मुलुकमा वैदिक ग्रन्थशास्त्र तथा पूर्वीय बाङ्मय र दर्शन हरूमा अार्श सभ्यतादेखि चल्दै अाएका संस्कृत साहित्य तथा नेपाली साहित्यमा अनुवाद गरिएका ऋषिमहर्षिहरूले उल्लेख गरेका बडाबडा वेद, पुराण महाभारत लगायत धेरै धर्मशास्त्रहरू छन् । ती प्राचीन वैदिककालदेखि उल्लेखित हुँदै अाएका ग्रन्थहरूमा कविता साहित्यमा छन्दको निक्कै उच्चस्थान रहेको पाइन्छ । प्राय ग्रन्थशास्त्रहरू जेजति छन् ती वेदबाटै प्रतिपादित भएको पाइन्छ । सामान्य किसिमले हेर्दा साहित्यमा गद्य र पद्य गरी विधा रहेको देखिन्छ । ती दुबै तर्फमा कविता लेखन रहे पनि पद्य नै कविताकाे पर्याय हाे । छन्द मौलाएर यत्रतत्र व्यापक हुनपुगेको वेदवेदाङ्ग, पुराण अादिबाटै हाे । छन्द वेदकाे पाउ नामकाे अङ्ग हाे ।
यसरी छन्द भनेको हिंडन सिकाउने, ज्ञानको बाटो, ज्ञानमार्ग हो । मनभित्रको भाव लय मिलाएर जतिपनि छन्दमै उल्लेख भएको पाइन्छ । वेदमा प्रयुक्त छन्दका नाम गायत्री ,त्रिष्टुप्, उष्णिक्, अनुष्टुप् अादि हुन् ।
वाल्मीकिले छन्दलाई लाैकिक पारेका थिए । नेपालीमा तिनै छन्द प्रयाेगकाे प्रयास उदयानन्द अर्यालबाट भएपनि भानुभक्त अाचार्यले रामायणमा प्रयाेग गरी विस्तार गरे भने लेखनाथ पाैडेलले परिमार्जन गरे ।
वि.सं. २०३६ पछि छन्द कवितामा शिथिलता अाई २०५० काे दशकारम्भसम्म मृतप्राय बन्न पुग्याे । ठीक त्यसै बेला अर्थात अाजभन्दा अाजभन्दा अढाई दशक अघि पश्चिम पोखराका एकजना कवि माधव वियोगी ले सो प्रसङ्गमा छन्दविधा हराउँदै गएको कुरालाई मध्यनजर गर्दै छन्द बचाऊँ अभियान लिएर एकल प्रयासमा अग्रसर भएर अनवरत लागेको चर्चा उतिबेलै सुनिन्थ्यो ।
वि.स.२०६४ सालमा भानुजयन्ती अाउन लागेको थियो म त्रिफला राष्ट्रिय पुस्तकालयमा पुस्तकालय विकाका सन्दर्भमा व्यस्त थिएँ । त्यै बखतमा लम्जुङ्को लक्ष्मी नारायण पुस्कालयबाट भानुजयन्ती कार्यक्रममा अामन्न्त्रण भयो । म गएँ ।
उक्त भानुजयन्तीमा छन्द बचाऊँ कार्यक्रम र पुष्पलता अाचार्यको सम्मान सहित स्थानीय विद्यालय एवम् पुस्तकालयमा दुई दिवसीय कार्यक्रम सम्पन्न भए । जहाँ छन्द बचाऊँ अभियान-२०५३” का नायक तथा महाकवि माधव वियोगीको प्रमुखअातिथ्यता रहेकाे थियाे ।