बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘लाइफ इन सिड्नी’

‘लाइफ इन सिड्नी’


  • डिल्लीराज पाण्डे
  • साउन १० २०७७, शनिबार

सिड्नीको बसेरो, ढल्केको रात, मूल सडकभन्दा अलि भित्रपट्टि सडकछेउको घर अनि कोठामा सविन एक्लै एउटा कुर्सीमा बसेर नसामा झुलिरहेको छ।

आज उसलाई हिजो अस्तिको जस्तो गलल्ल… हाँसेर बेडमा लडिबुडी गर्न मन छैन। न त उसलाई छेउकै टेलिभिजन चलाएर हेर्न मन छ, न त आइफोनमा गीत बजाएर कानमा इयरफोन घुसाएर मुन्टो हल्लाउँदै सुन्न नै मन छ।

छ भने केवल डाको छोडेर भक्कानिँदै ठूलो स्वरले घ्वाँ…घ्वाँ रून मात्र मन छ। त्यो पनि धक् फुकाएर रून पाइरहेको छैन। अघि नै अर्को कोठावालाले ढोकामा ढ्याकढ्याक गरेर ढक्ढक्याउँदै डिस्टर्ब गरेको संकेत गरेको थियो। बिचरा सविन गहभरि वेदना अड्काउँदै बरर्र आँखाबाट आँसु बगाई धड्किई धड्किई रोइरहेको छ।

क्रमशः रात आफ्नै रफ्तारमा ढल्किरहेछ। सविन पनि एकपछि अर्को ग्लास थप्दै गइरहेछ। ऊ घरिघरि मोबाइलमा अर्चनाको नम्बर थिचिरहेछ। प्रत्युत्तरमा स्वीच अफ भएको आवाज मात्र आउँछ। सविन पुनः एक घुट्की भोड्काको चुस्की लगाउँदै  गालामा हात र टेबुलमा कुइना अड्याएर लामो सुस्केरा लगाउँदै यसो निहुँरिरहेछ।

उसका नजरहरू तल भुइँमा लडिरहेको खाली भोड्काको बोतलमा पर्दछन् र ऊ आफ्नो जिन्दगी आफैंले रित्याएर भुइँमा लडाएको त्यही खाली बोतलसरह रित्तो पाइरहेछ। ऊ हेर्दाहेर्दै एकोहोरिएर हुन्छ अनि टोलाउन पुग्दछ।

सविनको दिमागमा वर्ष दिनअघि घर छोड्दा रातदिन विदेश जान अर्चनाले दिएको दबावको याद आउँछ।

उसको दिमागमा आमाबुवाले विदेश नजान सम्झाएको तिनै दिव्य वाक्य दोहोरिन थाल्दछन्,‘हेर बाबु! भाइ, बहिनी साना छन्, तेरी आमा पनि दमकी रोगी छ। म बूढो भइसकें। अब यो घरबार धान्ने भनेर तेरो विवाह गरिदिएर बुहारी भित्र्याएको ६ महिना बित्न नपाउँदै त्यही बुहारी टिपेर विदेश जान्छु भन्छस्! मलाई त रनन्न एकचोटि कानमैं हानेकै जत्तिकै त्यो आएर लागेको छ। बाबु त्यो पनि घरबार बैंकमा धितो राखेर ११/१२ लाख खर्च गरेर बुहारी विदेश पढाउन जान्छु भन्छस्। यो तेरो बिग्रने मती हो बाबु। नगर भन्दा मान्दैनस्। पछि पछुताउलास्। विदेशको ठाउँ हो, घरमा आमालाई दाइँ माडेजस्तो हुँदैन!’
‘आमाबुवा पनि …। हामी पढ्न होइन दाम कमाउन जाने हो क्या दाम। हजुरको बुहारीलाई विद्यार्थी बनाएपछि म डिपेन्डेन्ट हुन पाउँछु अनि दुई जनाको कमाइ भएपछि १२/१४ लाख भनेको कति हो र भन्या! ५/६ महिनामै पार गरिहालिन्छ  नि! त्यसपछिको जति कमायो आफ्नै त हो नि। किन हजुरले चिन्ता गरेको ?’, सविनले बाबुलाई आफ्नो उद्देश्य बुझाउने प्रयत्न गर्छ।

‘कोनि होई बाबु, ब्याजको आशा गर्दा साँवा नै फुत्केला नि!’, बाबुले आनाकानी गर्न खोज्छन्।

‘आमाबुबा पनि कति किचकिच गरिराखेको …’, सविनले जिद्दी गर्छ।

‘अब छोराले राम्रै सोचेर भनेको होला नि। जान दिनुस्। गाउँका अरू पनि त त्यसरी नै गएका हुन् नि’ भन्दै सविनकी आमा बुढाको कुरा बीचमै काट्दै छोराबुहारीलाई विदेश पठाउन बुढालाई राजी गराउँछिन्।

‘ल ल जाऊ अब तिमीहरू सबैको एकमत भएपछि मेरो के लाग्छ? बुहारीलाई पढाउनू आफू भाँडा माझ्नू। बुद्धि भए आफैं विद्यार्थी भएर पढ्थिस् होला। मती सकिएको बुद्दु’ भन्दै गन्थनिएका थिए सविनका बाउ उतिबेला।

भिसा पाएको दिन खुसीले पूर्णिमाको जून जत्तिकै उज्यालो भएकी थिइन् अर्चना।

उनी यति धेरै खुसी देखेर अत्यन्त आनन्दित भएको थियो सविनको मन।

सविन उतिखेर अर्चनाको सौन्दर्यमा डुबेको थियो दिनप्रतिदिन। सिड्नीमा जस्तोसुकै दुःख गरेर भए पनि अर्चनालाई खुसी राख्न चाहन्थ्यो सविन।

