बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कथा : गाथगादी

कथा : गाथगादी


  • इन्द्रबहादुर भण्डारी ‘इन्द्रेणी’
  • असोज २४ २०७७, शनिबार

बिहानीपखका कलिला घाम पहाडको धुरीबाट झरेर आँगनमा फैलिँदै थिए । झ्यालबाट भित्र पसेको एकमुठी सूर्यको प्रकाशले अँध्यारो कोठालाई उज्यालो बनाउने कोसिस गरिरहेको थियो । अगेनामा आगो बलिहरेको थियो । ओदानमाथि ताउलीमा बसालेको आटो फत्किरहेको थियो । आमा चुल्ठी बाटेर राखेको हललेको साग काटिरहेकी थिइन् । बाबु अगेनाको डिलमा बसेर हुक्का तानिरहेको थिए । छोरो बाबुको नजिकै बसेर पुस्तक पढिरहेको थियो ।
छोराले के–के सम्झेझैँ गरी बाबुतिर फर्केर भन्यो, “बा ! आज राति मैले अचम्मको सपना देखेँ, भनम् ?” बाबुले आफ्नो काम रोकेर छोराको मुखतिर हेर्दै भन्यो, “अगेनाको डिलाँ बसेर सपनाका कुरा नभन्, पूरा हुँदैन ।”

छोराले भन्यो, “आ, यी बा पनि ! उही पुरानै जमानाका कुरा गर्छन् । पूरा हुने र नहुने सपना हैन क्या ।”

छोराको कुरा सुनेर बाबुले भन्यो, “त्यसो भए अगेनाभन्दा अलि टाढा बसेर सुना, कस्तो रहेछ तेरो सपना !” बाबुको आदेश लिएर छोराले आफूले देखेको सपना भन्न थाल्यो ।

०००

कारगारमा नयाँ जेलर सरुवा भएर आएको थियो । उसले कैदीहरूको नाम दर्ता भएको अभिलेख फाइल पल्टाएर हेर्न थाल्यो । नाम हेर्दैजाँदा एउटा नाममा पुगेर उसका आँखा रोकिए । उसले त्यो नाम दोहोर्याएर पढ्न थाल्यो ।

नाम : कृष्णलाल अधिकारी
जन्म : सं. १९४४ माघ २४ गते
पिताको नाम : शिवलाल अधिकारी
काम : कौशल अड्डाको सुब्बा
अपराध : गाथगादी ताकेको
सजाय : दशवर्षे काराबास
सजाय सुरु भएको मिति : सं. १९७७ साउन ११ गतेदेखि ।

जेलर फाइल समातेर आफ्नो कार्यकक्षतिर लाग्यो ।

पुस महिनाको निर्दयी चिसोले राजधानी खाल्डोलाई सर्लक्कै निलिसकेको थियो । चारैतिरबाट पर्खालले घेरिएको कारागारको कुनाकुनामा कैदीहरू डल्लो परेर चिसोको सामना गरिरहेका थिए । कारागारको एउटा अँध्यारो कुनाबाट एउटा कैदीे निरन्तर खोकिरहेको आवाज आइरहन्थ्यो । साँझ पर्न थालेपछि उसको खोकीको गति झन्झन् तेज हुन थाल्थ्यो । दिन–प्रतिदिन उसको खोकीको गति झन्झन बढ्दै थियो । कारागारका अरू कैदीहरू पनि उसले खोकेको आवाज सुनेर वाक्कदिक्क भइसकेका थिए ।

त्यस कैदीको पहिचान बढ्दै र फुल्दै गएका दाह्रीजँुगा अनि माथितिर सोझिएर घुम्रिएका कपालको रौंले मुखमण्डल मात्रै होइन शारीरिक पहिचान पनि हराउँदै थियो । समयको गतिले त्यो कैदीलाई मुलुकका अगाडि अपराधी साबित गराएर आफूलाई आफैंबाट भुल्न बाध्य बनाएको थियो । मानसिक शोक र चिन्ताले शरीरलाई लौरीजस्तै बनाएको थियो । कारागारबाहिर भएको भए कुनै तपस्वी हो या साधारण मान्छे, छुट्याउन गाह्रो पथ्र्याे ।

