छिमेकी राष्ट्र भारतले तीन साताको लागि लकडाउन थपेको केही समय पछि नेपालमा पनि लकडाउन थपिएको छ । दिनहूँ नयाँ संक्रमितको संख्या थपिँदै गइरहेको छ । सधैँं लकडाउन थपेर सम्भव छ ? गण्डकी प्रदेश सरकारले महामारी रोकथामको लागि के तयारी गर्दैछ ? यिनै विषयमाथि केन्द्रित रहेर गण्डकी प्रदेश कोरोना भाइरस उपचार, रोकथाम तथा व्यवस्थापन समितिका संयोजक तथा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसँग ढोरपाटन न्युजकालागि सहकर्मि श्याम राना मगरले गरेको कुराकानीको सम्पादित अंश :
कोरोना रोकथाम समितिले के काम गरिरहेको छ ?
मुख्यमन्त्रीको नेतृत्वमा एउटा मूल समिति बनेको छ । त्यसैको मातहमा समन्वय समिति बनाइएको छ । त्यो समिति मेरो नेतृत्वमा रहेको छ । हाम्रो काम भनेको सहजिकरण र समन्वय गर्ने । खास गरि कोरोना नियन्त्रण, रोकथाम र उपचार गर्ने र, स्थानीय तह र समुदाय, हस्पिटल निजी क्षेत्रसँग र हाम्रै मन्त्रालयहरुसँग पनि समन्वय गर्ने, समस्यालाई सहजिकरण गर्ने काम भइरहेको छ ।
गण्डकी प्रदेशमा डेडिकेटड अस्पताल बनाउने महत्वपूर्ण काम थियो । सुरुमा गण्डकी अस्पताल, संघकै निर्देशनअनुसार बागलुङको धौलागिरी अस्पताल र गोरखा अस्पताललाई पनि डेडिकेटेड अस्पतालको रुपमा अघि बढाउने भन्ने कुरा भएको हो । त्यसलाई पनि हामीले अघि बढाइरहेका छौँ । सबै अस्पताल आइसोलेसन वार्ड स्थापना गर्ने । पछिल्लो समय कोरोना टेस्ट गर्ने कामलाई पनि अघि बढाइरहेका छौँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा पिसिआर मेसिन स्थापना गरिएको छ । त्यहीँको पुरानो मेसिन पनि सञ्चालनमा आउँन सकेको थिएन । त्यसलाई पनि सञ्चालनमा ल्याउने व्यवस्था भइरहेको छ । अहिले ¥यापिड डाइग्नोस्टिक किटबाट शकांष्पद व्यक्तिलाई परिक्षण गर्ने काम पनि भई रहेको छ । गण्डकी अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा नयाँ बेडहरु थप्दैछौँ । केही बनि सकेको छ । आइसियूसहित निर्माण भइसकेको छ । अरु पनि निर्माण हुने प्रक्रियामा छ ।
हालैका केही घटनाहरु हेर्दा उपचार गर्न अस्पताल आएका बिरामीहरु उपचार नपाएर तड्पिनु परेको उदाहरण पनि छन् नि ! अस्ति भर्खरै अस्पतालले उपचार गर्न नमानेर बागलुङका एक बालकले खुला आकाशमुनि रात बिनाउनु परेको घटना बाहिरिएको थियो ।
त्यस्तो पनि अलि होइन । ठूलै ¥युमर भयो । पहिलो कुरा त रातारात किन मणिपाल ल्याइयो ? त्यसरी, आउनुपर्ने अवस्था थिएन । उहाँहरु राति आउनु भयो । अरु, बेलामा पनि इमर्जेन्सी बाहेक रातमा अरु सेवा खुलेका हुँदैनन् । मैले सुने अनुसार मणिपाल उपचार लिन मानेन भन्दा पनि गण्डकी अस्पतालमा पठाईं सकेपछि उहाँहरु गण्डकी अस्पतालमा आउनु भयो । पछि, बुझ्दा इमर्जेन्सीमा पनि राखिएको बुझियो । सिरियस केस होइन भन्ने कुरा पनि आएको थियो । बिहान चौतारामा बसेको बेलामा मिडियाकर्मी साथीहरु पुग्नुभयो । घटना बाहिर आयो । मलाई पनि फोन आएको थियो । ८ बज्नुअघि नै यो घटना भयो ।
