सुकुम्बासी बनेकाको घर निर्माण र पुनर्उत्थान
३७ वर्षिय दुर्गाकुमारी विक दश सदस्यीय परिवारकी अभिभावक हुन् । उनको काँधमा १० जना परिवारलाई पाल्ने अभिभारा छ । बुकीतिर उनका १२ वटा गाई छन् । २ वटा घोडा र २ वटा भेडा पनि छन् । बुकी जाने भनेको ढोरतिर वस्तुभाउ लिएर जानुलाई भनिन्छ । ढोरपाटन नगरपालिका–९ बोबाङमा उनको सानो घर थियो । भुजीखोला किनारमा उनको खेत र बारी पनि थियो । तर, भाद्र १७ गतेको राती आएको बाढीले उनको सबै सम्पत्ति बडारीदियो । १० जना परिवार अहिले आफन्तको शरणमा छन् । सबै जना ढोरको गोठमा गएकोले पनि धन्न ज्यान बचाउन सकियो । ज्यान जोगियो तर जोगिएको ज्यानलाई कहाँ बिसाउने, के खुवाउने भन्ने ठुलो चिन्ताको प्रश्नले उनलाई विक्षिप्त बनाएको छ । अर्काको घरमा एकदुइ दिन त बस्न सकिएला, सधैभरि त कसरी बस्न सकिन्छ र ? उनको घर पुरै बगर बनेको छ । यसो आफ्नो जग्गा भनिएको ठाउँको निशानामा उनी पुग्छिन् तर आफ्नो घर कहाँनिर थियो भन्ने ठम्माउनसमेत उनलाई मुस्किल पर्छ । बाढीले बगाएर ल्याएको ठुलाढुंगा र रुखहरुले उनको घरआँगनको निशानासमेत बाँकी राखिदिएन । दुर्गाले सानो हुँदा पढ्न पाइनन् । उनलाई क ख लेख्न पनि आउँदैन । ढोर जंगलमा र बोवाङका उकालीओराली गर्दै आधा उमेर धकेलेकी विकको नाममा अब दश जना परिवार, १२ वटा गाई ,२ भेडा र २ वटा घोडाबाहेक केही छैन । सरकार र स्थानीय निकायले बस्ती बनाइदिने भनेको छ, कहाँ बनाउनुहुन्छ भन्ने प्रश्न गर्दा उनी नाजवाफ हुन्छिन् । ‘भाको यहिं घरजग्गा हो । ढोरमा पनि टेक्ने जमिन छैन कहाँ बसौ, कसो गरौ ?’
बोबाङका अधिकांस व्यक्तिहरुको दोहोरो बस्ती छ । आधा वर्ष ढोर र आधा वर्ष बोबाङमा बसाई सर्छन् । बैशाखबाट कात्तिकसम्म ढोरमा र चिसो पर्ने समयमा बोवाङमा झर्छन् । घुम्ती बसाईसँगै विद्यालय पनि आधा वर्ष माथि र आधा वर्ष तल सञ्चालन हुन्छ । दुर्गा कुमारीजस्तै ढोरमा आफ्नो जग्गा नभएको र बोबाङमा भएको घरजग्गा सबै पुरिएका परिवार २५ भन्दा बढि छन् । ढोरमा घरजग्गा भएकालाई माथि व्यवस्थापन गर्न सकिने भएपनि जाडोमा बोबाङ झर्नै पर्ने भएपछि यता पनि घर बनाउनै पर्ने बाध्यता छ । खतरायुक्त ठाउँमा उनीहरु नबस्ने निचोडमा पुगेका छन् । उनीहरुलाई अब नदीले छक्काएर सिध्याउँछ भन्ने हेक्का भएको छ । त्यसैले ढोरमा जग्गा नभएका २५ घरलाई एकीकृत रुपमा सरकारले जग्गा व्यवस्था गरेर घर बनाइदिनुपर्ने देखिन्छ । ढोरमा जग्गा भएकालाई पनि बस्ती बनाइदिनुपर्ने भए ४० को हाराहारीमा घर बनाउनुपर्ने हुनसक्छ बाँकी ४० जति घर उनीहरुकै जग्गामा बनाउन सकिन्छ । नदी छेउमा बचेका, खतरामा परेका घरलाई पनि अन्यत्र व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसका लागि व्यक्तिगत वा सार्वजनिक जग्गा खरिद गरि १०÷१५ ओटाका दरले एकीकृत बस्ती निर्माण गर्न सकिने सम्भावना छ । एउटा घरलाई मोटामोटी ५ लाख लाग्छ । जग्गा व्यवस्थापन भएमा यति घर निर्माण गर्न झण्डै ६ करोड जति बजेट आवश्यक हुन्छ । गण्डकी प्रदेश सरकारले घर निर्माणका लागि एक लाख र संघिय सरकारले एक लाख तथा मेयर देव कुमार नेपालीले छाना छाइदिने बचन दिएका छन् । सरकारको नीतिअनुसार ढिलो र झन्झटिलो प्रक्रियाले थप समस्या भने बनाउँछ । एकीकृत बस्ती निर्माणका लागि मुख्य समस्या जग्गा व्यवस्थापनको हुन्छ । अन्य ठाउँमा बस्ती बसाउने सम्भावना पनि छैन किनकी ती नागरिकलाई कृषि र पशुपालन गर्ने ठाउँ आफ्नै पाखोबारी हुन् । त्यहाँको विद्यालय, विद्युत गृह, स्वास्थ्य केन्द्र, खानेपानीको व्यवस्थापन पनि अर्को चुनौती छ । विभिन्न व्यवसाय गरेर बसेका तर बाढीले सबै बगाएपछि ऋण तिर्ने चेपुवामा परेका व्यक्तिको ऋण मिनाहा वा उनीहरुलाई सहुलियत दिने विषय पनि गम्भिर छ ।
बाबुआमा गुमाएका बच्चाहरुको व्यवस्थापन
खाना खाएर हात चुठ्न र भाडा माझ्न जाने आफनै साथीजस्तै शालिन सानो भुजीखोलाले यसरी आफ्नो जिन्दगी नै उजाडीदेला भन्ने कदापी सोचेका थिएनन् बोबाङ–९ का ११ वर्षिय महेश विकले । बाबाको किरिया सकेर निस्किएका महेशका आँखा झरिला बन्न अझै छाडेका छैनन् । उनी गाइबस्तु हेर्न बुकी गएका थिए, त्यहिं बेला परिवारका सबै ५ सदस्यलाई बाढीले बगायो । उनलाई आफ्नै घरले तर्साउँछ, केही डाडाभाटा र घरम ाबचेका केही कपडाका टुक्राहरु यत्रतत्र छरिएका छन् । आफ्नै जेठा बाबाको घरमा आश्रय लिएका महेश अलमलमा छन्, अब के गर्ने ? जीवन अन्धकार बनेको छ । उनीजस्तै बाबाआमा गुमाएका उनकै अंकलका दुई छोरीहरुको हविगत पनि उनको जस्तै छ । उनीहरु पनि गोठमा गएकाले बाढीबाट त बचे तर अब खाने, कहाँ बस्ने, कसरी पढ्ने चिन्ताको चितामा जलेका छन् । त्यस्तै सोही ठाउँकी चन्द्रा पुनका श्रीमानलाई बाढीले लगेपछि उनका २२ वर्षकी छोरी र २ वर्षका छोरालाई पाल्न, शिक्षादिक्षा दिने चिन्ता बढेको छ । त्यस्तै दर्शन पुनले श्रीमती गुमाए, उनको साथमा पनि एक वर्षकी छोरी छिन् । उनलाई छोरीको भविष्यको चिन्ता छ । आमा गुमाएका अन्य २ जना बच्चा गरि १० जना बालबालिकाको व्यवस्थापन गर्नेबारे पनि स्थानीय निकायले भुमिका निर्वाह गर्नुपर्छ । बच्चा व्यवस्थापनका लागि भन्दै विभिन्न व्यक्तिले आर्थिक अभियान थालेका छन् र केही बालगृहले उनीहरुलाई लैजाने भनिएपनि अझै मुर्तरुपमा व्यवस्थापन हुन सकेको छैन ।
