शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एकान्तबास

एकान्तबास

आपतमा मान्छे गाउँ खोज्छ । सुगममा मान्छे शहर । गाउँ अशक्तहरूको सङ्रग्राहालय बनिरहँदा विक्षिप्त हुन्छु । बिरामी परेपछि गाउँ छिर्ने । चाडबाड गाउँमै मनाउने । बृद्ध बाआमा गाउँमै राख्ने । उर्वरशिल जवानी पुरै शहर र विदेशमा बस्ने ?


  • शम्भु अर्याल
  • चैत्र १८ २०७६, मंगलबार

यतिबेला कोभिड–१९ को भाइरसले जैविक आतंक फैलाईरहेको छ । लागिरहेको छ, युद्धमा हारजित हुन्छ । लडाइँ हुन्छ, भय कोलाहल, क्रन्दन, काहाली र छट्पटी हुन्छ ।
एकान्तवासको घरभित्र स्वेच्छिक नजरबन्ध लाागिरहेको छ मलाई । यसै पनि अशान्त अधैर्य र जतिबेला पनि छट्पटिने मेरो मन पिंजडाको चरी र नेलमा परेको मनुष्य जस्तै महशुस गरिरहेको छु । संसारमा सिमाना छ । देशमै बिभाजन छ । कोठामा गाह्रो छ । आमा डराइरहेकी छिन् । छोरो हाच्छ्युँ काढ्छ । मान्छे मान्छेमै कत्रो छट्पटी र कति साह्रो छ ।
बाल्यकालको मामाघर सम्झन्छु । मामाघरको खरबारीमा बँयर टिप्दा दर्फर्याएर रगतै परेका हत्केलाले विगतको बालशुलभ चञ्चलातालाई सम्झिएर रोमान्चित हुन्छु । ठुलीआमाको घर माझखर्क रिपको बनमा सिला खोज्दै कटुस टिपिरहेको यौवना सम्झन्छु । पारि बनपालाको एैसलु, चुत्रो, हाडेकाफल, अम्बा र भोगटे मस्तिष्कभरि लत्रिन्छन् । अमलाको अचुक भिटामिन यतिबेला कति आवास्यक छ । हजुरबुवाले थिचेको हर्राे, बर्राे, गुर्जाे, जमुनो र घोलटाब्रे स्मृतिपटलमा लहरिन्छ । घोट्दै गरेको श्रीखण्ड बिगतका ती दिनहरूले आल्हादित हुन्छु । आमाले डालामा केराका पातमा गुटुमुटु पारेर केरा परालभित्र राख्नु हुन्थ्यो एकहप्तामा केरा पँहेलो हुन्थ्यो । हामी मच्चिई–मच्चिई खान्थ्यौं । चोकनेर यसो साँझ गफ गर्न दाइको फलफूल पसलमा जान्छु । आजकल त अर्जुन दाइले अलिअलि रङ्गिन पानीमा धमाधम केराका खापाहरू चोबल्दै तार्नु हुन्छ । भोलिपल्ट केरा पाकिहाल्छ । अनि क्यामजाले पो गम्किनु हुन्छ । हेर, केटा यस्ता केरा त कति बेचियो कति । बुद्धिमानले त्यत्तिकै पत्याएको होइन तेरो दाइलाई । सम्पन्न सुविधाको सदुपयोग । बुद्धिमानको बुद्धि हो हेर !
म निकै मक्खिन्छु । मनमनै गुन्छु अहा ! कुनैबेला ४ बजे सखारै गोरू बट्याएर दाइँ हालिन्थ्यो । दँयरा धान बत्ताउँथे । ढिकी, झाँतो र मिलमा कुटेको चामल माडले लटो पथ्र्यो । अहिले पोलिस लगाएर टिलिक्कै चम्किन्छ । खलामा छाल हानेको धान जस्तै छिरलिन्छ भात थालमा ।
स्कुलबाट फर्केपछि खेतमा कुलकुलै हिंडेका र पानी पट्यााएका दिनहरूमा चम्किईरहेका तारा र जुनले नोस्टाल्जिक हुन्छु । कहिलेकाहीँ क्या मजाले चम्किदै खस्छ उल्का र जमिन नटेक्दै बिलाउँछ तारा ।
उ बेलामा हजुरबाले भनेको उखान झलझलती सम्झिन्छु । कुलको छोरी मुलको पानी । गोडीगोडी कुलघरान ठहर्याएर मात्र विवाह हुन्थ्यो । अमाअघिअघि बा पछिपछि खोरियामा दाउरा केलाउनु हुन्थ्यो । आमा भारी बाँध्नुहुन्थ्यो बा बोक्नुहुन्थ्यो । आजकल त फेसबुकाँ चस्मासस्मा लगाएको हनुमानले यसो बुढिऔलो ठड्याएको लोगो ठड्याइदिन्छ । उताबाट ह्वार्रै वर्षा हुन्छ आकाशतिर रातो पानको पातको । बुढो देशको मुलबाटो बिराएर खाडीमा पुर्पुरो ठोक्छ । यता, पार्लरमा