बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोना संकटमा जनप्रतिनिधिको परीक्षा

कोरोना संकटमा जनप्रतिनिधिको परीक्षा


  • नारायण प्रसाद पौडेल
  • चैत्र २४ २०७६, सोमबार

चिनको वुहान प्रान्तबाट ३ महिना पहिलादेखि फैलिएको कोरोना भाइरस (कोभिड १९) आजको दिनसम्म आइपुग्दा यो फैलिएर विश्वका २०५ देशहरुमा पुगिसकेको छ । यो भाइरसबाट ५९ हजारभन्दा धेरैको ज्यान गैसकेको छभने झण्डै ११ लाख मानिसमा यसको संक्रमण फैलिएको छ । नेपालमा पनि यसको संक्रमण बढ्दै गैरहँदा अहिले ९ जनामा संक्रमण भएको पुष्टि भैसकेको छ । यो भाइरस चमेरोबाट मानिसमा सरेको बताइएको छ । मानिसको शरिरमा यो भाइरस प्रवेश गरेको १ हप्तादेखि धेरैमा ३ हप्तासम्ममा यसको लक्षण देखा पर्दछ । ज्वरो आउनु, खोकी लाग्नु र सास फेर्न गाह्रो हुनु यसका लक्षण हुन् । यो भाइरस हावावाट नभई मानिसहरुको सम्पर्कबाट सर्ने गर्दछ । यसबाट बच्न समय–समयमा सेनिटाइजर अथवा साबुनपानीले हात धुने र एकअर्काको सम्पर्कमा नरहनु नै हो ।
विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा ठुलो संकट आइलागेको घोषणा गरिसकेको छ । यो अवस्थामा विश्वका विकसित र सम्पन्न अमेरिका तथा युरोपीयन राष्ट्रहरुले यो भाइरसबाट संक्रमित बिरामीहरुलाई उपचारको लागि आवस्यक पर्ने स्वस्थ्य सामाग्रीको अभाव भैसकेको बताएका छन् । प्रस्ट देखिने गरी नेपालमा चैत्रको ४ गते कतार एरलाइन्सबाट आएका व्यक्तिहरुबाट यो भाइरसको संक्रमण फैलिएको बुझिए पनि यसको संक्रमण त्यसभन्दा पहिलै पनि भैसकेको हुन सक्ने सम्भावना देखिन्छ । त्यसैले ४ गतेभन्दा केही समय पहिले र त्यसपछि भारत तथा तेस्रो मुलुकबाट भित्रिएका व्यक्तिहरुको पहिचान गरी उनीहरु र उनीहरुका परिवारको परिक्षण गर्ने काम आजको मितिसम्म पनि भैसकेको छैन । यो अवस्थामा तिमध्ये कति जनाको पोजेटिभ रिपोर्ट आउने हो एकिन छैन ।
भलै अहिले नेपाल लकडाउनमा छ । र, विदेशबाट आएकाहरुलाई क्वारेन्टाइममा बस्न भनिएको छ । तर ति व्यक्तिहरु क्वारेन्टाइममा नबसुन्जेल के–कति मानिससँग सम्पर्क गरिसके भन्ने कुनै डाटा संकलन प्रभावकारी रुपमा हुन सकेको छैन । यस्तो अवस्थामा ज्यामितीय रुपले फैलिदै विश्वमा महामारीको रुप लिएको यो भाइरससँगको यो लडाइँमा हामी नागरिकले राज्यले निर्देशन गरेको लकडाउनलाई अनुशासित भएर पालना गर्नुनै एक मात्र विकल्प हो । यति हुँदा–हुदै पनि लकडाउन हटाउनुपर्छ भन्ने विचारहरु यदाकदा सुनिन् थालिएको छ । सरकारले देश विदेशको अवस्था विचार गरि छिट्टै निर्णय लेला । तर सरकार यो कुरामा संवेदनशिल भएनभने देशले ठुलो मुल्य चुकाउनु पर्ने हुन सक्छ । त्यसैले जबसम्म शंकास्पद व्यक्ति जो गाउँ–गाउँसम्म पुगिसकेका छन् उनीहरुसम्म परिक्षणको कार्य पुराउन सकिदैन तबसम्म लकडाउन यथावत राख्नु पर्ने देखिन्छ । किनभने विश्वमा यसको फैलावट हेर्दै गर्दा जसरी भुसको आगो निभ्यो भन्दै गर्दा पनि कुनै छेउमा रहेको हुन्छ र केही समयपछि त्यसैबाट सल्किदै ठुलो रुप लिन्छ । त्यस्तै यो भाइरस पनि भुसकै जस्तो रुप लिएर आएको देखिएको छ ।
हो लकडाउनले नागरिको जनजिवन र अर्थतन्त्रमा पार्ने असर धेरै होला तर यो भाइरस कन्ट्रोलबाहिर गयोभने यसको असर भयावह हुन पनि सक्छ । नेपालमा जब कतार एरलाइन्सको प्mलाइटहुँदै आएको महिलामा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखियो तब चैत्र ११ गतेदेखि लकडाउन गर्नुपर्ने अवस्था आईलाग्यो । तर त्यसको केही दिन पहिल्यै सुप्रिम कोटले दिएको आदेश पालना गर्दै अन्तराष्ट्रिय उडान र छिमेकी देशसँगको खुल्ला सिमानामा मानिसको आवगमन मात्र बन्द गर्न सकेको भए त्यो बेलासम्म संक्रमण नदेखिएको हाम्रो देशमा नत सम्पुर्ण तयारी पुगेको एसईईको परिक्षा एक दिनअघि आएर स्थगित गर्नुपथ्र्यो नत आजको जस्तो लकडाउन नै आवस्यक पर्ने थियो । यसको सट्टा केहि दिन पहिलासम्म अन्तराष्ट्रिय जगतलाई हाम्रो देशमा आउन निमन्त्रणा गरियो । यो नै ठुलो कमजोरी देखिन्छ र दुरदर्शिताको अभाव देखिन्छ । जे होस ढिलै भएपनि लकडाउन भएको छ, यसलाई सबैले पालना गर्नुपर्छ ।
