स्त्रीसँग रगतको साइनो पनि बडो अचम्मको, महिनैपिच्छे असल चरित्रको प्रमाण बनेर शरीरबाट बगिरहनुपर्ने । यस पटक मेरो शरीरले भने रगतको मासिक स्रावसँग साक्षात्कार गर्न नपाएको लामै समय भइसकेको थियो । दुई महिनासम्म ड्रयरमा थन्किरहनुपरेपछि स्यानिटरी प्याडले मलाई प्रश्न गर्न थाल्यो, “मलाई सफा राखेर आफ्नो चरित्रमा दाग लगाउन त लागिनस् ?”
सबैसँग लुकाए पनि आफ्नो मनसँग झूट बोल्न कहाँ सकिन्थ्यो र ! बिराएको बाटोले दुर्घटना निम्तिनै लागेको सङ्केत मिलेपछि मास्क लगाएर प्रेग्नेन्सी टेस्ट गर्ने किट किन्ने हिम्मत गरें, नतिजा पोजेटिभ आएपछि मनमा बजेको ढ्याङ्ग्रोले नर्सिङ होमको ढोकासम्म डोर्यायो !
नर्सिङ होमको गाइनेकोलोजी वार्डबाहिर प्रतीक्षा कक्षमा बसिरहँदा छेउमा दुई छोरीसहित आएका दम्पती पनि नतिजाको व्यग्र पर्खाइमा थिए । तर उनीहरूको प्रतीक्षामा भित्रबाट कति बेला आफ्नो नाम बोलाइएला भन्नेभन्दा पनि गर्भमा रहेको बच्चाको लिङ्ग छोरा भएको खबर सुन्ने व्यग्रता बढी भएको बुझिन्थ्यो ।
“यस पटक पनि नभए त फाल्दिने हो,” श्रीमान्को मुखबाट यो वाक्य सुनिरहँदा श्रीमती निन्याउरो देखिन्थिन् । आमाको काखमा निदाइरहेकी सानी छोरीको त बोली पनि फुटेको नहुँदो हो । तर छेउमा उभिएर चिजबल्सको स्वादमा भुलिरहेकी ठूली छोरीमा पनि त्यति चेत पसिसकेको छैन कि उनी छोरी भएर जन्मिएकै कारण बाबाको टाउको दुखाइ र आमाको भाग्यलाई धिक्कार्ने कारण बनिरहेकी छन् ! यो कुरा बुझ्न सक्ने भएकी हुँदी हुन् त पक्कै पनि उनलाई त्यो १० रुपैयाँको चिजबल्सले यति खुसी बनाउन नसक्दो हो !
भित्रबाट उनीहरूको पालो आएको खबर आयो ! प्रतीक्षा कक्षमा म नितान्त एक्ली भएँ । हुन त अघिसम्म पनि एक्लै न थिएँ, उनीहरू को नै थिए र मेरा !
आफ्ना लागि खुसी माग्दामाग्दै भगवान्सँग कुनै कुरा माग्नै अप्ठ्यारो लाग्न थालिसकेको मनले एक पटक ती दम्पतीका लागि खुसी माग्यो, “हे प्रभु, उनको गर्भमा भएको बच्चा छोरा नै होस् । नत्र त्यस ठाउँमा कैंची चलाएर अर्को पटक फेरि यसरी नै कानुनले गैरकानुनी भनेर तोकिसकेको काम दोहो¥याउँदै गर्भावस्थामा बच्चाको लिङ्ग परीक्षण गर्न अर्को नर्सिङ होम पुग्नेछन् उनीहरू ।”
भगवान्ले मेरो पुकार सुनिदिनुभएछ क्यारे, उनीहरू खुसी भएर निस्किए । ती महिलाको मुहारमा खुलेको मुस्कान देखेर म पनि एकछिन मुस्कुराएँ, आफ्नो चिन्ता बिर्सिएर ।
अब भित्र जाने पालो मेरो थियो ।
“तपाईंका श्रीमान् आउनुभएन ?”
श्रीमान… ओहो, मेरो त बिहे नै भएको छैन, झन्डै कुरा फुत्किएको !