रात छिप्पिँदै जाँदा कारगारको वातावरण शून्यतामा परिणत हुँदै जान्थ्यो अनि कैदीहरूका मन छट्पटाउन थाल्थे । कारागारको भित्रसम्म टाढाटाढाबाट बेलाबेलामा कुुकुर भुकेको र स्यालहरू कराएको आवाज सुनिन्थ्यो । अनि कैदीहरूमा स्वतन्त्रताको तिर्खा जाग्थ्यो अनि सताउँथ्यो । कारागारको गेटमा पहरा दिइरहेको सिपाहीले बेलाबेलामा चिच्चाएर समयको जानकारी दिँदा समयको गतिहीनता देखेर छटपटी उत्पन्न हुन्थ्यो र उनीहरूका रहरहरू त्यसैत्यसै ओइलाउँदै जान्थे ।

कारागारमा अनेक कैदी थिए । समय बिताउने उनीहरूकोे आ–आफ्नै लय र पारा थियो । कोही सुतेरै समय बिताउँथे, कोही आफ्नै तालमा गीत गाएर । कोही आफ्नो निर्दोषिताको कथा सुनाएरै समय काट्थे । कोही भयरहीत भएर क्रान्तिको सपना देख्दै हुरी, बतास र आगोका गीतहरू गाउँथे ।

कारगारभित्रको एउटा कुनामा डल्लो परेर खोकिरहने त्यो कैदीको वास्तविक नाम कारागारबाहिरै छुटेको थियो । ऊ कारगारको नारकीय संसारमा गाथगादी ताकेको राजद्रोही नामले चिनिएको थियो । कुनाकुनामा डल्लो परेर बसेका अरू कैदीहरू मन खाली गरेर घुर्न थाल्दा त्यो कैदी सम्झनाको निस्तो संसारमा हराउन थाल्थ्यो । उसलाई लाग्थ्यो, आफ्नो नाम र पहिचानसहित यो चेतना, सम्झना र सपनाहरू पनि कारागारबाहिरै छुटेको भए यो नारकीय जीवन बिताउन सहज हुने थियो ।

ऊ सधैंझैँ सपना र सम्झनाको तातो तेलको कराहीमा चोबिँदै थियो । उसलाई सग्लो र आनन्दको चोखो निद्रा त्यो संसारमा कहिल्यै लागेको थिएन । उसलाई रुखोसुखो निद्रा पनि आफ्नै घरमा छुटेजस्तो र अहिले त्यसले पनि बिर्सेजस्तो भइरहेकोे थियो । दुःख बिर्सने अनेक कोसिस गर्दा पनि उसलाई पटक्कै निद्रा लागिरहेको थिएन । ऊ बेलाबेलामा आफ्नो विगतलाई सम्झिन्थ्योे अनि आफ्नो घरपरिवार, छोराछोरी र आफन्तहरूलाई सम्झिन्थ्यो ।

कारागारमा बसेको पनि पूरै दुई वर्ष बित्न आँटिसकेको थियो । सुरुसुरुका दिनमा त उसलाई भेट्न बेलाबेलामा आफन्त आउँथे तर पछिपछि त्यो क्रम घट्दै गयो । अन्ततः पूर्णतः बन्द भयो । समयको गतिसँगै हरेक कुरा पुराना–पुराना हुँदै जाँदा रहेछन् । स्मृतिपटबाट हराएर जाँदो रहेछ । उसले आफूलाई सबैले बिर्से कि जस्तो सोच्न थालिसकेको थियो ।

योे दुई वर्ष त पलपल मरेरै बित्यो तर अबका आठ वर्ष कसरी बित्ने हो, उसलाई थाहा थिएन । कारागारमा बिताउनुपर्ने लामो समय सम्झिँदा पनि उसलाई कहाली लाग्थ्यो । यातना दिनेलाई त यातना दिन झ्यास्सैजस्तो लाग्दो हो तर भोग्नेलाई कति गाह्रो हुन्छ यो त भोग्नेलाई मात्रै थाहा हुन्छ ।

