बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

छन्दको सेरोफेरोमा छन्द बचाउ अभियान

छन्दको सेरोफेरोमा छन्द बचाउ अभियान


  • टीका आत्रेय
  • असार ३० २०७७, मंगलबार

पृष्ठभूमि
कविता मानव चेतनाको सर्वोत्तम अभिव्यक्ति हो । यही कारणले पनि साहित्यका अन्य विधाभन्दा कवितामा बौद्धिक स्तर पनि उच्चकोटीको हुन्छ । इतिहासतर्फ फर्केर हेर्दा पनि युग परिवर्तनका प्रत्येक आयामहरुमा कविताले निर्णायक तहसम्म पुगेर आफ्नो शक्ति प्रदर्शन गरेको पाइन्छ । सामान्यतया संरचनाका आधारमा कविताहरु दुई प्रकारका हुन्छन् ः १. गद्य र २. पद्य । पद्य कविता नै छन्द कविता हो । दुबैखाले कवितामा निश्चित लयविधान हुन्छ । कला र विचार कविताका मूल तत्व हुन् । विचार र कलाबिनाको रचना काव्य बन्न सक्दैन । आ–आफ्नो नियमअनुसार लेखिएका कविता आ–आफ्नो ठाउँमा सशक्त हुने हुनाले एक अर्काको अस्तित्व स्वीकार्दै केवल कविताको विकासमा लाग्नु आजको आवश्यकता हो । जसका लागि एकअर्को छन्दप्रति आदरभाव र सम्मानको खाँचो पर्दछ ।
छन्द कवितामा नियमको कठोर परिधि हुन्छ जसको कारण छन्द कविता लेख्न छन्दको ज्ञान नभएको मानिसलाई गाह्रो पनि हुन्छ तर कविताको जन्मनासाथ गेयात्मक हुन्छ र मिठासपूर्ण हुन्छ । त्यही कारणले पनि लामो समयसम्म यसलाई सम्झिन सकिन्छ र प्रभाव पनि लामो हुन्छ । यो कोरोनाको विश्व महामारीको अवस्थामा देखिएको छन्द कविताको मोहले पनि यो कुरालाई पुष्टि गरेको छ ।
‘जब मात्रा, लय, गति तथा तुक आदिहरुको नियमसँग युक्त कुनै रचना हुन्छ, यस्तोलाई नै छन्द अथवा पद्य भनिन्छ’ –विकीपिडिया ।
हामी जुन समाजमा हुर्कियौं, कुनै न कुनै रूपमा छन्दसँग बाधिएर नै हुर्कियौं भलै हामीले त्यस्ता कुराहरुलाई छन्द भनेर जानेनौं छुट्याएनौं । अक्षर नदेखेका हाम्रा हजूरआमा र आमाका लोरी सुनेरै हामी भुसुक्क निदायौं, थाहै नपाई कविता वा गीतका सुरमा खानेकुरा खायौं, रमायौं, नाच्यौं, रोयौं र तर्सियौं पनि । प्रकृतिका सबै सबै गतिविधि छन्दकै नियमित प्रकृया हुन् भन्नमा दुई मत नहोला ।
छन्द कविताको ऐतिहासिक पृष्ठभूमि
छन्द लेखनको विकासक्रमलाई हेर्दा ऋगवेदबाट भएको पाइन्छ । यसमा भएका श्लोक तथा मन्त्रहरू छन्दका लागि गुरु नै हुन् । वैदिकपछि लौकिक छन्दको लोकप्रियतासँगै छन्दले मौलाउँने मौका पायो । नेपाली जनजिब्रोमा छन्दको स्वाद भानुभक्तको रामायणले पस्किएसँगै घरघरमा रामायण सुन्ने सुनाउने गरियो र लोकप्रिय बनाइयो । अहिलेसम्म पनि रामायणलाई उत्तिकै महत्वपूर्ण ग्रन्थको रूपमा रामायणलाई लिइन्छ । सायद रामायणकै प्रभाव हुनुपर्छ नेपाली छन्द लेखनमा शार्दुलविक्रीडित छन्दको प्रभाव अन्य छन्दकोभन्दा फराकिलो छ ।
