बागलुङ, २१ साउन– बजारमा अहिले तरकारीको भाउ आकासिएको छ । तराइ र भारतबाट आएका धेरै तरकारी छैनन् । तर जति आएका छन् ती वस्तुको मूल्य आकासिएको हो । स्थानीय किसानले उत्पादन गरेको तरकारी भने बारीमै छन् ।
बिचौलियाले स्थानीय किसानको तरकारी खासै किन्दैनन् । जसले गर्दा बजारमा महंगो भएको हो । बजारमा ८० रुपैया“ पर्ने गोलभेंडा किसानको बारीमा ३० रुपैयाँसम्ममा दिएका छन् तर बिचौलियाहरु किसानलाई त्यति पनि दिन चाहदैनन् । बजार नजिकका किसानले आँफै डोकोमा ल्याएको तरकारीबाहेक ठूला पसलले सधै तराईको तरकारी बेच्न रुचाउँदा किसान मारमा परेका हुन् । उपभोक्ताले पनि गुणस्तर र सस्तो खान नपाएका हुन् ।
ढोरपाटन नगरपालिका वडा नं. ५ का सोम बहादुर पुनमगरले गोलभेडा प्रतिकेजी ३० रुपैया“मा दिंदा पनि बिक्री नभएको गुनासो गरे । तर उनको फर्ममा गोलभेडा कुहिएर जाँदा खरिदकर्ता तराइबाट महंगो ल्याएर बेच्न लागेका छन् । डोको लिएर आउनेलाई उनले अझै सस्तो पनि दिएका थिए । बन्दाबन्दीपछि भने उनको उत्पादन बिक्री भएको छैन । गोलभेडा सहितका तरकारी बारीमै कुहिएका छन् । उनले केही तरकारी गाईभैसीलाई खुवाएका छन् भने केही खाल्डो खनेर पुर्नुपर्ने बाध्यतामा छन् ।
७ किमी परको बुर्तिवाङ बजारसम्म लैजान पनि सवारी साधन चलेका छैनन् । डोकोमै बोकेर लगेको बिक्री हुने ग्यारेन्टी छैन । बिक्री नभए सित्तैमा छाडेर फर्कनु पर्ने भएकोले लैजान नसकेको उनले गुनासो गरे । ‘होटल र रेष्टुरेन्टहरु खुलेका छैनन्, बोकेर लगेपनि दुःख मात्रै हुने भयो’ मगरले भने, ‘लाखौं लगानी गरेको अहिले खाल्डोमै पुग्यो ।’ उनले दुइ वर्षअघि ९ लाख रुपैया“ लगानी गरेर कृषि फर्म खोलेका थिए ।
दुइ वर्षअघि खोलेको फर्ममा केही महिनादेखि व्यवसायिक उत्पादन सुरु भएको थियो । ५ रोपनी जमिनमा धान, मकैसमेत नलगाई तरकारी खेती थालेका मगर तरकारी नबिक्दा निराश छन् । ‘नजिकका विद्यालय, बुर्तिवाङ बजार र होटल खुले भने तरकारी सहजै बिक्छ, नत्र खाडल खनेर पुर्ने बाध्यता भयो’ मगरले भने, ‘किसानको लगानी र मर्म कसले बुझ्ला र ?’ उनले ३० रुपैया“मा बेचेको गोलभेडा बुर्तिवाङ बजारमा ८० रुपैया“सम्म पर्छ । छिटफुट रुपमा चलेका सवारी साधनले तराईका गोलभेडा ल्याउन थालेपछि गाउ“का किसानको उत्पादनले बजार नपाएको हो ।
वडा नं. ५ मा मात्रै ३ सय घरमा प्लाष्टिक टनेल र हाइटेकमार्फत तरकारी लगाउने किसान छन् । हरेकले कम्तिमा एकदेखि ५ वटासम्म टनेल बनाएर खेती गरेका छन् । किसानले १ लाखदेखि १० लाखसम्म गरेको लगानी अहिले डुब्नै लागेको वडा अध्यक्ष लक्ष्मण पुनले बताए । वडा र नगरपालिकाले प्रोत्साहन गरेर कृषि कर्ममा लगाए पनि उतपादन भएकै बेला बजार बन्द हुँदा जनप्रतिनिधिसमेत किसानको समस्याबाट चिन्तामा परेका छन् । ‘हामीले प्रोत्साहन गरेर कृषि कर्ममा लगायौं, अहिले किसानको उत्पादन बारीमै कुहिएको छ’ पुनले भने, ‘सामान्य राहत र क्षतिपूर्ति दिने कार्यक्रम पनि नगरपालिकाले बनाएको छैन ।’
वडा नं. ५ को बुढाथर गाउ“मा मात्रै दैनिक १२ क्विन्टल गोलभेडा मात्रै उत्पादन हुने सोम बहादुरका भाइ यामबहादुरले बताए । मगरका दुई दाजुभाइ मिलेर फर्म चलाएका थिए । फर्मका लागि मलको आवस्यकता परेपछि दाजुभाइले थप ३ लाख लगानी गरेर कुखुरा फर्म पनि खोलेका छन् । ७ सय कुखुरासमेत पाल्दा उनीहरु ऋणमा छन् ।
यहा“का खगेन्द्र बिकले पनि तरकारी खेती गरेका छन् । उनीहरुको फर्ममा दैनिक काक्रो, घिरौंला, भिंडी, लौका, फर्सी, करेलालगायतका तरकारी पनि उत्पादन भैरहेको छ । तर बजार नखुल्दा उनले बेच्न नपाएको गुनासो गरे । ‘दैनिक सयौं केजी तरकारी कुहिएर गएको छ, किसान लाखौं नोक्सानीमा परेका छन्’ बिकले गुनासो गर्दै भने, ‘राज्यले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’ कृषि फर्म गरेकाहरुले गुमाएको क्षतिपूर्ति नभएपनि राहत भने पाउनुपर्ने उनले बताए ।
बुर्तिवाङ बजारमा दर्जनबढी विद्यालय, एक क्याम्पस र झण्डै २५ बढी ठूला होटलमा अधिकारीचौर, बुढाथर र नाथुरीका किसानको तरकारी खपत हुने गरेको थियो । बन्दाबन्दीपछि सामुहिक बसाई भएका होस्टेल, बिद्यालय र होटल ठप्पै छन् । सार्वजनिक यातायात संचालन हुने भनेपनि बुर्तिवाङबाट अहिलेसम्म बस चल्न सकेका छैनन् । जिल्लाभित्रै १ सय किमी लामो सडक संजाल भएपनि वर्षातले क्षतविक्षत भएको र मर्मतसमेत नभएकोले बस चल्न नसकेको हो । कृषि ज्ञान केन्द्र समेत जिल्लामा नभएकोले गुनासो सुनाउन पनि जान नसकेको उनीहरुले गुनासो गरेका छन् ।