जहाँ स्थानीय छन्दवादी कविहरूबाट कविता वाचन तथा नारी हस्ताक्षर पुष्पलता अाचार्यको भव्य सम्मान समेत भयाे । विविध कार्यक्रमले गर्दा चारैतर्फ हर्सोल्लास छाएको थियो । उहाँले दुबै कार्यक्रममा अाफ्नाे उद्घाटन प्रवचनमा छन्दअभियानबारे यसाे भन्नुभएथ्याे -” छन्दलाई जीवनशैलीको रूपमा अबलम्बन गर्न लगाउने, छन्दलाई एकादेशको कथा हुन नदिने, ‘गद्य’ लाई कविता मान्ने प्रचलनको अन्त्य गर्ने, काव्यसंस्कृतिको रक्षा गर्ने, युवापुस्तालाई छन्दप्रति आकृष्ट गर्ने र शिष्ट एवं नैतिक तबरले कविता रच्नेतर्फ स्रष्टाहरूलाई सचेत पार्ने ‘छन्द बचाऊँ अभियान २०५३’ का प्रमुख उद्देश्य हुन् । म नेपाली कवितामा छन्दकाे प्रयाेगलाई पुरानै अपस्थामा नल्याई अान्दाेलनबाट विश्राम लिने छैनँ । उद्देश्य पूरा गर्नका निम्ति आध्यात्मिक ज्ञानसम्मत प्रवचन गर्ने, पाठ्यपुस्तकमा छन्दज्ञान सम्बन्धी रचना र छन्दका कविता अधिकतम रूपमा समावेश गर्न तत्सम्बन्धी संघसंस्थालाई अनुरोध गर्ने, संस्कृति र काव्यसंस्कृतिको महत्वबारे सर्वसाधारणलाई समेत बोध गराउने, छन्दको नाममा संस्था खोल्ने, छन्द जोडेर व्यक्ति, स्थान, पुल, बाटो, चौतारी, वन, घर आदि नामकरण गर्ने लगायतका कामहरू तीब्रताका साथ भइरहेका छन् । छन्दलाई कमसेकम व्यवहारमा प्रयाेग गर्नसके अनुशासित र सभ्य बन्न सकिन्छ । छन्द कविता लेख्ने सूत्र मात्र नभएर जीवनलाई उच्च पार्ने सूत्र पनि हाे । “उहाँकाे लामाे प्रवचन छन्द प्रशिक्षण नै बनेकाे थियाे । उहाँले त्यहाँका साहित्यकारसँग अन्तर्क्रिया पनि गर्नुभएकाे थियाे । मेचीकै प्रतिनिधित्व गर्दै त्यहाँ पुगेर दुवै दिनका सम्पूर्ण कार्यक्रममा अातिथ्यता गर्न र छन्दसाधक वियाेगीका छान्दिक गतिविधिबारे जानकारी लिन पाएर अाफू र अाफ्नो संस्था त्रिफला राष्ट्रिय पुस्तकालयाई ठूलै लाभ भएको महसूस भयो । त्यति मात्र नभएर सो सभाका प्रमुख अतिथि , छन्द बचाऊँ अभियानका अभियन्ता तथा महाकवि माधव वियोगीज्यूले मलाई त्यही सभामै भन्नुभो “फलाहारी”बाबा अबको यात्रा पोखरासम्मको छन्द साहित्यिकयात्रा हुनेछ जानुपर्छ “। ” म एउटा योगी तपाईं वियोगी जाउँला नि ” भन्ने जवाफ तुरून्तै दिएथें मैले । दोश्रोदिनको कार्यक्रम सम्पन्न हुनासाथ हामी माधव वियोगी, म प्रेमप्रकाश “फलाहारी” र पुष्पलता अाचार्य तथा उहाँकी अामा देवी न्यौपाने लगायत चारपाँचजनाको यात्रा पाेखरातर्फ हानियाे । साहित्यकै सन्दर्भमा चर्चा परिचर्चा गर्दै मीठा कुरा र मीठा फल ग्रहण गर्दै मनमोहक साहित्यिक यात्राका साथ माधव वियोगीज्यूको छन्दनिवास पोखरा पुग्यौं । उहाँको सारा उर्जा छन्दमै एकाग्र भएर होमिएको देखियो । उहाँ की छोरीको नाम छन्दिका , जुवाई छन्दमणि , घरको नाम समेत छन्दनिवास उहाँ छन्दअभियन्ता, उहाँले त संसारै छन्दमय देख्नु हुँदोरहेछ । त्यो साझ हामी सबै छन्दनिवासमै बस्यौं । उहाँकी धर्म पत्नी छन्द माताजीले छन्द पुर्याएर बनाएको खाना खायौं । रंङ्गविरङ्गका मीठा