मलाई लाग्छ, ८ बजेभन्दा अघि सिरियस केस बाहेक स्वास्थ्यर्मीहरु सबै आउँदैनन् । कोरोना टेष्ट गराउने भनेपछि स्वभाविक रुपमा आतंकित हुन्छन् नै । कोरोना लागेको भए आफ्नै प्रियजन त टाढा हुने अवस्था छ भने स्वास्थ्यर्मीहरु नआत्तिने कुरै भएन । तर, बाहिर ठूलै इस्यू बनाइयो । पछि, घटनाबारे बुझियो । कोरोना जाँच गर्दा नेगेटिभ आयो । सबै नर्मल थियो । ज्वरो नाप्दा पनि ज्वरो पनि त्यति धेरै थिएन । सामान्य ज्वरो आएकाले पछि बाल वार्डमा भर्ना गरिएको थियो । त्यो भन्दाअघि तनहूँको केस पनि आएको थियो ।
अहिले आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका छन् । हामीले पनि के भनेका छौँ भन्दा, ‘एकदमै सिरियस बाहेक अरु नआउनू ।’ चिकित्सकको सहयोग घरमै बसेर लिनुस् भनेर फोन नम्बर पनि उपलब्ध गराएका छौँ । समयको तालमेल मिल्न नसक्दा, सबै आतंकित भइरहेको अवस्थामा त्यो घटना घट्न पुग्यो । अहिले त अलि सामान्य भयो । कोरोना भनेपछि आतंकित अलि बढी नै हुने समय पनि प¥यो । त्यसैले पनि गलत बुझाई भयो ।
मन्त्रीज्यू, अर्को कुरा, मुख्यमन्त्रीले केही समयअघि यो महामारीकै कारण संघीयताको औचित्य साबित भयो भनेर भन्नुभएको थियो । तपाईंहरुले आफ्नो औचित्य साबित गर्न विभिन्न राहतका कार्यक्रमहरु पनि ल्याउनु भएको छ । स्थानीय तहको अभिभावक पनि हो, प्रदेश सरकार । तर, महानगरले दिएको पीपीई तपाईंहरुले लिनुभयो । यसले त प्रदेश सरकार सामाथ्र्यहीन रै’छ जस्तो भएन र !
सरकारलाई पैसाको अभाव छैन । यसको अर्थ भनेको सरकारले आफ्नो बजेटबाट मात्रै सबै कुरा व्यवस्थापन गर्छ भन्ने पनि होइन । यो अन्तर्राष्ट्रिय विपत्ति हो । यो विपत्तिमा नीजि क्षेत्रलाई पनि सहभागी बनाउनुपर्छ । उनीहरुको सहयोग पनि हामीले लिनुपर्छ । सबै अंगको सहयोग, परिचालन हामीले गर्नुपर्छ भनेर हामीले नीति बनाएका हौँ ।
राज्यको एउटा मात्रै अंगले लड्ने लडाईं रहेन, यो । त्यसैले सबै अंगप्रत्यङ्ग व्यक्तिको सहभागितामा, कसैले मैले सहयोग गर्छु भन्यो भने त्यो सहयोग हामीले इन्कार गर्नु हुँदैन भनेर नै जोडिएका कुराहरु हुन् । केन्द्रिकृत मानसिकता लिएर कसैले सहयोग गर्छु भन्यो भने इन्कार गर्ने कुरा आउँदैन ।
पीपीई अहिले धेरै ठाउँमा आवश्यक पनि छ । हाम्रोमा उत्पादन हुँदैन । कसैले सहयोग गर्छु भन्यो भने सहयोग नलिने कुरा पनि भएन । माथिबाट प्रोटोकल पनि छुट्याइएको छ । बढी मात्रामा पीपिई डेडिकेटड अस्पतालमा नै आवश्यक हुन्छ । प्रदेशले डेडिकेटेड अस्पताल सञ्चालन गर्ने भनिएको छ । स्थानीय तहलाई क्वारेन्टाइन भन्ने छ । स्थानीय तहलाई सामान्य पीपीईले पनि पुग्ला । अरु, पीपीई भनेको डेडिकेटेड अस्पतालमा स्वाब संकलन गर्न, स्वाब संकलन गर्न । परिक्षण गर्न, आइसोलेसनमा राख्न पनि चाहिन्छ । पोखरा महानगरले प्रदेशलाई पीपीई दियो । प्रदेशले पनि त्यसलाई सहज ढंगले स्वीकार ग¥यो । स्थानीय तहले गरेको सहयोग हामीले लिनै हुन्न भन्ने पनि होइन ।
संघीय सरकारको भूमिकालाई कसरी मुल्यांकन गुर्नुहुन्छ ? सोचे जति सहयोग नभएको हो कि ?