उसले आफ्नो सानो र सुखी संसारलाई सम्झिन थाल्यो । उसकोे सानो संसार सुखमै चलेको थियो । सरकारी सुब्बाको पद पाएकै थियो । मति बिग्रिएछ । मुलुकका लागि केही गरौँ भनेर लाग्नु त व्यर्थै रहेछ । मुलुकको हितमा त केही गर्नै नहुने भयो । यसो सानो प्रयास गरेको एक्कासि अत्याचारी शासकले सुखी संसार लथालिङ्ग भताभुङ्ग बनाइदियो ! अन्धकारमा बाँच्ने बानी परेको यो देशमा कहिले न्यानो सूर्योदय हुने होला ? ऊ यस्तै सम्झेर आफू जन्मिएको युगलाई धिक्काथ्र्यो ।

बाडुल्की लाग्दा ऊ आफ्नो घर–परिवारलाई सम्झिन्थ्यो । छोरी भर्खरै टुकुटुक हिँड्न थालेकी थिई । उसलाई निकै पछ्याउँथी । आफ्नै हातले उसलाई खाना नखुवाएसम्म खाना खानै मान्दिनथी । अड्डा जाँदा पनि निकै टाढासम्म रुँदै पछ्याउँथी । सुत्दा पनि छातीमै टाँसिएर सुत्थी नत्र रोएर भुर्चालो उठाउँथी ।

छोरो पनि उस्तै थियो । भर्खरै बाह्रखरी सिक्दै थियो । पढाइमा निकै मन लगाउँथ्यो । सबैले भन्थे, ‘छोरो त ठ्याक्कै बाउगोता गएको छ । ठूलो भएर बाउजस्तै अड्डाको हाकिम बन्छ ।’ कलिला छोरछोरीलाई सम्झिँदासम्झिँदै उसको मन पग्लिएर आँखाबाट मन्तातो आँसु बग्न थाल्यो । मुटु निचोरिएर आएको हिक्कालाई उसले थाम्नै सकेन । हिक्का छुट्यो । अनि रुवाइ खोकीमा मिसाएर तारन्तार खोक्न थाल्यो ।

उसकी श्रीमती साह्रै लच्छिनकी थिइन् । कुलघरानाकी । आँगन पोलेर दिएका थिए । नौमती बाजा बजाएर भित्र्याएको थियो । उनैको लच्छिनले गर्दा आफू अड्डाको सुब्बा भएको थियो । आफू हिन्दुस्तानमा पढ्न जाँदा घरको इज्जत धानेर बसेकी हुन् ।

उसको सजाय माफी गराउन पनि लागेकी हुन् । बेलाबेलामा आफ्नो पतिदेवलाई भेट्न कारागार आउँथिन् । ऊ आफैंले अबदेखि यहाँ भेट्न नआउनू भनेर आदेश दिएको थियो । उनीमाथि राणाहरूको गिद्देदृष्टि नपरोस् भनेरै उसले आफूलाई भेट्न नआउने आदेश दिएको थियो । बरू छोराछोरी र बूढी आमाको राम्ररी हेरचाह गर्नू भनी सम्झाएको थियो ।

पिताजी भने पहिले नै परलोक भइसकेका थिए । आमा बूढी भइसकेकी थिइन् । त्यति होस् थिएन । छोरा जेल परेपछि त सधैं छोरा खोज्दै गल्लीगल्लीमा भौंतारिन थालेकी थिइन् । बूढी भएकी आमालाई बूढेसकालमा सेवा गर्न नपाएकामा ऊ सधैं आफैंलाई धिक्कार्थ्यो ।

ऊ कुनै–कुनै बेला आफू गलत समयमा जन्मिएको निष्कर्ष निकाल्थ्यो । कुनैबेला सानो आगोको झिल्काले सारा वन सखाप पार्न सक्छ भनेर चित्त बुझाउँथ्यो । कुनैबेला यो देशमा पनि नयाँ दिन आउने छ र सबैले बोल्न अनि लेख्न पाउनेछन्, त्यस बेला आफूलाई अवश्य पनि सम्झिनेछन् भन्ने सोच्थ्यो ।