भानुभक्तले व्यक्तिगत रूपले नेपालीमा रामायण लेखे तथापि यसलाई संस्थागत बनाउने काम चाहिं मोतीराम भट्टले गरेका हुन् । मोतीराम भट्टले मोती मण्डली बनाएसँगै छन्द कविताको संस्थागत बिकास प्रारम्भ भएको हो । ‘मोतीराम भट्टले वनारस र काठमाडौमा फरक फरक समूह बनाएर मोती मण्डली तयार गरी संस्थागत रूपमा उनबाट भएको कृत्य अभूतपूर्व छ’ –पहिलो पोष्ट डटकम, १३ असार २०७७, कोषराज न्यौपाने ।
छन्द कविता मन्त्र, वीररस, भक्तिरस हुँदै आधुनिक अवश्थामा आइपुगेको हो । यसको आधुनिक पिकासका योद्धाहरु चाहिँ अथवा छन्द कविताका हस्तीहरू लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, सोमनाथ सिग्देल हुन् । छन्दमा बिद्रोही कविता लेख्ने युद्धप्रसाद मिश्र र सिद्धिचरण श्रेष्ठले छन्द कवितामा नयाँ धार ल्याएको पाइन्छ । वि.सं. १९९१ मा शारदा पत्रिकाको उदयसँगै छन्द कविताको व्यापकता बढ्दै गएको पाइन्छ । नेपाली साहित्य फाँटमा त्यस बखत उदाएको मुनामदन अहिलेसम्म पनि उत्तिकै लोकप्रिय छ । त्यस्तै गरी आधुनिक छन्द कवितालाई सशक्त बनाउँने कार्यमा माधव घिमिरेको साहित्यिक उदयले महत्वपूर्ण स्थान ग्रहण गर्यो । यसरी रफ्तारमा उडान भरिरहेको छन्द कविता देवकोटाको भौतिक अवसानसँगै लामो समय ओझेल परेर गयो र झण्डै शून्यको अवस्थामा पुग्यो । यसरी ओइलाएको छन्दलाई ब्युँताउने काम पचासको दशकबाट भएको पाइन्छ ।
छन्द कविताको पुर्नजागरण
छन्द कविताको पुनर्जागरणका लागि वि.सं. २०५३ सालमा छन्द अभियन्ता माधव वियोगीद्वारा छन्द बचाऊँ अभियानको प्रारम्भले महत्वपूर्ण र साहसिक भूमिका निर्वाह गरेको छ । छन्द बचाऊँ अभियानको केही समयपछि त्यही वर्ष छन्द विकासकै लागि रमेश खकुरेलको नेतृत्वमा कोकगोष्ठी सञ्चालनमा आएको पाइन्छ, यो कोकगोष्ठी कार्यक्रम अहिलेसम्म निरन्तर चलिरहेको छ । छन्द प्राय ः शून्य भइसकेको अवथामा र गद्य कवितामात्र कविताको झण्डै एकाधिकार भएको तत्कालिन अवस्थामा छन्द बचाऊँ अभियान घोषणा गर्नु एक क्रान्तिकारी कदम नै थियो । घोषणापत्रसहित छन्द बचाऊँ अभियानमा होमिएका वियोगी यो कार्यक्रमको व्यापकताका लागि विभिन्न ठाउँमा पुगेर छन्द कविता लेख्न सिकाउदै हिँडेका थिए । आफ्नो पेशा प्राध्यापन भएकोले पनि विद्यार्थीहरूमा छन्द कविता लेख्न सिकाउने र वाचन गर्न सिकाउने उनको कार्यतालिकानै बन्यो । विभिन्न ठाउँमा छन्द सिकाउँदै हिड्दा यसको व्यापकता पनि बढ्दै गयो । उनको छन्दको प्रभाव नेपालमा मात्र सीमित नभई भारतका विभिन्न ठाउँमा पुग्यो र छन्दको महत्व महसुस गर्न थालियो । छन्द प्रशिक्षण दिने क्रममा विशेष गरी सुदूर पश्चिमका विभिन्न जिल्लाबाट मान्छेहरू एकै ठाउँमा भेला गराई छन्दको प्रवर्धन गर्ने कार्य गरेको पाइन्छ । छन्द कविताको अभियानलाई संस्थागत गर्ने कार्यका लागि वियोगीकै पहलमा छन्द प्रतिष्ठान खोली मनिराज जोशीको नेतृत्वमा छन्द सम्बन्धी काम भएको पाइन्छ । छन्दकै उत्थानका लागि लागि परेका वियोगीले धेरै सिकारूहरूलाई