मेरो गुरु/मेरो दुस्मन
तिमीले खोलाको किनारमा पुगेपछि
खोलाको उर्लंदो भेल देखाउँदै भन्यौ
आऊ खोलामा एकसाथ फाल हानौं र पारि पुगौं
हुन्छ भनेर म खोलामा फाल हानेँ
तिमी नदी किनारमा हाँस्दै बस्यौ
खोलासँग लडेर थाकेपछि थाहा पाएँ
खोला तर्न खोलासँग लडेर सम्भव छैन
म खोलाको लयसँग लयबद्ध भएँ
र आँखा खोल्दा किनारको अँगालोमा थिएँ
यात्रामा थाकेर
जंगलको बीच
आफ्नै हातको सिरानी राखेर
सुतिरहेको मलाई एक्लो पारेर हिँडेका थियौ तिमी
ब्युझिँदा तिमी थिएनौ
तर रूखहरू थिए मसँग बात मार्न आतुर
केही वस्तुभाउ थिए मलाई गाउँसम्म जाने बाटो देखाउन तम्तयार
थाहा पाएँ रूख र वस्तुभाउको शब्दकोशमा मान्छेको शव्दकोशमा झैँ बेइमानी भन्ने शब्द हुँदैन
अगाडि अगाडि तिमी थियौ
तिम्रो मादक छायाँ थियो
म थिएँ मोहपासमा बाँधिएको
थाहै भएन अगाडि सुनियोजित खाडल पनि थियो
ओ दुस्मन !
गुरुहरूले कहिल्यै पढाएनन्
बेइमानीसँग जोडिएका पाठहरू
यी सबैबाट वचन सिकेँ मैले तिम्रो संगत
कसरी आज गुरु पूर्णिमाको दिन तिमीलाई म भुल्न सक्छु
० ० ०
एक दिन
थाहा छ
एक दिन नहुनका निम्ति
म यहाँ छु
बिहानी बताससँग रमाइरहेका यी पातहरू हुने छैनन् एक दिन
आकाश ढाक्ने गरी उडिरहेका यी पक्षीहरू हुने छैनन् एकदिन
चौतारीको वरको बोटको छेल पारेर तिमीले मेरो निम्ति गाएको गीत हुने छैन एकदिन
हामीले एक अर्कोसँग जुनीजुनी भर सँगसँगै जीउने मर्ने भनेर खाएको कसम हुने छैन एक दिन
हामीले एक युगलाई एक क्षण जस्तो गरी बिताएको यो घर हुने छैन एक दिन
मलाई थाहा छ
म नहुँदा पनि हुनेछ
यो अजम्बरी वायु
म नहुँदा पनि हुनेछ
कसम खान हामीले अञ्जुलीमा उठाएको पानी
हामीले हामी भन्नलाई टेकेको यो धरती
तिम्रो आँखामा र तिम्रो स्पर्शमा भएको प्रिय अग्नि
अनन्तजस्तो यो आकास
मलाई थाहा छ
म नहुनका लागि यहाँ छु
मेरो देहको पानी कतै न कतैबाट पुग्नेछ खोलामा
र खोला नदीको बाटो पुग्नेछ समुद्रमा
मेरो देह छोडेर निस्किएको सास मिसिने छ वायुमण्डलमा
मभित्रको प्रिय अग्नि
बिलाउनेछ अग्निगर्भा धरतीमा
माटो मिल्नेछ माटोमा
यौटा फुच्चे आकास
गदगद हुनेछ अनन्तको हिस्सा हुन पाएकामा
ओ चेतना
तिमी पनि त घर फर्केजस्तो गरी फर्कनेछौ परम् चेतनामा
मलाई थाहा छ
म नहुनका निमित्त यहाँ छु |





