बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कन्ट्रयाक ट्रेसिङ कमजोर हुँदा खतरा बढ्यो : डा.सुदिप खड्का

कन्ट्रयाक ट्रेसिङ कमजोर हुँदा खतरा बढ्यो : डा.सुदिप खड्का


  • तारानाथ आचार्य
  • भाद्र १७ २०७७, बुधबार

समुदायमा संक्रमण फैलिन थालेको गण्डकीमा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्यासँगै मृत्युदर बढ्दै गएको छ । संक्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनको अर्को स्वरूप निषेधाज्ञा जारी गरिरहेका छन् । तर संक्रमण फैलिने क्रम रोकिएको छैन । के निशेधाज्ञा, लकडाउन उत्तम विकल्प हुन त ? हामी आँफैले कसरी सावधानी अपनाउन सक्छौं ? कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले गरेको प्रयास पर्याप्त छ ? हामीले अब के गर्नुपर्छ ? खोप र औषधिको सम्भावना के कस्तो छ ? इबोलाजस्तो खतरनाक रोगको भ्याक्सिन बनाउने काममा सफलता पाएका र अहिले पनि जिवाणु विज्ञानको अध्ययन गरिरहेका विज्ञ के भन्छन् ? यसै विषयमा अमेरिकाको जर्जियामा रहेका जीवाणु वैज्ञानिक (भाइरोलोजिष्ट) डा. सुदीप खड्कासँग सहकर्मी तारानाथ आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना कस्तो प्रकृतिको भाईरस हो ?
– यो स्वासप्रस्वास प्रणालीमा असर गर्ने खालको भाईरस हो । स्वासप्रस्वासमा समस्या पार्ने भएकाले यसले केही मानिसहरको ज्यानसमेत लिने गरेको छ । हामी भाईरोलोजिष्टहरुले हेर्नुपर्दा यो भाईरस आरएनए भन्ने तत्व भएको भाईरस हो । र, यसका अरु प्रजातीहरु पनि छन् । सार्स १ र मर्स नामको भाईरस पनि यसकै एक प्रजाती हो ।

यो कति खतरानाक छ ?
– कुनैपनि भाईरस कति खतरनाक छ भन्ने विषयमा दुई तरिकाबाट हेर्नुपर्ने हुन्छ । एउटा कुरा यसले कति असर गर्छ र मृत्युदर कति छ भनेर हेर्नुपर्ने हुन्छ । अर्को कुरा यो कत्तिको फैलिन्छ भनेर हेर्नुपर्ने हुन्छ । म एउटा उदाहरण दिन्छु । संसारमा सबैभन्दा खतरनाक भनिएको इबोला भाईरस छ । जसका कारण संक्रमण हुने व्यक्तिहरु ३० देखि ९० प्रतिशतसम्मको मृत्यु हुने गर्दछ । अर्को हामीले सामान्य रुघाखोकीको कुरा गर्छौं, जुन प्रत्येक सिजनमा लाग्ने गर्दछ । जसमध्ये फ्लु र भाईरल इन्फुएन्जाले मात्रै हजारमा पाँच जनाको मृत्यु हुने गर्दछ । भाईरलकै कारण अमेरिकाजस्तो देशमा वर्षमा ७० हजार मान्छेको मृत्यु हुने गर्दछ भने इबोला महामारीको समयमा समेत ३० हजार मान्छेहरुको मात्रै मृत्यु भएको हामीले तथ्यांक पाउँछौं । यसले के देखाउँछ भने फ्लु भनेको यति धेरै व्यक्तिहरुमा फैलिन्छ कि जसका कारण मृत्युदर कम भएपनि यसको फैलावटका कारण धेरै मान्छेहरुको मृत्यु हुन जान्छ । यस्तै, इबोला अतिनै खतरनाक भएपनि त्यसको मानिसहरुमा फैलिने सम्भावना कम हुने भएकाले मृत्युदर धेरै हुँदा पनि मानिसहरुको मृत्यु चाहिँ कम हुन जान्छ । त्यहि रुपमा कोरोनालाई हेर्नुपर्दा औषतमा खतरनाक छ । फ्लुभन्दा बढी फैलिने विश्वव्यापी आँकडा अनुसार औषतमा २ प्रतिशत मान्छेको मृत्यु भएपनि मर्नेको संख्या धेरै हुन जान्छ । करोडौं मान्छेहरुलाई संक्रमण र लाखौं मान्छेहरुको मृत्यु भएकाले यसको फैलावटका कारण निकै नै खतरनाक हो ।

