बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अधिकार सिमानाको

अधिकार सिमानाको


  • शम्भु अर्याल
  • भाद्र ६ २०७७, शनिबार

दुई विशाल शक्तिसम्पन्न देशको बिचमा रहेको नेपालको बाङ्गोटिङ्गो, उगडखाबड तेर्साे लामो नक्सा आकृति छ त ! म कदले ठुलो र सानोलाई ठुलो–सानोको भेद मान्दिन । बीउ सानो हुन्छ । माहुरी सानो हुन्छ । परागकण सुक्ष्म हुन्छ । एमिवा प्यारामेसियमलाई देख्न अनुवीक्षण यन्त्रको आवस्यकता पर्दछ ।

संसारलाई थाहा भएकै कुरा हो । नेपाल सानो छ । लामो छ । कतै बिकारको रागको इतिहास त छैननी ! मासु मोटो हुन्छ । हड्डी दुब्लो हुन्छ । गाढे अस्थिपन्जर हुन्छ । ज्यान अग्लो या होँचो ? लामो या छोटो ? बाम्पुड्के हुन सक्छ । लामखुट्टा या बामखुट्टा हुन पाउँछ की पाउँदैन ? यसको निर्णायक को हुन सक्छ ? को हुनुपर्छ ? वर्तमानमा संसारभर को–को हुनुहुन्छ ? सत्य हो बाघले मृग खान्छ । मान्छेमा बलिष्ट र कनिष्टको यही नियम लागु हुँदो हो त सायद मान्छेले मान्छेको सिकार गर्दाे हो । लडाइँको मैदानमा सक्नेले नसक्नेलाई पराजित गर्ने ध्रुवसत्य यथार्थभन्दा माथि उठेर नै सायद मान्छे मान्छे बनेको होला । विचारले बाँचिराखेको सुक्ष्म साम्राज्य । तिमी अनन्तसम्म बाँचिरहने छौ । बाँचिरहनु पर्छ । फैलिईरहने छौ फैलिईरहनुपर्छ ।

मलाई सबैभन्दा राम्रो कालरात्रीको जुन लाग्छ । कसैलाई औसीको लाग्ला । कसैलाई पुर्णेको । जुन जुन नै हो कसलाई रहर नहोला आँगन माथिको चमक । वीर पुरूष तिमी जहाँ जान्छौ । आवाज मेरो हुन्छ । लिपि मेरो हुन्छ । भाषा आफ्नै हुन्छ । लगाइ, लवज, चालचलन आफ्नै हुन्छन् । केही रफ हुन्छन् । सफ नोट हुन्छ । मेरो नक्सा रफ थियो । सच्चा थियो । छिमेकीको गफ थियो त अच्छा कसरी भयो यो ? म बादललाई सेतो देख्छु । आकासलाई नीलो देख्छु । के आविस्कार भयो नक्षत्रमा ? सेतो नीलो भयो । नीलो सेतो भयो !
माटोको गन्ध मलाई सर्वप्रिय लाग्छ । आँफु जन्मेको माटोको ममता कति प्रिय हुन्छ । घरमुनि रहेको इमिली र अमिलोको स्मरणले मुख सर्र रसाउँछ । खल्लो अनुभव म यस समय गरिरहेको छु कि पैसा कमाउने रहरले बुद्धि बढाउने प्रहरमा उछिट्टिएर यु. ए. ई. को जबलअलिस्थित पाइप कम्पनीमा अभिभूत कहर काटिरहेको छु । अल्प उमेरको मेरो मन्द बुद्धि । मैले साल चिनिन् । मैले खयर चिनिन् । मैले सल्लो चिनिन् । छहरा, खोला, नदी, पहाड, हिमाल, केही चिनिन् । वास्तवमा मैँले माटो चिनिन् । परिचय कति ठुलो शब्दकोष हुन्छ हँ ?

