कति सामान्य रहस्य समेत थाहै नपाई अवतृर्ण र अवसान हुन्छ मान्छेको । कामको पछाडि जोडिएको हुन्छ नाम । बाघ, भालु, हाँस, बकुल्ला, भँगेरा, पँधेरा, खोला, खोल्सा गोरू, गधा, सबै नाम त हुन् । गुरु, बिद्यार्थी रङ्किनी, डङ्किनी, खढ्किनी र सड्किनी पनि त नाम हो । अलिकति सर्वनाम र थोरै सर्वहार बिशेषण ।
यिनै नाममा बाघ डमरू जन्माउँछ । गधा पाजि । अन्तिम कटु सत्य पत्ता लगाउने मनुष्य आविस्कारक हुन्छ । उसको नाम वैज्ञानिक हुन्छ । पत्ता लागेको आविस्कारमा साधना गरिरहेको नाम मिस्त्रि हुन्छ । झिनामसिना कुराहरूमै हुन्छन् विशाल साम्राज्य । सिकाइ र ठुलो खोज । उम्रिएको खर प्रष्फुटन हुन्छ । कटिएको निमास र सल्किएको डढेलो ।
यति ठुलो ब्राह्मणडमा नाम र काम मात्रै त छ । के गरुँ र नगरुँ को प्रथमसर्ग । नहोला हतोत्साही उद्धेश्य र लक्ष नभएको जिन्दगीको अवकास । नीलो आकाशको बादल । नानीमा झुसले बिझेको फुलो । कञ्चन जलको पहिरो र नीलो तालमा धमिलो समिश्रण ।
बिरोधको मुल फुटिराख । खोला बगिराख धरति तिमी जन्माइराख । सबै जन्म न हो । काग, वाज, ल्हास, गिद्ध र सिनो सबै नाम नै त हुन् । काग कालो हुन्छ । वाजको नानी हुन्छ । वाज यु ए ई को राष्ट्रिय चरा हो ।
गिद्ध सिनो खान्छ । दृष्टिमा जुम्ल्याहाजस्तै देखिएपनि वाज मारेर खान्छ । मरेको खाँदैन । उडिरहेको जिउ र लत्रिरहेको सरीसृप वाज सिकार खेल्छ । जुका रगत चुस्छ । बकुल्लो कति रूँग्नसक्छ किनारमा । किङ्गफिसर ट्याप्प माछा टिपी उडिदिन्छ बेतोड ।
शङ्ख बज्छ । घण्ट घन्टिन्छ । बा नभएपछि आमा एक्लो मात्र हुनुहुन्न । छोरो टुहुरो हुन्छ । त्यो पनि त नाम नै थियो । बा नहुनुको अभाव खड्किइरहेको अहिलेसम्म नलेखिएको खिन्नो उराठ विशाल शब्दकोष । माउसँग बिछडिएकोे बाच्छी । अभिभावक नहुनुको अलनोे भोजन । त्यहीँनेर रगत बगिरहन्छ जसरी बग्छ खोला खोल्सा र आँधी र समुद्रको लहर ।
हजुरबासँगको गुडिया आज नाती भयो । भोली बाबु हुन्छ । नाति, पनाती, खनाति, अनाति पनि रगतकै बहाव त हो । तर निकै द्विविधामा छ हृदयको स्पन्दन । बाबा गुमाउनु र आँफु बाबु बन्नुको बिरोधाभाष सत्य ।
थाहा छ हजुरलाई । के के भईरहेको छ समाजमा ? हजुरसँग माथ टेकाउँदै घोप्टिन्थ्यो नि त्यो जोरुप्रसाद । आजकल त कत्रो लाठे लबरस्वाँठ मिचाहा पो भा छ । ठेक्कापट्टा गर्छ । चौवन्नी फाइदा नजरले देख्यो भने सायद मन्दिरभित्रको मुर्ति बेच्छ नत्र समाजको सिन्को भाँच्दैन । अस्तिमात्रै मँसँगै पैंठेजोरी खेल्न तम्सियो जुवान । मैले नजानेको कुस्ती । नजानेको पैंठेजोरी । हुम्म ! सामाजिक बिप्लव ।
त्यो थियो नि अन्टिको नामको डुँवा लाउनीको बोगटिटार । किनारैकिनार आँधिखोला कोरिडोरको योजना परेछ । दुईचार पैसा आउने ठाउँमा त किन छोड्थ्यो तस्करले । पुरै गाउँभरि शङ्ख फुकेछ शङ्खेकीराले । आँधिमा तटबन्धनको काम शुरुभयो अब गाउँभरिका घरधुरीबाट एकजनाले दिनदिनै ड्युटी दिन पर्याे ।