रुघाखोकी जस्तै त हो नि भन्ने छ त, लक्षण पनि उस्तै ?
– यसलाई हलुका लिनु हुन्न । संसारभर हेरौं ४० वर्षमाथीका व्यक्तिहरुको मृत्युदर बढी छ । नेपालमा अहिलेसम्म त्यस्तो भएको छैन । तर यहि अनुपातमा पहिला नै रोग भएका व्यक्तिहरुमा फैलियो भने हामीले दैनिक धेरै मान्छेहरु गुमाउनु पर्छ । हामीसँग स्वास्थ्य जनशक्ति छैन । प्रविधि र उपकरणको अभाव छ । त्यसैले यसलाई हलुका न आँकौं । यो निकै खतरनाक अवस्थामा छ ।

हावापानी, प्रतिरक्षात्मक शक्ति र खानपानले नेपालमा संक्रमण कम हुन्छ भन्ने आँकलन हुने गरेका छन् । के प्रभाव रहला त ?
– यो त हास्यास्पद कुरा हो । टिबी, एचआइभी एड्सलगायतका रोगहरु पनि छन् । ती रोगहरु पनि त नेपालीलाई लाएकै छन् । होला, इम्युनिटी पावर भएकालाई कम आक्रमण गर्दा त्यो स्वभाविक हो तर नेपाली सबैमा यो छ भन्नु गलत हो । यसले कसैलाई छोड्दैन र चिन्दैन पनि । कोरोनाको लागि मुख्य आउट कम के हुन्छ भने उमेर समुह यसको फ्याक्ट हो । नेपालमा पहिले भएका संक्रमित ४० वर्षभन्दा कम उमेर समुहका थिए । अहिले लक्षणसहितका उमेर ४० बढी भएका मानिसमा देखिन थालेको छ । नेपालमा संसारका अरु देशमा भन्दा फरक छैन । यो संक्रमण देखिएपछि एक तिहाईदेखि आधा मान्छेमा संक्रमण देखिँदैन । त्यो नै खतरा हो । लक्षण नदेखिएका मान्छेले खतराको समुहमा सार्न सक्छन् । बिरामी सिकिस्त हुने भए त बच्न सकिन्थ्यो । जसका कारण हावापानी वा प्रतिरक्षा शक्तिमा मात्रै विश्वास गरेर बेवास्ता नगरौं ।

समुदायमा संक्रमण कसरी नियन्त्रण गर्न सकिएला ?
– कोरोना नियन्त्रणका धेरै विधिहरुको प्रयोग भैरहेको छ । संसारभर भैरहेका प्रयोगहरुलाई हेर्ने हो भने देश र समुदाय अनुसारका विधि प्रयोग भएको पाईन्छ । वास्तवमा हाम्रो समुदायमा संक्रमण हुँदा लकडाउन वा निशेधाज्ञा गरेको पाईएको छ । एउटै विधिले मात्रै समुदाय स्तरमा फैलिएको कोरोना नियन्त्रण गर्न सकिन्न । यसका लागि धेरै मेहेनत आवश्यक हुन्छ । लकडाउन वा निशेधाज्ञा मात्रै समुदाय संक्रमण रोक्ने विकल्प हुँदै होईन । कति जनामा संक्रमण भएको छ, अवस्था कस्तो छ, कस्तो खालको समुह प्रभावित छ भन्ने विषयको खोजी लकडाउन वा निशेधाज्ञाको समयमा गर्न सकिएन भने त्यसले केही अर्थ राख्दैन । बागलुङकै उदाहरण लिउँ । हाडेपाखामा समुदायमा संक्रमण देखिँदा जिल्लाभर वा नगरपालिकाभर निशेधाज्ञा गर्नु गलत हो । जहाँ देखिन्छ त्यहाँ लकडाउन गर्ने, आसपास वा छिमेकी वडाहरु बरु लकडाउन गर्नुपर्छ । बढीमा समुदायमा फैलिएको सञ्जाल पत्ता लगाउन २१ दिनसम्मको समय लाग्छ । जुन समय धेरै लामो हो । यो बिचमा सम्पर्कमा आएकाहरुको पहिचान, जाँच र आईसोलेट गर्नु अवश्यक हुन्छ ।

