स्याङ्जा, १४ साउन– गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएका परिवारलाई राहत स्वरुप दिने निर्णय गरेको हो ।
प्रकोपका कारण नगरबासी घाइते भएमा उपचारका क्रममा खर्च भएको विलका आधारमा २५ हजार रुपैयाँसम्म राहतस्वरुप सहयोग गर्ने निर्णयसमेत भएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिए ।
प्राकृतिक प्रकोपका कारण विस्थापित हुनुपर्ने अवस्था आएमा नगरबासीको संरक्षण गर्न नगरपालिका प्रतिबद्व रहेको नगरप्रमुख अधिकारीले भनाई छ । बैठकले विस्थापित परिवारलाई आवश्यकताका आधारमा खाद्यान्नसहित आवश्यक सामग्री सहयोग गर्ने निणर्य प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले बताए ।
वर्षात्का कारण बजारदेखि टाढा रहेका बस्तीमा खाद्यान्न अभाव हुन नदिन नगरभित्रका मुख्य सडकहरुमा कहिँकतै पहिरो गएर अवरुद्ध हुन पुगेको अवस्थामा तत्काल स्काभेटर प्रयोग गरेर सञ्चालनमा ल्याइने पाण्डेले बताए । नगरपालिकामा पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्राकृतिक विपत्तिका कारण करिब दुई दर्जन घरपरिवार विस्थापित भएका छन्भने कयौं घर उच्च जोखिममा रहेका छन् ।




