बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘परम्परा तोड्न नसक्दा काम गर्न सकिएन’

‘परम्परा तोड्न नसक्दा काम गर्न सकिएन’


  • तारानाथ आचार्य
  • असोज २८ २०७७, बुधबार

समुदायमा रहेको विकृति विसंगतीहरुले समुदायलाई बदनाम गरिरहेको भन्दै दुई वर्षअघि जिल्लाको बडिगाड गाउँपालिकाले विकृति–विसंगतिविरुद्धको अभियान चलायो । जाँडरक्सी, जुवातास, बालबिवाह, बहुबिवाह, सामाजिक तथा साँस्कृतिक विभेदको अन्त्य, लागुऔषधको प्रयोगमा प्रतिबन्धलगायतका २८ बुँदे घोषणा पत्र जारी गर्दै सभ्य गाउँ निर्माणको उद्घोष गरियो । छिमेकी पालिका र प्रदेश तथा संघ सरकारमा रहेका जनप्रतिनिधि समेतको उपस्थितीमा भएको भव्य समारोहका बिच उद्घोष गरिएको विकृतिविरुद्धको अभियान दुई वर्षमा आईपुग्दासमेत हिजोकै अवस्थामा छन् । चोक–चोकमा होहल्ला, समुदायमा विभेद र जुवातासजस्ता क्रियाकलापमा संलग्नहरुको कमि आएको छैन । तामझाम देख्दा र सुन्दा निकै प्रभावकारी हुने मानिएको वडिगाडको यो अभियान कसरी चल्दैछ होला ? किन गाउँपालिकाले आँफैले घोषणा गरेका २८ बुँदा कार्यान्वयनमा ल्याउन सकेन । कोरोना नियन्त्रण र रोकथाममा जिल्लाका अन्य गाउँपालिकाको तुलनामा भार धेरै परेको र हालसम्म सफल रहेको गाउँपालिका कसरी बन्यो ? उद्धार र राहतमा किन विवादित कुराहरु आए र समग्र गाउँपालिकाको विकासका लागि के के काम भैरहेका छन् ? यिनै विषयमा गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजासँग सहकर्मी तारानाथ आचार्यले गरेको कुराकानीको सम्पादित अंश ।

वडिगाड गाउँपालिका अहिले के गरिरहेको छ ?
– कोभिड–१९ चिनमा देखिएपछि हामीले यो विश्वव्यापी हुन्छ भन्नेमा थियौं । जब यो विश्वभरि फैलियो हामीलाई पहिल्यै लागेको थियो यो चिनबाट होईन भारतहुँदै हामीकहाँ आईपुग्छ र भयावह अवस्था आउँछ भन्ने हिसाबले बच्ने तयारीमा लाग्यौं । हामीले भारतबाट आउने गाउँपालिकाबासीलाई क्वारेन्टाईन राख्ने व्यवस्थापन गरेका थियौं । जसका कारण गाउँमा संक्रमण फैलिन पाएन् । यहाँका सुरक्षा, स्वास्थ्य, राजनीतिक दल र जनप्रतिनिधिको समेत सक्रियतामा गाउँपालिकामा ७ वटा क्वारेन्टाईन निर्माण भएका थिए । जसले गर्दा हामीलाई धेरै सजिलो भयो । सबैलाई सचेत बनाएकाले गाउँमा कोभिड–१९ को असर परेको छैन् । हामीले गरेको कामको जनताबाट सह्राना भएको छ । यहाँका जनताले अरु पालिकाभन्दा राम्रो काम गरेको भनेका छन् । अहिले क्वारेन्टाइनमा कोही छैन । आईसोलेसन खाली छन् । यो बेला कोभिड–१९ को व्यवस्थापन नै हाम्रो महत्वपूर्ण काम हो भन्न चाहन्छु ।

गाउँपालिकाले बनाएका क्वारेन्टाईन सबै विद्यालयमा थिए । विद्यालय सञ्चालन हुँदा त्यसको विकल्प के छ ?
– पहिला हामीले सबै विद्यालय प्रयोग गरेका थियौं । अहिले नेपाल सरकारले पढाउन भनेपछि वडा नं. ५ मा ५ शैयाको आईसोलेसनको व्यवस्था गरेका छौं । सोही ठाउँमा खेलकुद कवर्डहल र त्यहाँनै रहेको सभाहल प्रयोग गर्ने योजनमा छौं ।

तयार भएका संरचना पर्याप्त छन् ?
– हो, हामीसँग संरचनाहरु पर्याप्त छैनन् । नेपाल सरकारले गरेको निर्देशनअनुसार विदेश तथा प्रभावित जिल्लाबाट आउनेलाई सकभर स्थानीय सामुदायीक भवन जो वडा तहमा छन् त्यहाँ राख्ने भनेका छौं । यदि सम्भव नभएमा होम क्वारेन्टाईनका लागि पनि हामीले तयारी थालेका छौं । गाउँपालिकाको बैठकले निर्णय गरिसकेको छ । सुरक्षित हिसाबले होम क्वारेन्टाइन बस्न पाउने व्यवस्था हाम्रो गाउँपालिकामा भएको छ । शंका लागेको र लक्षण देखिएकालाई गाउँपालिका स्तरीय क्वारेन्टाईनमा राख्ने वा आईसोलेसनमा राख्ने भनेका छौं ।