उसले हिन्दुस्तानमा पढ्ने क्रममा एउटा हिन्दी भाषामा लेखिएको ‘मक्वा के खेती’ नामको किताब भेटाएको थियो । त्यो किताब मकैको खेती कसरी गर्ने र मकैबालीमा रोग लागे उपचार कसरी गर्ने भन्ने विषयमा लेखिएको थियो । उसले त्यो किताबमा लेखिएका कुरा नेपाली भाषामा अनुवाद गरेर नेपाली किसानलाई मकैको खेती कसरी गर्ने र मकैबालीमा रोग लागे कसरी उपचार गर्ने भन्ने विषयमा जानकारी गराए नेपाली किसानहरूलाई फाइदा हुन्छ भन्ने सोच्न थाल्यो । यसले नेपालको कृषि उत्पादनमा केही टेवा पुर्याउँछ भन्ने विश्वासले उसले त्यो हिन्दी भाषामा लेखिएको पुस्तकलाई नेपाली भाषामा अनुवाद गरेर आफ्नै खर्चमा प्रकाशित गराएको थियो । आफूले सानो प्रयास गरे देश र समाजले केही पाउँछ भने त्यो काम गर्नुपर्छ भन्ने उसको दृष्टिकोण थियो ।

भदौ महिनाका लामा दिन । वर्षेझरीले धोको पुर्याएर विश्राम लिन थालिसकेको थियो । सूर्य चन्द्रागिरिको थाप्लोमा पुग्न थालिसकेका थिए । भोजराज काफ्ले र रामहरि अधिकारी हातमा सानो पुस्तक समातेर दरबारतिर हान्निएका थिए । कुनै ठूलो रहस्य पत्तो लगाएर त्यसको पोलखोली ठूलै बक्सिस् पाउने आशामा उनीहरू मुख मिठ्याउँदै थिए ।

श्री ३ सरकार चन्द्रशमशेर राणा आफ्नो कार्यकक्षमा बैठकेहरूका अगाडि बन्दुक बनाउने गेहेन्द्र शमशेरलाई सम्झिएर हाँसिरहेका थिए । ‘चन्द्रे हाँस्यो त नास्यो’ भन्थे बूढापाकाहरू ।

ढोकेले सरकार चन्द्रशमशेरमा आफ्नो बिन्ती बिसाउँदै सरकारको दर्शनभेटका लागि सेवक भोजराज काफ्ले र रामहरि अधिकारी हाजिर भएको जानकारी गरायो । चन्द्रशमशेरको हाँसो मत्थर भयो । आदेश भयो, “ती पण्डितहरूलाई हाजिर गरा ।”

“सरकारको जय होस् ।” दुवैजनाले आफूहरू सरकारको सेवामा हाजिर भएको बिन्ती बिसाए ।

“किन आयौ ? के खबर ल्याएका छौ ? खुलस्त पार ।”

“सरकार ! यो मुलुकाँ अनर्थ हुन थाल्यो ।” रामहरिले चिन्ता प्रकट गर्यो ।

“के अनर्थ भो ? रामहरि ! खुलस्त पार् ।”

“सरकार ! सरकारको नुन खानेले नुनको सोझो गर्न बिर्से ! मनपरि लेख्दै हिँड्न थाले । भोलि मुलुकले यिनीहरूको सिको गर्न थाल्यो भने सम्हाल्न गाह्रो हुनसक्छ सरकार ।” रामहरिले चाकरीयुक्त चिन्ता प्रकट गर्यो ।

“कसले के गर्यो ? खुलस्त पार् रामहरि ।”

“सरकार ! त्यो नमकहराम कृष्णलालले पुस्तक छपाएको रहेछ । त्यसमा सरकारको र हाम्रा विदेशी मित्रहरूको पनि घोर अपमान गरेको रहेछ ।”