आज उही सविन त्यही अर्चनाको मायामा शहीद हुन खोजिरहेको छ। ४/५ बोतल भोड्का र एउटा नाइलनको डोरी टेबलमा राखेर एउटा अंकुशे खोजिरहेको छ कोठाको सिलिङमा कतै।

ऊ एकोहोरो सोचमा पर्दापर्दै टेबलको छेउबाट गालामा अठ्याएको हातको कुइना फुस्किन जान्छ र ऊ झसंग झस्कन्छ अनि पुनः दायाँ हातले भोड्काको बोतल समाउँदछ र ग्लास भर्दछ।

अनि, सुइय… लामो सास फेर्दै घुट्क्याउन थाल्दछ।

क्रमशः एकपछि अर्को गर्दै भोड्काका बोतलहरू रित्याउँदै जान्छ। उसका कान गुञ्जन थाल्छन्, आँखा टिलपिलाउन थाल्दछन्, मन भित्रको असह्य पीडा विस्फोट भएर मुटु फुटाउँला झैं हुन्छ।

अर्चना… भन्दै बेसुरमा जुरूक्क उठेर चिच्याउन पुग्छ सविन।

नसाको सूरमा रिसले आगो भएको सविनको शरीर थरथरि काँमिरहेको हुन्छ। प्रत्युत्तरमा अर्चनाको हाँसो खितिखिती खित्किन थाल्दछ। सविन हाँसो खित्किएको सकी-नसकी मुन्टो बटार्दै हेर्छ।

अर्चना ठिंग उभिएर हाँसिरहेकी हुन्छे, खित्का छाड्दै।

‘यु बिच बिट्रेड मि! गेट लस्ट!’, हातमा खाँदै गरेको भोड्काको ग्लासले अर्चनाको मुखमैं झटारो हान्छ। ग्लास कोठाको भित्तामा बज्रेर झर्‍यामझुरुम हुन्छ। ग्लाससँगै अर्चनाको भित्तामा राखिएको फ्रेम सहितको तस्वीर पनि भुइँमा खस्दछ।

ग्लास फुटेको आवाजले सविन अलिकति झस्कन पुग्दछ र चारैतिर अर्चनाको खोजीमा नजर पुर्‍याउन थाल्दछ, हल्का स्थिर भएर।

ठीक यतिबेला टेबल माथिको मोबाइलमा घन्टी बज्न थाल्दछ।

सविनले मोबाइल उठाउँछ।

‘हेलो’

‘हेलो के छ सविन, म सार्थक बोलेको।’

लड्बडाएको आवाजमा भन्छ –‘माइ वाइफ गन अवे यार। मेरो श्रीमतीले मलाई छाडेर पोइला गई, डु यु नो द्याट ?’ भन्दै क्वाँ क्वाँ डाँको छोडेर सविन रून थाल्छ।

‘ओ माइ गड, तिमीले यो के भनेको ? आर यु स्योर ?’, सार्थकले उत्तर दिन्छ।

‘हो यार आज दिउँसो मलाई टेक्स्ट गर्‍या थिई। मलाई छोडेर अर्कैसँगै गई भनेर। त्यसपछि काम छाडेर सिधै कोठामा आएको। आफ्नो सामान लिएर गएकी रहिछ … म त बर्बाद भएँ यार।’, एकै सासमा सविनले आफ्नो दुःखेसो पोख्छ।

‘ए के कुरा गरेको.. त्यस्तो आफूलाई छाडेर जाने आइमाइको पीर गरेर गति छाड्नु हुन्छ?’

बीचमै सार्थकको कुरा काट्दै सविनले भन्छ, ‘मेरो त यहाँको ८/९ महिनाको कमाइ पनि भिसा बढाउन उसकै एकाउन्टमा हालिदिएको थिएँ। तीन महिना अगाडि भिसा बढाउन पासपोर्ट पठाउनु पर्छ। पैसा एकाउन्टमा राख भन्दै थिई। भरे त मलाई थाहै नदिई आफ्नो मात्रै पासपोर्ट पठाइछ। आज पो थाहा पाएँ। मेरो त पैसा पनि सबै लिई। भिसा पनि तीन महिना मात्र बाँकी छ। बढाउन पनि अब मिल्दैन। घरमा बाउआमालाई के मुख देखाउनु। म त यता न उताको भएँ यार। माई लाइफ इज फिनिस्ड।’

‘ए म अहिल्यै ट्याक्सीमा आउँछु। विस्तृत सल्लाह त्यहीँ गरौंला। अलिकति सुन अहिले। भिसा सिद्दिन लागेको पिर गर्नु पर्दैन तैले। सिड्नीभन्दा बाहिर फार्ममा गएर काम गर्न सकिन्छ। क्यासमा काम पाइन्छ। भिसा सिद्दिएको पिर गर्नु पर्दैन। त्यहाँ पठाउने एजेन्टहरू पनि हुन्छन् रे। अनि त पैसा कमाइहालिन्छ नि, किन चिन्ता गरेको? ल हिँड हामीसँगै त्यतै लागौं। जुन दिन यहाँको प्रहरीले समात्छ त्यहीँ दिन लागौंला आफ्नै माटोतिर’, सार्थकले सविनलाई सम्झाउने प्रयत्न गर्छ।

सविनका लागि विदेश विरानो सहर कहर बन्दैछ। मुटुभित्रका पुर्जाहरू सेलाउँदैछन्। जीवन नुनिलो भएको छ समुन्द्रको छचल्किएको पानीजस्तै।

सविन भने डबडबाएका आँखा लिएर टोलाइरन्छ। फगत् टोलाइरहन्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->