काठमाडौं, ७ भदौ– आइतबार देशभर ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यससंगै नेपालमा संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । यससंगै नेपालमा हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन् । संक्रमितको कुल संख्यामा निको हुनेको संख्या ५८ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार, हालसम्म देशभर ६ लाख ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै, आइतबार थप ३ जना मृतकमा कोरोना पुष्टि भएको छ । थप मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला रहेका छन् । हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।