बियोगको पीडा जब अनुभवमा पर्छ आँखो कति टिलपिलाउँछ ? भुक्तभोगीलाई मात्र थाहा हुन्छ । कहाली के हो ? तपाई पासपोर्टमा स्ट्याम्प मात्र लगाउनुहोस् र हातमा बोर्डिङ पासमात्र लिनुहोस् । कति रूनुहुन्छ । आँशुको नदी कत्रो हुन्छ ? बग्दाबग्दा डोरेटोको अमिट खतको तस्वीर खाडीमा पिल्सिएको नीलो अनुहारलाई पठाउन भन्नुहोस् र एल्बमलाई पढ्नुहोस् त ! कहालीएको नीलो अनुहार र पसिनाको परिभाषा बल्ल तपाई बुझ्नुहुन्छ । यो त भयो मतृभूमीको बियोगको तडप । आँसु नुनीलो हुन्छ । पसिना नुनीलो हुन्छ । समुद्र नुनीलै हुन्छ । मातृभुमीको वियोगको परिभाषा बिछडिनेहरूलाई सोध्नुहोस् । आँखै अगाडि आमाको कुनै अङ्गलाई च्वाट्टै चुँडाएर अपाङ्ग गराईदिएको कुन पुत्रले देख्न सक्छ ? कुन विरङ्गनाले सहन सक्छ ?

आगो आगै हुन्छ । भाग भागै हुन्छ । नक्सा नक्सा हुन्छ । लेख अकस र बकस होइन सकुन हो । सामथ्र्य हो । सिद्ध प्रमाण हो । त्यत्ति भए पुगेको छ । संसारलाई देशको नक्सा चाहिएको छ । देशको नक्साभन्दा ठुलो के हुन सक्छ ? जन्मदा नक्सा हुन्छ । ताते नक्सा हुन्छ । तोते नक्सै हुन्छ । उभिनु, ठडिनु, ठोक्किनु, अड्किनु, भड्किनु, लम्किनु र भेड्किनुको अन्तिम सत्यले मलाई पराजित पार्छ । अवसानमा तस्विरभन्दा ठुलो के हुन सक्छ ? वस्तु कस्तो थियो ? तस्बिर चाहिन्छ । अस्तु कस्तो थियो तस्विर नै चाहिन्छ ।

यतिबेला कोभिड–१९ को जैविक आतंकको कहालीले अनुहार नीलै बनिरहँदा शक्तिसम्पन्न छिमेकी मुलुक भारतले गरिरहेको व्यवहारले आश्चर्यचकित बनिरहेको छु । यस्तैमा महाभारतको ब्यास ऋषिले माता सत्यवती, अम्बा र अम्बालिकालाई लिएर तपोबन प्रस्थान गर्नु अगाडि भनेको वचन र कर्म सम्झिई रहेको छु । उस समयको धृतरााष्ट्र, सत्यवति र ब्यासबिचको सम्वाद कम महत्वको थियो ? ब्यास भन्छन् छोरा धृतराष्ट्र जसरी तिमीले सबैको पदचापलाई पहिचान गर्न सक्छौ, त्यसरी नै आउनेवाला भोलिको पदचाप पनि पहिचान गरिराख्नु । धृतराष्ट्र भन्दछन्– यो नेत्रहीन अभागी के पहिचान गर्न सक्ला ? प्रतिउत्तर ब्यासको । घटना र दुर्घटनाको लागि भाग्यलाई आरोप लगाउन छोड पुत्र ! किनकि यदि भाग्य नै सबथोक हो भने कर्मको महत्व नै के हुन्छ ? जे हुन्छ उसको लागि स्वयं मनुष्य नै जिम्मेवार हुन्छ । यति अवश्य याद राखिराख्नु जो वस्तु तिम्रो होइन त्यो वस्तु तिम्रो कहिल्यै हुन सक्दैन । यसको तिमीलाई ज्ञान रहिरहोस् । गान्धारीले आफ्नो आँखामा पट्टी बाँधेजस्तै तिमीले आफ्नो आत्माको आँखामा पट्टी कहिल्यै नबाँध्नु । यो कहिल्यै नभुल्नु कि दुर्याेधन तिम्रो जेठो छोरो किन नै नहोस् तर युधिष्ठिर जेठो कुरूपुत्र हो ।

