संसारमा सबैभन्दा चन्चल चरालाई मानिन्छ । त्यसपछि माछा । उनीहरु एक ठाउँमा रहेर बस्न सक्दैनन् । त्यो उनीहरुको बाध्यता र स्वतन्त्रता दुवै हो । त्यसपछि मान्छेको गुण मध्येको एक हो चञ्चल मन । मान्छे सफल हुनुको पछाडि पनि उसले आफुलाई सम्हाल्न सक्नु हो । दुःखलाई सहन सक्नु र हरेक अप्ठ्यारा समयहरु पार गर्दै अघि बढ्नु ।
मान्छेमा विशेष खालको दिमाग छ । त्यहिँ २ सय ५० ग्राम दिमागको जादुले संसारका सबै चिजलाई आफ्नो काबुमा राख्न सफल छ । नयाँ खोज र मेहेनतले विश्वका स्रोतसाधनमाथि राज गरेको छ । दिमागवाला मान्छे नै सबैभन्दा स्वार्थी छ । स्वार्थ यतिसम्म चुलिदै छ कि उ आफु मर्न चाहन्न । मिल्ने भए आफ्नो मृत्युमा कोही मान्छेलाई पैसा दिई भाडामा मर्न लगाएर आफु अर्बौ बर्ष बाँच्न चाहन्छ ।
मेसिनको विकाससँगै मान्छे पनि मेसिन जस्तो बनेका छन् । उनीहरुलाई अरुको दुःख, वेदनाले पोल्दैन । यति व्यस्त भएकी मान्छे आफ्नै आमाबाबा मर्दा पनि नाफा नोक्सानको क्याल्कुलेटर थिचेर भाडा दिएर रुने मान्छे खटाउने परम्परा विकास हुँदै गएको छ । यो पुँजीबादले विकास गर्दै गएको समाजको ज्वलन्त तस्विर हो ।
मान्छे मात्र यस्तो प्राणी भैदियो यसको अगाडि पनि स्वार्थ छ र पछाडि पनि । खाना नपाउनेलाई खानाको लागि होड, करोडपतिलाई अर्बपति बन्ने दौड र अर्बपतिलाई खर्बपति अनि नम्बर एक धनी बनेर भौतिक सम्पत्तिको दम्भ देखाउनमै आजको मान्छे व्यस्त छ । पुँजीसँगको सम्बन्धले मान्छेको वर्ग र मान, अस्तित्व पनि आकाश जमिन जस्तै फरक बन्दै छ, यसकै कारण मान्छे एकअर्काबाट टाढिएको छ । मानवीयता मेसिनमा विलिन भएको छ । तर, प्रकृतिले जन्म र मृत्युलाई अनिवार्य बनाएर धन्न मानवीय न्युनतम समानता कायम गरिदिएको छ । दिमागको कारण सबैभन्दा श्रेष्ठ मानिस त्यहिँ दिमागको कारण आफ्नो विनास आफै गर्दैछ । मान्छेले सबै प्रकृृति, जिव जनावरलाई आफ्नो काबुमा राख्न धेरै प्रयत्न गर्दै आयो । उसले स्रोतसाधन र शासनसत्ताका लागि मान्छे कै विनास गर्दै आयो ।
आफ्नो फाइदा र स्वार्थका चिजमा त अरुका आँखा पर्न समेत दिँदैन । मान्छेमा विकास हुँदै गएको व्यापारिक तथा पुँजीबादी दिमागको प्रभावले आज मानवीय अस्तित्वको धरातल नै भुलेर पैसालाई महत्व दिइरहेको छ । उसलाई आज रमाउनु छ, आज आफूले सबै सुविधा भोग गर्नुछ । भएका सबै चिजबस्तुबाट मज्जा लुट्नु छ । विकास र आफ्नो सहजताका लागि प्रकृतिको प्रयोग, दोहन अनि प्राकृतिक बस्तुहरुको प्रयोग नै मान्छेको अस्तित्व संकटको कारण बन्दैछ भन्ने हेक्का हुँदाहुदै पनि मान्छे यसलाई छोड्न तयार छैनन् ।
एउटा फाइदाका लागि प्रकृति नास हुन्छ । त्यस्तै जनसंख्याको बढ्दो क्रमको बाध्यताले पनि प्रकृतिमाथि बज्र पर्दै गएको छ । आज सबैभन्दा बढि खतरा हामीलाई हामीबाटै छ । हामी हाम्रै क्रियाकलापबाट आफ्नो अस्तित्व संकटमा पार्दैछौ भन्ने विभिन्न खोज तथा सोधकर्ताले सुझाउँदै आएका छन् । किनकी सबैभन्दा ठुलो भुल हाम्रा लागि हामी नै हौं ।
हामीलाई गाडी चढ्नु छ, प्लेन चढ्नु छ र चुच्चे रेल चाहिएको छ । हामीलाई पानी जहाज, रकेट, बम बारुद मिसायल सबै चाहिएको छ । हामीलाई पहाडभित्रका खनिज, तेल सबै निकालेर धनी बन्नु छ । ठुल्ठुला कलकारखाना खोलेर बायुमण्डल दुषित पार्नु छ । वनजंगल र प्राकृतिक स्रोतसाधनमार्फत लक्जरिएस जिन्दगी बनाउनु छ । हामीलाई आजको भोलि नै तरकारी बनाउने प्रविधि चाहिएको छ । हामीलाई रातरात बढ्ने कुखुरा चाहिएको छ । हामीलाई जीवजनावरप्रति दमन गर्नुछ । हामीलाई गड्यौला, चमेरा, सर्प सबै खानु छ तर हामीले गरिरहेका यी क्रियाकलाप स्वयम् हामी र सन्ततीका लागि ठुलो घातक बन्दैछन् भन्ने हेक्का हामीले राखेनौ कि ?
