बागलुङ, १५ साउन– कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न बागलुङका एक स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जैमिनी नगरपालिका ५२ बर्षिया पुरुष स्वास्थ्य कर्मिमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । उनी कोरोनाका बिरामीको व्यवस्थापनमा बढी सकृय थिए । चैत १५ गते पहिलो संक्रमित देखा परेपछि उपचारमा खटेका बागलुङका स्वास्थ्यकर्मि अहिलेसम्म संक्रमण भएको थिएन् ।
जैमिनीका स्वास्थ्य कर्मिमा देखिएको यो पहिलो घटना हो । जैमिनी नगरपालिकाले केही दिन पहिला उनिसँगै नगर कार्यपालिकाको कार्यालयमा काम गर्ने अन्य कर्मचारीको समेत स्वाव पठाएको थियो । उनिसँगै काम गरिहरेकाहरुको समेत रिपोट नेगेटिभ आएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनी सहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
यस्तै बागलुङ नगरपालिकाका एक, काठेखोला गाउँपालिकाका दुई र बडिगाड गाउँपालिकाका दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिका–१ बाङ्गेचौरको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३० बर्षिय पुरुष, भीमसेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका काठेखोला गाउँपालिकाका २५ र २४ बर्षिय पुरुष र त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका बडिगाड गाउँपालिकाका २६ र ३४ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई आईसोलेसन लैजाने तयारी भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मि बाहेकका संक्रमितहरुमध्य बागलुङ नगरपालिकाका बहराइनबाट आएका हुनभने अन्य छिमेकी देश भारतबाट आएका हुन् ।





