै आ–आफ्नो कोठामा बन्द छन् । छोराछोरीको बोलावटमा आएका थुप्रै बाबा आमाहरुको नेपाल फर्किने दिन नजिकिँंदै गर्दा फर्किने निश्चितता हराएको छ । एउटा सानो मोहल्लामा पूर्वमेचीदेखि महाकालीसम्मका नेपालीहरुको प्रतिनिधित्व छ ,यहाँ । सबैको एक समान आर्थिक हैसियत छैन, यहाँ । न त समान स्टाटस रहेको छ । फरक–फरक स्टाटसका फरक–फरक समस्या छन । बालबालिकाको स्याहार सुसारमा उस्तै समस्या छन । काममा नगए मासिक भुक्तानीमा समस्या खडा हुन्छ । काममा गए बाबा आमालगायत समग्र परिवारमा संक्रमण हुने भय छ । यस्तै सुुरुवाती समस्या र चिन्तै चिन्ताले जेलिएको छ ,यतिखेर अमेरिकी नेपाली समाज । तैपनि पहिलादेखि अमेरिकामा बस्दै आएकाहरुमा फेरि बलियो आशा भरोसा छ । उनीहरु भन्छन्, किन डराउनुहुन्छ ? अमेरिका हो यो ! अमेरिका ! उनीहरुले यसोभन्दा सबैमा आशा त पलाउँथ्यो । तर पत्याउन कठीन हुन्थ्यो । कोरोनाले छोयो भने के हो ? के हो ? भन्ने आशंकामा सबैभन्दा ठूलो र बलियो संत्रास अमेरिकामा बसेको कोठा भित्र जीवन्त थियो ।