कपालसपाल लर्काएर आखीभौंको परेलाका रम च्वाट्ट–च्वाट्ट चुँडाएर होटेलसोटेलमा उम् मेरो राजा भन्दै नाइटोमुनी मुँइखाने अधिकार कुन कानुनले रोक्छ ? फेसबुकाँ बुढोले सानू कता छौ भनिहाले हेर्नु न आज मैनाको बर्थडे आउनैपर्छ भनेर कर गरि । डियर आज यतै बस्छु ल । बुढो मख्ख पर्छ । अभागी मोरो भिडियो अर्कैले गर्छ । चाट गरेर पास्वर्डभित्र पासपोर्ट बोकेको नाथे जिन्दगी । यसो मात्रा बिरिनै हुन्न चौकीमा निवेदन परिहाल्छ । महिला हिंसा गर्याे सर ! खानै दिन्न । लाउनै दिन्न । स्वास्नी मात्रै खोजेर हुन्छ ? स्वास्नी माथिको बलात्कार ! पशु अर्कालाई पाल्न बकस भएको तेरो बकसपत्र । उता, सईसाप दहर्याउन खोज्छन् । लाउनै नपाएको भा नयाँ सुट कस्ले किन्दिएर लाइछेस त ? अस्तिमात्रै दस लाख लिएर डिभोर्स दिइन् कला र बिचारले भरिएकी कबिता साहिबाले । गुनासो छ वहाँले टर्चर दिनुहुन्छ । महिला हिम्सा गर्नुहुन्छ । राती बिस्तारामा पनि झ्यम्मै अँगालो हाल्नुहुन्छ । ए बाबा प्रखर वक्ता वकिल साहिबा । कस्तो भाका मिलाएर पो बोल्नु हुन्छ !
उसबेला कति सकुनको जीवन जिउनु हुन्थ्यो बा । रामायण र गीताका अचुक औषधि ज्ञानको खोज हुन्थ्यो । आजकलको हुटहुटी र हतार देख्दा आफैलाई उदेक लाग्छ । एकान्तबासको बेला यसै बस्नुभन्दा केही त लेख्छु भनेर यसो शिर्षकीकरण गर्दै थिएँ मधुसूदन सरले फोन गरिहाल्नुभयो । तुरुन्तै एन एम बि बैंकमा आउनु त । साइन गरेर फर्किहाल्नु होला । हुर्रिएर बैंक पुगें । साइन गरैर कुद्दै सिंढी झरेर बाहिर निस्केको आफ्नो जस्तै अर्कैको बइकमा पो बसेंछु । चाबी बटार्छु बटार्छु खुल्दै खुल्दैन । कसोकसो हेल्मेट हेरेको अर्कैको परेछ । मान्छे गलल्ल किन हाँसिरहेका छन् भनेको त कुरोको गाँठी यस्तो पो परेछ । भर्खरै लन्च भएको एक्सप्लस दुईवटैको नयाँ परेछ । दुरूस्तैको मेरो आँखो कति सजिलै अरूलाई सिकाईदिन्छ । जलप लगाएको नानीको भ्रम यति खप्की बेहोर्दा पनि कहिल्यै देख्न सक्दैन । बाहिर मझेरीमा लागेको आगो झ्यालको शिसामा पर्याेभने आगो कोठाभित्र दन्किई रहेको देखिन्छ ।
सुर्य भाइ ठ्यक्कै भेड्किन्छन् । दाइ बिजोक छ गाउँको हालत । पुरै बारी बाँझिएर बनमासको झाडी बनेको छ । पहिलापहिला पो गोरेटा बाटा हुन्थे अहिले गोरेटा बाटा जम्मै झाडीले मासिएछ । बनजङ्गलमा नि गोड्नी दउराघाँस गर्दा पो गोरेटा हुन्थे अहिले त झाडीले बनभित्र पनि पस्न नसकिनी झाडी छ । जीवजन्तु पनि त्यहीँ मोटरबाटोमा दगुर्छन् ।
संसारमा कोरोना भाईरसको संक्रमणको खबरले फेसबुक निकै तातिरहेको छ । त्रास र भयले मान्छेहरू कारुणिक र सन्त्रस्त बनिरहेका छन् । पुरै विश्व हा ! हा ! सुस्केरा काँढिरहेको छ । मन निकै बिचलित बनिरहेको छ । उपचार गर्नै डाक्टरलाई नै लखेटिरहेको छ । मुनामदनको भोटे कति पो हुन्छन् र समाजमा । मान्छेले भार नै खेप्न नसक्ने मार जब पर्छ मान्छेमा कति कठिन कठोर र निष्ठुर बनिदिंदोरहेछ यो जगत । गन्दै निल्दै गरिरहेको कोभिड–१९ को राक्षसरूपी विभीषिका आगो फैलिएसरि फैलिएको छ । हिजोसम्म फेरिरहेको सास आज ल्हास बनेको छ । शक्तिको आडम्बरमा परमाणुको घमण्ड गर्ने शक्तिसम्पन्न लाडसापहरूको पनि सातो जाँदो रहेछ । ल्हासको अन्त्यष्ठीको लागि कति देशमा लाईन लाग्नुपरेको छ । एटम बमले नै परास्त गर्नै आँखाले देख्नै नसक्ने जैविक कहालीलाग्दो भयावह युद्ध । आमाको काखमा कपटि उद्धण्ड करतुतको परिणाम ।