बिहान पाँच बजे नै आमाले फोन गर्नुभयो कहाँ छस ? खेतभरि डोजर लगाएर निमास पारे सुतेरै बसिराख् । जर्याकजुरुक उठें र जाँगेसितै बेतोडले कुँदें । भेड्किएको मात्रै के थिएँ खेतको बिचबाट नाला खनेर आँधिलाई तटबन्धनको लागि जाली लगाउने डोब पो बनाउँदै रहेछ । शंखेकिरो नौनीभन्दा नरम र डाइनासोरको घाँटीजस्तो टाउको बिराट साँढेको बिग्रेको सिङजस्तो सृपसिङ लोप भयो खबटाभित्र । खबटो छिरलिङ्ग छर्कियो । जसरी किर्लीङमिर्लिङ गर्छ समुद्रको किनार अवासान खबटाहरू ।
बिचारमा म सम्पूर्ण भुमिको एकीकरण र राष्ट्रियकरण हुनुपर्छ भन्ने मानसिकता बोकेको मान्छे । आचारणमा म भुमिको निश्चित कर प्रणालीमा ब्यक्तिले राज्यसँग लिजमा लिएर उपभोग गरिनुपर्छ भन्ने मान्यता राख्ने मान्छे । त्यो हुन सकेन । जे भईरहेको छ त्यसमा खेती गरिरहेको जमिनमाथिको अचानक हस्तक्षेप ! केहीबेर निशब्द रहन्छु ।
प्रश्न गर्छु । कसरी यो काम भईरहेको छ ? सम्बोधनमा नाम मामा हो लन्ठाधिराज कालकुटको । सम्बोधन गरें ! धमिराको देवल भत्कियो, अरिङ्गालको पोलो सल्कियो । ढुङ्गा मुनीको गड्यौली माछालाई के थाहा त्यहाँ हाँसले माछो भेट्टाउँछ ।
क्या मजाले पो उड्किन्छ लाडसाप । तस्कर फिलिमको खलनायक जस्तै । कति उफ्रिन्छ किनारको फयटो माछो पानी छाडेर भुईलाई । भन्छ बसाइँ सरेर आको मिर्दीखोलाबाट सुकर्कैदिमा । पंगेनी गाउँको अर्याल । जोरुप्रसाद पंगेनी हो मेरो नाम ! आडैमा थियो खै कता डौवासौवातिर जितेको जनप्रतिनिधि थर पनि गन्हाको मल, ढल, नल के लेख्छ ? साले बाहुन के खोजिस् एकबिहानै मेरो मुहारमा मुड्की पो ताक्छ । थुक्क बेकामे ! नामको अपभ्रम्स । गन्हाइरहेको जिउँदो ल्हास । मलामी नपाएर ओस्याङ ओस्याङ किरा पर्दाको बिचारले क्षुब्द हुन्छु । त्यति कमाउन चाहन्छु । त्यो भन्दा बढि केही इच्छा हुँदैन होला सायद मान्छेलाई ।
तस्करले बालुवा बेच्यो । ढुङ्गा बेच्यो जुन मेरोपनि सम्पति थियोे । सामुहिक प्रकृतिलाई बेचेर उ मालिक र भोलि मेरो छोरो ज्यामी हुनेछ । त्यहीँ बालुवा बेचेर एउटा तस्कर हुन्छ । एउटा ज्यामी । हुँदाहुँदा लालपुर्जा हड्प्न प्रयासरत छ, जुन मेरो थिएन । अन्टीको नामको । वास्तवमा इमान बेच्यो होस नभएको हस्मुढो । भ्रान्ति बिग्रेको शकुनि सेवाको लागि जनताले नै चुनेको सम्प्रभुताको अपभ्रम्स । बिग्रेको वायुजस्तो बिकार । हिटलर र लादेन जस्ता विद्वानले त बाटो पाएनन् । कानमा मुद्रासुद्रा लगाएर क्षणभर एकजना बामपुड्केलाइ ह्यापेर के पो गर्न सक्छ र बिचारको लामपुड्केलाई ? अनन्त सम्मको बिचारको निरन्तर यात्रा लडाइँको ।
एक्लै हदैसम्म ह्यापिरहेको थियो । तस्करको हाउभाउले टाढैबाट भरत सरले पक्कैपनि केही समस्या छ जस्तै मान्नुभएछ र नजिकै भेड्किनुभयो । शंखेकिरो पुरै जिउ लुकायो । सापट खबटो र रापट तस्कर । आखिर कुनै ठाउँमा त निमुखो हुँदो रहेछ । मान्छे यति नहुँदो हो त के हुँदो हो मान्छेमान्छे बिच ?