बाँच्नका लागि संघर्ष हरेक प्राणीले गर्छन् । बाँच्ने सँघर्षमा सफल बन्न प्रकृतिले साथ दिनुपर्छ । जुन प्राणीलाई प्रकृतिले साथ दिन्न उसको अस्तित्व लोप हुन्छ । प्रकृतिले आफ्नो स्वरुप जसरी पनि कायम गर्छ । चाइना, अमेरिका लगायतका विकसित देशले आकाशमा परेको पानीलाई आकाशमै रोक्न सक्ने कृतिम अनुसन्धान र विकास त बनाएका छन् तर त्यही विकास आफ्ना लागि र सिँगो मानव जातिकै लागि पनि घातक बन्ने भएका छन् । हामी विस्तारै अक्सिजनहिन विश्व निर्माण गर्दैछौ ।
पृथ्वीको आफ्नै आयु छ तर मानवीय व्यवहारले पृथ्वीको आयु छोट्याउन बल प्रयोग गरेकोप्रति वैज्ञानिकहरुले सचेत बनाउँदै आएका छन् । अस्ति राती मात्र एउटा उल्का पिण्ड अर्थात् (डाइमन्ड स्टार) झर्दा धेरैलाई त्रसिद बनायो । मान्छेभन्दा कैयौ शक्तिशाली डाइनोसर लोप हुनुका पछाडि पनि उल्का पिण्ड रहेकोलाई धेरै वैज्ञानिकले समर्थन गरेका छन् । के हामी अब डाईनोसर बन्दै त छैनौ ?
पुसमा पर्ने हिउँ चैत्रमा किन पर्दैछ ? हिमालहरु पुरै डढेलोमा डढेका कँगारु जस्ता काला भएको देख्दा पनि हामी अचम्मित भएका छौँ । किन त ? हाम्रा वरपर सर्प देखिन छाडेका छन् । बाघ, मृग र जंगली जनाबर देखिने जंगलहरु आज कपाल नभएका तालु जस्ता भएका छन् । खोलानाला पनि कम पानीवाला बन्दै गएका छन् । पुरा बायुमण्डल र ओजन तह कार्बनडाइअक्साइड र खराब ग्यासहरुले भरिएका छन् ।
हाम्रा विकास अनुसन्धान, नयाँ खोजले मानव जातिलाई निकै सहज बनाएको छभने यसले कतिपय अवस्थामा सिँगो मानव जातिलाई नै संकट आइलागेको छ । उदाहरणको लागि भोक, प्यास, मेट्न र नयाँ खोज अनुसन्धानका लागि जनावर संगको सम्पर्कबाट सल्केको कोरोना भाइरसको महामारी ।
मानव समुदाय विभिन्न कालखण्डमा भाइरस र महामारीबाट ग्रसित हुँदै आएको छ । यसअघि नै विभन्न महामारीमा परि ७० करोडभन्दा धेरै मानसिको ज्यान गएको छभने केहि जातिहरुको इतिहास नै नामेट बनेका तितासत्य मान्छेले भोगेको छ । यस्तो भयबाट मान्छे कदापी सुरक्षित छैन । आजपनि विभिन्न रोगहरुबाट मान्छे दिनानुदिन मरिहेका छन् । विभिन्न भाइरससँग मान्छेले जित हासिल गर्दै आएको छ ।
२१ औँ शताब्दीको मुखमा (कोबिड–१९) कोरोना भाइरसले फेरी विश्वका मानव समुदायलाई सताउन थालेको छ । यसले मानव समुदायलाई नै त्रसिद पारिरहेको छ । चिनबाट फैलिएको भाइरसले तिन महिनाको बिचमा ६ लाख बढि मान्छेमा संक्रमण र २८ हजार बढिको ज्यान लिइसकेको छ । यहि गतिमा भाइरस संक्रमण हुने होभने मान्छेले यति समय लगाएर बनाएको अर्थतन्त्र, विकास र सिस्टममै बद्लाव आउने पिडा चुलिदै गएको छ । अमेरिका र चिनबीच अझै पनि भाइरस उत्पन्नको विषयमा आरोप–प्रत्यारोप छ । भाइरस तयार गरि औषधी बेच्ने चालबाजीका रुपमा शंका गरिए पनि यो भाइरस जनाबरबाट आएको भन्नेमा वैज्ञानिकहरुको अनुसन्धान पुगेको छ ।