रामहरिको कुरा सुनेर चन्द्रशमशेर हाँस्न थाले । हाँस्दै भने, “खै त्यो पुस्तक ? मेरो सामु पेस गर् ।”

भोजराज एकपाइलो अगाडि सरेर हातमा समातेको पुस्तक देखाउँदै भन्यो, “सरकारको जय होस् ! पुस्तक हाजिर छ सरकार ।”

चन्द्रशमशेरले पुस्तक समातेर ओल्टाई–पल्टाई हेरे र भने, “के लेखेको रहेछ पण्डित ? पढेर सुना ।”

भोजराजले पुस्तक पढ्ने आदेशको पालना गर्दै भन्नथाल्यो, “सरकारको जो हुकुम ! सरकारको जय होस् । सरकार ! यो पुस्तकमा लेखेको सबै कुरा पढेर त साध्य छैन, एउटा सानो भाग पढेर सुनाउँछु । त्यसपछि यसमा के लेखेको रहेछ भन्ने कुरा सरकारबाट आफैं थाहा पाइबक्सिन्छ ।”

“सरकार ! यो पुस्तकको सुरुमा यस्तो लेखिएको छ, ‘वि.सं. १९०३ देखि मकैबालीमा कीराको प्रवेश भयो, मकै खाने राता र काला टाउका भएका दुई किसिमका कीराहरू छन् । कुनै पनि बालकका निम्ति चन्द्रोदय भिटामिनभन्दा आमाको दूध पौष्टिक हुन्छ, हामी स्वदेशीभन्दा विदेशी कुकुरलाई बढी माया गर्दछौं तर चोर डाँकाबाट रक्षा गर्ने बखत गद्दीमा सुत्ने विदेशी कुकुरभन्दा स्वदेशी कुकुर नै काम लाग्दछन्…।”

भोजराजले पढेको कुरा चन्द्रशमशेरले केही बुझेनन् । अनि तत्कालै आदेश दिए, “यसको अर्थ खुलस्त पार् रामहरि ।”

रामहरिले अर्थ लगाउन थाले– “सरकार ! यसमा श्री ३ सरकारलाई राता टाउके कीरा, भीमशमशेर सरकारलाई काला टाउके कीरा र विदेशी मित्रहरूलाई कुकुर भनेर मानमर्दन गरिएको छ । १९०३ सालमा जंगबहादुर सरकारबाट सुरु भएको राणाशासनको उदयलाई रोगका रूपमा जनाएको छ, चन्द्रोदय भनेर श्री ३ सरकारको शौर्यलाई अपमान गरेको छ । आमाको दूध भनेर राजालाई र विदेशी कुकुर भनेर विदेशी मित्रलाई अपमान गरेको छ सरकार ।”

चन्द्रशमशेर केहीबेर घोरिए अनि हाँस्दै भन्न थाले, “कतिसारो पार्सी बात गर्न जानेको रहेछ हे, तो पाजी सुब्बाले । त्यसको यो साहसलाई के भन्छन् हँ रामहरि ? खुलस्त पार् ।”

रामहरिले तत्कालै जवाफ दिए, “सरकार ! यसलाई त गाथगादी ताकेको अपराध मानिन्छ । अनि गाथगादी ताक्नेलाई दिने ज्यान सजाय त मुलुकमा सबैलाई थाहा छ सरकार ।”

चन्द्रशमशेरले तत्कालै कडा आदेश दिए, “त्यो नमकहराम कृष्णलाल र यसमा कविता छपाएका सबैलाई तत्कालै हाजिर गरा । अनि यो पुस्तकको एकप्रति पनि बाहिर जान नपाओस्, एकएक गन्ती गरेर पूरै मेरै अगाडि आगो लगा ।”

श्री ३ चन्द्रशमशेरको आदेश तत्कालैै पालना हुन थाल्यो । सिपाहीहरूले दुई घण्टा नबित्दै सबै आरोपीहरूलाई हातमा कल्ली लगाएर दरबारमा उपस्थित गराए ।

