बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वीरबलको खिचडी !

वीरबलको खिचडी !


  • ढोरपाटन संबाददाता
  • साउन १० २०७७, शनिबार

एक दिन माघको महिनामा जाडो असाध्यै बढिरहेको थियो । यस्तै बेलामा अकबरले वीरबललाई भने,‘वीरबल रातभरी घाँटी घाँटी पानीमा पसी बिहानसूर्योदय हुने बेलामा कुण्डबाट निस्की, मेरा पासमा कोही आइ उभियो भने त्यसलाई म दश हजार रुपियाँ इनाम दिनेछु, कोही त्यस्तो साहसी मानिस छ भने हाजिर गराऊ !’
यो कुरा सुन्नेहरु कसैले पनि हिम्मत गर्न सकेनन, तर ,एउटा बृद्ध र दरिद्र ब्राह्मणले धनको लोभमा परि रातभर पानीमा बसिरहन्छु भनि बादशाहसमक्ष बिन्ति चढायो । बादशाहले पनि त्यस ब्राह्मणलाई आफ्ना मुख्यान्जी हौजमा बसाली, त्यहाँ पक्का पालेहरुको पहरा राखी, दरबारमा जाँदा भए । बिचरा बूढो बाहुनले बडो मुश्किलसित चिसो पानीमा, रातभर कष्ट काटी, बिहानीपख निस्की बादशाहको हजुरमा हाजिरी भई बिन्ती चढाए । अकबरले ब्राह्मणसँग सोधे,‘हे ब्राह्मण ! तिमी कसको भरोसा राखी रातभरी पानीमा दुबी बस्यौ ? सोझा ब्राह्मणले सोझो पाराले बिन्ति चढाए,‘पृथ्वीनाथ ! म रातभरी हजुरका दरबारमा बलिरहेको बत्ती हेरिरहेको थिएँ ।’
ति बृद्ध ब्राह्मणको त्यस्तो कुरा सुनी बादशाहले भन्दा भए, ‘बाहुनको चलाखी थाहा भयो । तिमीलाई अवश्य महलमा बलेको बत्तीको तातो पुगेछ । अब तिमी आफ्नो घर जाऊ तिमीलाई म केही पनि दिन सक्दिन ।’ यस्ता कुरा सुनी बिचार बृद्ध ब्राह्मण रुँदै वीरबलकहाँ गएर बिन्ति गर्न थाले, ‘बादशाहबाट, मलाई रातभरि पानीमा कसको भरोशा राखी बस्यो भनि सोधनी भयो । मैले, महलमा बलेको बत्ति हेरी रात काटें भनेर बिन्ति चढाएँ । मेरो कुरो सुनी बादशाहले तँलाई त्यही बत्तिको तातो पुगेछ, तँलाई अब म एक पैसा पनि दिन्न जा भनि हप्की पठाउनुभयो । के गरूँ ? मेरो प्रारब्ध नै अभागी रहेछ । मैले धनको आशा गरि ज्यानसम्म दिने काम गर्दा पनि पैसा पाइन । अब हजुरको शरणमा पर्न आएको छु, जो गर्नु हुन्छ, गर्नुहोस् ।’
ब्राह्मणको यस्तो बिलौना सुनी वीरबललाई दया लगेर आयो र त्यस ब्राह्मणलाई भरोसा दिई बिदा गर्दा भए । वीरबलबाट अवश्यै मद्दत मिल्ला भन्ने आशा राख्दै बिचरो बृद्ध ब्राह्मण थरथर काप्दै आफ्ना घर गए । यो घटनाको ठिक पन्ध्र दिनपछि अकबरलाई शिकार खेल्न जान मन लाग्यो र वीरबललाई बोलाउन भनि आफ्नो एक विश्वासी पात्र आठपहरिया पठाए । तर आठ पहरियालाई वीरबलले, ‘म अहिले खिचडी पकाउन लागेको छु, खाने बित्तिकै हाजिर हुनेछु’, भनि खबर पठाए । दुइ घण्टा बितिसक्दा पनि वीरबल खिचडी खाएर हाजिर हुन पुगेनन् र फेरि बादशाहले उही पुरानै आठपहरियालाई दौडाए । तर वीरबलले यसपाला पनि उही कुरा दोहो¥याएर खबर पठाए कि,‘अहिले खिचडी पाक्दैछ पाक्नासाथ तात्तातै खाने बित्तिकै हाजिर हुनेछु ।’ अकबरलाई बडो अचम्म लाग्यो र आफै
वीरबलकहाँ जान्छु भनि उही आठपहरिया लिएर पैदलै वीरबलकहाँ जान हिंडे । जाँदा जाँदै बाटैमा एउटा लामु बाँस गाडेर त्यसका टुप्पामा हाँडी झुन्ड्याई, तलतिर फेदमा आगो बालि खिचडी पकाउन लागेका वीरबललाई देखेर बादशाहलाई वीरबलको खिचडी पकाउने गजब तरिका देखेर हाँसोका साथै रिस पनि उठ्यो । र उनले नजिकै गएर सोधे,‘वीरबल ! के तिम्रो बुद्धि त ठेगानमा छ के ? यो के गर्न लागेका ?’ तब वीरबलले बिनम्र हुँदै बिन्ति चढाए, ‘हजुर सरकार ! यो मेरो खिचडी पाक्तै छ । रिसाइरहेका अकबरले जंगिदै भने, ‘वीरबल ! तिमी अब सिल्ली भएछौ । जमिनमा आगो बालेका छौ,त्यति माथि हाँडी झुण्ड्याएका छौ । आगोको ज्वाला कहिले तिम्रो हाँडीमा पुग्छ ? र तिम्रो खिचडी पाक्छ ? आँच लाग्नै सक्दैन ।’ तब वीरबलले हात जोडी केही हाँसेर बिन्ति चढाए,‘गरिबपर महलमा बलेको सानो बत्तिको राप त त्यति पर पानीभित्र चोपलीइरहेको ब्राह्मणलाई लागेथ्यो, भने यहाँ त्यति नै माथि यसरी सल्काइरहेको आगोको राप कसरि नपुग्ला र ? वीरबल को यस्तो प्रतिप्रश्न (प्रतिउत्तर) सुनेर अकबरले आफ्नो गल्तिको महसुस गर्दै, तत्काल त्यस गरीब ब्राह्मणलाई डाक्न पठाई, आफ्नो प्रतिज्ञा अनुसार उसलाई दश हजार रुपियाँ बक्सिस दिए । वीरबलले पनि त्यसै मौकामा दस गाउँ बादशाहबाट पारितोषिक प्राप्त गरे । वीरबलको अनुग्रहले त्यो बृद्ध ब्राह्मणलाई रुपियाँ मिल्यो र निजले दुबैलाई आशिर्वाद दिई आफू पनि घरतिर गए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->