काठमाडौं, १० जेठ– नेपालमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार शनिबार बिहान थपिएका ३२ जनासँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा थप ३२ जना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार, कपिलवस्तुको बाणगंगा नगरपालिकाका आठ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना, बाराको करैबामाइ गाउँपालिकाका एक जना, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा आठ जना, चितवनको भरपुर ६ मा एक जना र काठमाडौंमा एकजना नयाँ संक्रमित पहिचान भएको हो ।