अपराधी भनिएका सबैजना श्री ३ चन्द्रशमशेरको अगाडि हाजिर भए । चन्द्रोदयी हुँकारको अगाडि कोही पनि बोल्न सकेनन् । बरू मूल अपराधी कृष्णलालबाहेक सबैले चन्द्रशमशेरका अगाडि अञ्जानमा गल्ती भएको स्वीकार गर्दै माफी मागे । चन्द्रशमशेरले उनीहरूलाई सरकारी सेवाबाट बर्खास्त गरेको घोषणा गरे ।

कृष्णलाल अधिकारीले भने आफ्नो सफाइमा केही बोलेनन् । चन्द्रशमशेरले हाँस्दै भने, “नमकहराम किस्ने ! तँैले निकै राम्ररी नुनको सोझो गरिस् । हामीले तलार्इं सरकारको सिन्दूर पहिराएर हाकिम बनाउने, तैंले हामीमाथि नै घात गर्न पुस्तक छपाउने ? तैंले हाम्रो कानुनमुताविक गाथगादी ताकिस् । अब तँ पाँच वर्ष कालकोठरीमा बस् । पुस्तक त छपाएको जति सबै ल्याइस् ?”

कृष्णलाल केही बोलेनन् । तत्कालै पुस्तक गिन्ती गर्ने आदेश दिए । पुस्तक दुई–दुईपटक गन्ती गरियो तर एकप्रति अपुग भयो । चन्द्रशमशेर फेरि हाँस्न थाले, “यो पातकी पण्डितलाई चौबाटोमा झुन्ड्याएर मारिदे ।”

चन्द्रशमशेरको आदेश सुनेर सबैजना झसङ्ग भए । दरबारको सभाकक्षमा केही क्षण महाशून्यताको वातावरण छायो । चन्द्रशमशेरकी रानी आफ्ना पतितिर फर्केर बिन्ती बिसाउन थालिन्, “महाराज ! ब्राह्मणलाई प्राणदण्ड दिँदा महापाप लाग्छ । बरू एक–दुई वर्ष जेल सजाय थप गरिदिए उचित होला ।”

रानीको कुरा सुनेर चन्द्रशमशेर केहीबेर मौन रहे । अनि अर्को आदेश जारी गरे, “नमकहराम किस्ने ! तैंले प्राणदान पाइस् । अब थप पाँच वर्ष जेलमा सडेर मर् ।” चन्द्रशमशेरको सभा समाप्त भयो । कृष्णलाल अधिकारीलाई यमदूतहरूले हातमा कल्ली लगाएर नरकलोकतिर लैजान थाले ।

कारागारमा सरुवा भएर आएको नयाँ जेलर जेलको सम्पूर्ण अवस्था निरीक्षण गर्दै त्यो कैदीको नजिकै आइपुग्यो । एकछिन घोरिएर हेर्यो । उसलाई त्यो कैदीबारे धेरै कुरा थाहा थियो । मनमनै भन्यो, ‘विचरा ! कौशल अड्डाका हाकिम साहेब ।’ उसले आफ्नो सिपाहीलाई बेसारपानी तताएर त्यो कैदीलाई दिने आदेश दियो र आफू पनि त्यहाँबाट बाहिर निस्क्यो ।

सिपाहीले तताएको बेसारपानी ल्याएर कैदीको अगाडि राखिदियो । कैदीले बिस्तारै बिस्तारै बेसारपानी पिउन थाल्यो । केहीबेरमै अलिक हलुका महसुस भयो । कैदीले मनमनै जेलरलाई धन्यवाद दियो ।

केहीबेरमै उही सिपाही कैदीको अगाडि आएर उभियो । भन्यो, “हजुरलाई जेलर सा’बले बोलाउनुभएको छ, हिँड्नुस् रे ।” कैदीको मनमा केही शंका उत्पन्न भयो तैपनि बिस्तारै उठेर सिपाहीको पछिपछि लाग्यो । सिपाहीले कैदीलाई जेलरको कोठाभित्र प्रवेश गराएर आफू बाहिर निस्कियो ।