किन नसोचेको ठाउँहरुमा संक्रमण फैलिईरहेको छ ?
– संक्रमण फैलिन नदिन गर्ने भनेको मानिसहरुको सम्पर्क टुटाउनु हो । संक्रमित देखिएमा उसको सम्पर्कमा रहेकाहरुको पहिचान र जाँच महत्वपुर्ण हुन्छ । नेपालमा सम्पर्कमा रहेकाहरुको खोजी कमजोर छ । यो चुनौतीपुर्ण कार्य पनि हो । प्रहरीले कुनै अपराधको अनुसन्धान गर्दा गर्ने मेहेनत जत्तिकै मेहनत गरे बल्ल निस्कर्षमा पुग्न सकिन्छ । उदाहरणका लागि एक जना संक्रमित चिया पसलमा बसेर चियाँ पिउँछ, उ निस्किएपछि सोही ठाउँमा पुग्ने अर्को व्यक्ति जसले सेनिटाईजर लगाएकै, मास्कको प्रयोग गरेकै छ । चिया पिउने बेलामा मात्रै त हो भनेर मास्क खोल्छ र अनि फेरी लगाउँछ भने त्यहि ठाउँबाट उ संक्रमित बन्छ । न उसलाई संक्रमित भएको थाहा हुन्छ न उसमा संक्रमणको स्रोत खुल्छ । नजिकको सम्पर्कमा नपरेकाले उसको जाँचनै हुँदैन तर निर्धक्क हिँडीरहेको हुन्छ । जसका कारण समुदायमा संक्रमण फैलिईरहेको छ, जुन कुरा हामीले पहिचान गर्न सकिरहेका छैनौं । समुदायमा संक्रमण फैलिन नदिन गहिराईमा पुगेर ट्रेसिङ गर्नु आवश्यक छ । अर्को कुरा सम्भावित संक्रमितहरु समुदायमा संक्रमण फैलिनुका कारण हुन् । हाम्रोमा घरमा एक्लै बस्ने ठाउँ छैन भनेर सम्भावित संक्रमितलाई समुदायको क्वारेन्टाइनबाट सिधै घर पठाउने गरिएको छ । अब सम्भावित संक्रमितहरुलाई छुट्टै बस्ने वातावरण मिलाउनै पर्छ । छुट्टै बस्ने ठाउँ छैन भन्ने छुट अब हामीलाई छैन । समुदायमा संक्रमण रोक्नका लागि भैरहेको लकडाउन वा निशेधाज्ञाको प्रक्रिया पनि गलत छ । यसको तयारी राम्रो हुनुपर्छ । अघिल्लो रातीको मिटिङले गरेको निर्णयले भोलिपल्टैबाट संक्रमण रोक्न भन्दै गरिएको निशेधाज्ञाले अर्थ राख्दैन । अर्को कुरा समुदायमा संक्रमण रोक्न प्रवाह भैरहेका सूचनामा समस्या छ । सबै स्थानमा पुग्ने सन्देश दिने सञ्जाल हाम्रो सरकारसँग भएको भए सहज हुन्थ्यो । मिडियाको सचेतनाले मात्रै थामिएको छ । अरु रोगजस्तो होईन कोरोना । लक्षण नदेखिनु सुखद कुरा हो तर त्यहि लक्षण नदेखिएका बिरामीबाट महामारी फैलिने कारण हो ।

