लकडाउन अलि खुकुलो भएको थियो पोखरामा । तर लकडाउनले उनलाई छोएको छैन । उनी व्यस्तै छिन् आफ्नो दैनिकीमा । फरक छ उनको दैनिकी । उनले गर्दै आएका कामहरुका बारेमा धेरै सुनेको थिए मैले । पोखरामा सडक कुकुरहरुको उद्धार, उपचार र खाना व्यवस्थाका लागि उनी र उनको संस्था लागिपरेका छन् । एकपटक उनलाई भेट्ने कौतुहलता जाग्यो मनमा । उनलाई भेट्न हामी उनकै घरसम्म पुग्यौं, लेकसाइड । घरबाहिर हामीलाई स्वागत गर्न उनीसँगै दुई वटा कुकुरहरु पुच्छर हल्लाउँदै आइपुगे । दुवैले घरसम्म पु¥याए हामीलाई । फरक थियो दुवैको कथा । दुवैलाई उद्धार गरेर आफ्नै परिवारको सदस्य बनाएकी थिइन उनले । दुवैलाई आफैलाई भन्दा बढी माया गर्छिन् उनी । सडक कुकुरको उपचार, उद्धार अनि व्यवस्थापनमा लामो समय लागेर कुकुरसँग फरक नाता गाँसेकी उनै हुन् अन्जनी गुरुङ ।
पहिलो कुकुरको नाम ह्वाइटी । उज्यालो सेतो रङको भुत्ला । अनि भुक्क र नरम परेको पुच्छर । तर यसको पछाडिको देब्रे खुट्टा भने छैन । दुई वर्ष अघि बाग्लुङ बसपार्कमा गाडीले हानिदिएछ यसलाई । पछाडिको देब्रे खुट्टाको हड्डी नै बाहिर निस्किएछ । कसैले उनलाई फोन गरेछन् उद्धारको लागि । उनले काम गर्ने संस्थामा ल्याएर कुकुरको उपचार त भयो तर पछि खुट्टा काटेर फाल्नु पर्ने भयो । केही हप्ता लगाएर कुकुर निको भयो । संस्थामा कुकुर राख्ने ठाउँ थिएन । उनले एक दिन घरमै राख्छु भनेर लगेर गइन् । त्यस कुकुरसँगको माया यति प्रगाढ भयो कि आज दुई वर्षसम्म उनीसँगै घरमै बस्छन् । कतै जाँदा उनकै अघिअघि हुन्छ ह्वाइटी । दोस्रो कुकुरको नाम ‘जिम्मी’ । काठमाडौं घर भएका साथीकोमा धेरै बच्चाहरु जन्मिएछ कुकुरको । पाल्न गाह्रो भएकाले उनले पोखरा (घर) ल्याए । करिब चार वर्षदेखि उनीसँगै छ जिम्मी ।
उनी काम गर्ने संस्था हो हार्ट । अर्थात हिमालयन एनिमल रेस्क्यू ट्रस्ट । सन् २०१० देखि निरन्तर सडकमा छाडा छोडिएका कुकुरहरुको उद्धार, त्यसको बन्ध्याकरण, रेबिज विरुद्धको खोप लगाउने अभियान र चोटपटक लागेका कुकुरहरुको उपचारमा लागि परेको बिना नाफामुलक संस्था हो हार्ट । यस संस्थाले हालसम्म ८६ सय भन्दा बढी कुकुरहरुको रेबिज विरुद्धको खोप, ३५ सय भन्दा बढी कुकुरको बन्ध्याकरण, १४ सय भन्दा बढी कुकुरको उद्धार र उपचारका साथै १५ सय भन्दा बढी रेबिज बारे जनचेतनामुलक कार्यक्रमको आयोजना गरिसकेका छन् । कुकुरको मात्र नभई बिरालोको पनि यस्तै कार्यहरु गर्दै आइरहेको छ संस्थाले । उनी यसै संस्थामा करिब चार वर्ष अघि देखि आवद्ध छिन् ।
कसरी तपाई यस संस्थामा लाग्नुभयो भन्दा बिगतलाई सम्झँदै उनले भनिन्, ‘म स्कुल पढ्दा एक पटक मैले नगरपालिका कार्यालय अगाडि एउटा घाइते गाई देखेकी थिए । सम्बन्धित सरकारी निकायलाई खबर गर्दा जिम्मेवारबाट पन्छिन खोजेको थियो । मैले हार्ट संस्थाको बारेमा कहीकतै सुनेको थिए । पछि संस्थालाई फोन गर्दा त्यस गाईको उपचार पश्चात उद्धार पनि भएको थियो । त्यसपछि मलाई यस संस्थामा लाग्ने इच्छा अझ तीव्र रुपमा बढेको थियो ।’ ब्याचलर इन साइन्स पढे पश्चात उनी यसै संस्थामा कम्युनिकेशन अफिसरको रुपमा काम गर्दै आएकी छिन् ।