जेलरले कैदीलाई आफ्नो अगाडि भएको कुर्चीमा बस्ने सङ्केत ग¥यो । कैदी उसको आदेशको पालना गर्दै कुर्चीमा गएर बस्योे । जेलरले बिस्तारै कैदीको अनुहारतिर हेर्यो, कैदीले पनि जेलरको अनुहारतिर हेर्यो । दुवैका आँखाले एक–अर्कालाई चिनेजस्तो गरे ! सानोपलका लागि खुसीको सञ्चार हुन पुग्यो । कहीबेरसम्म कोठा सुनसान भयो ।

जेलरले कोठाको शून्यतालाई चिर्दै भन्न थाले, “मैले हजुरलाई राम्ररी चिन्छु । हजुर कौशल अड्डाको सुब्बा कृष्णलाल अधिकारी हुनुहुन्छ । के गर्नु ! बोल्न हुँदैन, नत्र हजुरबाट त्यति ठूलो अपराध भएको होइन । हजुरले मुलुकलाई जे ज्ञान दिन खोज्नुभयो त्यो पक्कै पनि अपराध होइन, तर के गर्नु मुलुकले राम्रो कुरा त कहाँ बुझ्न सक्छ र ?”

जेलरका आँखा कुरा गर्दै गर्दा बारम्बार ढोकातिर तेर्सिन्थे । उसले आफ्नो कुरालाई प्रमाणित गर्न आफ्नो झोलाबाट एउटा पुस्तक झिकेर कैदीको अगाडि राख्यो । पुस्तकको नाम थियो, ‘कृषि शिक्षावली प्रथम भाग ।’

कैदीले जेलरले देखाएको पुस्तक हातमा समातेर ओल्टाई–पल्टाई हे¥योे तर उसले त्यो किताब चिनेन । प्रश्नसूचक आँखाले जेलरतिर हे¥यो । जेलरले कैदीको आशय बुझेर भन्यो, “हो यही हो, हजुरले लेखेको पुस्तक ‘मकैको खेती’ । अहिले राणा सरकारको आदेशमा नाम फेरेर प्रकाशित भएको छ ।

कैदीले पुस्तकलाई पुनः पटकपटक ओल्टाई–पल्टाई हेर्यो । आफैंले जन्माएको छोरालाई सुम्सुमाएझैँ केहीबेर सुम्सुमाइरह्यो अनि किताबको पाना पल्टाएर हेर्न थाल्यो । त्यहाँ आफूले लेखेको भूमिका थिएन जसले उसलाई ठूलो अपराधी बनाएर त्यो कालकोठरीमा पुर्याएको थियो । अनि कविजी शम्भुप्रसाद ढुङ्गेल, साम्वभक्त सुवेदीलगायत अरू कविका कविताहरू पनि थिएनन् । बाँकी सबै आफैंले लेखेका कुराहरू थिए । केहीबेर कैदीका आँखामा खुसीको सञ्चार भयो । उसले केहीबेरलाई भए पनि राणाको यातना र जेलको कठोर कारबास बिर्सियो !

कैदी खुसी हुँदै जेलरको कोठाबाट बाहिर निस्क्यो । उसलाई कोठाबाहिर पर्खेर बसेको सिपाहीले पहिलेकै ठाउँमा लिएर गयो । त्यतिबेलासम्म उसको खोकी केही मत्थर भएको थियो । मनमा एक किसिमको खुसी पनि छाएको थियो । उसलाई आफू जेलमा बस्नु परे पनि आफूबाट गल्ती नभएको महसुस हुन थाल्यो ।

रात छिप्पिँदै थियो । अरू कैदीहरू घुर्न थालिसकेका थिए तर उसलाई निर्दै्र परेन । हुनत ऊ जेलमा आएदेखि उसका प्रायःजसो रातहरू अनिँदै बित्थे । ऊ सग्लो रात कहिल्यै निदाएको थिएन । विगतलाई बिर्सने प्रयत्न गर्दागर्दै पनि पटक्कै सक्दैनथ्यो ।