मीठा कविता छन्दमै सुन्यौं । त्यो बखत माधवजीले मलाई भन्नुभो- “टोल टोल र विद्यालय हुँदै जहाकहीँ छन्दबचाऊँ अभियानलाई व्यापकता गराउने यात्रामा छु । पुर्वाञ्चलमा तपाईले हर कवि र कवयित्रीसम्म पुर्याउनु पर्यो,छन्द सबैकाे हाे, मैले त बाटाे देखाएकाे मात्रै हुँ ” । मैलै स्वीकारोक्ति प्रदान गरेथें । १२ बजेराती सम्म हाम्रा साहित्यिक चर्चाहरू उर्लिएकाथिए । मैलेपनि कविता सुनाए त्यो रात हामी छन्दमै निदायौं । स्वप्ना पनि छन्दकै देखियो ।
त्यो रमाइलो साहित्यिक यात्रामा माधव वियोगीजीले भोलिपल्ट बिहानभन्नुभएको थियो-” मैले वर्षमा एउटा महाकाव्य लेख्ने सङ्कल्प गरेको छु ,याे महाकाव्यकाे युग हाे भन्ने म देखाएरै छाड्ने छु ,छन्दका धेरै महाकाव्य लेखिए भने छन्दलाई बँचाउन सकिन्छ । अब महाकाव्य लेख्न पनि प्रशिक्षण दिने तयारीमा पनि छु ।”। उहाँले अाफ्ना प्रकाशित महाकाव्यका ठेलीका विषयबारे हामीलाई बाेध समेत गराउनुभयाे । छन्दकेशर, छन्द बचाऊ अभियान र महनकाव्यलेखन अभियानकाका घाेषणापत्र र अन्य कृति अथवा छन्दज्ञान गराउने उहाँका धेरै रचनाहरू उहाँले हाम्रो त्रिफला राष्ट्रिय पुस्तकालयलाई प्रदान गर्नुभयो । माधव वियोगीको नाम छन्द अभियन्ताका रूपमा सुनेकाे अवस्थामा अचानक भेट भई त्यति धेरै विषय बाेध गर्न पाउँदा अफू शाैभाग्यशाली भएकाे महसूस अद्यापि गरी रहेछु । उहाँले पाेखराका देवस्थलहरू र दुर्लभ तथा महत्वपूर्ण पर्यटकीय स्थानहरू भ्रमण अवलोकन गराएर हामीलाई सम्मान पूर्वक बिदाई दिनुहुँदा हाम्रा गहभरि हर्षका अश्रुधारा बहेका थिए । उहाँकाे नम्र,भद्र र शिष्ट तथा छान्दिक व्यवहार र छन्दप्रतिकाे निष्ठा मानसपटलमा अमीट छाप बनेकाे छ । त्यो छन्दनिवास तथा परिवारजनबाट हामीप्रति गरेको श्रद्धाभाव अविस्मरणीय रही रहनेछ ।
देशका गाउँगाउँ र जिल्ला जिल्लामा छन्द प्रशिक्षण गराउँदै
कविता साहित्यमा अढाई दशकदेखि उहाँ खटेकाले नै अाज छन्द पुनर्स्थापित भएकाे छ ,बाँचेकाे छ । त्यति मात्र हैन छन्द विश्वभरिका नेपाली बस्तीमा अाेजपूर्ण बनेकाे छ । छन्दका कृति प्रकाशित भइरहेका छन्, सामाजिक सन्जाल हेर्दा फेसबुक र यूट्युवहरूमा छन्द कविताका अावाजकाे बाहुल्यता छ । यता छन्द उता छन्द चारै दिशा छन्द छ,त्यससँग जाेडिएकाे नाम माधव वियाेगी नै पाइन्छ । एक व्यक्तिले देशका लागि यति धेरै दिन सक्दाे रहेछ ।
उहाँको अभियान मौलाउँदै जाँदा स्थानीय विद्या लयका शिक्षक विद्यार्थीहरूले उहाँलाई पर देख्ने बितिकै छन्दसर, छन्दगुरु भनेर खुसी व्यक्त गर्न थालेको प्रसङ्ग सुनियो । ठीकै हो कामअनुसारको नाम यहाँ मात्र नभै सबै ठाउँमा सुन्दर बन्छ । र त्यसलाई कर्मको फल संझेर स्वीकार्नु र गौरवान्वित हुनुपर्दछ ।