कास्की, झापा, इलाम लगायत १० भन्दा बढी जिल्लाहरुमा यस संस्थाले विभिन्न कार्यहरु गर्र्दै आएको छ । उनी पनि विभिन्न जिल्लाहरुमा छाडा कुकुरहरुको बन्ध्याकरण, रेबिज विरुद्धको खोप कार्यक्रम लगायत जनचेतनामुलक कार्यक्रमका लागि पुग्छिन् । हरेक वर्ष रेबिजले मात्र नेपालमा २०० भन्दा बढी मानिसहरुको ज्यान जाने कुरा बताउँदै उनले भनिन्, ‘त्यसैले हाम्रो संस्थाले पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम गर्दै आएको छ । यति मात्र नभएर विभिन्न जिल्लाहरु पुग्दा त्यस ठाउँको नगरपालिकाको आधा सहयोग र बाकीँ हाम्रो संस्थाले खर्च बेहोर्दै आएको छ ।’
यस्तै कार्यक्रम कै शिलशिलामा विभिन्न ठाउँमा पुग्दाँको एउटा घटना सुनाउँदै उनले भनिन्, ‘हामी कास्कीको नौडाँडा नजिकैको एउटा गाउँमा रेबिज विरुद्धको खोप साथै बिरामी कुकुरहरुको उपचार गर्ने कार्यक्रमका लागि पुगेका थियौं । सबैले ५ सय रुपैयाँ ल्याएर आएका रहेछन् । प्रत्येक कुकुरको खोप खर्च हामीले मात्र एक सय रुपैयाँ लाग्ने भन्दा उनीहरु आश्चर्य चकित भए । पत्याएनन् पनि । औषधीको सट्टा पानी पो हाल्यौ भन्न समेत भ्याए । पछि खुसी भएर उनीहरुले हामीलाई त्यहाँको साग कोसेली पोको पारिदिएका थिए ।’
कोरोना कहरले नेपालमा लकडाउन सुरु भए पछि उनी निरन्तर यस्तै कार्यहरुमा लागिरहिन् । ठाउँ ठाउँबाट कुकुरको उपचार र उद्धारको लागि उनलाई फोन र म्यासेज आइरहन्थ्यो । सुरुमा सरकारले भेट्नेरी सेवालाई अत्यावश्यक सेवामा नराखेपछि केही समस्या भने भएको उनी सुनाउँछन् । तर पछि सरकारले यसलाई पनि अत्यावाश्यक सेवामा राखेपछि हामीलाई धेरै सहज भयो, उनले थपिन्, ‘यस्तो समयमा हामी सबै ठाउँमा पुग्न सक्ने कुरा पनि भएन । उनीहरुलाई नै हामी भएको ठाउँमा आउन भनिदिन्थ्यौं । कतिलाई त फोन मार्फत नै समस्या बुझेर उपचारको विधि पनि सिकाइदिन्थ्यौं । हामी कर्मचारीहरु आ–आफ्नो वरपर ठाउँलाई कार्य क्षेत्रको रुपमा विभाजन गरेर त्यहाँ आइपर्ने समस्याहरु सुल्झाउने प्रयास गर्यौ ।’ यता कोरोना महामारी कै बेला कुकुर र बिरालोबाट कोरोना सर्छ भन्ने हल्ला सुनेपछि सबैले डराएर उनलाई फोन गर्थे । पछि अनुसन्धान अनुसार मानिसमा लाग्ने कोरोना भाइरस कुकुर र बिरालोमा नसर्ने र उनीहरु अरुलाई यस भाइरस सार्ने माध्यन नरहेको तथ्य बाहिर आएपछि उनले चैनको सास फेरेकी थिइन् ।
