स्याङ्जा जिल्लाका ११ स्थानीय तहमध्ये एक हो, बिरुवा गाउँपालिका । जिल्लाको उत्तरपुर्वी भागमा रहेको यो गाउँपालिका तनहुँ र कास्की जिल्लासँग जोडिएको छ । सोही गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत छन् युवा कर्मचारी कुलराज सुवेदी । प्रमुख प्रशासकीय अधिकृत सुवेदीसँग गाउँपालिकाले गरेको कोरोना ब्यवस्थापन, विकास योजना, बजेटको खर्चको ब्यवस्थापन र चालु आर्थिक बर्षका कार्यक्रम लगायतका विषयमा ढोरपाटनकर्मी रञ्जिता शर्माले लामो कुराकानी गरेकी छन् । प्रस्तुत छ, प्रप्रअ सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश : सम्पादक ।
कोरोना महामारीले मुलुक नै समस्याग्रस्त छ, विरुवा गाउँपालिकामा कोरोना संक्रमणको अवस्था कस्तो छ र पालिकाले यसको ब्यवस्थापन कसरी गरिरहेको छ ?
स्वभाविक रुपमा मुलुकका अरु भागजस्तै बिरुवा गाउँपालिकामा पनि कोरोना संक्रमणको प्रभाव छ । तर हामीले कोरोना व्यवस्थापनमा महत्वपुर्ण उपलब्धी हासिल गरेका छौ । महामारीको शुरुवातदेखि हालसम्म पालिकाभित्र ५ जना व्यक्तिहरुमा मात्र कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये ४ जना व्यक्तिहरु पूर्ण स्वास्थ्यलाभ गरि घर फर्किसक्नुभएको छ भने १ जना व्यक्तिको हेलुस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसन सेन्टरमा उपचार गराइराख्नु भएको छ । पालिकाले चलाएको सचेतनाले यसमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । खासगरी वाहिरबाट पालिका भित्रिनेहरुलाई क्वारेन्टाइनमा राखेर मात्रै घर पठाउने गरेका छौँ । पालिकाका सवै वडामा क्वारेन्टाइन निर्माण गरेका छौ । पालिकामा आउनेहरुलाई तीनै क्वारेन्टाइनमा ब्यवस्थापन गरेका छौँ ।
गाउँपालिकाका सवै वडामा निर्माण गरिएका क्वारेन्टनाईन र आइसुलेशन सेन्टरको क्षमता कति रहेको छ ?
कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएसंगै हामीले गाउँपालिकाका ८ वटै वडामा क्वारेन्टाइन निर्माण गर्यौ । सवै क्वारेन्टाइनका क्षमता १०–१० वेड गरी ८ वटा वडामा ८० वेडको क्षमता रहेको छ । वडाको साथै गाउँपालिकाको केन्द्रमा थप १० वेड क्षमताको एउटा क्वारेन्टाइन निर्माण गरेका छौँ । यसरी गाउँपालिकाले ९० वेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको थियो । विदेशबाट आउनेहरुलाई ती क्वारेन्टाइनमा राखेर मात्रै घर पठाउने गरेका थियौं । हाल विदेशबाट आउने व्यक्तिहरुको संख्या घटेसँगै ३० वेड क्षमताको २ वडा क्वारेन्टाईन सेन्टरहरु मात्र सञ्चालनमा छन् ।
कोरोना महामारीका कारण गाउँपालिकाको विकास बजेटमा के कस्तो प्रभाव पा¥यो ?
स्वाभाविक रुपमा कोरोना महामारीको शुरुवातसँगै विकास बजेट खर्चमा चुनौति थपियो । निर्माण सामाग्रीहरुको अभाव, यातायात बन्द तथा श्रमिकहरुको अभावले पुँजीगत बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेन । यसले सवै क्षेत्रमा प्रभाव पार्यो । यति हुँदाहुँदै पनि गत आर्थिक वर्षमा बिनियोजित कुल बजेटको ८० प्रतिशत बजेट खर्च गर्न गाउँपालिका सफल भएको छ । यसले गर्दा विकास बजेट खर्चमा कार्य प्रगति राम्रो भयो ।
चालु आर्थिक वर्षको बजेटको प्राथमिकताका स्रोतहरु के के रहेका छन् नि ?
गत असार १० गते बिरुवा गाउँपालिकाको गाउँसभा समपन्न भयो । गाउँसभाले आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । नीति तथा कार्यक्रम र बजेटले मुख्य गरी कृषि, पुर्वाधार विकास, स्वास्थ्य र रोजगारी सिर्जना गर्ने विषयमा जोड दिएको छ र यसैमा आधारित रहेर बजेट बिनियोजन गरिएको छ । अहिले हामी त्यसलाई कार्यान्वयन गर्ने चरणमा छौँ ।
गाउँपालिकाले नमुना कार्यक्रमको रुपमा कुन कार्यक्रमलाई अगाडि सारेको छ ?
कोरोना महामारीका कारण रोजगारी गुमाई विदेशबाट फर्कने युवाहरुलाई आफ्नै गाउँमा रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रमलाई गाउँपालिकाले विशेष जोड दिएको छ । त्यसका लागि ४० लाख बराबरको स्वरोजगार कोष स्थापना गरिएको छ । ८ वटै वडाहरुमा नमुना कृषि कार्यक्रमको लागि एकमुष्ट रुपमा ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरि चालु आर्थिक वर्षमै २ वटा सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरि त्यहीबाट स्वास्थ्य सेवा सञ्चाल गर्ने योजना हाम्रो गाउँपालिकाको रहेको छ ।
यस आर्थिक वर्षमा विकास योजनाहरु कुन चरणमा रहेका छन् ?