गृहबन्द झ्यालबाट यसो बाहिर चियाउँछु । काठमाडौबाट आएको गाडीबाट झरिरहेको भिड हेर्छु । मनन् गर्छु । काठमाडौं बर्षको एकपटक मात्र सुनसान र लगभग खालीजस्तो हुन्छ त्यो हो दशैं । आज यसरी सन्नाटा छाईरहेको थियोे, जसरी सुनसान थियो बहत्तर साल बैशाख १२ गते शनिबारको महाभुकम्प पछिको कैयौं महिना । चिनबाट सुरू भएको बिनास दुई मैनामा चिनबाट निर्मूल भैसक्यो । संक्रमणकालमुक्त चिन आँफै बोलिरहँदा सोंचिरहन्छु दिब्य कला । चिनको लिडरसिप र योग्यता । चिनको चावो चेङसँग काम गरेको सम्झिन्छु । ताईवानको आँफ्नै जुता फाट्दा मजदुरको जुत्ता किनिरहेकी रोज मेरी लो सम्झन्छु । भनेको मानेर के बिग्रन्छ ?मान्न फेरि मान्नको ज्ञानमा निकै ठुलो पिएचडि सम्झन्छु म । त्यहीँनेर ठुलो ज्ञान हुन्छ । गर्छु भनेपछि गर्छुगर्छु । हुन्छ भनेपछि हुन्छ हुन्छ । रकुलले बिझाउँछ । ओभनले जलाउँछ । बिग्रे मिस्त्री बनाउँछ । लगानी साहुले लगाउँछ । यति थोरैमा कसैले कसैको सुन्नैपर्छ आखिर । सुने सब हुन्छ । सिके आँफु हुन्छ नसिके केही हुँदैन ।
दुःखमा छोरो बाउ खोज्छ । आपतमा मान्छे गाउँ खोज्छ । सुगममा मान्छे शहर । गाउँ अशक्तहरूको सङ्रग्राहालय बनिरहँदा विक्षिप्त हुन्छु । बिरामी परेपछि गाउँ छिर्ने । चाडबाड गाउँमै मनाउने । बृद्ध बाआमा गाउँमै राख्ने । उर्वरशिल जवानी पुरै शहर र विदेशमा बस्ने । जबजब बिपतको माहामारी आउँछ गाउँ पस्ने। स्वाङ, ढ्वाङ या कस्तो अभ्यास हो ? खरानीले काला भाँडा मस्काएर के हुन्छ ? यो भिड कोरोना मुक्त नभए सम्म फर्किने छैन शहर । अँगेनाको धुँवाले भतभति पोल्दै गरेको आँखाको कोस मिच्दै आँशु पुछ्दै त्यहीँ गाउँलाई नै सराप्छ त्यो ओर्लिरहेको भिड । किन फर्किरहेका छन् यिनिहरू ? बाले खाएको एकछाक भाँडा माझ्न देवरानी र जेठानीको भाग छुट्याउन ? कि कहिल्यै बा लाई नपरेको दुबिधा र आमालाई नपरेकोे बुहार्तन बेहोराउन ?
यो संत्रासको घडिमा घरभित्रै एकान्तबास बसौं । मास्कको प्रयोग गरौं । पुर्ण प्रकृयामा हात सफा गरौं । हात धुने तरिकाहरू युट्युबमा सर्च गरेर पनि हेर्न सकिन्छ । मैले यसो भनिरहँदा प्रबिधिको प्रयोग नगरौं । हामी पुरानो युगमा फर्काै भनेको होइन । प्रकृतिको असर र मानवलाई असर पर्ने आणविक योजनाकै परिणति त होला कोभिड १९ । जन्मजात लिएर आएको खुशीलाई मनुष्य मनुष्य बिच खलल र तिक्तता पैदा नगरौं । यो सुन्दर संसार अझै कलाले सुन्दर बनोस् । जीवन निकै छोटों रहेछ । यति उमेरमा हामीले शिक्षा, नाम, दाम, काम पदप्रतिष्ठा कमाउनु छ । यति बुझ्न चाहन्छु भाइरस र एन्टिभाइरसको समान शक्तिले शोंचमग्न हुन्छु । आखिर दुवैजना बैज्ञानिक न हुन् । एउटाको पुजा हुन्छ अर्काको घृणा । एउटले रक्षा गर्छ अर्कोले विनाश । कोभिड १९ को कोरोना भाइरस यथाशिघ्र उन्मुलन होस । संसारको सुखशान्ति र भाइरस प्रभावित मनुष्यहरूको स्वास्थ्य लाभको कामना एकान्तवासको कोठाभित्रबाट ।
(अर्याल वालिङ नगरपालिका–६ मिर्दी स्याङ्जा निवासी हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->