बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कहाँ आउँछ र घुमेर…बालापनको उमेर…

कहाँ आउँछ र घुमेर…बालापनको उमेर…


  • ध्रुवसागर शर्मा
  • असोज ३ २०७७, शनिबार

म्याग्दी, ३ असोज-म्याग्दीका ८३ वर्षीय बाबुराम उपाध्यायले आफ्नो बालापन ज्यामरुककोटको विमिराबोटमा बिताए ।
आफू जान्ने भएदेखि १६/१७ वर्षको उमेरसम्म उहाँले त्यतिबेलाका केटाकेटी साथीहरुसँग डण्डीबियो,कबड्डी,गुच्चा,खोप्पी,पिचकारी,गिर,हाइजम्प र कपडाका टालाहरु बटुलेर बनाएको भकुण्डो खेलेर आफ्नो बालापन बित्यो ।
त्यसैगरी दशैं तिहारको समयमा लिङ्गे पिङ,चमच्चा खेलेर खुब रमाउने गरेको सम्झदै उपाध्याय भन्छन्, ‘अहिले ती सबै खेलहरु लोप भैसके,प्रविधिको बढ्दो प्रयोगले बालापनका रैथाने खेलहरु नास्यो,खुला आकाशमुनि रमाउँदै बालापन बिताउनु पर्ने बालबालिकाहरु बन्द कोठाभित्र मोवाइल र इण्टरनेटमा खुम्चिएका छन् ।’
नेपाली कांग्रेस म्याग्दीका सचिब क्याप्टेन मीनबहादुर कार्की (६८) को बालापन पनि तमानेको पाखामा लोट्दै,कुद्दै र साथीहरुसंग डण्डिवियो,कपर्दी,हाइजम्प,लङजम्प खेल्दै बित्यो ।
केटाकेटीदेखि नै निकै फुर्तिला क्या.कार्की १९ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भए । ‘रैथाने खेलहरुले मनोरञ्जन मात्रै होइन शरीरमा स्फुर्ति पनि आउँछ,शरीर सुगठित हुनुका साथै मष्तिस्कलाई सकारात्मक प्रभाव पार्नेहुँदा स्मरण शक्ति पनि तेज हुन्छ ’, कार्की भने, ‘तर,आजकल केटाकेटीहरु परम्परागत खेल होइन कम्प्यूटर,ल्यापटपका गेम खेल्छन्,त्यसबाट उनीहरुमा नोक्सानीबाहेक अरु केही हुँदैन ।’
खेलकुदबाट नै आफ्नो पहिचान बनाएका बेनीका पुराना खेलाडी मिलन श्रेष्ठले लोप हुँदै गएका यस्ता रैथाने खेलहरू संरक्षण गर्नुपर्ने बताउँछन् । म्याग्दी मात्रै होइन प्रविधिको बढ्दो प्रयोगले नेपालका सम्पूर्ण ठाउँका बालबालिकाहरुले आफ्नो बालापन प्रविधिमा मात्रै साघुराउँन थालेपछि अभिभावकहरु चिन्तित हुन थालेका छन् ।
अहिलेका बालबालिकाहरुलाई टोपी लुकाइ,आँखा छोपेर मान्छे चिन्ने,गोबर लठ्ठी,डण्डी बिँयो,कपर्दी,कित्तिकित्ति आदि खेलहरु कस्ता हुन्छन् ?कुनै जानकारी नै छैन ।
‘बाल्यकाल खेल्ने कुद्ने, शारिरीक तथा मानसिक विकास गर्ने समय हो’डा.सन्दिप सापकोटा भन्छन्, ‘तर अहिलेका बालबालिकाहरुलाई बाहिर साथीहरुभेला भएर खेलिने खेलहरुमा रुचि नै छैन,उनीहरु जतिबेला पनि कम्प्यूटर,ल्यापटप र मोवाइलमा रमाइरहेका देखिन्छन्,यसले उनीहरु शारिरीक रुपमा अस्वस्थ हुनेमात्रै होइन मानसिकरुपमा पनि विचलित हुने समस्या रहन्छ ।’
अभिभावकले बच्चालाई पर्याप्त समय दिनेभन्दा अलमल्याउने सजिलो उपायका रूपमा मोबाइल, ट्याब लगायतका वस्तु दिने गरेका छन् । जसले गर्दा समयक्रममा ‘डिजिटल एडिक्सन’ का कारण उनीहरूमा विभिन्न शारीरिक र मानशिक समस्या बढिरहेको मनोविद्हरू औंल्याउँछन् । डिजिटल वस्तुतिर एकोहोरिंदा बालबालिकाहरू असामाजिक बनिरहेको पनि उनीहरूको चिन्ता छ ।
बालबालिकाहरू इन्टरनेटमार्फत विभिन्न गेमको अम्मली मात्र बन्दैनन् पोर्नोग्राफीतिर जाने जोखिम पनि हुने भएकाले अभिभावक विशेष सजग हुनुपर्ने बाल मानसिक रोग विशेषज्ञ डा.रमेश कुँवर बताउँछन् । ‘बच्चाहरूले मोबाइल र ट्याब कति समय खेल्छन् भन्ने कुनै लेखाजोखा हुँदैन, जसले विस्तारै उनीहरूमा डिजिटल एडिक्सन हुन्छ र एक्लोपन बढाउँदै मानसिक रोगी बन्न पुग्छन्’, उनले भने । बाल तथा मनोचिकित्सकहरुका अनुसार बालबालिकाहरुलाई रैथाने खेलहरु खेल्न अभिभावक विद्यालय र समाजले प्रेरित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->