बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेतलबी हाकिम

बेतलबी हाकिम


  • अनामिका
  • भाद्र २० २०७७, शनिबार

मैले यो कम्पनीमा जागिर खान थालेको १५ वर्ष भयो। पन्ध्र वर्षमा मैले तलब स्वरुप एक पैसा पनि पाएकी छैन किनभने यो मेरो साझेदारीको कम्पनी हो। म र मेरो हाकिम यसका मुख्य साझेदार हौँ। उनले मलाई हाकिम भन्छन् अनि मैले उनलाई हाकिम भन्छु। त्यसैले वास्तविक हाकिम को हो, त्यो पनि अन्यौल नै छ।

तर कम्पनीका हरेक ठूला निर्णयहरु हामी दुवैले सहमतिमा गर्छौं। काम विभाजन पनि प्रष्ट छ, कहिलेकाहीँ मदभेद भएपनि ठूलो मतभेद अहिलेसम्म भएको छैन। हुन त यो अफिस सुरु गर्नमा मेरो कुनै योगदान छैन, म पछि मात्र यहाँ जागिर खान आएकी हुँ तर अहिले मैले यही अफिसको भलाइको लागि आफ्नो सम्पूर्ण शक्ति लगाएकी छु, सम्पूर्ण समय सुम्पेकी छु। आफ्नै अफिस मानेपछि सुम्पनु पनि पर्‍यो।

सहरको राम्रो ठाउँमा देख्दा राम्रो र ठूलो दुई तल्लाको अफिस छ। पूरै घर नै हाम्रो अफिस हो। मैले भन्ने गरेका हाकिम प्रायः घरमा बस्दैनन्। त्यसैले म नै यो अफिसकी सर्वेसर्वा हुँ। यहाँको पूरै व्यवस्थापन मैले हेर्छु।

यहाँका कर्मचारीहरुको स्वास्थ्य, शिक्षा, सुरक्षा सबैको ख्याल राखेर हामीले सबै कर्मचारीहरुलाई बस्ने खाने व्यवस्था अफिसकै तर्फबाट मिलाउँदै आएका छौँ। उनीहरु यहीँ बस्छन्, यहीँ खान्छन्। त्यसैले हाम्रा कर्मचारीहरु सितिमिति यो अफिस छोडेर अर्को अफिस जाँदैनन्। गैहाले पनि उनीहरुको हामीसँग सम्बन्ध राम्रै हुन्छ, समय-समयमा हामीलाई भेट्न आइरहन्छन्।

हामीले कर्मचारीको सन्टुष्टीको विषयमा कुनै कसुर बाँकी राखेका छैनौँ। अफिस खासै ठूलो नभएकोले कर्मचारीहरु धेरै छैनन् तर पनि विभिन्न तहका र विभिन्न उमेर समूहका कर्मचारीहरु छन्, ती सबैको सन्तुलित ख्याल राख्नु पर्छ। कसैलाई काखा कसैलाई काखा भएको थाहा पाए भने बबाल गरिहाल्छन्।

त्यति मात्रै हैन, हाम्रो अफिस निकै समावेशी पनि छ, यहाँ कुनै पनि किसिमका कुनै पनि कारणले भेदभाव हुँदैन। पुरुषभन्दा महिला कर्मचारी बढी छन् र मुख्य मुख्य विभागका प्रमुखहरु महिला नै छौँ।

मेरो काम भनेको केही पनि हैन तर सबै हो। केही पनि हैन यस अर्थमा कि हाकिमले मैले केही पनि काम गरेको देख्दैनन्। सबै हो यस अर्थमा कि मैले बिहान अफिस सुरु भएदेखि साँझ अफिस बन्द नहुँदासम्म कुचिकारको कामदेखि हाकिमको काम सबै गर्नु पर्छ।