कोरोना कहरले उनी र उनको संस्थाको धेरै कार्यमा अवरोध पु¥याएको छ । निर्माणधीन कार्यालयको काम रोकिएको छ । पोखरा महानगरपालिकाको वडा नं १५, १६ र १७ मा वार्षिक रुपमा गरिने रेबिज विरुद्धको खोप कार्यक्रम सम्पन्न हुन सकेन । विभिन्न विद्यालयमा आयोजन गर्ने भनिएको जनचेतनामुलक कार्यक्रमहरु पनि अनिश्चितकालको लागि स्थगित भएको छ । यसलाई अवस्था सामान्य भएपछि निरन्तरता दिने उनी बताउँछिन् ।
कास्की र झापा भद्रपुरमा यस संस्थाको कार्यालयहरु छन् । पोखरा १७ तितेपानीमा यसको नयाँ कार्यालय बन्दै छ । त्यहाँ कुकुर र बिरालो उपचारका लागि अस्पताल र छाडा कुकुरहरुका लागि बासस्थान पनि बन्दै छ । काठमाडौंमा मात्र विभिन्न तथ्यांक अनुसार ३० हजार भन्दा बढी छाडा कुकुरहरु भएपनि पोखरामा हालसम्म करिब ३ हजारको हाराहारीमा छाडा कुकुर रहेको उनी बताउँछिन् । त्यसैले त्यस्ता कुकुरहरुको संख्या वद्धि हुन नदिन नै वृहत बन्ध्याकरण जरुरत रहेको छ, उनले भनिन्, ‘हाम्रो संस्थाले हाल ‘लो कस्ट क्लनिक’ अर्थात कम पैसामा कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमहरु ल्याएको छ । हरेक कुकुरको जम्मा १५०० देखि २००० रुपैयाँ । यसमा केबल औषधी र बन्ध्याकरण गर्दाको खर्च जोडिएको हुन्छ । डाक्टरको खर्च स्वंय संस्थाले नै बेहोर्छ ।’ तर लाखौं पर्ने कुकुर पाल्ने मानिसहरु त्यति पैसा तिर्न हिच्किचाउँदा भने उनलाई दुःख लाग्छ ।
मानव अधिकार नै सुनिश्चित नभएको हाम्रो देशमा जनावरको हक अधिकार र नीतिनियम कमजोर रहेको छ । जनावरमा पनि मानिसहरु नाफामुलक जनावरजस्तै गाई, भैसी र बाख्रालाई मात्र प्राथमिकता दिदाँ दुखेसो पोख्दै उनले भनिन्, ‘अझै पनि कुकुर र बिरालाको उपचार, उद्धार र व्यवस्थापनको लागि प्रादेशिक रुपमा वा स्थानीय रुपमा बजेट विनियोजन भएको छैन । जुन एकदमै अपरिहार्य रहेको छ । उनीहरुको उपचार र उद्धारका साथै संरक्षणका लागि समेत नीतिनियम तर्जुमा गर्न जरुरत छ ।’
विदेशमा चाहिँ सडकमा छाडा छोडिएका कुकुरहरुलाई घरमा लगेर पाल्ने गर्दछन् तर नेपालमा भने त्यस्तो परिपाटीको विकास भएको छैन । यहाँ मानिसहरु जति महंगो कुकुर पाल्न सक्यो, त्यति सम्पन्नता आधारका रुपमा लिने बताउँदै उनले भनिन्, ‘सडक कुकुरको आक्रोशित व्यवहार अनि रुपले गर्दा मानिसहरु अनुशरण गर्न हिच्किचाउँछन् । सरकारी निकाय, स्थानीय र विभिन्न संघसंस्थाको संयुक्त प्रयासमा भने पक्कै त्यस्ता कुकुरहरुको व्यवस्थापन गर्न सकिन्छ ।’
यस संस्थामा आवद्ध भएपछि उनमा जनावरप्रतिको दृष्टिकोणमा परिवर्तन आएको छ । उनी कुकुर, बिरालो वा अन्य जनावरलाई औधी माया मात्र गर्दिनन्, अरुलाई पनि सिकाउँछन्, बुझाउँछन् । यस संस्थामा लामो समयसम्म काम गर्ने उनको योजना छ । बाकीँ जीवनमा पनि यस्तै कार्यमा लाग्ने उनी बताउँछिन् । कुराको बिट मार्दै उनले भनिन्, ‘कुकुरबाट हामीले धेरै सिक्न जरुरत छ । कुकुर जतिको इमान्दारी, बफदारी र कर्तव्यनिष्ठ मानिस बन्न सके यो संसार कस्तो हुन्थ्यो होला ?’