तपोबन प्रस्थान अगाडि सत्यवती भन्छिन्– पुत्र धृतराष्ट्र म पाण्डु पुत्रहरूलाई तिम्रो साथ छोडेकी छु । एकक्षण पनि उनीहरूको ध्यान हटाउने छैंनौ । उनीहरू तिम्रो भाइ पाण्डुका धरोहर हुन् । जब उनीहरू ठुला हुन्छन्, उनीहरूलाई आँफ्नो अधिकार दिनु । यो कुरा सँधै सम्झनु कि उनीहरूले आफ्नो अधिकार माग्न नपरोस् किनकी उत्तराधिकार माग्नुपर्याे भने सम्बन्धमा खाडल पर्छ । मनमा राखिराख्नु दुर्याेधन तिम्रो छोरा हो यिनीहरू पाँच पाण्डुमहाराजका । पुत्री गान्धारी म हस्तिनापुर धृतराष्ट्रलाई छाडेर गएकी छु । धृतराष्ट्रको हात सँधै थामीराख्नु । यहि नै तिम्रो कर्तव्य हो । भगवान तिमीहरूलाई न्याय गर्ने शक्ति दिईरहुन् । यि कम्ता दिब्य वचन थिएनन् । सायद यति कुराको चिन्तन गरिदिएको भए अधिकार र कर्तब्यको द्वन्द्व महाभारतमा हुँदैनथ्यो ।

मान्छेले आफ्नो अधिकार कुनैपनि समय माग्न सक्छ । माटो र सिमनाको अधिकार मान्छेले कुनैपनि बखत खोज्न सक्छ । यसको लागि अनुकुल र प्रतिकुल कुनै यस्तो समय हुँदैन । यो वर्तमान, भूत र भविस्य कुनै पल, कुनैबखत हुनसक्छ । २००७ साल साउन १६ मा भएको नेपाल–भारत सन्धिमा स्पष्टसँग लेखिएको छ । ‘ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका यसअघिका सबै सन्धिपत्र, स्वीकार पत्र, कबुलियतनामा खारेज गर्छ ।’ यति एउटा धाराले यसअघि भएका सम्पूर्ण सन्धि सम्झौताहरू खारेज भएको म देख्छु । यसअघिका सन्धि सम्झौताहरूमार्फत नेपालको भूमि बेलायती उपनिवेशमा गाँभिएको हो । उपनिवेश नै नरहेपछि कुनै एक देशसँग गरेको सम्झौता अर्को देशसँग लागु कसरी हुनसक्छ हँ ? नेपालको संविधानसभाको शुभकामनामा तिमीले दिएका कर्णप्रिय बचन कस्ता थिए ?

‘भारत र नेपालको सम्बन्ध त्यति पुरानो छ जति हिमालय र गङ्गा पुरानो छ । हामीहरू एउटै सांस्कृतिक विरासतका धनी हौँ । यो त्यो भूमि हो जसले विश्वलाई आश्चर्यचकित पारिदिने गौतम बुद्धको जन्म भएको थियो । काशी मन्दिरमा पूजा गर्ने पूजारी नेपालको हुन्छ र नेपालको पशुपतिनाथमा पूजा गर्ने पूजारी हिन्दुस्तानको हुन्छ । भारतको हरेक व्यक्ति ५१ शक्तिपीठ दर्शनको लागि कामना गर्दछन् । जसमा दुई शक्ति पीठ नेपालमा छ । यतिमात्र होइन कि हिन्दुस्तानले अहिलेसम्म कुनै लडाइँ जितेको छैन कि जसमा नेपाली वीर गोर्खालीको रगत बगेको नहोस् । नेपालले यस्तो संविधान बनावस् कि नेपालको लागि मात्र होइन विश्वकै लागि यो स्वर्णिम पृष्ठ बनोस् । इतिहासका धरोहर सम्राट अशोक हुनुहुन्थ्यो । जब शान्तीको तलासमा निक्लनु भयो युद्ध छोडेर बुद्धको पास जानुभयो । अर्को नयाँ स्वर्णिम पृष्ठ लेखियो । नेपाल र भारतको सम्बन्ध यस्तो छ कि अलिकति पनि हावा यता–उता बग्यो भने त्यसको चिसो हामीलाई पनि हुन्छ ।’ एउटै मन, मुटु र स्पर्श !