हाकिम दिनभरि बाहिर हुन्छन्। के काम गर्छन् मलाई खासै खुलाउँदैनन् तर सोधेमा अफिसको आय आर्जन बढाउने, ग्राहकहरुसँग सम्बन्ध बढाउने, नयाँ ग्राहक खोज्ने, नयाँ लगानिकर्ता खोज्ने काम गर्छु भन्छन्। विश्वास गर्नै पर्‍यो। उनी प्रायः बाहिर हुने हुनाले अफिस भित्रको काममा चासो दिंदैनन्, विश्वास गरेर सबै मेरो जिम्मामा छोडिदिएका छन्।

तर अचम्मको कुरा, मैले जति काम गरे पनि हाकिम मदेखि सन्तुष्ट हुँदैनन्। सबै हाकिम यस्तै हुन् कि उनी मात्र हुन् मलाई थाहा छैन। साँझ फर्केर मलाई दिनभरि के काम भयो, मैले त केही पनि गरेको देख्दैन, दिनभरि सुतेर, कम्प्युटरमा गेम खेलेर या फेसबुक हेरेर बित्यो भनेर सोध्छन्। मलाई झनक्क रिस उठ्छ।

‘मैले केही नगरेको भए अफिस अहिलेसम्म कसरी चल्थ्यो होला भनेर उनले किन सोच्न सक्दैनन् हँ?’ भनेर आफैलाई प्रश्न गर्छु। अफिसका कर्मचारीहरु कामै नगर्ने त हैनन् तर काम गर्न अलि अल्छी गर्छन्। आजै गर्न सकिने कामलाई भोलि गरौंला भनेर टार्ने बानी छ धेरै जसो कर्मचारीहरुको। त्यसमा पनि कलिला कर्मचारी त अझ बढी अल्छि छन्।

उनीहरुबाट काम फत्ते गराउन उनीहरुलाई काम गर्ने वातावरण पनि बनाइदिनु पर्छ। कुनै दिन खाना मिठो भएन भने थाल फ्याँकेर हिंड्छन्। आजभोलिका कर्मचारी हुन्, मानव अधिकारको कुरा गर्छन्। ती सबैलाई मिलाउनु पर्छ। न पिट्न मिल्छ, न गाली गर्न मिल्छ, न त जागिरबाट निकाल्न नै मिल्छ। कम्ता गाह्रो छ!

हाकिम हुँ भनेर दिनभरि लखर्-लखर् हिंड्दैमा अफिसको काम त्यत्तिकै चल्छ भन्ठानेका होलान् उनले। जहिले पनि आजभोलि बजार राम्रो छैन, पैसा कमाउन गाह्रो छ भन्छन्। अफिसको लेखा विभाग मैले नै हेर्ने हुनाले मलाई पनि थाहा छ, कर्मचारीलाई तलब दिनै पर्‍यो, अफिसको दैनिक खर्च धान्नै पर्‍यो, कर्मचारी बिरामी परे तिनको उपचार खर्च धान्नै पर्‍यो। उनीहरुको तालिममा पनि खर्च गर्नै पर्‍यो।

अफिसको कमाइको अधिकांश पैसा त्यसैमा सकिन्छ, बच्दै बच्दैन। त्यसैले कम्पनीको फाइदा भनेर बचेको पैसाको आधा हिस्सा अहिलेसम्म पनि देख्न पाएकी छैन।

तर गल्ती मेरै हो। यो अफिसमा जागिर खान आउँदा कति न राम्रो अफिस छ, भविष्य उज्वल छ, काम गर्ने वातावरण पनि राम्रो छ, कर्मचारी पनि मिलनसार छन् भनेर तलब नदिने तर कम्पनीको फाइदामा मेरो आधा हिस्सा हुने भनेर सम्झौता गरेर ल्याए। म पनि के के न पाइएला भनेर ठूला ठूला सपना बोकेर कम्पनीमा तलब नलिने, नाफा लिने गरी काम सुरु गरें।