जाडोमा संक्रमण बढी फैलिने हल्लाहरु पनि चलिरहेका छन् । के मौसमले संक्रमण फैलिनुमा अर्थ राख्छ ?
– यो सरासर भ्रम हो । अन्य भाईरल वा फ्लुजस्तो कोरोना होईन । भाईरल वा फ्लुले चिसोमा स्वासप्रस्वासमा समस्या हुने, गर्मीमा कम हुने हुन्छ । तर यो चिसो–गर्मी जे हुँदा पनि एकैनाश फैलिईरहेको छ । ब्राजिललगायतका देशलाई हेर्नुस् जहाँ सदाबहार एकै नासको मौसम हुन्छ । किन अहिले फैलिईरहेको छ त ? पूर्वी र पश्चिमी ध्रुव तथा उत्तर र दक्षिणका ध्रुवहरुमा मौसम फेरिने हुन्छ । एकातर्फ जाडो हुँदा अर्कोतर्फ गर्मी छ तर संसारका सबै देशमा एकैनाशले संक्रमण त फैलिएकै छ नि होईन र ? त्यसैले चिसो र गर्मीको भ्रममा कोही नपरौं । हावादारी कुराको पछाडी दौडिनु हुँदैन् ।

यो अवस्था कहिलेसम्म रहला ? के कोरोनाबाट मुक्ति सम्भव छैन ?
– यसका दुई पाटा छन् । संक्रमणलाई नियन्त्रण गर्न अथक प्रयास चाहिन्छ । सबैमा चेतना चाहिन्छ र आँफै जिम्मेबार बन्ने वातावरण चाहिन्छ । चिनकै उदाहरण हेरौं । बुहानमा कठिन परीश्रमले कोरोना नियन्त्रणमा आयो । पछि पुनः फैलियो र फेरी पनि नियन्त्रणमा छ । अष्ट्रेलिया र न्युजिल्याण्डमा हेरौं । जहाँ पहिलो चरणको नियन्त्रणमा आएर दोस्रो चरण सुरु भयो र नियन्त्रणका लागि अथक प्रयास भैरहेका छन् । उचित सामाजिक दुरी कायम गरे मात्रै यसको नियन्त्रण गर्न सकिन्छ तर निर्मुल पार्ने सपना अहिले नै नदेखौं । निर्मुल सम्भव छैन् । भ्याक्सिन बनेपनि लामो समय यसलाई निर्मुल पार्नको लागि लाग्छ । किनभने यो संसारभर फैलिएको छ । एक ठाउँमा हराउँदा अर्को ठाउँबाट व्युँतिने हुन्छ । त्यसैले सबैभन्दा उत्तम सामाजिक दुरी र आँफैमा सजगता हो ।

इबोलाजस्तो खतरनाक भाईरसको त भ्याक्सिन बन्यो । कोरोनाको भ्याक्सिन कहिलेसम्म बन्ला ? कि औषधि आउँछ ?
– यसको लागि दुईतीन वटा पाटाहरुलाई अध्ययन गर्नुपर्ने हुन्छ । औषधि बनाउने वा भ्याक्सिन बनाउने काम आँफैमा चुनौतीपूर्ण काम हो । मुख्य कुरा के हो भने यसको लागि निश्चित प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । पहिलो त हामीसँगै भएका औषधिले काम गर्छ कि भनेर खोज्ने हो । जुन परीक्षण भैसक्यो, भैरहेका औषधिले काम गरेनन् । अब नयाँ औषधि बनाउने काम थाल्ने हो । नयाँ औषधि बनाएर टेष्ट गर्ने काम निकै लामो हुन्छ । ल्यावदेखि जनवार र मानिससम्म पुग्दा वर्षौंसम्म लाग्न सक्छ । भ्याक्सिनको पनि सोही प्रक्रिया हो । यसको साईड इफेक्टसमेत अध्ययन गरेर तयार गर्नुपर्ने हुन्छ । अहिलेसम्मका कुनैपनि औषधि आठ दश वर्षभन्दा पहिला बनेका छैनन् । तर कोरोनाको औषधि र भ्याक्सिनको काम निकै द्रुत गतिमा भैरहेको छ तर समय लाग्छ । भ्याक्सिन बन्नुमात्रै पनि ठुलो कुरा होईन । यसको उत्पादन अझै महत्वपूर्ण कुरा हो । अहिले बनिरहेका औषधिको तेस्रो परीक्षणमा रहेका जुन छन् ती बजारमा आउनका लागि दुई वर्षसम्मको समय लाग्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->