त्यो रात पनि उसले तारन्तार खोकेरै बित्यो । उसको उपचारका लागि कसैले चासो देखाएनन् । बरू क्षयरोग सर्ने डरले ऊदेखि सबै टाढै बस्न थाले । ऊ झन्झन् सिकिस्त हुन थाल्यो । ऊ सिकिस्तै भएको खबर उसको घरसम्म पनि कसैले पुर्याएनन् ।

जेलर त्यो कैदीप्रति केही साहनुभूति राख्थ्यो तर ऊ पनि आफूलाई बात लाग्ने डरले कैदीको नजिक हुन सकेन ।

त्यो रात जेलर छुट्टीमा घर गएको थियो । उसको जिम्मेवारी अर्कोले सम्हालेको थियो । रातको दोस्रो प्रहरसम्म उनको खोकीको आवाज निरन्तर आइरहेको थियो । तेस्रो प्रहरसम्म आइपुग्दा उसको खोकीको आवाज बन्द भइसकेको थियो । जेल सुनसान भयो ।

संवत १९८० माघ पहिलो साता तीनबारको एकाबिहानै जेलको भान्से हतारहतार माने बाउचाको घरमै आएर एक डोको साग जेलमा पुर्याइदिने खबर गर्यो अनि बाटो लाग्दै सोध्यो, “माने बाउचा ! त्यो सुब्बा कृष्णलाल अधिकारीको घर जाने बाटो कताबाट हो ?” माने बाउचाले सोध्यो, “किन र ?” उसले भन्यो, “उनको घरमा एउटा जरुरी खबर पु¥याउनु छ ।” मानेले बाँकी कुरा सोधेन बरू एउटा नमीठो आशंका मनमा खेलाउँदै तरकारी बारीतिर पस्यो ।

“बाठो कागले गुँ खान्छ भन्थे साँच्चै रहेछ” भन्दै माने बाउचा तरकारीको डोको बोकेर सहरतिर लाग्यो ।

जेलअगाडिको चोकमा एक हुल मानिस भेला भएका थिए । सायद कृष्णलालकै विषयमा कुरा गरिरहेका थिए । उसले यसो थाप्लोमा लगाएको नाम्लो घाँटीमा मालाजस्तो बनाएर हे¥यो अनि, “आ ! नजाने गाउँको बाटै नसोध्नू भन्छन्” भन्दै अगाडि बढ्यो ।

जति बिर्सिन खोजे पनि उसको मनमा त्यही कुराले बारम्बार घोच्न थाल्यो । मनमनै भन्यो, ‘के गर्नु र ! मान्छे त असल नै हुन्, परेका बेला ऐँचोपैंचो र गाहै्रगर्जो पनि टार्थे । खेती–किसानीतिर निकै लगाव थियो । घरपछाडिको सानो बारीमा निकै राम्रा मकै फलाएका थिए । मकैको खेती गर्ने विषयमा एउटा पुस्तक लेख्छु भन्थे । बेलामा सचेत पनि गराएकै हो, त्यो किताब–सिताब लेख्ने काम गर्नुभन्दा पूजापाठतिर लागेको भए भलैै हुनेथियो । हुन त पढेलेखेका, हामीभन्दा जान्ने मान्छे । सरखारकै नुनपानी खाएर सरखारले नै नरुचाएको काम गर्न खोज्दा कल्ले पो बाँकी छाड्छ र ? अझ यी त परे श्री ३ चन्द्रशमशेर । बाबै ! अहिलेसम्म कसैले पनि टाउको उठाएर बात गर्न सकेका छैनन् ।’

डोकाको साग जेलको भान्सेलाई जिम्मा लगाएर फर्किन लाग्दा माने बाउचाले देख्यो जेलको बाहिरी प्राङ्गणमा कृष्णलाल अधिकारीको मृत शरीरलाई हरियो बाँसको घारोमा बाँधेर माथिबाट पहेँलो कपडाले बेरेको । लाग्थ्यो, उनको अन्तिम यात्राका लागि कसैको प्रतीक्षा भइरहेको थियो ।

०००

आफूले देखेको सपना छोराले भनेर सक्यो । तर बाबुआमाको पग्लिएको मन अघाएको थिएन ।

(खजुरा बाँके, नेपालगन्ज)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->