बिहान कुन्नि के चेतमा हो, आफंैले आफ्नो सिउँदोमा अबिर भरेर आएकी थिएँ ।
हिन्दू धर्मले सिन्दूरको महिमा र महत्व नसिकाएको होइन मलाई । तर यस पटक आफ्नो इज्जत बचावटका खातिर “होली खेल्दा पनि टाउकोमा अलिअलि रङ त परिहाल्छ । यसलाई पनि त्यस्तै मानौंला” भन्दै आफ्नो चित्त बुझाएर आफैं रङ भरें ।
“सुन्नुभएन ?”
डाक्टरको प्रश्नले यस पटक नराम्रोसँग झस्किएँ ।
सुकेको गलाबाट काँपेको स्वर निस्कियो, “हजुर उहाँ मसँग हुनुहुन्न ।”
“पहिलो पटकको गर्भ रहेछ, किन गर्भपतन गर्न चाहनुभएको ?” डाक्टरको प्रश्न स्वाभाविक थियो ।
“मेरा श्रीमान्ले मलाई धोका दिएर अर्की महिलासँग विवाह गर्नुभयो । त्यसैले मलाई उहाँको रगत आफ्नो शरीरमा हुर्काउन मन भएन ।”
पत्रपत्रिकामा आक्कलझुक्कल कथा–लघुकथा प्रकाशित भइरहन्थे मेरा ! यस पटक पाठकको मन जित्न नभई आफ्नो इज्जतको बचावटको खातिर अर्को एक कथा बुन्दिएँ, झटपट ।
“हेर्नुस्, तपाईंको गर्भमा रहेको बच्चा जन्माउने वा नजन्माउने भन्ने निर्णय लिने अधिकार नितान्त तपाईंको मात्र हो, यसमा हामीले कुनै हस्तक्षेप गर्न मिल्दैन । तैपनि एक पटक राम्रोसँग सोच्नुस्, बरू केही दिन समय छुट्याएर सोच्नुस् । यसले तपार्इंको स्वास्थ्यमा पनि असर पुर्याउँछ । अनि अर्को पटक बच्चा बस्न गाह्रो पनि हुन सक्छ,” डाक्टरले नम्र स्वरमा सुझाए ।
“म धेरै पटक सोचेरै यो निर्णयमा पुगेकी हुँ डाक्साब, यही नै मेरो अन्तिम निर्णय हो ।”
यस पटक आफ्नै स्वर बलियो भएको महसुस भयो ।
“ठीक छ, त्यसो भए म केही टेस्ट लेखिदिन्छु, ल्याबमा गएर टेस्ट गराउनुहोला अनि त्यसको रिपोर्ट आएपछि मलाई भेट्नुहोला ।”
कलेटी परेका ओठलाई जबर्जस्ती तन्काएर फिक्का मुस्कानसहित धन्यवाद भनेर निस्किएँ । ल्याबमा रगत र पिसाब परीक्षणका लागि छाडेर बाहिर निस्किएकी मात्र थिएँ, एक्कासि नराम्रोसँग रिँगाटा चल्यो ।
स्कुटर लिएर कोठासम्म पुग्न सक्छु भन्ने हिम्मत नै आएन ।
पार्किङवालालाई भोलि लिन आउँछु भन्ने जानकारी दिएर एउटा ट्याक्सी लिएँ । ट्याक्सीमा बसेपछि फुर्सदिलो भएछु क्यारे, उही विगतमा पुगेर मनलाई उथलपुथल बनाउन सुरू गरिहालें ।
धेरै समय नै कहाँ भएको छ र मेरो मुस्कान हराएको ? केही महिना अघिसम्म त म पनि खुलेआम खित्का छाडेर हाँस्न सक्ने केटी थिएँ । बिहान मीनभवन क्याम्पसमा मास्टर्स डिग्रीको क्लास लिएर दिउँसो एउटा बैङ्कको क्यास काउन्टर सम्हाल्नु दैनिकी थियो । साँझ कोटेश्वरको जाम छिचोलेर अलि चाँडो कोठा पुग्न पाए थोरै समय सामाजिक सञ्जाल र युट्युब चहार्न भ्याउँथें ।
फेसबुकमा आफन्तका बर्थडे, एनिभर्सरी, बेबी सावर आदिलाई शुभकामना दिइसकेर ट्विटरमा दगुर्ने बानी परेको थियो ।
तस्बिर कम अनि विचार ज्यादा पोस्ट हुने भएर होला, सामाजिक सञ्जालमध्ये ट्विटर अलि बढी प्यारो लाग्थ्यो । राजनीति र समाजलाई केलाएर उतिसाह्रो लेख्न नआउने भएकाले मायाप्रेमका काल्पनिक ट्विटहरूले नै सजिन्थ्यो, प्रायः मेरो ह्यान्डल ।
एकपटक यस्तै एउटा ट्विट लेखें—
उसको प्रेममा स्वार्थ मिसिएको थियो वा स्वार्थभित्र चाहिँ थोरै प्रेम मिसिएको थियो ! खैर, जसरी मिसिएको भए पनि त्यो मिसावटमा प्रेमभन्दा बढी हिस्सा स्वार्थकै थियो !