यति दिव्य बच्चनका शुभेच्छु तिमी भुकम्पको आलो घाउले छटपटिई रहँदा काटेको घाउमा नुनचुक छर्न कसरी सक्यौ ? थाहा छ तिमीलाई नाकाबन्दीको कठोर पीडा सहन नसकेर अक्सिजनको अभावले मेरी बुढी आमाको दम फुस्किएको थियो । प्रसव पीडाले छटपटिएर अवसान कैयौं दिदीबहिनीहरू । ठिहीले कठ्याङ्ग्रिएर प्रस्फुटन हुन नसकेको बिज । कठोर सजाय मैले कसरी भुल्न सकुँ ? तिमीले दिएको मृत्युको उपहार आश्वासन र व्यवहारप्रति अहिलेसम्म नलेखिएको मुढे बलको शब्दकोश । बिर योद्धालाई पछाडीबाट प्रहार गरिएको कपटी शस्त्र अस्त्रले छटपटिरहेको विर विरङ्गना । नबोलिएको भाषा, नलेखिएको लिपी र अक्षरमा अलमल परेको मिष्ठभासी उत्सुक शिषु सम्झँदा बिब्हल हुन्छु ।

एकछिन विगत इतिहास तिर फर्कौँ । सुगौली सन्धिलाई नै आधार बनाएर हेरेपनि महाकाली नदी नै नेपालको अन्तरदेशिय सिमानाको आधिकारिक प्रमाणका इतिहासहरू छन् । अहिले लिपुलेकबाट आएको सानो खोलालाई महाकाली नदीको नाम दिन तिमीले कसरी सक्यौ ?
पृथ्विनारायण शाहपश्चात बाहादुर शाह, भक्ति थापा, अमरसिँह थापा, बलभद्र कुँवरको नेतृत्वमा नेपालको सिमाना पश्चिम सतलज नदी पारी काँगडासम्म पुग्यो । काँडाका राजा सन्सार चन्द नेपाली फौजसँग डराएर मानवनिर्मित किल्लामा लुके । जोगीको भेष धारण गरेर सन्सार चन्द पञ्जाब केसरी रणजित सिँहको शरणमा पुगेपछि दुवैको संयुक्त फौजसँग गोर्खालीहरूको हार भयो । यो नै नेपालको पश्चिमी सिमाना हुनपुग्यो ।