भाइरस चिन युरोप अमेरिकाहुँदै नेपालमा पनि प्रवेश गरिसकेको छ । विकसित देश भनिने ठाउँमा दैनिक हजारौ संक्रमण र मृत्युको समाचारले त्रसिद बनेका छौ । हाम्रो जस्तो विकासोन्मुख देशलाई यसको असर अझै बढि हुने निश्चित छ ।
इटालीमा मान्छे मरेका, उपचारमा संलग्न डाक्टर, नर्सलाई संक्रमण भएका, चिहान नपाएका समाचर पढ्दै गर्दा डराएका छौँ । आफन्त मर्दा पनि भेट हुन नपाएका सिँगो शहर नै मसानघाट बनेका दुखान्त घटनाले हाम्रो मुटु छियाछिया भएको छ । केहि लापबाही र दम्भका कारणले अमेरिका, इटालीजस्ता देश आज यो महामारीसँग जुध्न सकेका छैनन् । तर हामीलाई कोरोनासँग बच्ने अझै पनि केहि अवसर बाँकी छ । त्यो अवसरलाई हामीले सक्दो सदुपयोग गर्नुपर्छ । अन्य देशमा भएका राम्रा कुरालाई साथ दिने र गल्तीहरुलाई सुधार्ने अवसर हामीलाई छ ।
यी अवसरमध्ये लकडाउन र व्यक्तिगत सरसफाई । सरकारले सहि समयमा लकडाउन गरेपनि जाँचकिट र उपचारको प्रबन्ध गर्न सकेको छैन । नेपालमा ५० बढि संक्रमित भए भने अवस्था के होला ? हामी आफै अनुमान गरौ । गाउँमा अझै पनि मान्छेमा यसको कुनै भय छैन । विदेशबाट फिरेकाले यो भाइरसले आफुलाई छुदैन भन्ने गलत आत्मविश्वास बढाएका छन् । कोही–कोही हलेलिया, मोहम्मद र पशुपति नाथको प्रार्थनाले बचाउने अन्ध विश्वासमा छन् ।
जब संक्रमित बढ्दै जाने छन्, यहाँ उपचार गर्ने डाक्टरनै अस्पताल जाने छैनन् । अस्पताल पनि बन्द हुने छन् अनि मान्छेहरु सडकमै पानी नपाएर मर्ने अवस्था सिर्जना हुने छ । यो भाइरसले अशक्त, बुढाबुढीलाई आक्रमण गर्ने भएपनि लामो लकडाउने हामी स्वस्थ खाना र मानसिक रुपमा दरिलो बन्न सक्ने छैनौं । त्यसैले अहिले सबैजना आफु संयमित भएर आफैले आफैलाई दुइ हप्ता मन बाँधेर, कसैसँग भेटघाट नगरी रुममै बस्ने, माक्सको प्रयोग गर्ने अनि पटकपटक साबुनपानीले हात धोई आफ्नै बानी व्यवहारसँग जितेमा यो महामारीलाई जित्न सकिने छ । यसको अलवा समाजमा खाना नपाउने अवस्थाका मान्छेलाई हुनेहरुले यतिखेर सामुहिक रुपमा बचाउनु पर्ने हुन्छ । लकडाउन र अवस्था हेरेर स्थानीय तह तथा सरकारले यी निकास निकालेमा कोरोनासँग लड्न सकिने छ । यो संगै कोरोना संक्रमितलाई पर्ने मानसिक, सामाजिक असर कम गर्ने वातावरण सबैले बनाउनु पर्छ । नत्र, आफु नमरी स्वर्ग देखिदैन भन्ने उखानलाई कोरोनाले गलत सावित गरिदिने छ । हामीले आफ्ना लागि आफु मर्नुभन्दा पहिला चिहान खन्ने दिन आउने छ । किनकी यो भाइरसले मरेपछि पनि शरीरबाट छाड्दैन ।