राम्रो कुरा पढ्नु पर्छ । एउटा जन्म न हो लेख आखिर कति हुन्छन् र लेख्नेहरू ? जिन्दगी यथार्थ लेख्नु पर्छ । झुट र झुर कहिल्यै नलेख्नु । झुट कहिल्यै लेखिदैन पनि । नभै केही लेखिदैन असल र खराब, न्याय र अन्याय कर्म र दुष्कर्म असल र दुष्ट बिचको पर्यवाचि के हुन सक्छ ? सामाजिक न्यायको अपभ्रम्स । यो पनि नाम नै लागिरहेको छ मलाई ।
यतिकैमा सुर्कैदीभरिका अभियान्ताहरूको भिड भईसक्यो । कौदार काँढे लौरीले निसाना बनाउँदै हत्तेरी ! अझै खेततिर नै च्याप्नुपथ्र्याे । हेर त ! अझै अलिकति खेततिर च्यापेको भए आँधिको निसाना सिधा बन्थ्यो । बिगारिछस् नि बाबै यत्रो ठाउँ हुँदहुँदै । ङिच्च के गरेथ्यो पुरै गाउँ एकधुर भयो । बाबा मरेपछि टुहुरो हुनुको पहिलो खल्लो अनुभव ।
यतिका मान्छेहरूको भिडमा । न्याय र अन्याय । राम्रो र नराम्रो । वास्तविक सत्य र झुट छुट्याउन सक्ने नजर कतिको पो हुँदोरहेछ ? अर्काको नास र ह्रासमा कुम ठोकिरहेको बिसाल वाचाल संयन्त्र । युद्धको संखघोष । मृत्युको जन्म ।
केही दिनपछि गब्देसम्म बाटो बिस्तारको क्रममा जोरुप्रसादको अधुवा पुरिएछ । पुरै गाउँभरि भाडोभैलो मच्चायो । मुद्दा हाल्छु भन्दै थियो । अडान लिइरहेको थियो क्षतिपूर्तिको लागि । आफ्नो त अधुवाको पनि त्यत्रो हिसाबकिताब राख्दो रहेछ त !
धैर्यताको बाँध फुट्न दिन्न । निकै संयमित हुन्छु । त्यहीँ गहुँत वेदको ज्ञानले पंचामृत बन्छ भेदको कारण मुत । कृष्णको दिब्यवचन संझिन्छु । आज एक्लो भएँ । अर्जुनले वाण त्यसै उठाएका होइनन् । आफन्तहरूकै झिल्कोबाट सल्किएको आगोले आखिर कसलाई जलायो ? एकदम बिश्वस्त हुन्छु । अल्प होस या अधिक । अर्ध होस् या पुर्ण अन्यायको जित र न्याय हारेको संकृर्णता कतै पढेको छैन । देखेको छैन । सामाजिक न्यायको युद्ध चलिरहनेछ । न्याय काजी हुन्छ अन्याय पाजी हुन्छ ।
भोलिपल्ट घर यसो के पुगेको मात्रै थिएँ । जो होंचो उसैको मुखँ घोंचो । हिजो त्यहाँ बोल्नै पर्या थिएन सबै गाउँभरिकाले अबुझ हैछन् भनेर कति गर्याछन् गाउँभरी । छोरो अपभ्रम्श नामको ममतामयी । धन्य आमा ! चट्चटित पसिनाले कपाल भिज्यो । निकै अभिसप्त हुन्छु । भाइ समेत कुरा पुर्याएर बोल्न नजान्दा अरूले ह्यापे ।
टुहुरो हुनुको दोश्रो शृङ्खला । चक्रब्युहमा परेको अभिमन्यु । एकतरफ नियमको उलल्ङ्घन भएपछि अर्को तरफ झन् घोर उलल्ङ्घन हुन्छ । अब बल्ल शुरू हुन्छ लडाइँ । आखिर कोही त होला कलियुगको संयक् दृष्टि, संयक सङ्कल्प, संयक वचन र संयक कर्म ।
पुरै फाँट टाउनप्लानिङको प्रकृयामा जाँदै छ । सबै समुहिक प्लानिङको एकिकरणमा जान्छ । अहिलेलाई यो बिषयवस्तुलाई यहीँ थाँती राखौं केही दिग्गज र समाजसेवीहरूको भरोषाले म मौन रहन्छु । भिडको बहुसंख्यक अगाडिको आँखो र अल्पसंख्यक पछाडिको दिब्यदृष्टि । लाड्साप अझैपनि फतफताइरहेको थियो । गाउँबाट बाहिरका मान्छे बोलाउने । गाउँको समस्या गाउँमै मिलाउन पथ्र्याे । आँधिखोला कोरिडोर । फाँटको छेउमा आँधिको किनारको जग्गा । कहाँ हुन्छ हिसाब ? भिड बिस्तारै छिरलियो । बाहिरको र गाउँको । स्थानीय र बसाइँ आएको यो बिभाजनको भाषाले निशब्द हुन्छु । भिड पातलिईसकेको थियो । म पनि फर्किएँ आफ्नै गन्तव्यमा ।
(अर्याल वालिङ–६ मिर्दि स्याङ्जाका निवासी हुन् ।)