यो समय तराईपट्टिका ईलाकाहरूमा नेपाल–अङ्ग्रेजको सीमा विवाद सुरु हुँदा साना–साना लडाइँहरू भई नै रहन्थ्यो । इष्ट इण्डिया कम्पनी तिब्बतमा व्यापार गर्न चाहन्थ्यो जसको लागि नेपालको भूमी जरूरत पर्दथ्यो । भारतलाई जस्तै नेपाललाई पनि उपनिवेश बनाउन इष्ट इण्डिया कम्पनीले युद्धको घोषणा गर्यो । महाकाली पारीका दुई, महाकाली पूर्वका तीनवटा गरी जम्मा पाँचवटा किल्लामा नेपाल–अङ्ग्रेज बीच लडाई भयो । महाकाली पूर्व अङ्ग्रेजहरू छिर्नै सकेनन् । पश्चिमपट्टि नेपालको पराजय भयो । यसै समय नेपालका सैनिक कमान्डर बम शाहले आत्मसमर्पण गरे । यो खबरले अमर सिँह थापा हतास बने । नेपाली पक्षले तत्कालीन युद्ध स्थगित गर्ने प्रस्ताव अनुसार अंग्रेज सेनापति अक्टरलोनीसित १८ मे १५१५ मा सम्झौता गर्यो । उक्त सम्झौतापछि महाकालीको सतलजसम्मको क्षेत्र नेपालले गुमायो । पूर्वतर्फ नेपाल नगरकट्टासम्म पुगिसकेको थियो । सिक्किमको तीन चौथाइ भूमी नेपालमा पर्न गयो । परिणाममा अङ्ग्रेजले नेपालविरुद्धको लडाइँमा सिक्किमका राजाले सघाएमा उनलाई सिक्किमको गुमेको भूभाग फिर्ता दिने वचन दिएका थिए । नेपालगञ्ज क्षेत्र पट्टी अवध राज्यका नवाबसँग युद्ध लड्नका लागि अंग्रेजले दुईदेखि तीन करोड भारु ऋण लिएका थिए । नेपाललाई युद्धमा पराजित गरेपछि उक्त रकम बराबरको जमिन अबधलाई दिने समझदारी भएको थियो । अमर सिँह र अक्टरलोनीबिच भएको सेनापति स्तरको सम्झौताबाट बेलायतले चित्त बुझाएन । १८१५ को डिसेम्बरमा बेलायतले नयाँ सन्धीको प्रस्ताव पठायो ।
अङ्ग्रेजीमा सन्धीको वाक्यामंश यस्तो थियो–
The king of the Nepal cedes the whole lowlands between Mechi and teesta, Khoshi and gandaki, gandaki and rapti, rapti and kali. बेलायतले सही गरेर पठाएको यो सन्धीमा १५ दिनभित्र नेपालले सहि गर्नुपर्ने भनिएको थियो । ठूलो भूभाग गुम्ने भएपछि दरबारभित्र विवाद आयो र बेलायतले भनेको अवधि अलमलमै बित्यो । सही नगर्दा बेलायत सशंकित बन्न पुग्यो र नेपालमा आक्रमण गर्यो उनीहरू जित्दै गए । लडाईमा नेपाल हार्दै गयो उनीहरू काठमाडौँ पुग्ने योजनाका साथ अगाडि बढिरहेका थिए । अन्ततः उक्त सन्धिमा हस्ताक्षर गर्न नेपाल तयार भयो । सही गरेर कम्पनी सरकारलाई नेपाली राजदूत चन्द्रशेखर उपाध्यायको हातमा थमायो ।

बेलायतले नेपाललाई पठाएको तिरानब्बे औँ दिन १८१६ को मार्च ४ गते नेपालले हस्ताक्षर गरेर बुझाएको सन्धि नै सुगौली सन्धि हो । नेपालले संयुक्त राष्ट्र संघको सदस्य लिने बेलामा रुसले र युक्रेनले भारतसँग लक्षित राज्य भनेर सदस्यता दिन नहुने लबिङ गरेपछि जवाफमा नेपालले अङ्ग्रेजसँग युद्ध भएको र स्वतन्त्र राष्ट्रको हैसियतमा तेस्रो पक्षको संलग्नता बिना नै सन्धि गरेर टुङ्ग्याएको भन्दै सुगौली–सन्धीको फेटोकपि पठाइदिएको थियो । १८५७ मा भारतको लखनउमा अङ्ग्रेजको उपनिवेशविरुद्ध सिपाही विद्रोह भयो । यो विद्रोह अङ्ग्रेजहरूलाई गर्हुङ्गो परेपछि उनीहरूले जङ्गबहादुरलाई गुहारे । जङ्गबहादुरले गोर्खा सैनिक लगेर सिपाही विद्रोह दमन गरे ।