लेख्न नभ्याउँदै केही रिट्विट र लाइकका नोटिफिकेसन आए । मलाई रिट्विटको सङ्ख्याभन्दा बढी चाख रिप्लाईमा आउने मेन्सनमा लाग्थ्यो ।
केहीबेरमा एउटा मेन्सन देखाप¥यो, “मिसावट भएका गुणस्तरहीन चीजहरूबाट टाढै बसेको राम्रो, त्यसले आफैंलाई हानि गर्छ ।”
ट्विट काल्पनिक नै भए पनि संवादले उत्सुकता बढाएकाले पुनः रिप्लाईमा लेखें, “जे कुरामा पनि नाफा खोज्नेहरूले प्रेममा पनि मिसावट गरिछाडे । अब यो कालोबजारमा मिसावटरहित प्रेम खोज्न म कहाँ जाऊँ ?”
संवाद अघि बढ्दै गएर मेन्सनबाट म्यासेज बक्ससम्म पुग्यो ।
किबोर्डपछाडि बसेर म्यासेज टाइप गर्ने मान्छेको न अनुहार देखिने, न त नियत नै बुझिने, बस् मीठा शब्दमा मन खोलेर कुरा गरिदिए उसैसँग मात्र बोलिरहन मन लाग्ने ! कुन्नि कति बेला मीठा शब्दहरूको बानी परेछ मलाई । दुईचार दिन नबित्दै म त उसैको म्यासेजको प्रतीक्षामा अफिस टाइममा समेत ट्विटमै भुल्न पो थालेछु ।
एक दिन काउन्टरमा निकै भीड भएकाले फटाफट काम गर्दै थिएँ ! एउटा चेक हातमा पर्यो, चेकमा लेखिएको नाम कताकता सुने जस्तै लाग्यो— निशान्त अधिकारी ।
अरू कोही नभएर उही ट्विटरमा कुरा गर्न बानी परेको नाम थियो त्यो ।
“चेकको पछाडि आफ्नो नम्बर लेखेर साइन गरिदिनुस् न है,” भुक्तानी गर्नुअघिको प्रक्रिया पूरा गर्न अनुरोध गर्दै त्यही बहानामा चेक लिएर आउने व्यक्तिको अनुहार पनि हेर्न भ्याइहालें ।
ट्विटको डिस्प्ले पिक्चरमा भएको मुस्कान दुरूस्तै देखेपछि आँखा त्यो अनुहारमा अडिइरहन नै कहाँ सक्थे र, झटपट कम्प्युटरको स्क्रिनमा हेरेर चेकबापतको रकम भुक्तानी दिएँ । यस पटक फेरि नजर जुधे ।
“नम्बर अरू बेला पनि काम लाग्न सक्ला कि ?” यो वाक्यप्रति कुनै प्रतिक्रिया जनाउन नभ्याउँदै मेरो अगाडि अर्को चेक आइसकेको थियो । ढोकातर्फ एक नजर लगाएँ, ऊ बाहिरिइसकेको थियो ।
च्याटमार्फत बढ्दै गएको आत्मीयताले उसलाई देख्न, भेट्न मन त मलाई पनि लाग्न थालेको थियो । तर ऊ अफिसमा अकस्मात् आएकाले मलाई अलि अप्ठ्यारो लाग्यो । अनुहारको तापक्रम यति बढेको थियो कि, लाजले गाला राता भएका छन् भन्ने कुरा थाहा पाउनलाई ऐना हेरिरहनै परेन । तेज भएको मुटुको धड्कनले एकछिन भए पनि मुख छोपेर मुसुक्क हाँसी त्यो खुसीको क्षणलाई आफ्नो दिलमा कैद गर्न चाहिरहेको थियो । तर टेबलमा आइसकेको चेक अनि काउन्टरको भीडले मलाई सेलिब्रेट गर्ने फुर्सद नै कहाँ दिन्थ्यो र !