संक्रमितको उपचारमा कत्तिको कठिन स्थिती व्यहोनु पर्यो ? संक्रमित वडा अध्यक्षहरुलाई लिन गाउँपालिकाले गाडी पठाएन भन्ने गुनासो आएको थियो नि ?
– हामीलाई यहाँ त केही समस्या भएन । विशेषतः संक्रमित जिल्लामा पठाउनु पर्ने र त्यहाँको खर्च धेरै भयो, अन्तको संक्रमण मुकाममा आउँछ भनेर गरेको व्यवहारले हामीलाई समस्या पा¥यो । मुकाममा बसेका बुद्धिजिविहरुकै व्यवहारले जर्बजस्त बिरामी पठाउने वातावरण बन्यो । आँफु बाँच्ने अरु मरुन भन्ने हाम्रो सोँचका कारण समस्या भयो । हामीले अब सोच्ने भनेको हामी पनि बचौं र बचाऔं भन्ने भावनाको विकास गर्नु हो । जाने बुझेका भनेकाहरुकै व्यवहारले हामी दुखी भयौं ।
जहाँसम्म गाडी पठाएन भन्ने कुरा छ । वडाध्यक्षहरुलाई उदृत गरेको समाचार गलत थिए । उहाँहरु पनि जिम्मेवार मान्छे हो । आँफै आउँछौ भनेपछि गाडी नपठाएको हो । सामाचरको खण्डन गरेका थियौं । उहाँहरुले पछि आत्मालोचना गर्नुभयो । आँफुहरु नबोलेको भन्नुभयो । कुनै कन्ज्युसाईं उद्धार र उपचारमा भएकै छैन् । हामी त्यसो हुन दिँदैनौं ।

यहाँहरुले दुई वर्ष पहिला निकै तामझामका साथ सुरु गरेको विकृतिविरुद्धको अभियान कहाँ पुग्यो ?
– यो त बढो अफ्ठारो र असजिलो रहेछ । मानविय स्वभावले धेरै असजिलो हुँदोरहेछ । जुन काम आफ्नै भलोका लागि हो र स्वास्थ्यका लागि भनेर जनताले बुझेननन् । सामाजिक विकृति र विसंगतिको उन्मुलनको लागि हामीले गाउँसभाबाट पारित गरेका थियौं । अभियान सञ्चालनको क्रममा व्यवधान आए । प्रमुख प्रशासकीय अधिकृतको फेरबदलका कारण कार्यक्रम कार्यान्वयनमा असजिलो आउँदो रहेछ । हामीले पवित्र सोचेर थालेको कार्यक्रमलाई पनि सहि हिसाबले कार्यान्वयनमा ल्याउन सकेनौं ।
पवित्र हिसाबले यस्तोे नगरौं भनेर हामीले चेतनामुलक कार्यक्रम गरिरहेका छौं । तर, सोचेजस्तो प्रभावकारी नभएकै हो । अझैपनि मानविय स्वास्थ्यसँग जोडेर विशेषतः समाजका कतिपय विकृत रुपहरु जस्तो– बालविवाह, बहुविवाह, जुवातासजस्ता समस्यालाई हामीले नियन्त्रण र उन्मुलन नै गर्ने अभियानमा छौं । अबैध धन्दा नगरौं भन्ने चेतनाको विकास नभएसम्म यो सम्भव हुने कुरा होईन । हामी चेतनको विकासमा यतिबेला तल्लिन छौं । अभियानलाई तार्किक बनाउन नसक्दा हिनताबोध गरेका छौं ।

प्रभावका हिसाबले के आशा राख्नुभएको थियो ?
– यसले हाम्रो समाजलाई असर गर्छ । मानव जीवनलाई असर गर्छ । आर्थिक रुपमा क्षयीकरण हुन्छ भनेर नै त्यसको नियन्त्रण र उन्मुलन थालेका हौं । हामीले बनाएको योजनाकै हिसावले अघि बढाउन सकिएको भए पक्कै पनि उपलव्धी हाँसिल गर्न सक्थ्यौं ।

नमुना बनाउने भनिएको कार्यक्रम कार्यान्वयन नहुनु भनेको कर्मचारी फेरबलदको समस्या मात्रै हो कि ? तयारी बिनाको घोषणा ?
– हैन तयारी त काम गर्दै जाँदा वातावरण हुने हो । मात्रै के हो भने हामी जनप्रतिनिधिमा पनि तत्परता, आत्मबल र प्रतिबद्धता भएन । जनता सबै विषयमा जानकार नहुन सक्छन् । उनीहरुलाई जागरुक बनाउनु हाम्रो दायित्व थियो । जुन किसिमले लाग्नुपथ्र्यो त्यो किसिमले लाग्न सकेनौं । अभियान चलाएर संस्कार र परम्परा मास्ने र आयआर्जनको बाटो बन्द गर्ने काम भयो भन्ने भावनाको विकास जनप्रतिनिधिमा हुँदा समस्या भयो । विकृतिको असरभन्दा परम्परामा हामी केन्द्रित भयौं, अभियानले त्यो सोचलाई हटाउन सकेन । समस्या यहिँनेर भएको हो । तर, अभियान चलिरहेको छ ।