अहिले हामी चालु आर्थिक वर्षका योजनाहरु सञ्चालनको तयारीमा रहेका छौ । अहिले चालु वर्षका अधिकांश योजनाहरु सञ्चालनका लागि वडा स्तरमा उपभोक्ता समितिहरु गठन भइसकेका छन् । प्राविधिक कर्मचारीहरु लगत इष्टमेट तयार गर्नको लागि सम्बन्धीत वडाहरुमा खटिइसक्नु भएको छ । गाउँपालिकाले यो बर्षका दशैभन्दा अगाडि नै ८० प्रतिशत योजनाहरुको सम्झौता सम्पन्न गरी कार्य अगाडि बढाउने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यक तयारी र कार्य भइरहेका छन् ।
गाउँपालिकाको आन्तरीक श्रोतको अवस्था कस्तो छ, पालिकालाई आत्मनिर्भर बनाउन योजना के के छन ?
हाम्रो गाउँपालिकामा आन्तरिक आम्दानीको अवस्था राम्रो छैन । आन्तरिक आम्दानी बढाउनको लागि गाउँपालिकाले एकीकृत सम्पति कर लागू गरेको छ । विगतका वर्षहरुमा चोरीनिकासी हुने बास्तारा, म्याङ र ज्याग्दी खोलाको गिट्टी बालुवा गतवर्षदेखि ठेक्का प्रक्रियामा लगिएको छ । विस्तारै आन्तरिक श्रोत बढाउने प्रयत्न भइरहेको छ । कृषि र फलफूल खेतीलाई प्रवद्र्धन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष लिइएको छ । प्रदेश सरकारसँगको सहकार्यमा गाउँपालिकाको वडा नं. ८ मा गत आवदेखि नै सुन्तला पकेट क्षेत्रको कार्यक्रम लागू गरिएको छ । यसलाई विस्तार गर्दै लैजाने कार्यक्रम छ ।
बिरुवा गाउँपालिका भुकम्प प्रभावितक्षेत्र पनि हो । गाउँपालिकामा पुनर्निर्माणको अवस्था के कस्तो रहेको छ नि ?
हाम्रो गाउँपालिकामा कुल लाभग्राही संख्या ६४८ रहेकोमा ६४० लाभग्राहीले सम्झौता गरि पहिलो किस्ता बापतको रकमको भुक्तानी लगिसकेका छन् । त्यसैगरी, दोस्रो किस्ता बापतको भुक्तानी लिने लाभग्राहीको संख्या ४११ रहेको छ । तेस्रो किस्ता बापतको भुक्तानी लिने वा घर निर्माण सम्पन्न भएका लाभग्राहीको संख्या ३१५ रहेको छ । यसरी पुनर्निर्माणको अवस्था अन्तिम चरणमा छ । अन्यत्र जस्तो हाम्रो खासै समस्या छैन् ।
गाउँपालिकाको कार्यालय तथा विषयगत शाखाहरुमा कर्मचारीको अवस्था कस्तो छ ?
केहिमहिना पहिले लोकसेवा आयोगद्धारा स्थानीय तहका लागि कर्मचारीहरुको विज्ञापन गरी स्थानीय तहहरुमा खटाई सकेकोले हाम्रो गाउँपालिकामा कर्मचारीहरुको ठूलो अभाव रहेको छैन । तैपनि, कृषि, पशुलगायतका विषयगत शाखाहरुमा भने स्थायी कर्मचारीको अभाव रहेको छ । त्यसको साथै स्थानीय तहमा नियुक्ती लिएर आएका कर्मचारीहरु आफ्नो पायकका स्थानीय तहमा सरुवा लिन खोज्ने प्रवृतिले निकट भविष्यमा कर्मचारीको अभाव हुन सक्ने सम्भावना देखिन्छ । यसकाबारेमा समयमा नै सोचेर ध्यान दिनुपर्ने हुन्छ ।
अन्त्यमा, ढोरपाटन दैनिक पत्रिका मार्फत भन्नु पर्ने केही सन्देश छ कि ?
नेपाल सरकाले लिएको ‘सुखी नेपाली–समृद्ध नेपाल’ को परिकल्पना पुरा गर्नको लागि कर्मचारी, जनप्रतिधी र जनताहरुको साझा सक्रियता आवश्यक रहन्छ । आफ्नो गाउँटोलका विकास योजनाहरु सञ्चालनको क्रममा यसको गुणस्तर, मापदण्ड र दीगो विकासको सवालमा गाउँपालिकावासी नै चनाखो हुनु पर्दछ । कर्मचारी पनि इमान्दारपूर्वक जनताको काममा दत्तचित्त भएर लाग्नु पर्दछ । जनप्रतिनिधी, कर्मचारी र जनताको समन्वबाट नै पालिकाले विकासमा फड्को मार्न सक्दछ । हाम्रा कर्मचारीबाट केहीकत्तै कमजोरी भएमा यथासमयमै गाउँपालिकाको कार्यालयमा जानकारी गराउनुहुन समेत म सवैलाई अनुरोध गर्दछु ।
अन्त्यमा, गाउघरका खबर, जनप्रतिनिधी, कर्मचारी र नागरिकका विचार सम्प्रेषण गरेर गण्डकी प्रदेशमा नै लोकप्रिय बन्न सफल ढोरपाटन दैनिकको थप प्रगति र सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।