साँझ कोटेश्वरमा जाम अरू बेलाभन्दा साँच्चिकै बढी थियो या मलाई रूम पुग्न बढी हतारो थियो, छुट्याउन सकिनँ । बल्लतल्ल रूम पुगेपछि पहिला जुत्ता खोलें, त्यसपछि ढोका र लगत्तै ट्विट ।
अरू बेला एकछिन कुर्नुपर्ने म्यासेजले यस पटक दुई घण्टा अघिदेखि मेरै प्रतीक्षा गरिरहेको रहेछ ।
“फोटोमा भन्दा पनि बढी राम्री रहिछ्यौ, वास्तविकतामा ।”
रिप्लाईमा “धन्यवाद” टाइप गरिसकेकी थिएँ । तर ठ्याक्कै यति बेला तारिफ सुन्दा मात्तिने फिमेल एटिट्युडले समातेछ क्यारे, त्यसलाई मेटाएँ ।
“आगमन नियोजित थियो या संयोग ?” रिसाएको भान पार्ने स्टिकरसहित यस्तो म्यासेज पठाएँ ।
“तिम्रै बैङ्कको चेक हात पर्नु संयोग थियो । तर चेक सटहीका लागि कलङ्कीबाट बैङ्कका अरू सबै शाखा छाडेर बानेश्वरसम्म आउनु चाहिँ पक्कै पनि योजना नै हुनुपर्छ ।”
“आई विस, फेरि पनि हाम्रै बैङ्कको अर्को चेक छिट्टै हात परोस्,” धत्, के भनें मैले यस्तो ? म्यासेज पठाइसकेपछि पछुताएँ ।
“पर्यो भने पनि के अर्थ र, हाम्रा मोबाइल नम्बर चेकको पछाडि मात्रै सीमित हुने त रैछन् !” यो रिप्लाई पढेपछि कुनै रिप्लाई नगरी दिउँसो सुटुक्क सेभ गरेको नम्बरमा मिसकल गरें ।
कुराकानीले म्यासेजबाट फोनकल र भिडियो कल हुँदै भेटघाटसम्मको रुप लियो । अनि सम्बन्धले अन्जानबाट चिनजान हुँदै आत्मीय साथीसम्मको ।
सम्बन्धको नामकरण साथी भनेर गरे पनि दुवैको मनमा प्रेम अङ्कुराउन थालिसकेको थियो । थाहा नदिएरै भेट्न आउन सक्ने हिम्मत गरेको उसले मनको प्रेमलाई मुखमा ल्याउन पनि कुनै ढिलासुस्ती गरेन । चौथो पटकको भेटमा हामी साथीबाट प्रेमी–प्रेमिकामा बदलिइसकेका थियौं ।
प्रेमलाई कुनै एक वाक्यमा परिभाषित गर्न कहाँ सकिन्छ र ! यसलाई त मात्र महसुस गर्न सकिन्छ । म आफूले आफूलाई संसारकै भाग्यमानी मान्छेहरूमा एक ठान्न थालेकी थिएँ । बिनाकारण मुस्कुराउन थालेकी थिएँ । उसकै बोली मीठो लाग्न थालेको थियो । उसकै सामीप्य प्यारो लाग्न थालेको थियो ।
दीपावलीको रातभन्दा बढी झिलिमिली केही हुन्छ भने त्यो पक्कै पनि प्रेमले सिँचिएको मन हुनुपर्छ । प्रेममा परेपछि एक युवतीले कस्ताकस्ता कुरा महसुस गर्न सक्छे, ती सबै महसुस गर्न थालेकी थिएँ । गीत सुनेर त्यसका शब्द आफूसँग रिलेट गर्न होस् या फिल्म हेरेर हिरोइनको ठाउँमा आफूलाई राखेर कल्पना गर्न होस्, भविष्यका कल्पनाहरूमा उसलाई जोडेर होस् वा वर्तमानका चाहनाहरूमा उसको आवश्यकता थपेर होस्, जिन्दगीका हर आयाममा ऊ जोडिन आइपुग्थ्यो, कहिले याद बनेर त कहिले साथ बनेर ।
खुसीसाथ केही महिना बिते । एक दिन उसले कुरैकुरामा शारीरिक सम्बन्धको प्रस्ताव राख्यो । प्रस्ताव पनि यति सजिलो गरी राख्यो कि मानौं एउटा सानो बच्चा आफ्नी आमासँग चकलेट माग्दै छ ।
मेरा लागि विवाहअघिको शारीरिक सम्बन्ध ठूलै पाप थियो । तर उसका शब्दमा मेरो यस्तो विचार ‘सङ्कुचित सोच’ बन्न पुग्यो ।
नकारें, सम्झाएँ, झगडा गरें, नबोलेर घुर्की लगाइहेरें । तर अहँ, मेरा कुनै पनि प्रयासले उसको चाहना कम गर्न सकेनन् । बरू उल्टै प्रस्तावले जिद्दीपनाको रुप लिन सुरू गर्यो ।
यही कुरामा लामो समयसम्म झगडा गरिरह्यौं ।
म बुझ्दिनथें कि, प्रेमलाई शरीर प्राप्तिको स्वार्थभन्दा माथि राखेर हेर्न किन सक्दैन ऊ ?