जनतासँग पर्याप्त छलफल गरेको भए आदिकालका संस्कार संस्कृतिहरु पनि गलत थिए भने त परिवर्तन गर्न सकिन्थ्यो होला नि ?
– कानुनले बन्देज गरेका कुरा पनि हुन् । कानुनको कार्यान्वयन र समाजका सुधारका लागि हामीले अभियान बनाएका हौं । जबसम्म अन्तरआत्माबाटै मानव स्वास्थ्य र समाजमा असर गर्छ । आर्थिक क्षयीकरणले भोलिको पुस्तासम्म यसको असर देखाउँछ । मानविय स्वास्थ्यमा असर हुन्छ भन्नेकुरा नबुझेसम्म कठिन हुँदोरहेछ । विधि र कानुन बनाएर मात्रै पनि नहुँदोरहेछ । हामीले जतिनै प्रयास गर्दा पनि जनतामा जागरण नआएसम्म परिवर्तन असम्भव रहेछ भन्ने लाग्यो । समुदायको वातावरण पनि सुधार गर्न आवश्यक छ । अर्को कुरा हरेक अभियानमा राजनीतिक रंगरोगन हुँदा पनि समस्या भयो । कुनैपनि हालतमा यो अभियानलाई रोक्नेवाला छैनौं । परम्परामा परिवर्तन, आर्थिक उपार्जनमा वैकल्पिक विधि खोजेर भएपनि हामी यो अभियानलाई निरन्तरता दिने पक्षमा छौं । कम्तिमा सडकमा जुवा खेल्ने, बालविवाहलाई प्रोत्साहन गर्ने, जाँडरक्सी सेवन गरेर होहल्ला, झैझगडा गर्ने कामहरु भने कम भएका छन् । बहुविवाह गर्नेहरु कम्तिमा कानुनी दायरामा आएका छन् ।

कृषिमा करोडौं लगानी गरेर, आयआर्जनमा सर्वसाधारणलाई जोड्छौं भन्दै सोही वर्ष सुरु भएको कार्यक्रमले निरन्तरता पाएर पनि अझै कार्यान्वयनमा आउन सकेन भन्ने छ नि ?
– यसो छ । अलैंची र किवी विशेष कार्यक्रम भनेर सुरु गरेका थियौं । दशौं लाखका कार्यक्रम भएका छन् । यान्त्रिकरणका कार्यक्रम पनि थियो जुन निरन्तर छ । बुझाई फरक नपरोस् हामीले कृषिमा एक करोड र पशुपालनमा एक करोड रुपैयाँ विनियोजन गरेका थियौं । जुन रकम लगानीका आधारमा अनुदान दिने भनेका थियौं । कार्यक्रम निरन्तर छ । सबै नसकिएको भएपनि केही काम भएका छन् । अहिले पनि कार्यक्रम ३ करोडभन्दा माथि छ । हामीले सोच बनाउने एउटा कार्यान्वयन गर्ने कर्मचारी नहुँदा समस्या हुँदोरहेछ । प्राविधिक कर्मचारी छैनन् । अहिले हामीले सडकमै केन्द्रित विकास गरेका छौं । बाटो नभएसम्म हुन्न भन्ने मान्यता जनतामा पनि छ । अहिले लगभग बाटो बन्यो । अब कृषि र पशुमा लगानी बढाएर रोजगारी सिर्जना गर्ने र आयआर्जन बढाउने लक्ष छ ।

नीति तथा कार्यक्रम र बजेट ल्याउँदा निकै आशालाग्दा तर कार्यान्वयनको पाटो सधैं फितलो किन हुन्छ ?
– अब चाहिँ, बजेटकै अभाव छ । गत वर्षकै लागि बनाएका कार्यक्रम कोभिडले कार्यान्वयन गर्न दिएन । उताको बजेट यता खर्च गर्नुपर्ने अवस्था आउने । यसले गर्दा काम गर्न निकै कठिन भैरहेको छ । जनताले चाहिँ सबै सरकारले गरिदियोस्, आँफुले चाहिँ केही गर्न नपरोस् भन्ने मानसिकता राख्दा पनि समस्या भएको छ । हामीले बनाउने कार्यक्रम जनतासँग जोडिएका हुन्छन् । जनतामा काम गर्ने इच्छाशक्ति निकै कम छ । हिजो जुन परम्परा थियो मिलेर काम गर्ने आज त्यो हराएका कारण सोचेजस्तो विकास हुन सकेन । अहिले त हात काट्यो भने पनि गाउँपालिका दगुर्ने परम्परा विकास भएकाले समस्या छ । आँफैले गर्न सक्ने स–सना काममा पनि जनताले गाउँपालिका मात्रै धाउँदा अझै ठुलो समस्या भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->