सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरबासीको समस्या : हातमुख जोड्न ‘गाउँबेसी’

ढोरबासीको समस्या : हातमुख जोड्न ‘गाउँबेसी’


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७७, शुक्रबार

बागलुङ, ३० साउन– आर्थिक रुपमा विपन्न भएकोले पश्चिमा बागलुङका अधिकांस बासिन्दाले वर्षेनी गाउँबेसीको दुःख गर्नुपर्छ । सामान्य गाउँबेसी धेरैको हुन्छ । तर बोबाङ, निसी र तमानखोलाका बासिन्दाको गाउँबेसी महिनौसम्म चलिरहन्छ ।
यहाँका सक्ने र उमेर भएकाहरुले निरन्तर लेकबेसी गर्छन् भने नसक्नेले पनि घर धानेर बस्नुपर्छ । उमेरले नेटो काटे पनि अधिकांसको समस्या यस्तै छ । झण्डै ६ महिनासम्म घरमा एक्ला एक्लै बस्ने, खान पकाएर खाने मात्र नभई घरको स्याहारसुसार गर्ने काममा उनीहरु खटिनुपर्छ ।
‘छोराछोरीले दिएर खाने उमेर भएपनि घर धानेर बस्नुपरेको छ’ ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका पूर्णबहादुर घर्ती मगर भने ‘कि छोराबुहारीकै साथ लागेर ढोर जानुपर्छ, नत्र भने आँफैले घर धान्नुपर्छ ।’ उनी ८१ वर्षको भैसकेका छन् । चैतदेखि छोरा देब बहादुरसहित बुहारी र नातीहरु ढोरपाटन गएपछि उनी एक्लै छन् । उनी जस्तै बुढ्यौली लागेकाहरु मात्र अहिले गाउँमा भेटिन्छन् । डिंगाबाच्छा (गाइभैसी) सबै ढोरपाटनमै लगेकोले बुढ्यौली लागेकाहरु घर घरमा एक्लाएक्लै बन्नु परेको हो । यो यहाँको बाध्यतासमेत हो ।
यहाँका किसानलाई कहिले पनि फुर्सद छैन । आर्थिक अवस्था कमजोर र उत्पादन थोरै हुने भएकोले सबैले काम गर्नुपर्छ । ढोरपाटन पुगेर उनीहरुले आलु खेती गर्छन् । घा“सदाउरा जोड्ने र पशु चराउने कामले उनीहरुले फुर्सद पाउँदैनन् । घरमा पूर्णबहादुर एक्लै छन् । घरछेउमा सामान्य खेतीपाती मात्रै छ । ‘चटक्कै छाड्दा चोरी हुने खतरा हुन्छ, घरै नबसेपछि भत्के बिग्रेको पनि देखिंदैन’ उनले भने, ‘बुढो भए“, काममा खटिन सक्दिन, त्यसैले घरमै बसेको छु ।’ घरमै बसेपनि उनले डोको, नाम्लो बुनेर राख्छन् । घरमा चाहिने मात्र हैन, बेचेर अझै कमाईसमेत गरिरहेका छन् । छिमेकीहरुले किनेको पैसाले उनले घर खर्च चलाएका छन् ।
चैतदेखि कात्तिकसम्म बोबाङगाउ“मा प्रायः बुढाबुढी भएकाहरु मात्रै घरमा भेटिने गरेको स्थानीय शिक्षक यामबहादुर कायतले बताए । काम गर्न सक्ने सबै ढोरपाटनमै उक्लिन्छन् । काखेनानी च्यापेका महिलाहरु पनि ढोरपाटनमै काममा खटिएका भेटिन्छन् । यहा“का बासिन्दाको बोबाङमा घर भएपनि ढोरपाटनमा गोठ बनाएर धेरै समय बस्ने गरेका हुन् । बेसी झरेको चार महिना मात्रै परिवारका सदस्यस“गै हुन्छन् । यो वर्ष विद्यालय पनि नखुलेकोले बालबालिका पनि ढोरपाटन गएका छन् । ‘पढाइ भएन, छोराछोरी पनि ढोरपाटन आएर काम गरेका छन्’ स्थानीय तुलसरा बिकले भनिन्, ‘नौ वर्षका छोराले पनि काममा साथ दिएका छन् ।’ विद्यालय तत्काल नखुल्ने भएपछि यो बर्ष बालबालिका पनि काममै खटिएको उनले बताइन् ।
ढोरपाटनमा जाने बालबालिका पनि पशु चराउने काम गरिरहेका छन् । अघिल्लो वर्ष पनि उनीहरु त्यही काम गर्थे । छिटफुट विद्यालय जान्थे । यो वर्ष विद्यालय नखुलेपछि पढ्नलेख्न लगाउने कोही छैनन् । खेतीपाती, घा“सदाउरामै अधिकांस बालबालिकाको दैनिकीसमेत बितेको छ । विद्यालय खुल्दा पनि उनीहरुले चार महिना मात्रै पढ्थे । बोबाङका विद्यालय जस्तै अहिले बस्ती पनि सुनसान छन् । ‘बेसी झरेको बेला एउटै कक्षामा एकसय जनासम्म हुन्छन्, विद्यालयमा बस्ने ठाउ“ पनि पुग्दैन’ कायतले भने, ‘वर्षात् र गर्मीको समयमा कोठा रित्तै हुन्छन् ।’
ढोरपाटन उक्लेपछि उनीहरुको पढाईपनि छुट्छ । घरमा बसिदिने कोही नभएकाहरु बेलाबेला रेखदेख गर्न आउ“छन् । एकदुइ दिन बस्छन्, खानका लागि बा“की राखेर बुर्तिवाङदेखि आएका ग्राहकलाई आलु बेचेर ढोरपाटन फर्कन्छन् । साबिकको बोबाङ गाबिस अहिले ढोरपाटन नगरपालिकाको ३ वटा वडामा बाँडिएको छ । बोबाङमा ७७ प्रतिशत बढी दलित छन् । बा“की मगर र क्षेत्री छन् । तर आर्थिक अबस्थाको सम्पन्न कोही छैन । त्यसैले हरेक बर्ष ढोरपाटनमा पशु चराउने र आलुखेती नगरे उनीहरुको हातमुख जोडिदैन ।
‘ढोरपाटन हेर्दा जति रमाइलो छ, त्यति बस्नेलाई सास्ती छ’ कायतले भने, ‘वर्षेनि करोडौ लगानी गरिएको समाचार सुन्छौं, तर सडक, खानेपानी र शिक्षा तथा स्वास्थ्यमा प्रगती हुन सकेको छैन ।’ गतवर्ष विनियोजित चार करोडले बाटो मर्मत पनि नभएको स्थानीय गुनासो छ । वर्षात्मा सवारी गुड्न नसक्दा किसानले पिठ्यु“मै आलु बोकेर झर्छन्, खाद्यान्न बोकेर ढोरपाटन उक्लिन्छन् । यातायात नभएपछि सुरक्षित सुत्केरी गराउन सक्दैनन् । अधिकांसले जोखिम मोलेर घरमै बच्चा जन्माउ“छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->