बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पुरुष र पेटिकोट

पुरुष र पेटिकोट


  • Dhorpatan News
  • असोज १७ २०७७, शनिबार

निकैबेरदेखि छलफल चल्दै छ । मलाई हतारो हुनाले आत्तिरहेको छु । यो क्रान्तिकारी नारीसभा छिटो के सकिएला र ? जे होस् फेला पारिहालें , अब भोग्नु नै छ ।

एउटी दिदी हो कि बैनीले मेरो नाकतिर औंल्याउदै भनिन्,‘बुझ्नुभो मिस्टर , तपाईंं त स्त्रीपुरुष समानताको पक्षधर हुनुहुन्छ स ल भन्नुस् त , अब कति अत्याचार सहने ?’
‘अँ , प्रकृतिले नै पुरुषलाई अलि बलियो बनाएको छ , एक–दुई थप्पड कहिलेकाहीं हानिहाल्छ ।’ मैले नम्रतापूर्वक जिभ्रो चपाएँ ।
‘एहे , बल छ भन्दैमा निर्घात कुट्न पाइन्छ ?’, आडैकी अर्की दिदी हो कि बैनीले हुँकार गरिन् ।
मेरो हातमा अखबारले बेह्रेका श्रीमतीज्यूका लुगाफाटाहरु थिए । यो अहिले लगएर ड्राइक्लिनिङ सपमा दिनु थियो । अतः म यी नारी–मुक्तिका समर्थकहरुबाट अहिले फुत्किन चाहन्थें । त्यसो हुनाले झट्पट् समर्थन गरेर उम्किन खोजें ।

‘हो–हो कुटिहाल्नु त हुँदैन । अनि सबैले कुट्न पनि कहाँ सक्छन् र ? कोही कोही त्यस्तै जँड्यहा सँड्याहाले …. ऐले म बिदा हौं त , मलाई यी यो ड्राइक्लिनरकहाँ पु¥याउनु छ ।’
‘बस्नुस्–बस्नुस् , एकैछिन् ।’ एउटी आकर्षक प्रौढाले मलाई कतै पनि नछोए तापनि अँठ्याएर भनिन् , ‘तपाईंंजस्ता शुभचिन्तकलाई हामी गुमाउन चाहँदैनौं । हो , सबै पुरुष खराब हुन्छन् र कुटपिट गर्छन् भनेर हामी भन्दैनौं । त्यस्ता सज्जन पुरुषहरुको सहयोगद्वारा नै नारी स्वविकासको बाटोमा लमिक्न सक्छे । नारीहरुमाथि अत्याचार गर्ने पुरुषहरु मात्र होइन नारी नै पनि हुन्छन् । यी सबै थोक अशिक्षा र परम्परागत कुसंस्कारहरुले गर्दा हो ।’
अब मलाई पनि रमाइलो लाग्न थाल्यो । किनभने नारीमाथि अत्याचार पुरुषबाट मात्रै हुँदो रहेनछ नारीबाट पनि हुँदो रहेछ भन्ने यथार्थ प्रकट भयो । अतः म पनि छलफलका लागि हौसिएँ ।

‘हो–हो तपाईंंले ठीक भन्नुभो…… पुरुषले कैद गर्ने अनि नारीले नारीमाथि अत्याचार गर्ने ।’ एउटी बैनीले निंधारदेखि गालासम्म लर्केको केशकुन्तललाई देब्रे हातको कान्छी औंलाले पन्छाउँदै भनिन् ,‘अब हाम्रो सङ्घर्ष दोहोरो भयो ।’
मैले आफ्नो हातमा लिएको बन्डल सम्झें । तर केही भन्ने सकसकले मलाई छलफलतिरै होम्यो ।

‘एउटा कुरा कहिलेकाहीं नारीले पनि पुरुषमाथि ….. ’
चित्ताकर्षक प्रौढा दिदीले मैले आँ गर्नासाथ अलङ्कार बुझिहालिन् ।
‘बिचरी असहाय र दुर्वल नारीले केको पुरुषमाथि अत्याचार गर्नु । बलियीबाङ्गी नारीलाई पनि फिस्टे पुरुषले लात्ती हान्छ ।’
‘नारीलाई दुर्गा पनि भन्छन् नि ….’
‘आ.. यी पौराणीक गफ हुन् । व्यवहारमा हेर्नुस् , व्यवहारमा ।’
अब मेरो उत्साह सेलायो ।
उत्साह सेलाउनासाथ फेरि मैले हातको बन्डल सम्झें । अनि उपस्थित सबै दिदीबैनीहरुलाई नमस्कार गर्दै बिदा मागें ।
‘किन हतारिनुभएको ?’, एउटी दुर्गाले भनिन् ,‘के छ त्यो बन्डलमा ? ए , ड्राइक्लिनर कहाँ जाने ? कोट–प्यान्ट हो ?’
म नारी मुक्तिसमर्थक , सोझो र सत्यवादी पुरुष हुनाले निष्कपट भावमा भनें ,‘ हैन,श्रीमतीका सारीचोलाहरु छन् । ल त अहिले जाऊँ ?’
चित्ताकर्षक दिदीले केट मिलेट झैं हाँस्दै भनिन्,‘सारीचोला मात्रै ?’

‘ए , त्यो त !’, मेरो सत्यवादले फलाक्यो,‘पेटीकोटहरु त घरमै धोएर सुकाउन हाल्दिया छु ।’
सबै गलल्ल हाँसे । म अकमक्क परें । हाँसो निकैबेरसम्म चल्यो । म यी नारी स्वतन्त्रा र समानताका आन्दोलनकारी महिलाहरुका लागि ‘मूर्ख’ पुरुष ठहरिएँ ।मेरी श्रीमती बिरामी छिन् ।म बन्डल बोकेर बाहिरिन्छु । बाहिर प्रचण्ड घाम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->