नेपाल अहिले संघिय राज्यमा गैसकेको अवस्थामा यो महामारीबाट मुक्त हुन प्रदेश तथा स्थानीय सरकारको अहंम् भुमिका रहन्छ । र, पनि हाम्रा स्थानीय सरकारले संघले के गर्छ, के निर्देशन दिन्छ भनेर कुरिरहेको अवस्था देखियो । यस्तो समयमा प्रदेश तथा स्थानीय तहहरुले आफ्नो दक्षता र क्षमता देखाउँदै अरु प्रदेश स्थानीय तहभन्दा आफुलाई अव्बल भएको प्रमाणित गर्ने समय आएको देखिन्छ । यो समयमा आ–आफ्नो क्षेत्रमा रहेका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, शिक्षक, राजनीतिक दल तथा विभिन्न संघ संस्थाहरुसँग समन्वय तथा परिचालन गर्दै विदेशबाट आएका र उनीहरुको सम्पर्कमा भएकाहरुको परिक्षण गर्ने व्यवस्था मिलाई आम नागरिकलाई सजग र सतर्क गराउँदै सामाजिक दुरी कायम गराई सुरक्षितसाथ बस्न लगाई परिक्षणको दरलाई बढाउन सकेमा यसको रिजल्ट छिट्टै देखिने छ ।
अहिलेको अवस्थामा कतिपय जनप्रतिनिधी एउटा सामान्य नागरिकको भुमिकामा घरभित्र सिमित भएको गुनासो सुन्न आएको छ । यो कार्य कदापी जनअपेक्षित हुन सक्दैन । हाल नेपालमा संघदेखि स्थानीय तहसम्म गरेर जम्बो जनप्रतिनिधीहरुको संख्या छ । उनीहरुले आफ्ना मतदाता तथा आम नागरिकसामु जनप्रतिनिधीको दायित्व के हो देखाउने समय पनि यहिँ हो । त्यसैले यो कठिन परिस्थितीमा आँफै उपस्थित भएर स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मिलाई आवस्यक सामाग्री जुटाएर आत्मबल बढाउने र सहज वातवरण बनाउन सक्नुपर्छ । अहिले स्वास्थ्य बीमाका बीमित सदस्यहरु जो दिर्घकालिन समस्याका रोगी छन् उनीहरुले खाने गरेको नियमित औषधी अस्पताले दिन सकेको छैन । टाउको दुखाई, ज्वरो, रुघाखाकी (जसको धेरै कारण हुन सक्छ) जस्ताः समस्याहरु देखिएर इमर्जेन्सी उपचार सेवा आवस्यक परेका बिरामीले सेवा नपाएर कतिपयको ज्यानै गैसकेको छ । एम्बुलेन्सले बिरामी लैजान मानिरहेका छैनन् । निजी अस्पतालहरु बन्द गरिएको छ । योभन्दा लज्जासपद के हुन सक्छ ? त्यसैले यो जटिल अवस्थामा जनप्रतिनिधीहरुको भुमिका धेरै महत्वपुर्ण रहेको देखिन्छ ।
यो अवस्थामा नागरिकलाई विभिन्न समस्याहरु आइपर्न सक्छन् । शहर बजारका घरका पेटीहरुमा जिन्दगी बिताईरहेका नागरिक, ज्यालादारी श्रमिक, फुटपाथमा व्यापार गरी जिविका निर्वाह गरेका तथा निम्न गरिब वर्गका नागरिकको हातमुख जोर्न पनि समस्या हुन सक्छ त्यसको उचित व्यवस्थापन गर्नु आजको आवश्यक हो । यो काम धेरै सुझबुझका साथ गर्नुपर्ने देखिन्छ । केही सानो कमजोरी भएमा यसले ठुलो रुप लिन पनि सक्छ । जसको लागि आर्थिक व्यवस्थापन मिलाउनु अर्को चुनौती रहेको छ ।
अहिले देशमा लकडाउन गरेको २ हप्ता पनि भएको छैन । यो अप्ठ्यारो समय कति लम्बिएर जाने हो भन्ने अनुमान लगाउन सकिने अवस्था छैन । नागरिकले केही समयको लागि आफै जोहो गरेर राखेका पनि हुन सक्छन् । त्यसलाई नजिकबाट अध्ययन गरी भोलिको दिनमा अझै कठिन समय आउन पनि सक्छ । त्यसैले राहत वितरण गर्दैगर्दा हेक्का राख्नु पर्ने देखिन्छ । यि सबै कुराहरुको सहि व्यवस्थापन गर्न सकेमा कोरोना भाईरससँगको युद्वमा विजय प्राप्त हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->