मन्त्रिपरिषद् बैठकले आन्तरिक तथा बाह्य हवाई उडान पनि असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले यस्तो निर्णय लिएको हो । सरकारले पछिल्लो पटक गत ४ जेठको निर्णयानुसार यही जेठ २० गतेसम्मका लागि लकडाउन थपेको थियो। लकडाउनको सुरुमा कोरोना संक्रमित कम थिए। तर लकडाउन लम्बिँदै जाँदा भारतबाट आएका नागरिकसँगै कोरोना पनि तीव्र गतिमा फैलिन थालेको छ । शनिबार मात्रै देशभर कीर्तीमानी २०८ जना नयाँ संक्रमित भेटिएका छन् ।
आजको मन्त्रिपरिषद् बैठकले लकडाउनका कारण तेस्रो देशमा अड्किएका नेपालीहरुलाई ल्याउने कार्यविधि पनि पास गरेको छ । यो कार्यविधि पास गरेसँगै अब तेस्रो देशबाट नेपालीलाई उद्धार गरेर ल्याउने बाटो खुलेको छ ।
यसअघि शुक्रबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले विदेशमा अड्किएका नेपालीलाई प्राथिमकताका आधारमा अर्को सातादेखि जहाज पठाएर ल्याउने निर्णय लिएको थियो । उक्त कामका लागि आवश्यक कार्यविधि शनिबारको मन्त्रिपरिषद्मा पेश गरिएको थियो ।
सरकारले अब तेस्रो देशबाट दूतावासमा नाम दर्ता भएका आधारमा नेपालीलाई आवश्यकता अनुसार ल्याउने भएको छ । तर उनीहरुलाई ल्याएर काठमाडौंका होटलमा कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।