सानैदेखि आमा मलाई सम्झाउनुहुन्थ्यो, “नानी फलामलाई पनि एक रात बाहिर राख्दा खिया लाग्छ, तँ त छोरी होस्, ख्याल गरेस् !”
त्यस बेला म आमाका कुरा केही पनि बुझ्दिनथें । तर निशान्तको व्यवहारले मलाई यो कुराको अर्थ राम्रोसँग बुझाइदियो । सँगसँगै बुझाइदियो, आमाले हरेक पटक केटाहरूसँग खेल्न मनाही गर्नुको अर्थ अनि घुम्न जाने भनेर सुनाउँदा कहाँ, कहिले भन्ने प्रश्नभन्दा पहिल्यै कोको जाने भनेर सोध्नुको अर्थ पनि ।
आफ्नो अस्मिताको रक्षा गरौं वा प्रेम सम्बन्धको ? द्विविधामा थुप्रै दिन गुजारें । जोसँग पूरा जिन्दगी बिताउँछु भन्ने सोचेकी थिएँ, उसैलाई टाढा बनाएर जोगाएको अस्मिताको पनि के नै अर्थ रहला र ! यही सोचले हराएँ, आफैंलाई ।
त्यसपछि उसलाई म्यासेज गरें, “ठीक छ, म तिम्रो चाहना पूरा गरिदिन्छु ।” म्यासेजको रिप्लाईसमेत हेर्ने मन भएन मलाई, ट्विटर लगआउट गरेर मोबाइल अफ गरें ।
मन एकदमै नमीठो गरी दुखेको थियो । प्रेम सम्बन्धलाई बचाउनका खातिर उसलाई हुन्छ भने पनि आफ्नै मनलाई सम्झाउन सकिरहेकी थिइनँ । सिरानीलाई अँगालेर धीत मरून्जेल रोएँ । धेरै समय ऊसँग खुसी भएर मुस्कुराउँदै बिताएकाले होला, आँखाभित्र मनग्गे आँसु जम्मा भएको रहेछ, सबै पोखियो, त्यसपछि निदाएछु ।
भोलिपल्ट उसकै चाहनाअनुरुप प्रेमको उपहारस्वरुप उसलाई आफ्नो शरीर सुम्पनु थियो । मनले पटक्कै नचाहेको काम जबर्जस्ती गर्नुपर्दा पाइलाहरू गह्रौं हुँदा रहेछन्, मनमा पहाड बोकेर हिँडे झैं महसुस भइरहेथ्यो, मलाई त्यस दिन ।
उसले भने जस्तै गरी गएँ उसको रूम, सुम्पिदिएँ आफैंलाई, आफ्नो मन एकतिर पन्छाएर ।
त्यति बेला म आफूलाई उसकी प्रेमिकाका रुपमा भन्दा बढी एउटा खेलौनाका रुपमा पाइरहेकी थिएँ ! उसको नजरमा सधैं आफ्ना लागि प्रेम देख्ने म, त्यस दिन उसका आँखामा केवल प्यास भरिएको देख्दै थिएँ ।
चुपचाप उसका कुरा मानिरहें, ऊ यौनसुखको चरम आनन्दमा रमाइरहँदा मेरो आँखाबाट सिरानीमा एक थोपा आँसु खस्यो— तप्प । पीडा, कुमारीत्व तोडिनुको थियो या मन तोडिनुको, म आफैंले बुझ्न सकिनँ ।
“बहिनी, लोकन्थली आइपुग्यो, यहाँबाट राइट लिने कि लेफ्ट ?” ट्याक्सी चालकको प्रश्नले विगतमा रूमल्लिएको मेरो ध्यान भङ्ग भयो ।
“राइट लिनुस्, दाइ,” उनलाई बाटो देखाउँदै कोठा पुगें ।