वेदका ६ वटा अङ्गमध्ये पाउ एउटाअङ्ग मानिन्छ जस्तै “छन्द पादौ च वेदस्य” । विश्वका सबै ग्रन्थ शास्त्त्रमध्ये मूलग्रन्थ वेदलाई नै पाउका रूपमा मनिएको छ । वेद रूपी ईश्वरका गोडालाई चाहिँ छन्द भनिएको छ । हिंड्न चल्न सिकाउने पाद भनेको गोडा हो , हिंडन नजान्नेलाई कस्तो छन्द न बन्धको हिंडाइ भन्छन् ? नर्तकीहरूलाई नाच्ने बेलामा पनि छन्द कै सन्दर्भ चाहिन्छ । हो त्यसैले हर बखत खाँदा, हिंड्दा र बोल्दा पनि अलि मिलेन भने कस्तो छन्द न बन्धको बाेली र हिडाइ र खुवाइ भनिन्छ । त्यसकारण वेदमाता समान मानिएको छन्दशास्त्र लाई अनन्त कालसम्म जोगाएर राख्नु पर्दछ । उहाँलाई वियोगी भन्दाभन्दै छन्दका फाँटमा एउटा नेपालकै योगीतुल्य बन्नु भएको छ । उहाँ छन्दयाेगी हुनुहुन्छ । अन्य क्षेत्रका याेगीभन्दा माधव वियाेगीकाे छन्दसाधना र तपस्या कम छैन । छन्दकाे पुनर्जागरण गराउने छन्द बचाऊँ अभियान मुलुकमा मौलाएर अाएको छ । छन्दवादीदी नर -नारीहरू छन्द लेखन र गायनमा अनवरत लागेको हामी सबैका नजरमा छुपेको छैन ।
उहाँले चालेको अभियान चारैतिर उर्बर भएर झांगिदै अाएको छ । नेपालको पुर्व दिशामा त झन् धेरै कवि कवयित्रीहरूको रुची छन्दमा वृद्धि हुँदै अाएको पाइन्छ । नामै लिनुपर्दा पुराना स्रष्टा रोहिणीविलास लुईंटेल बुद्धि घिमिरे, कोमलप्रसाद पोखरेल, केशवराज खनाल दर्जनौ र नयाँ र जल्दा बल्दा छन्दवादी कविहरू हरिप्रसाद रिमाल, जीवनहरि शर्मा, दुश्यन्त भट्टराई जस्ता दर्जनौं कविहरू अाफ्नै तरीकाले अहोरात्र सो विधामा दत्तचित्त भएर लागेका छन् । छन्द गायनतर्फ पनि नारीहस्ताक्षरहरू अहिले देशविदेशमै मौलाएर अाएको देखिन्छ । भन्नैपर्दा सरू गुरागाई ,सरू बस्नेत लगायत लेखन र गायनकलामा अगाडि देखिएका छन् । यसरी मोरङ्ग सुन्सरी, धनकुटा, इलाम र झापा लगायत सिमापारी दार्जेलिङ्, सिक्किम लगातका भुगोलमा छन्द ज्यादै नै उर्बर मात्र होइन अब कहिल्यै नघट्ने गरी उर्लिएर अगाडि बढेको छ । यहाँ मोती समस्यापूर्ति, मोती छन्दकला छन्दचौतारी अादि नामका थुप्रै कार्यक्रम सन्चालित हुँदै अाई रहेका छन् । सबैमा छन्द बचाऊँ अभियननकाे प्रभाव पाइन्छ ।
छन्दलाई पुनर्जागृत र विश्वव्यापीकरण गराउने अभियन्ता माधव वियाेगीलाई छन्दशिरोमणि, छन्दनाक, महाकवि लगायतका अत्यन्त सान्दर्भिक उपाधि संघसंस्थाबाट दिएको छ यसमा हामी सहमत हुँदै बधाई दिन्छौं ।
(त्रिफला राष्ट्रिय पुस्तकालय, केन्द्रीय कार्यालय, झापा)





