प्रिय,
मलाई हराउन देऊ
त्यही बन्द कोठामा
जहाँ बाहिर नभेटिएका खुसीहरू
म आफै भित्र खोज्न सकूँ
मलाई नबोलाऊ,
नचलाऊ
मलाई देख्न देऊ मीठो सपना
नियाल्दै आकाशगंगा
एकान्तमा बसेर
डुबुल्की मार्न देऊ कल्पनाको सागर
मलाई संझन देऊ
ती वितेका पलहरू
जहाँ तिमी स्वर्गकी परी भएर
धर्तिमा झरेकी थियौं
मलाई चुम्बन गर्न
थाहा छ प्रिय
म बन्द कोठमा थुनिएर पनि
सिंगो संसार चाहारिरहेछु
अरू बेला जस्तो
मस्तिष्कको कैदखानामा थुनिएको छैन मन
फरार भएर निस्फ्रकी
घुमिरहेको छ पुथ्वी जस्तै
यही बन्द कोठामा
घरिघरि सुत्छु, घरिघरि उठ्छु
आफैलाई हेरेर मुस्कुराउँछु पटक पटक
ऐनासँग बात मारेर
चिन्न सक्ने भएको छु आफैलाई
दुनियाँको उचाई नाप्न खोज्ने
मेरो चेतना
यतिवेला
आफ्नै हैसियत नाप्न बाध्य छ
म नापिएको छु
विछ्यौनामा, भान्सामा, सरसफाईमा, खानपिनमा
हरबखत चकचक गर्ने खोज्ने
यो स्वछन्द मनलाई
सम्हाल्ने प्रयत्नमा
मैले चिन्न सक्ने भएको छु
तिमीलाई र तिमीले सम्हालेको घरलाई !
त्यसैले प्रिय
मलाई अलग्गै बस्न देऊ
वास्तविक सच्चाईलाई आत्मसात गर्न देऊ ।
प्रेमालाप त अरू दिन पनि गरौला
भेटघाट अरू दिन पनि गरौला
हेर प्रिय,
अघिल्तिरको मात्र देख्ने मेरा आँखाहरू
दुरदुरतक देख्न सक्ने भएको छ,
यो चौकोसे दिवार भित्र बसेर
संसार नियाल्न सक्ने भएको छ
अन्तदृष्टिबाट
यी दिवारहरू हेरेर
मैले पढिरहेको छु
देशका सीमानालाई
देशरदेशका इतिहासलाई
म यी बन्द कोठाका झ्याल हेर्छु
ढोका हेर्छु, खोल्छु पनि
जहाँबाट स्वस्थ हावा मात्र होइन
फोहोरका कणहरू पनि
विना रोकतोक छिर्छन्
जस्तो कि हाम्रा नाकाहरु
देश, देशका नाकाहरू
जहाँबाट छिर्छन् दुःखका विलौनाहरू
सुविस्ताका खेलौनाहरूसँगै
कोठाबाहिर हुँदा
असरल्न छर्दै भ्रमहरू
वेलगाम कुदिरहने
यी दृष्टीहरूले देख्दैन थे
आफ्नै पाइामुनिका काँडा
अघिल्टरको ढुङ्गा
बाटो मुनिको सुगन्ध !
तर यतिवेला म भान्सामा छु
भान्सामा अभ्यस्त भएर
आँखाले हेर्नै नपर्ने गरि
हातले देख्न सक्ने भएको छु
नुनतेल, जिरामसाला, चिनी चियापत्ती, दाल चामल !
म इमानदार विद्यार्थी भएर
पढिरहेछु भान्सामा
जीविकाको गणित !
यसरी म बन्द कोठाभित्र छु
तर कोठाभित्र म कैद छैन,
बरू सिंगो संसार
कैद छ
मेरो विशाल बन्द कोठामा !