अलिअलि रिँगाटा त लागिरहेकै थियो, कोठामा पुगेपछि वाकवाकी पनि लाग्न सुरू भयो । जारबाट बोतलमा सारेर चिसो पानी घटघट पिएँ । खाना खाने मन भएन । तर शरीर शिथिल थियो ।
आफ्नो हालत देखेर आफैंप्रति दया लाग्यो । केही त खानैपर्छ भन्ने सोचेर किचन र्याक उघारें । केही फलफूल थिए, चियादानीमा बिहानको दूध पनि बाँकी रहेछ ।
एक गिलास दूध र एक कचौरा फलफूल खाएपछि रिँगाटा लाग्न केही कम भयो ।
मान्छेहरू तनाव भएपछि निद्रा लाग्दैन भन्छन् । तर यो कुरामा भगवान्ले ममाथि कृपा गरिदिनुभएको छ । म जस्तोसुकै तनावमा पनि मज्जाले निदाउन सक्छु । त्यसै बसेर मनमा अनेक कुरा खेलाउनुको साटो सुत्नु नै उत्तम लाग्यो । भोलिपल्टका लागि आफूलाई तयार पनि त बनाउनु थियो ।
आधा रातमा झस्किएर ब्यूँझिएछु । सपना सम्झेर डर लाग्यो । कुनै सुन्दर बगैंचामा सेतो गाउन पहिरिएर हिँड्दै थिएँ । पुतली जस्तै बनेर । वरिपरि सुन्दर फूल फुलिरहेका थिए, मलाई आफ्नो शिरमा एउटा फूल सजाउने मन भएछ, विपनामा कहिल्यै नदेखेका फूल थिए त्यहाँ, तिनैमध्येको एउटा गुलाफी फूलमा मेरो नजर अडियो, निकै जतनसाथ टिप्न खोजेकी थिएँ । तर कुन्नि के गल्ती भयो, पूरै थुँगा मेरो हातमा आउनुको साटो पत्रपत्र चुँडिएर सबै फूल भुइँमा झर्यो । त्यसै बेला अकस्मात् ठूलो हुरी चल्यो र पत्रहरू उडाएर टाढाटाढा पुर्याइदियो ।
ब्यूँझिँदा शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । दुवै हात पेटमा रहेछन् । निशान्तको सिरानीमा खसे जस्तै आँसु फेरि खस्यो, यस पटक माया आफ्नो होइन, आफ्नो पेटमा भएको निर्दोष अस्तित्वको लाग्यो ।
जवानीले तात्तिएको शरीरलाई शान्त बनाउन मलाई प्रयोग गरेर मेरो नजरले प्रेम ठानेको भ्रम मेरो आँखैअगाडि पासपोर्ट बोकेर एयरपोर्टबाट गुमनाम भएको थियो । त्यस भ्रमको रिस म यो निर्दोष अस्तित्वमाथि किन पोखौं, जसको यसमा कुनै गल्ती नै छैन ।
क्षणभरमै मनले एउटा निर्णय लियो, “म फेरि त्यो नर्सिङ होम जानेछैन ।”
दिमागले प्रश्न गर्दै थियो, “समाजसँग लड्न सक्छेस् ?”
आमा बन्न लागेको शरीर अवश्य कमजोर थियो । तर मन अकस्मात् यति बलियो बन्यो कि, आफ्नो सन्तानका खातिर जस्तोसुकै परिस्थितिसँग पनि जुध्छु भन्ने अठोट लिन लाग्यो ।
मलाई फेरि निदाउनु थियो । र त्यही सपना देख्नु थियो । तर यसपटक मेरो हातबाट एक थुँगा फूल नचुँडियोस् !
हत्तपत्त ब्ल्याङ्केट तानेर गुटुमुटु परी आँखा चिम्म गरें ।