गरिबीमाथि प्रकृतिको प्रहार
पश्चिम बोबाङमा अधिकांस दलित र गरिब नागरिकको बसोबास छ । गरिबी र चरम अभावका बीच बाँचेका यो भेगका नागरिकलाई प्रकृतिले पनि निर्मम प्रहार गरेको छ । बालबालिका, बलात्कार, हत्या पनि जिल्लामा सबैभन्दा बढि यहिं ठाउँमा हुन्छ । सडक, स्वास्थ्यचौकी, विद्यालय र अन्य सुविधाका हिसाबले पनि यो भेग निकै पछि छ । यो ठाउँलाई बागलुङको कर्णालीभन्दा फरक नपर्ला । उनीहरुको निधारमा नाम्लो टुट्न सकेको छैन । कृषिबाहेक अरु कुनै पनि पेशा व्यवसाय छैन । उनीहरुले कृषि गर्ने भएपनि यसको वैज्ञानिकरण र बजारीकरण गर्नेबारे अझै सोचिएको छैन । देशको एकमात्र शिकार आरक्ष ढोरपाटनमा बस्ने यी नागरिकलाई त्यो पर्यटकिय क्षेत्रको प्रभावसँगै जीवनमा परिवर्तन ल्याउने गरि योजना ल्याउनुपथ्र्यो । पुर्वाधारको अभावमा ढोरपाटन पुग्नसमेत कठिन छ । भने उत्तरगँगा जलाशययुक्त विद्युत आयोजनाले पनि यी गरिब नागरिकको जिवनस्तर माथि उकास्ने योजनासहित नीति बन्नुपर्छ ।
सानै उमेरमा विवाह र आमा बन्ने यहाँका दिदीबहिनीको कथा सोच्नै नसकिने छ । महिला विभेद र हिंसाको मात्रा यो ठाउँमा ठुलो छ । मेलापात र गाइगोठ जाँदा प्रायः बालबालिका र महिलाहरु बलात्कृत हुन्छन् । यस्ता घटना यहाँको लागि सामान्यजस्तो छ । सानै उमेरमा गर्भवती हुँदा वर्षेनि धेरै बालिकाको ज्यान जाने गरेको छ । यहाँ हिँसा रोक्न पनि जागरणमुखी र न्यायको पहँुचलाई बढाउनैपर्छ । मेलापात र गाइगोठ जाँदा दुर्घटनामा परेर लडेर मर्नेहरुको संख्या पनि ठुलो छ । हातखुट्टामा घाउ र शरीरमा रोग लिएर हिँडेकाहरुले उपचारसमेत गर्न पाएका छैनन् । परम्परागत मान्यता र सोचले अघि बढेको यो ठाउँलाई शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार र विद्युतले समेत छुन सकेको छैन । डोकोमा बच्चा बोकेर हिँड्ने यहाँका दिदीबहिनीका लागि डोका नै सवारीजस्ता छन् । जनप्रतिनिधी र सांसदहरु सुलभ ठाउँमा पुगेपनि यी ठाउँमा पुग्ने गरेका छैनन् । उनीहरुको जीवनस्तर सुधार्न पुननिर्माणसहित अन्य विशेष प्याकेज ल्याउनुपर्छ । पुर्नउत्थानसँगै भौगोलिक रुपमा विभेदमा पािरएको यो भेगमा सरकारको उपस्थिती हुनुपर्छ । यो समस्यालाई अवसरका रुपमा लिँदै त्यहाँको चौतर्फी विकासका लागि सम्बन्धित निकायको विशेष ध्यान यो बेला जानै पर्छ ।