अङ्ग्रेजले बदलामा के चाहनुहुन्छ भनि सोध्दा, जङ्गबहादुरले गुमेको भूमी फिर्ता चाहन्छु भने । तर उनीहरुले चारवटा जिल्ला मात्रै नेपाललाई दिए । बाँके बर्दिया कैलाली र कञ्चनपुर । १८६० मा सन्धी भयो र हालको नेपालको नक्सा कायम भयो । जब अंग्रेजहरू भारतको उपनिवेश छाडेर गए । नेपालको गुमेको भुमी स्वतः फिर्ता पाउनुपर्ने थियो । नियमसंगत खोज्यौँ भने हामीसँग लिखित इतिहास छ ।

ती भूभागहरु नेपालबाट भारतले खोसेको होइन । अङ्ग्रेजले कब्जा गरेको हो । जसरी ब्रिटिश साम्राज्यमा पाकिस्तान गाभिएको भएपनि अङ्ग्रेजहरूले पाकिस्तानलाई स्वतन्त्र देश बनाएर गए । नेपालले गुमेको भुमी फिर्ता लिने मौका राणाकालमा नपाएको होइन । तर राणाहरूको उदासिनताले नेपालको भूमि गाँभिएको गाभियै रह्यो । पहिलेको जुन विशाल नेपाल थियो प्रमाणहरू जुटाएर तर्कसंगत हिसाबले न्याय खोज्ने हो भने अहिले पनि नेपालको अधिकार लाग्छ ।

त्यसपछि नेपालको राजनैतिक परिस्थिति सँधै अस्थिरता र दुरूहपूर्ण रह्यो । कोतपर्व भण्डारखाल पर्व अलौ पर्व । राणाहरूभित्रै आन्तरिक कलह, प्रजातन्त्र प्राप्तिको लागि आन्दोलन, शाही शासनकालको अन्त्य । जनयुद्ध । नेपाल र नेपालीहरुले सकुनको सास फेर्न लागेको बेला खुट्टै चुँडाईदिएर अपाङ्ग बनाइदिनुको सार्थकता कुन दिब्य दर्शनले देखिरहनुभएको छ हजुरले ?

हाम्रो भाषिक सम्बन्ध एउटै हो । पुख्र्याैली सम्बन्ध एउटै हो । सन् १९६२ मा भारत चिनसँग युद्धमा पराजित भयो । तिब्बतसँगको सिमाक्षेत्रमा तैनाथ गर्नको लागि इन्डो टिबेटन बोर्डर पुलिस कालापानीमा छ । छिमेकीको अफ्ठ्यारोलाई महशुस गरि नेपाल हालसम्म मौन बस्यो भन्दैमा र आफु शक्तिसम्पन्न भएँ भन्दैमा नक्सा परिवर्तन गर्न कुरूबम्सको कुन पाठले सिकायो ? हो म स्विकार्छु नेपालका पुराना नक्साहरूमा कालापानी, लिम्पियाधुरा र लिपुलेक नदेखाउनुमा हाम्रो दुर्भाग्य थियो । मानम् अहिलेको विषय साँध अविभक्त रहेछ त गाँभ्नु पहिला साँधमा नदेखिएको भूभाग गाँभ्न पहिला छिमेकीको सल्लाह गर्नुपर्छ कि पर्दैन ? सुगौली सन्धि गर्ने इष्ट इण्डिया कम्पनी र त्यसपछिको जारी भएको नक्सा लिम्पियाधुरा महाकाली नदीको उत्पत्तिस्थल तथा नेपाल भारतको अन्तिम सिमानालाई तपाईंको नजरले के देख्छ ? जति सन्धि र सम्झौता भए इष्ट इण्डिया कम्पनीसँग भए भारतसँग होइन । कम्पनी सरकारसँगको सम्झौता हामी मान्दैनौ भने के हुन्छ होला ? यसो भन्दैगर्दा सुगौली–सन्धीको वैधानिकतामाथि प्रश्न उठाउनु हाम्रो नियत होइन । आखिर व्यवहारमा स्विकार्नु मेरो देशको पनि त कर्तव्य हो । हामी आफ्नो अधिकार खोजिरहेका छौँ । तपाइको कर्तव्यले के देखिरहेको छ ?
वालिङ–६ मिर्दी, स्याङ्जा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->