संघले गरिरहेकै छ नि । प्रोटोकल नै निर्माण गरेका छौँ । त्यसलाई व्यवस्थित ढंगले अघि बढाउन कार्यविधि, नीति बनाएका छौं । संघले आवश्यक परेको बेलामा सहयोग पनि गरिरहेको छ । जुन जिम्मेवारी केन्द्रले निभाउनुपथ्र्यो, त्यो निभाई रहेको छ ।
केन्द्रिकृत भएको भए हामीले धेरै अप्ठ्याराहरु झेल्नु पथ्र्यो होला । सबै कुरा माथि नै ताक्नुपथ्र्यो होला । आफ्नो ढंगले व्यवस्थापन गर्न सक्छौँ, गरिरहेका छौँ । यो अभियानमा सबै राज्यको अंग परिचालित भइरहेको छ ।
लकडाउन लम्बिरहेको छ । जसरी संक्रमितको संख्या बढिरहेको छ । त्यो हिसाबले हेर्दा लकडाउन लम्बाउनु पनि पर्छ । तर, सधैँ लकडाउन लगाएर मात्रै पनि सम्भव त छैन । राहत मात्रै बाँडेर पनि सम्भव छैन । अबको हाम्रो बाटो चाहिँ कस्तो हुन्छ ? यो चोटबाट गण्डकी प्रदेश कसरी माथि उठ्छ ?
लकडाउनले पहिलो कुरा त आर्थिक रुपमा असर पारिरहेको छ । विश्व नै लकडाउनमा छ । सबैलाई थाहा भएकै कुरा हो । विश्व अर्थतन्त्रमा नै यसले गम्भिर असर पारेको छ , पार्नेछ । त्यसको लागि बहस पनि चलिरहेको छ । सबैका चिन्ताको विषय पनि हो यो । महामारीबाट उठेर विश्व कतातिर जाला ? कसरी अघि बढ्ला भनेर छलफल चलिरहेकै छ । हामीले पनि छलफल गरि रहेका छौँ । यो महामारीले कुन कुन क्षेत्रमा असर पार्छ ? आगमी बजेट कस्तो बनाउनेर खाका पनि हामीले. तयार पारिसकेका छौँ ।
अहिले नै हामी लकडाउन हटाउन सक्ने अवस्थामा छैनौँ । यो सरुवा रोग रोकथाम गर्ने सबैभन्दा गतिलो उपाय भनेको लकडाउन नै हो । बाहिरको अवस्था जतिबेलासम्म सामान्य हुँदैन । जतिबेलासम्म यसको संक्रमण नियन्त्रणमा आउँदैन विश्व नै लकडाउनमा हुनेछ । स्वभाविक रुपमा हामी पनि लकडाउन मै हुनेछौं । भोलि गएर बाहिर जस्तो महामारी फैलियो भने हामी कहाँ सामान्य अस्पताल पनि छैनन् भनौँ न । डेडिकेटड भनिएका अस्पतालमा पनि सय डेढ सयका आइयियू छन् । बेडैका कुरा गर्ने हो भने १ हजार भन्दा बढी नहोलान् । बाहिरको कुरा सुन्दा हजारौँ हजार आइयिसूमा राख्नुपर्ने अवस्था छ । त्यसकाण हामीले लकडाउनलाई नै प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो रणनीति हो । आफैं सजग बनेर यो महामारी हटाउनुपर्छ भन्ने नै हो । बिस्तारै यो महामारी हट्छ ।