धेरै ठाउँमा छन्द लेखन र वाचनको प्रशिक्षण दिदैँ हिँडे । लगातारको लामो अभ्यासको परिणाम स्वरूप यो अभियान शुरू भएको दिनलाई छन्ददिवसको रूपमा मनाउन नेपाल सरकार पञ्चाङ्ग समितिले निर्णय गरेको छ र सोही अनुरूप छन्द दिवस मनाउँदै आइएको छ । अब पुरानो पुस्तामात्र होइन युवा पुस्ताका स्रष्टाहरूलाई छन्दप्रति आकृष्ट गर्ने र शिष्ट एवं नैतिक तवरले कविता रचना गर्न र वाचन गर्न सिकाउँदै लैजानु छन्द बचाऊँ अभियान २०५३ को मूल उद्देश्य हो । यही उद्देश्य पूरा गर्नका लागि पाठ्यपुस्तकमा छन्दज्ञान सम्बन्धी रचना र छन्दका कविता अधिकतम रूपमा समावेश गर्न तत्सम्बन्धी संघ संस्थालाई अनुरोध गर्ने, संसकृति र काव्यसंस्कृतिको महत्वबारे सर्वसाधारणलाई समेत बोध गराउँने लगायतका कामहरू तीब्रताका साथ भइरहेका छन् । छन्द बचाऊँ अभियानको लिखित अनुरोधका कारण यतिबेला पाठ्यपुस्तकहरूमा छन्दका रचनालाई प्राथमिकता दिइएको छ । त्यस्तैगरी छन्द कविताको स्तरोन्नतिका लागि छन्द प्रतिष्ठान, छन्दवादी समाज, छन्द बचाऊँ समिति गठन भई आ–आफ्नो क्षेत्रबाट सक्दो कार्य गरिरहेका छन् । छन्द बचाऊँ अभियानले आफ्नो यात्रालाई छन्द विश्व विद्यालयको स्थापनाको लक्ष्यसम्म लिएर अघि बढेको छ ।
छन्द पुर्नजागरणको अर्को अभियानमा रेडियो नेपाल र साहित्यिक कार्यक्रममा दाहाल यज्ञनिधिको बलियो पकड हुनु साथै नवराज लम्सालले यसलाई निरन्तरता दिनु छन्दका सम्झिनयोय अभियान हुन् । त्यस्तै गरी छन्दको स्तरीकरण र मानकीकरणका लागि नयाँ अभियान भन्ने व्यानरका साथ छन्द तरङ्गले तीनवटा पुस्ताका तीनजना कविलाई एउटै मञ्चमा उभ्याएर प्रत्येक महिनाको तेस्रो शुक्रबार आफ्नो कार्यक्रममार्फत छन्द जागरणलाई निरन्तरता दिँदै आएको छ । यसको नेतृत्व छन्द अभियन्ता डा. राम प्रसाद ज्ञवाली र डा. देवी नेपालले गर्दै आउनुभएको छ । छन्द कविताको अभ्यासका लागि प्रतिभा निकुञ्ज, छन्द चौतारीको भूमिका पनि महत्वपूर्ण छ वर्तमान अवश्थाका लागि । देशभित्रमात्र नभई देश बाहिरबाट पनि छन्द कविताको अभियानमा धेरैभन्दा धेरै कविहरू लागिपर्नुभएको छ । पछिल्लो समयमा त छन्द कविता लेख्ने कविहरूको संख्या ठूलो भइसकेको छ । संख्यात्मक मात्र हैन छन्द कवितामा गुणात्मकतामा पनि उत्तिकै सचेत छन् कविहरू । नेपाली माटोले नयाँ पुस्तामा अब्बल कविहरू जन्माएको छ । मेचीदेखि महाकालीसम्मका र वैदेशिक रोजारमा अलिकति समय निकालेर कविताका लागि समर्पित युवा कविहरुले छन्द कविताको बिकासमा महत्वपूर्ण योगदान रहन्छ । छन्द कवितामा काव्यिक चेतसहितका बेजोड कविताहरूको उपश्थिति र वाचनको विविधताले छन्द कविताको यो युग रसिलो र कसिलो रहेको पाइन्छ साथै आगामी दिनमा समेत छन्द कविताको उज्यालो फैलिरहने कुरामा दुईमत छैन ।
(इटहरी)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->