पन्ध्र वर्ष भयो, सधैँ कम्पनी घाटामा छ, त्यसैले पैसा दिन सकिन्न भन्छन्, टार्छन्। कहिलेकाहीँ त छोड्दिन्छु यस्तो कम्पनी अनि बरु तलब लिन मिल्ने कम्पनीमा जान्छु जस्तो पनि लाग्छ तर फेरि पन्ध्र वर्ष भैसक्यो बिना तलब काम गरेको, अब कम्पनी फाइदामा जाने बेलामा के छोड्नु जस्तो लाग्छ। अनि हाकिमले पनि छोड्न दिंदैनन्।

फेरि यत्रो वर्ष सँगै काम गरेपछि सबै कर्मचारीहरुसँग पनि भावनात्मक सम्बन्ध जस्तो पनि भैसक्यो, छोड्न पनि सकिँदैन। कुन दिनमा कहाँ फसिएछ जस्तो लाग्छ। भर्खर यो अफिसमा जागिरमा आएको बेला काम गर्ने एक जना थिइन्। तर आफ्नै साझेदारीको कम्पनी भनेर मैले म गर्छु सबै काम, किन तलब दिने अरुलाई भनेर अफिसका सरसफाइका काम सबै मैले नै गर्न थालेँ।

हाकिमले पनि पैसै बच्ने भयो भनेर हुन्छ भने। तर काम कति छ भने, अफिस सफा गर्ने, कर्मचारीहरुलाई खाना पकाउने, भाँडा माझ्ने, उनीहरुका मैला लुगा धुने, उनीहरु बिरामी भए भने अस्पताल पुर्‍याउने, खाजा पकाउने, सब काम मैले नै गर्नु पर्छ। अँझ हाकिम काम नगरी बस्नुहुन्छ भनेर कराउँछन्।

अन्त यति काम गरेको भए कति तलब आउँथ्यो होला, यो अफिसमा फसेर काम पनि गर्नु छ, तलब पनि पाउनु छैन अनि गाली पनि खानु छ। भन्ने बेलामा ‘म त तपाईले मानेको हाकिम मात्र हो, यो अफिसको खास हाकिम त तपाई नै हो नि’ भनेर मख्ख पार्छन्, म पनि उनका गुलिया कुरामा भुलेर आफूलाई हाकिम नै जस्तो ठानेर मख्ख पर्छु तर उनका र कर्मचारीहरुका कृयाकलाप हेर्दा मलाई यो अफिसमा नोकर्नीको जति पनि फुर्सद र इज्जत छैन।

कहिले वृद्ध कर्मचारीहरुको स्याहार पुगेन भनेर गन्गन् गर्छन्, जति गरे पनि उनीहरुको स्याहार पुग्दैन भने कहिले कलिला कर्मचारीहरुलाई अलिकति नियन्त्रण गर्न खोज्यो भने मलाई आफ्नो शत्रु जस्तो ठान्छन्।

मलाई पनि थाहा छैन, मैले केको लागि यो बेतलबी काम गर्दैछु? अनि कहिलेकाहीँ त यत्रो अफिस एक्लै चलाएकी छु भनेर आफै आफैमा मख्ख पनि पर्छु।

ल ल, कति सिकायत मात्र सुनाउनु? कलिला कर्मचारी स्कुलबाट फर्कने बेला भयो होला । उनीहरुको लागि खाजा तयार पार्नु पर्यो‍। बुढा कर्मचारीलाई चिनी नभएको चिया पनि बनाउनु छ, बुढाबुढी दुवैलाई सुगर छ। सुकाएका लुगा पनि उठाउनु छ।

साँझ कलिला कर्मचारीलाई होमवर्कमा सहयोग पनि गर्नु छ, अफिसको लागि दिनभरि बाहिर काम गरेर फर्कने ‘हाकिम’ को लागि मिठो खाना पनि पकाउनु छ अनि उनको ‘दिनभरि के गर्नुभयो त?’ भन्ने प्रश्न पनि सुन्नु छ। के गर्ने, बेतलबी हाकिम भएपछि यस्तै हुने रहेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->